२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

नेपालको पुनर्निर्माणबारे राष्ट्रसंघमा छलफल हुने

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने 'विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना' विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति दिने भएका छन्।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राती अमेरिकातर्फ प्रस्थान गर्दै छन्।

कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु', प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन एवं  विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको  प्रस्तुति रहने कार्यक्रम छ।

अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ। ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन्।

प्रकाशित: ९ आश्विन २०७५ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App