१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

‘राज्य संयन्त्रले सहर बिगा-यो’

विरेश दाहाल, उल्टो साइकल यात्री

तपाईँको बुझाईमा सहर के हो?
सहर ठूलो जमात भएको एउटा व्यवस्थित बस्ती हो । जहाँ सबै किसिममा रंगहरू भेटिन्छन् । थरिथरिका मानिस हुन्छन् । राज्यले जनताका आवश्यकता सहजै पूर्ति गर्छ। 

घुमेकामध्ये मनपरेको सहर कुन हो?
म १७ वर्ष नेपाली झन्डा बोकेर बाहिर देश घुमेँ । त्यही सिलसिलामा पुग्दा मन परेको सहर अफ्रिकाको रुवान्डा हो । यो सहर सांस्कृतिक र आधुनिक छ । फोहर कतै देखिन्न। 

हाम्रा देशका सहर कस्तो लाग्छ? 
मौलिकता र ऐतिहासिक पक्षलाई हेर्ने हो भने नेपालमा सहर संसारमै भिन्न छन् । यहाँको मौलिक कला संस्कृति अन्य देशका सहरमा पाइन्न । हामी पहाडको बीचमा रमाउन पाएका छौं । हाम्रो देश विश्वको नमुना हो । ईश्वरले संसारमै कसैलाई नदिएको वरदान हामीलाई दिएका छन् । हाम्रोमा राजनीतिक स्थिरता र विकास भएन । राज्य प्रशासन बलियो नभएपछि देश बिग्रियो । सबैतिर अराजकता मौलायो। 

नेपालभित्र मनपर्ने सहर कुन हो? 
नेपालभित्र मनपर्ने सहर काठमाडौं र पोखरा हो । काठमाडौंमा हरेक सेवा–सुविधा छन् । यो ठाउँ काठमाडौं देशभरका मानिसको सपनाको केन्द्र पनि हो । यहाँ धेरै मानिसको सपना र भरोसा अडिएको छ । दुःखको कुरा हामीले काठमाडौंलाई चिन्न सकेनौँ । पछिल्लो समय धेरै विदेशीहरू काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आउने क्रम बढेको छ । उपत्यका बाहिर पर्ने पोखरा पनि घुम्नलायक सहर बनेको छ । त्यहाँका अनेक घुम्ने मार्ग र ठाउँहरू छन्। 

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ? 
मैले करिब ६३ देशका सहर घुमेको छु । जापान, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, नर्वे, इटली, इजरायल, क्यानडा, बेल्जियमलगायत अन्य धेरै देश घुमेको छु । म पुगेका धेरै देशका सहर अत्यन्त सुन्दर र मनमोहक छन् । विदेशका सहर कानुनले चलेका छन् । त्यहाँको कानुनले सहरलाई निगरानी राखेको छ । सहरमा कसैले पनि मनपरी र नियम मिच्न पाउँदैनन् । हरेक तहका व्यक्तिलाई समान अधिकार छ । तर, हाम्रोमा प्रशासनिक निकाय र राजनीतिले देश बिगारेको छ । त्यतिमात्रै होइन, सहरमा बस्ने हामी सबैले सहरलाई बिगारेका हौं।

विदेश सहरको के कुरा तपाईंलाई आकर्षक लाग्यो?
विदेशका सहर सांस्कृतिक र मौलिक छन् । युरोपका सहर साना र चिटिक्क छन् । हाम्रोभन्दा सडक साँघुरा छन् । तर, त्यहाँ हाम्रो जस्तो अस्तव्यस्त देखिन्न । विदेशका धेरै सहर मानिसकै कारण सजिएका छन् । सरसफाइ, सुरक्षा र सेवा–सुविधाका हिसाबले पनि सम्पन्न छन् । तर, प्राकृतिक सुन्दरता भने विदेशका सहरमा खासै पाइँदैन । हामीकहाँ देश बिग्रनुको कारण माथिल्लो तहका व्यक्तिले काम नगर्नु र दम्भ देखाएर हिँड्नु नै हो भन्ने लाग्छ। 

हाम्रा सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला?
मुख्य कुरा त हामीकहाँ प्लानिङ नै छैन । हिजोको सरकारले पनि सहरको विकासको दीर्घकालीन योजना बनाउन सकेन र आजको सरकारले पनि त्यस्तो खालको नक्सा कोर्न सकेको छैन । सहर बनाउने हो भने सरकारले योजना र नीति–नियमलाई कार्यान्वयन गर्नुपर्छ । नयाँ र दीर्घकालीन योजनामा जोड दिनुपर्छ। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं सम्भावना बोकेको संसारकै फरक सहर हो । यो सहर निकै ऐतिहासिक छ । यहाँको इतिहासले विश्वकै ध्यान खिँचेको छ । सेवा सुविधाको हकमा पनि काठमाडौं अरूभन्दा अघि नै छ । तर, पछिल्लो समय काठमाडौं भद्रगोल छ । सडक निर्माणका सामग्री र बिजुलीका तार असरल्ल छन् । यसले सहरलाई कुरूप पनि बनाएको छ । अर्को कुरा विकास निर्माणका काम गर्ने निकाय समन्वय गरी काम गर्नुपर्छ । नागरिक तहबाटै सहर विकासको लागि कस्सिने हो भने हाम्रो सहरको विकास धेरै दूर छैन। 

