अफिसमा पुग्ने जोकोही पनि झुक्किन्छ । पूजा कोठा हो कि ‘कर्पोरेट अफिस’ । टेबलमा गीता, रामायण, श्रीमद्भागवतका पुस्तक । भित्तामा धार्मिक पोष्टर । कम्प्युटरमा धार्मिक अनुष्ठानका गीत गुन्जिएको ।
काठमाडाैंको व्यापारिक हब न्यूरोड । सृष्टि कम्प्लेक्सको छैटौं तला । उदाउँदो व्यावसायिक घराना आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेको अफिसको दृश्य हो यो ।
पूजाकोठा जस्तो देखिने यो ‘कर्पोरेट अफिस’ले ब्रान्डेड कपडाको व्यवसायमा साम्राज्य जमाउँदै छ । वार्षिक करोडौंको व्यापार गर्छ । सयौंलाई रोजगारी दिएको छ ।
लत्ताकपडा र खाद्यान्नबाट सुरु गरेको व्यापारआरपी ग्रुप २२ अन्तर्राष्ट्रिय ब्रान्डेड कपडाको आधिकारिक बिक्रेता बनेको छ । यो ग्रुपले राजधानीमा ब्रान्डेड कपडाका १७ आउटलेट सञ्चालनमा ल्याएको छ ।
त्यही व्यवसायको नेतृत्व गरेका पाण्डे धार्मिक नेताजस्ता देखिन्छन् । अफिस मात्र होइन पाण्डेको पहिरन पनि धार्मिक । निधारमा पहेँलो टीका । औंलाभरि औंठी । हातमा रुद्राक्षको माला ।
अफिस पुगेपछि हुनमान पाठ गर्छन् । व्यावसायिक कामको सुरुवात श्री गणेशाय नमः बाट हुन्छ । बिहान साढे सात बजे नै अफिस पुग्ने पाण्डेले हरेक दिन कम्पनीको लेटर हेडमा ‘श्री गणेशाय नमः’ लेखेर दिनभरका कामको सूची बताउँछन् । साँझ ६ बजे सूची पूरा गर्छन् ।
यी तथ्यले पुष्टी गर्छ । पाण्डेले मिहिनेत त गरेका छन् नै । आफ्नो व्यवसायमा भगवान् भरोसा भन्दै सन्तुष्टी लिएका छन् ।
लत्ताकपडाबाट ब्रान्डेड व्यापार
तीन लाख लगानीबाट सुरु गरेको व्यवसायमा करोडौं लगानी पुगेको छ । वीरगञ्जबाट सुरु भएको व्यवसाय देशभर फैलिएको छ । लत्ताकपडाको बिक्रीको सिकाइले अन्तर्राष्ट्रिय ब्रान्डेड कपडा नेपाल भित्र्याउन आत्मबल बढेको छ । सटरविना गोदामबाट सुरु भएको व्यवसायमा अहिले काठमाडौंमा ‘अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेटमा’ विस्तार भएको छ ।
वीरगञ्जबाट व्यापार सुरु गरेको भए पनि २०५७ सालमा पहिलोपटक कुलेश्वरमा गोदाम राखेका थिए । चार वर्ष काठमाडौंमा होलसेलरलाई सामान बिक्री गरेपछि उनले व्यावसायिक यात्रालाई ‘यू टर्न’ गरे । ‘सुरुका दिनमा इण्डियाबाट लत्ताकपडा ल्याउने र हेटौंडा वीरगञ्ज, चितवनमा बेच्ने गरेँ,’ उनले भने ।
वीरगञ्जबाट लत्ताकपडा, काठको व्यापार गर्दागर्दै काठमाडौंमा व्यापार गर्न छिरेका पाण्डेले उच्च पदस्थ व्यक्तिको हात–हातमा ‘ब्रान्डेड ब्याग’ देखे । इटलीमा बनेको ‘डमिलानो इटालिया’का ब्रान्डेड ब्यागले उनलाई उत्सुकता र कौतुहलता जगायो ।
व्यवसायमा नयाँ¬–नयाँ क्षेत्रमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डेले सोधखोज गरे । ब्रान्डेड ब्याग, जुत्ता प्रयोग गर्ने उच्च सरकारी कर्मचारी, व्यापारी, राजनीतिज्ञले यहाँ होइन विदेश जाँदा सपिङ गर्दा रहेछ । ‘मनमनै गमें मैले किन सुरु नगर्ने ?, उनले भने ।
