‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।
एक साताअघि गोर्खा जाने क्रममा बन्दीपुर बस्ने योजना भयो। तर, अचानक राति नै गोर्खा जानुपर्ने भए पनि त्यहाँको रमाइलो अनुभव गरेरै जाने विचार आयो। बस्, त्यसपछि त्यहाँको बजार घुमेपछि नजिकै सूर्यास्त हेर्न प्रायः पर्यटक गइरहने डाँडोतिर लागियो।
समय अझै बाँकी थियो। माथि लाग्दै गर्दा प्राकृतिक छटाले मनलाई पुलकित तुल्याइरहेको थियो। जतिजति माथि गयो, उतिउति बन्दीपुरको सुन्दरतामा निखार आइरहेको अनुभव हुन्थ्यो। वास्तवमै बन्दीपुरबासीलाई यो ठाउँ एउटा उपहार भएको छ।
जताततै विस्कुट, चाउचाउ र यस्तै अन्य खाद्यपदार्थका प्लास्टिकका खोल, पानीका बोतल आदि देखिँदा भने आँखा बिझाउँदो रहेछ। यसो कतै सुस्ताउने ठाउँमा पनि जताततै फोहर देखिँदा मनै कस्तो कस्तो हुन्छ। आखिर पर्यटक यस्तो फोहोर हेर्न अवश्य पनि आउँदैनन्।
डाँडाको टुप्पामा ३०/३५ जना विदेशी थिए । नेपाली, हामी थोरै थियौं। दृश्यावलोकनपछि हामी झ-यौं। विदेशीहरूले माथिदेखि नै फोहर टिप्न थाले। कसैले पानीका बोतल, कसैले चाउचाउका खोल। हामी ती दृश्य देखेर नतमष्तक भयौं।
प्रकृतिले हामीलाई सुन्दर ठाउँ उपहार दिएको छ। त्यो सुन्दर ठाउँलाई हामीले हाम्रा प्रयासबाट झन् सुन्दर तुल्याउन नसके पनि बिगार्नु भने हुँदैन। जथाभावी फोहर नफ्याँक्दा मात्रै पनि धेरै फरक पर्छ। त्यसमा पनि बन्दीपुर त सौन्दर्यका लागि यसै पनि कहलिएको छ। बन्दीपुरबासीले आफ्ना घर आँगनलाई राम्रैसँग राखेका छन्। त्यसमा पनि घरैपिच्छे खोलिएका रेस्टुरेन्ट, फूलबगैंचा आदिले मनै हरर बनाउँछ।
बन्दीपुर पुगेपछि समय पनि विस्तारै हिडिरहेको जस्तो लाग्छ। धेरै दौडधूप देखिँदैन। मानिसहरू घर अगाडि सुस्ताइरहेका देखिन्छन्। यस्तो दृश्यले स्वाभाविक रुपमा हाम्रो मनको थकान कम गर्छ। आखिर पर्यटक आउने यही अनुभूतिका निम्ति हो। सफा र चिटिक्क पारेर मिलाइएका बस्तीले जोसुकैलाई आनन्दित तुल्याउँछ।
बन्दीपुरको मूल वस्तीभित्र गाडी जान रोकेर पनि निकै राम्रो भएको छ। जतासुकै गाडी जाने, त्यसको आवाज, धुवाँ र धुलोले वस्तीलाई आक्रान्त तुल्याउँछ। यस अर्थमा यहाँका बासिन्दाको बुद्धिमानी देखिन्छ।
माथि शिखर चढ्ने बेलामा त्यसको छेउमा फलामे बार लगाएर सुरक्षित पारेको देखिन्छ। उक्लिने बाटोमा सिँढीको व्यवस्थाले झनै खुसी लाग्छ। तर, जताततै फोहर फ्याँकेको देख्दा भने बन्दीपुरवासीले आफ्नो ‘सुनको कुखुरा’ नचिनेको हो कि? भन्ने लाग्छ।
हामी त डाँडामा पुगेर एकैछिन बसिसकेपछि झर्दै थियौं। त्यहीबेला उकालो लाग्दै गरेका यी विदेशीमध्ये एकको आवाज कानमा ठोक्किएको थियो। हामीले पनि माथि जाने बेलामा ठाउँठाउँमा फोहर गरेको देखेका थियौं। तर, त्यसरी प्रतिक्रिया व्यक्त गर्ने हिसाबले भने सोच्न भ्याइसकिएको रहेनछ।
सामान्यतः विदेशीहरूले पाठ्यक्रममा समेत वातावरणलाई समावेश गरेको देखिन्छ। सानैदेखि फोहर टिपेर त्यसलाई फ्याक्ने भाँडोमा हाल्नुपर्छ भन्ने पनि बच्चाबच्चीलाई थाहा हुन्छ। हामीकहाँ भने आफूले खाना खाएपछि बोक्रा, खोल आदि फ्यात्त फ्याँक्ने गरेको देखिन्छ।
वातावरण भनेको हाम्रो वरिपरि रहेका प्राणी र वनस्पति मात्र होइनन्। आफूले कुनै ठाउँको उपयोग गर्दा त्यसलाई संरक्षण गर्न कति ध्यान पु-याइएको छ भन्ने पक्ष पनि यसमा समावेश गर्नुपर्छ। स्थानीय बासिन्दाले त्यसलाई उपयोग गरिरहेका छन् भने आवश्यकता अनुसार सप्ताहन्तको दिन समाजसेवाका रुपमा यस्ता फोहर संकलन गरी फ्याँक्ने गरे पनि हुन्छ।
हामीमा यस्ता विषय साना हुन भन्ने लाग्छ। त्यसैले एकजना दुईजना गर्दै धेरैले फोहर फ्याक्दै जाँदा त्यो ठाउँ हेर्नै नहुने गरी विरुप हुन्छ।
ती विदेशीले आफ्नो छोरालाई वातावरणबारे सम्झाएपछि फेरि हामी ओरालो लागेका मानिस पनि उकालो लाग्यौं। डाँडाको टुप्पाबाट तिनले अघाउञ्जेली सूर्यास्तको दृश्यावलोकन गरे। सूर्य विस्तारै डाँडाको टुप्पोबाट तलतल झ-यो। केही छिनमै यो सुदूर क्षितिजमा बिलायो।
उनीहरू सबैले सास थामेर त्यो दृश्य हेरिरहे। सूर्यास्त सुन्दर भए पनि कताकता एउटा दिनको अन्त्य भएकोजस्तो अनुभूति हुने रहेछ।
डाँडाको टुप्पामा ३०/३५ जना विदेशी थिए। नेपाली हामी थोरै थियौं। दृश्यावलोकनपछि हामी झ-यौं। विदेशीहरूले माथिदेखि नै फोहर टिप्न थाले । कसैले पानीका बोतल, कसैले चाउचाउका खोल। हामी ती दृश्य देखेर नतमष्तक भयौं।
हामीले बानी सुधार्यौं भने विदेशीले भन्ने दिन आउने छ, ‘पिपुल ह्याभ ग्रेट रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति ठूलो चासो छ)।’
प्रकाशित: १५ आश्विन २०७५ ०३:१८ सोमबार