१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि प्राथमिकता दिएका छौं

कुमार श्रेष्ठ, वडाध्यक्ष मध्यपुर ठिमी नगरपालिका–४

तपाईँ जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
२० वर्ष स्थानीय तह जनप्रतिनिधिविहिन रह्यो । जनप्रतिनिधिसँग जनताको धेरै आशा र अपेक्षा रहेका छन् । जनप्रतिनिधि आएसँगै वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित र जनतामैत्री बनेको छ । सेवा प्रवाहमात्रै होइन, विकास निर्माणलाई पनि उत्तिकै प्राथामिकतामा राखेका छौं । गत वर्ष वडा कार्यालयले ५२ योजना अघि सारेको थियो । तीमध्ये आधाभन्दा धेरैको निर्माण सम्पन्न भइसक्यो । स्थानीय तहका अधिकांश योजना उपभोक्ताको प्रत्यक्ष संलग्नतामा निर्माण गर्नुपर्ने हुन्छ । वडाले ८० प्रतिशत र जनसहभागितामार्फत् २० प्रतिशत रकम खर्चिनुपर्ने हुन्छ । तर, जनताले २० प्रतिशत रकम खर्चिन निकै गाह्रो  मानिरहेका छन् । वडा कार्यालयले वडामा एक दर्जनभन्दा धेरै स्थानमा ढुंगा तथा ब्लक छपाई गरेका छौं । चार टोलमा खानेपानीका पाइप विछ्याएका छौं । वडामा रहेको ऐतिहासिक पोखरीहरूको संरक्षण तथा सम्वद्र्धनमा जुटेका छौं।

तपाईको वडामा आधा दर्जनभन्दा धेरै पोखरी रहेका छन्, कसरी संरक्षण गरिरहनुभएको छ?
वडामा आधा दर्जनभन्दा धेरै ऐतिहासिक पोखरी छन् । वडा कार्यालयले अहिले धमाधम वडामा रहेका पोखरी संरक्षणमा ध्यान दिइरहेको छ । पछिल्लो समय दुई पोखरी जीर्णाेद्वार सम्पन्न गरिसकेको छ । विष्णुकुन्डल पोखरीमा ४० लाख रूपैयाँ खर्चेर व्यवस्थित र आकर्षक बनाएका छौं । बालकुमारी पोखरीमा पानीको फोहोरा तथा आकर्षक लाइट राखिएको छ । यसले यहाँको रौनक बढाएको छ । बालकुमारी पोखरीको हेरचाह र संरक्षणको लागि ४०  लाख रूपैयाँको अक्षयकोष राखेर व्यवस्थित गर्न खोजेका छौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडामा खानेपानीको एकदमै समस्या छ । नगर क्षेत्रमा वडा नम्बर ४ र ५ मा खानेपानीको ज्यादै ठूलो समस्या रहेको छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । हनुमन्ते खोलामा आएको बाढीको कारणले अधिकांश खानेपानीको पाइप भत्काइदियो । त्यसैले खानेपानीको समस्या देखिएको हो । खानेपानी व्यवस्थापनको लागि नगरपालिकाले नगरस्तरीय योजना परेको छ । नगरपालिकाले खानेपानी व्यवस्थापनको लागि दुई करोड रूपैयाँ बजेट विनियोजन छ । त्यसको साथै वडा कार्यालयले पनि भित्री एरियामा खानेपानी व्यवस्थापनको लागि छुट्टै योजना बनाएर काम गरिरहेको छ । कोरियन हस्पिटल क्षेत्रमा ठूलो बोरिङ खनेका छौं । उक्त बोरिङबाट दैनिक ६ लाख लिटर खानेपानी निकाल्न सक्ने क्षमता छ । त्यसैले बोरिङको पानी व्यवस्थित ढंगले ६ महिनाभित्रै वितरण गर्नेछौं।