भारतबाट लत्ताकपडा आयात गर्ने पाण्डेले भारतकै एक व्यवसायीको सहयोगमा इटलीको कम्पनीले तयार गरेको ‘डमिलानो इटालिया’ ब्रान्डको आउटलेट काठमाडौंमा सुरु गरे । त्यहाँबाट ब्रान्डेड सामानमा हात हालेका पाण्डेले अहिले राजधानीमा महिला, पुरुषले प्रयोग गर्ने कपडा लगायत सामानका १७ आउटलेट खोलिसकेका छन् । तीमध्ये आठ अन्तर्राष्ट्रिय ब्रान्डका हुन् ।
२०६४ मा न्यूरोडमा ‘जय अम्बे साडी’को सो रुम खोलेका थिए । ‘उपभोक्तालाई सन्तुष्टी दिएपछि एक वर्षमा साडीको बिक्री–वितरण राम्रो भयो,’ पाण्डेले भने, ‘त्यसपछि शाखा विस्तार सुरु गरेँ ।’ जयअम्बेको सो रुम न्यूरोड, मैतीदेवी, बानेश्वर, संखमूलमा विस्तार गरेका छन् । महिलाका लागि लक्षित साडी सो रुम पछि बालबच्चादेखि वृद्धसम्मका लागि ‘फेसन स्टोर’का आउटलेट सुरु गरे । जय अम्बेमा महिलाका लागि साडी लगायतका आइटम छन् भने फेसन स्टोरमा बच्चादेखि वृद्धसम्मका लागि सबै प्रकारका कपडा छन् ।
ललितपुरको लवीमा मलमा भारतको इण्डियन टेरियन आउटलेट, दरबारमार्गमा इटालीको डमिलानो इटालिया, रोसो ब्रुनेलियो र अमेरिकाको जोस ए व्याङ्क, फ्रान्सको सेलिओ, भारतको डब्लु, ओरेलिया ब्रान्डका कपडा होलसेल तथा आउटलेट छन् ।
उपभोक्ता आफूले लगाउने कपडाको ब्रान्डप्रति कन्सियस छन् । सस्तो भन्दा पनि ब्रान्डको खोजी गर्छन् । पाण्डेको ब्रान्डेड कपडाको व्यवसाय फस्टाएको छ । डुब्लिकेट सामान छिटो बिग्रिने, च्यातिने, रङ खुइलिने समस्या हुन्छ । ‘एक/दुईपटक झुक्किए पनि उपभोक्ता ब्रान्डेड खोज्दै आउँछन्,’ उनले भने ।
त्यही क्रेजलाई क्यास गर्न पाण्डेले २२ वटा अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्र्याए । भारत, इटली, भारत, फ्रान्स, अमेरिका, जर्मनलगायत मुुलुकका चर्चित ब्रान्डका १७ वटा त आउटलेट नै छन् । थप पाँच ब्रान्डका नेपाल डिस्ट्रिब्युटर हुन् । दरबारमार्ग, न्यूरोड, लबी मल, मैतीदेवी, चाबहिल, जाउलाखेल, कुमारीपाटीलगायतका स्थानमा ब्रान्डेड कपडाका आउटलेट खोलेका छन् । जाउलाखेल र दरबारमार्गमा थप नयाँ खोल्ने योजना छ ।
पछिल्ला वर्ष नेपाली उपभोक्ता पनि ब्रान्डेड सामान प्रयोग गर्न लालायित छन् । विदेश जाने क्रम निकै बढ्दो छ । विदेश जाँदा ब्रान्ड देखेपछि सपिङ गर्न थालेको उनको अनुभव छ ।
ब्रान्डेड कपडा लगाउने संस्कृतिको विकास भएको उनी बताउँछन् । ‘आम्दानी हुनेको आकर्षण ब्रान्डेड सामानमै छ,’ पाण्डेले भने, ‘ सस्तो मूल्यका सामान छिटो फाट्ने भएकोले पनि ब्रान्डले बजार लिँदै गएको हो ।’
नेपाली बजारमा विश्वभरका सबै ब्रान्ड भित्रिने क्रम जारी रहेको उनले बताए । ‘अब एक÷दुई वर्षमा नेपाली प्रयोगकर्ताले सबै ब्रान्ड रोजीरोजी उपभोग गर्न पाउनेछन्,’ पाण्डेले भने ।
ब्रान्डेड सामान किन्नका लागि दरबार मार्गका आउटलेटमै जानुपर्छ भन्ने बाध्यता पनि हटेको छ ।
अंग्रेजको संगत, आफ्नै मिहिनेत, परिश्रम र दृढ इच्छाशक्तिले यो सफलता पाएका हुन् । पाण्डेले यसका अलावा जग्गा–जमिन, खाद्यान्न, पेट्रोलियम पदार्थको ढुवानीलगायतका व्यवसायमा पनि आबद्ध छन् ।