विदेशी सहर र हाम्रा सहरबीच भिन्नता के देख्नुभयो? 
विदेशका सहर सबै बनावटी भए पनि व्यवस्थित छन् । हामीले पत्याउनै नसक्ने विकास भएको छ । प्रकृतिले कुनै सम्भावना नदिए पनि उनीहरू आफैले मेहनेत गरेर सहर सुन्दर बनाएका छन् । त्यहाँ मानिसले नै सहरलाई सजाएका हुन् । हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन् । हामी नेपालीको पहिचान पनि फरक छ । तर, हाम्रो पहिचानलाई हामीले कायम राख्न सकेनौं । हिजो पुर्खाले सिर्जेको सम्पत्ति जोगाउनमा पनि ध्यान दिएनौं । हरियाली डाँडाकाँडा, अग्ला हिमाल, झरना, भौगोलिक विविधतालगायत पक्षलाई हेर्दा हाम्रो देश विश्वमै फरक छ । मात्रै यहाँको सरकारले विकासमा चासो दिएन।

सहरवासी सहरको विकासप्रति कतिको जिम्मेवार देख्नुहुन्छ?
सहरवासी जिम्मेवार छैनन् । उनीहरू आफ्नो मात्रै सोच्छन् । कसैले पनि आफू बसेको ठाउँलाई बनाउनुपर्छ भनेर सोचेका छैनन् । भएका नियम पनि तोडेर हिँड्ने परम्परा छ, सहरवासीमा । अर्को कुरा, सरकारी निकायले पनि सहरवासीलाई सही बाटोमा हिँडाउन सकेन। 

के कारणले हाम्रा सहर विकास हुन सकेनन् होला?
विकास गर्ने बफादार नेता र कर्मचारी भएनन् । शक्तिमा हुनेले व्यक्तिगत फाइदाको लागि राज्यलाई प्रयोग गरे । सहरमा शक्ति हुनेले सानालाई दमन गरेका छन् । कानुनलाई टेकेर बदमासी गरेका छन् । तर, राज्यले सामान्य नागरिकलाई अनाहकमा सजाय दियो।  

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सफा, सुविधायुक्त र समान अधिकार भएको सहरको कल्पना गर्छु । सहर शान्त होस् । सवारीको ट्याँट्याँ र टुँटुँ सुन्न नपरोस् । खानेपानी र ढल निकासको उचित व्यवस्थापन होस् । प्रदुषण नहोस् । सहरमा बस्ने हरेक मानिस सभ्य होऊन् । एकले अर्कोको पीडा बुझ्न सकुन् । कसैले पनि रिस डाहा नगरोस् । सहरको अधिकार सबैले समानरूपमा उपभोग गर्न पाउन् । आइपर्दा हातेमालो गर्ने प्रवृत्ति सहरवासीमा विकास होस्। 

काठमाडौंको मननपर्ने पक्ष के हो?
यहाँको ट्राफिक जाम, धुवाँधुलो, प्रदूषण, अव्यवस्थित सडक मनपर्दैन। 

राम्रो लाग्ने पक्ष? 
काठमाडौंको मौसम ईश्वरको वरदान नै हो । यहाँ वरिपरि हरियाली, सहरको बीचबीचमा ऐतिहासिक सम्पदा छन् । सेवा सुविधाको हकमा पनि काठमाडौं अगाडि नै छ। 

सहर सफा राख्न के गर्नुपर्छ होला?
सहर सफा राख्न सहरवासी सभ्य हुनुपर्छ । सरकारी निकायले सही योजना ल्याउनुपर्छ । सडकको छेउछाउ नयाँ बिरुवा रोप्ने, सडकको धुलो रोकथाम गर्न सडकमा पानी छर्कने, बिहान सबेरै फोहोर उठाउने, गाडीबाट सडकमा फोहर नफाल्ने जस्ता काम गर्ने हो भने सहर सफा हुनसक्छ। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
म उल्टो साइकल चलाएर नेपाललाई चिनाउने क्रममा धेरै देशका सहर र ठाउँ पुगेँ । फेरि एकपल्ट जान मन लागेको सहर अफ्रिका हो।

सहरको मनपर्ने खानेकुरा के हो?
विदेशमा छँदा नेपाली खाना मिठो लाग्छ । संसारमा नेपाली परिकारजस्तो मिठो केही छैन । गाउँघरतिरको स्थानीय खान्की अझ मिठो लाग्छ । नेपालको खानाको पहिचान भनेको गुन्द्रुक ढिडो नै हो।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १९ आश्विन २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App