हनुमन्ते खोला अतिक्रमणकै कारणले वर्षायाममा डुबानको समस्या देखियो, डुबान नियन्त्रणको लागि कस्तो योजना अघि सार्नुभएको छ?
हनुमन्ते खोला अतिक्रमण गरेर वस्ती बसालेका कारण नै वडामा डुबानको समस्या देखियो । डुबानको कारणले वडामा करिव एक अर्ब रूपैयाँभन्दा धेरैको धनमालको क्षति भयो । पहिला खुसी (नेवारी भाषामा खोला) खुसी पूर्वक बग्ने गथ्र्याे । त्यसैले केही समस्या हुँदैन्थ्यो । अहिले जताततै कंक्रिट नै कंक्रिटको जंगलजस्तै भयो । खोलानाला वरपर जभाभावि ढंगले पर्खाल तथा अन्य संरचना निर्माणले गर्दा खोला स्वतन्त्रपूर्वक बग्न नपाएर नै डुबानको समस्या भएको हो । नगरपालिकाले हनुमन्ते खोला आसपासमा अतिक्रमण गरे बनाइएका संरचना भत्काउने योजना बनाएका छौं । प्लाष्टिक तथा गिटी बालुवाले हनुमन्ते खोलाको गहिराई घट्यो । त्यसैले अहिले खोला गहिरो बनाउने काम गरिरहेका छौं । वर्षायाममा आएको डुबानबाट एक सय ५ घरधुरी प्रत्यक्षरूपमा प्रभावित भएका छन्, डुबान पीडितको क्षतिपूर्ति र राहतको लागि वडा कार्यालयले सिफारिस गरेका छौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?    
वडामा पर्याप्त मात्रामा सार्वजनिक तथा पर्ती जग्गा छन् । वडामा लगभग एक सय ७० रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ । तीमध्ये कति मिचिएका छन् भनेर अहिल्यै आँकलन गर्न सकेका छैनौं । मध्यपुर ठिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठको नेतृत्वमा अहिले सार्वजनिक जग्गाको सीमांकन तथा निरीक्षणको काम सुरुवात गरेका छौं । नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गा सीमांकन गर्नको लागि नगरपालिकाले एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । केही स्थानीयले सार्वजनिक जग्गामा खेती गर्दै आइरहेका छन् । त्यसैले सार्वजनिक जग्गा छुट्टाएर व्यवस्थित गर्नेछौं । सार्वजनिक जग्गा संरक्षण गरेर पार्क तथा मनिङ वार्क सेन्टर बनाउने योजना अघि सारेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगर परिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ४० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट ५२ योजना अघि सारेका थियौं । ५२ योजनामध्ये आधाभन्दा धेरै निर्माण सम्पन्न भइसकेका छन् । अन्य निर्माणाधीन अवस्थामा छन् । गत वर्ष धेरै खुद्रे योजना अघि सा-यौं । जसले गर्दा विकास निर्माणमा केही जटिलता देखियो । वडा कार्यालयले खानेपानी, सडक, ढल कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं । चालू आर्थिक वर्षको लागि पनि एक करोड ५१ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले गत वर्षजस्तो खुद्रे योजनाभन्दा जनताको आवश्यकता अनुसारको योजनालाई प्राथामिकता दिएको छ।

गत वर्ष नगरस्तरीय कस्ता योजना परे?
गत वर्ष नगरपालिका आधा दर्जन नगरस्तरीय योजना परेका थिए । अहिले ति योजनाको काम धमाधम भइराखेको छ । अहिले नगरस्तरीय आधा दर्जनभन्दा धेरै योजना परेका छन् । ति योजनाको लागि साढे तीन करोड रूपैयाँ बजेट विनियोजन भएको छ । बपामहादेवबाट उकालो जाने सडक ढलानको लागि ३० लाख रूपैयाँ परेको थियो । जुन अहिले धमाधम काम भइरहेको छ । शंखधरचोकदेखि दक्षिण बाराही जाने सडकको पेटीमा ब्लक ओछ्याएका छौं । बालकुमारी माईको लागि एक करोड बजेट विनियोजन गरेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
मेरो वडा कोर वस्तीमा अवस्थित छ । जहाँ कला संस्कृतिले भरिभारउ छ । त्यसैले कोरवस्तीको ऐतिहासिक पहिचान जोगाउँदैतर्फ अग्रसर भएका छौ । अर्काेतर्फ कमेरे जग्गा एकीकरण आयोजनाको केही भूभाग वडामा पर्छ । त्यहाँ आधुनिक बस्ती बसाल्ने योजनामा अघि बढेका छौं । वडामा जनताका आधारभूत आवश्यकता पूरा गर्ने समृद्धि र सु–संस्कृत वडा बनाउने सपना बोकेर अघि बढेको छ । वडामा खानेपानी, सडक, ढललगायत अत्यावश्यक पूर्वाधार तयार पार्नेछौं । अहिले जताततै कंक्रिट नै कंक्रिटको जंगल भइराखेको छ । जसको कारणले प्राकृतिक पानी सोस्ने क्षमतामा समेत ह्रास आइरहेको छ । त्यसैले वडा कार्यालयले मनहरा खोला वरपर ग्रिनबेल्ट बनाएर हरियाली प्रवद्र्धन गर्नेछौं।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १२ आश्विन २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App