कपडाबाट फुडतर्फ
कपडा व्यापारमा रमाइरहेका पाण्डे नयाँ व्यवसायमा हात हाल्दैनन् । नेपालमा फुडका अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउने तयारीमा छन् । पाण्डे भन्छन्—‘फुड आइटमको चेन ल्याउँदै छु’ । अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउन भन्झट छ । ठूला व्यापारिक घरानाले होल्ड गरेर राखेकोमा उनलाई चित्त दुखेको रहेछ । ‘न आफूले सुरु गर्छन्,’ उनले भने, ‘अरुलाई पनि नदिने प्रवृत्ति हावी भयो ।’
४१ वर्षका पाण्डे व्यावसायिक उचाइ लिएका छन् । फुड चेन २०१८ मा अन्तर्राष्ट्रिय फुड चेन ल्याएर आउटलेट खोल्ने इच्छा छ ।
कस्टम टाइटले ब्रान्डेडलाई फाइदा
भन्सारमा कडाइ गर्दा धेरै व्यापारी आत्तिएका छन् । न्यून बिजकीकरण गरेर, नेपालमा ल्याएर, धेरै मुनाफा खाएर रातारात करोडपति हुने पनि छन् । तर, वर्तमान सरकारले भन्सारमा कडाइ गरेमा पाण्डे भने प्रफुल्ल छन् । पाण्डे भन्छन्, ‘कस्टम टाइट गर्दा हामी जस्ता फेयर बिजनेस गर्ने व्यापारीलाई सजिलो भएको छ ।’
चीनलगायतका मुलुकबाट डुब्लिकेट सामान आउँछ । अहिले भन्सारले ओर्जिनल ओर्जिन सर्टिफिकेट माग्न थालेपछि डुब्लिकेट सामान बेच्ने व्यापारीको निदहराम भएको छ । विगतमा डुब्लिकेट सामानको ट्याग लगाएर बेच्दा त्यसको असर ब्रान्डेड सामानलाई परेको थियो । ‘कस्टम टाइट भएपछि अब ढाँट्छल गर्न मिल्दैन, उनले भने, व्यवसायी मात्र होइन राज्यलाई पनि फाइदा पुगेको छ । सिस्टमले राजस्व धेरै संकलन गरेको छ । ब्रान्डेड सामानको कारोबार गर्ने व्यवसायी खुसी छन् ।
चिनियाँ डुब्लिकेट सामान डम्पिङ गर्ने ठाउँ बनेको थियो । अब त्यो बन्द भयो । अब ढाँटछलको व्यापार गर्ने दिन गए । ‘सिस्टमको व्यापार गर्नेलाई मात्र फाइदा छ,’ उनले भने । ब्रान्डेड सामान ल्याएर बेच्न नेपाल अब भर्जिन मार्केट बनेको पाण्डे बताउँछन् । स्थिर सरकारपछि पाण्डे निकै उत्साहित छन् । ‘लिगल रुपमा काम गर्नेका दिन आए,’ उनले भने, ‘जे गरेर पनि व्यापार गरे हुन्छ भन्ने दिन गए ।’
नेपालको बजार विस्तार गर्न विदेशी उत्साहित देखिएको बताउँछन् । सरकार र व्यवसायी मात्र नभएर उपभोक्तालाई पनि फाइदा पुगेको छ । ब्रान्ड चोरी गरेर डुब्लिकेट सामान भन्सार छलेर ब्रान्डेड सामान बेच्दै आएका थिए । अब उपभोक्ताले पनि ब्रान्डेड सामान प्रयोग गर्न पाउँछन् ।
शिक्षक छाडेर तीन सयलाई रोजगारी
पाण्डेले करिअर सुरु गर्दा दुई विकल्प थिए । तर, उनी दोधारमा थिए । बाबु शिक्षक । व्यवस्थापनमा स्नातक गरेपछि शिक्षक बन्न परीक्षा दिए । नाम पनि निस्कियो । परिवारको शिक्षक बन्न सल्लाह थियो । पाण्डे वीरगञ्जकै एक उद्योगपतिको संगतमा थिए ।
दोधारमा रहेका पाण्डेलाई ती उद्योगपतिले सुझाए–‘व्यवसाय सुरु गर । जागिरे होइन रोजगारदाता बन्नुपर्छ ।’ शिक्षक जागिर नखाने निधो त गरे । तर, त्यो बाटो अप्ठ्यारो थियो । र, जोखिम मोले । अनि व्यावसायिक यात्रा प्रारम्भ गरे । पाण्डेले अहिले भन्छन्, ‘व्यवसायमा लाग्छु भन्ने नै थिएन । मावि शिक्षकमा नाम निस्केको थियो । तर, उद्योगपतिको सल्लाहअनुसार व्यवसायमा हात हालेँ ।’
शिक्षक पेसा अँगालेको भए धेरैलाई प्रयोगात्मक शिक्षा त दिन्थे होला । न उनी आर्थिक रूपमा सन्तुष्ट हुन सक्थे । रोजगारी दिनसक्ने त कुरै भएन । आफू पनि पैसा कमाइन्छ दुई÷चार जनालाई जागिर पनि दिइन्छ भनेपछि उत्साहित भएर व्यवसायमा लागेका पाण्डेको आरपी ग्रुपमा अहिले तीन सय जनाले काम गर्छन् । ‘जोखिम नमोलेको भए आफुले मात्र जागिर खान्थें होला,’ पाण्डेले भने, ‘अहिले तीन सय जनाले रोजगारी पाएका छन् ।’ नेपालमा कामको सम्मान नहुँदा युवा विदेश पलायन हुने समस्याले पाण्डेलाई पनि पिरोलेको छ । ‘राम्रो स्टाफ पाउनै कठिन,’ पाण्डेले भने, ‘काम सिक्यो कि विदेश गैहाल्छन् ।’ स्वदेशमा कामको सम्मान नहुँदा युवा विदेशिएको उनको बुझाइ छ ।
परिवारमा बुबा–आमा, श्रीमती र छोरी छन् । कक्षा ८ मा पढ्ने छोरीलाई उत्तराधिकारीको रूपमा आफ्ना सबै व्यावसायिक योजना सुनाउँछन् । ‘हरेक क्रियाकलापमा छोरीलाई सहभागी गराउँछु,’ उनले भने, ‘सानै भएपछि साथीजस्तो व्यावसायिक साझेदार भएको छ ।’
सिस्टमको व्यवसाय
सबै आउटलेट जिम्मा कर्मचारीलाई छ । हिसाब–किताब त अफिसमै बसेर हरेक शुक्रबार केलाउँछन् । सफ्टवेयर कम्प्युटराइज सिस्टममा लगेकाले कुनै झन्झट नभएको उनी बताउँछन् । ‘हरेक आउटलेटमा सफ्टवेयर राखिएको छ,’ उनले भने, ‘मेसिनले बारकोड बढेपछि सामान बेच्दा बिक्री भएका सबै सामानको कम्प्युटराइज रेकर्ड र बिल हुन्छ ।’
सिस्टमको व्यवसाय भएकाले न राज्य ठगिन्छ न व्यवसायी । सबै आउटलेट स्टाफकै जिम्मामा छाड्नुपर्ने भएकाले पद्धति बसालेको बताए । ‘हप्ताको एकपटक सबै आउटलेटमा पुग्छु,’ पाण्डेले भने । ‘हरेक दिन आउलेटबाट खरिद–बिक्री कारोबार विवरणको मेल आउँछ,’ पाण्डेले भने, ‘सबै बिजनेस सिस्टममा गैसकेको छ ।’ धेरै व्यापारीलाई आफू पसलमा नबस्दा दुरुपयोग हुने चिन्ता हुन्छ । उनलाई यो समस्या छैन ।
व्यवसायीहरुलाई अन्डर इन्भ्वाइसिङ (न्यून बिजीकरण) को आरोप लाग्ने गरेको छ । पाण्डेले भने रहेक सामानमा सम्बन्धित कम्पनीले एमआरपी तोकेर पठाउन व्यवस्थाले आफू यो झन्झटमा नलागेको बताउँछन् । तर, उनले व्यवसायमा सिस्टमको विकास गरेरै सफलता हात पारेका हुन् । ‘व्यापार पाँच हजार होस् या पाँच लाख म सिस्टम बनाएर काम गर्छु,’ उनले भने । पसल मात्र खोलेर हुँदैन अपरेसनको पक्ष हेनुपर्छ भन्ने उनको मान्यता छ । पार्टीको ड्यू राख्दैनन् । सामान स्टक राख्छन् । ‘कस्टुमरलाई छनोट गर्ने अवसर दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि भेराइटी राख्छु ।’
४० भन्दा बढी देश घुमेका पाण्डेले विदेश जाँदा सधैँ सपिङ मल पुग्छन् । किन त ? ‘ब्रान्ड कसरी डिस्प्ले गरेको छ । स्टाफले कस्तो व्यवहार गर्छ । विभिन्न विषयमा रिसर्च गर्नु,’ उनले भने । उनी विदेशी युनिभर्सिटी पढेर आएका पनि होइनन् । न व्यापारिक घरानाका उत्तराधिकारी । ‘म एउटा शिक्षकको छोरा हुँ,’ उनले भने, ‘अनुभवबाटै व्यवसाय सिकेँ।’
सबै कारोबार कम्प्युटर सिस्टममा राख्छन् । न्यूरोडमा अफिस छ । कुलेश्वरमा सामानको गोदाम । हरेक सामान एमआरपी र बार कोड लगाउँछन् । ‘सिस्टममा काम गरेपछि तलमाथि हुँदैन,’ उनले भने ।
धार्मिक आस्थाको भरोसा
व्यावसायिक सफलतामा आफ्नो मिहिनेतभन्दा पनि भगवान्को साथ ठान्छन् । ‘भगवान्को साथले यो अवस्थामा आएको छु,’ उनले भने । व्यवसाय चलेन भने उनले भगवान्लाई पुकार गर्छन् । ‘व्यापार चलेन भने गढिमाई र बम्बईको सिद्धिविनायक मन्दिर गएर पूजा गर्छु,’ उनले रहस्य खोले । हरेक तीन÷चार महिनामा पूजा गर्नकै लागि बम्बई पुग्छन् ।
उनको जीवन सञ्चालनको सूत्र आफूलाई खुसी राख्ने नै हो । ‘बजारले के भन्छभन्दा पनि म के काम गर्दैछु भन्ने सोच्नुपर्छ,’ उनले भने । जुनकुनै व्यवसाय सुरु गर्दा उनले व्यावसायिक अध्ययनका अतिरिक्त आफ्ना गुरुसँग परामर्श लिन्छन् । ‘जग्गा किन्न पहिला गुरुलाई लगेर माटो देखाउँछु,’ उनले भने, ‘माटो ठीक छ भनेपछि अघि बढ्छु।’
कपडालगायतका अरू व्यवसायमा नै त्यही फर्मूला प्रयोग गर्छन् ।‘मान्छेले मार्केट रिसर्च गर्छ म वास्तुस्थिति रिसर्च गर्छु,’ पाण्डेले भने । धार्मिक आस्था छँदै छ ।
व्यवस्थित दैनिकी
बिहान ४.३० देखि पाण्डेको दैनिकी धर्मकर्मबाटै सुरु गर्छन् । काठमाडौं हुँदा उनी दैनिक कमलादीको गणेश मन्दिर पुग्छन् । पूजा गरेर परेवालाई एक किलो चामल खुवाउँछन् । पूजा नगरेसम्म पानी पनि पिउँदैनन् । बिहान साढे ७ बजे नै अफिस पुगेर काम सुरु गर्छन् । दिनभर अफिसको काम, विभिन्न आउलेटको निरीक्षणपछि पाण्डेको मोबाइल छ बजे नै अफ हुन्छ । साढे छ बजे नै घर पुग्छन् ।
साँझको भोजभतेर, पार्टीमा सहभागी हुँदैनन् । साँझ घरमा बत्ती बाल्छन् । अनि छोरीको पढाइमा ध्यान दिन्छन् । १३ वर्षदेखि उनी शाकाहारी छन् । बिहान अफिसमा रोटी तरकारी । बेलुका भने घरमै खाना खान्छन् ।
बिदाको दिन शान्त ठाउँको खोजीमा बनेपा, नगरकोट जान्छन् । सामाजिक काममा पनि उनको निकै रुचि छ । बुबा वडाध्यक्ष छन् । गाउँमा आफ्नै लगानीमा मन्दिर बनाएका छन् । १७ वर्षदेखि मंगलबार फास्टिङ गर्छन् । एकान्त ठाउँमा बस्न रुचाउने पाण्डे बिदाको दिनभने नगरकोट, धुलिखेललगायतका ठाउँमा गएर बिताउँछन् ।
संघर्षले सफलता
कसैको प्रेरणाभन्दा पनि उनी व्यक्तिगत संघर्षबाट यो स्थानमा आएका हुन् । ‘धेरै संघर्ष गर्दै अघि बढेको छु,’ पाण्डेले भने, ‘व्यापारमा धेरै दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्दा सामान उपलब्ध गराउने पार्टी र उपभोक्तालाई भगवान् मानेर इमानदारिताका साथ काम गर्नुपर्ने बताउँछन् । उनले आफूले तय गरेको जीवनयात्रामा सन्तुष्ट छन् ।
प्रकाशित: २९ आश्विन २०७५ ०७:२५ सोमबार