७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

राष्ट्रकविको काव्यसाधना

मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ

साहित्यमा यही मान्यता राख्ने वि.सं. १९७६ मा जन्मेका २०७५ असोज ७ गते सय वर्षमा प्रवेश गर्न लागेका माधव घिमिरे राष्ट्रकविका रूपमा परिचित छन् । यिनी नेपाली कविता परम्परामा स्वच्छन्दतावादी धाराका उल्लेखनीय प्रतिभा हुन् । यिनले गीतिनाटक, बालसाहित्य, खण्डकाव्य आदि क्षेत्रमा योगदान दिएका छन् । मूलतः यिनको कवि व्यक्तित्व नै साहित्यमा प्रमुख क्षेत्रका रूपमा रहेको देखिन्छ।

वि.सं. १९९२ मा ‘ज्ञान पुष्प’ शीर्षकको कविता गोरखापत्रमा प्रकाशित भएपछि यिनको काव्ययात्रा सुरु भएको पाइन्छ । घिमिरेले सुरुका कविताहरू प्रकृतिलाई आत्मसात गरेर लेखेको देखिन्छ । यिनले १९९५ सालमा ‘स्वदेशी गीत’ कविता लेखेका थिए । यो कविता स्वच्छन्दतावादी धाराको लोकप्रिय कविताका रूपमा चर्चित भएको थियो । यिनले लोकसंस्कृति र राष्ट्रियता झल्कने कविताहरू पनि लेखेका छन्। ‘नव मञ्जरी’ कविता संग्रहका कविताहरू र ‘राष्ट्रिय झण्डा’ कविता यस दृष्टिले उदाहरणीय छन्।

माधव घिमिरेको व्यक्तिगत जीवनमा घटेको शोकपूर्ण घटना अर्थात् उनकी पत्नी गौरीको मृत्युले उनमा फरक ढंगको कवित्व विकास भएको पाइन्छ । उनका कवितामा प्रकृति, संस्कृति र राष्ट्रियता एकातिर सल्बलाएका हुन्छन् भने अर्कातिर प्रीति, शोक र वीरताको भाव प्रस्तुत भएको पाइन्छ । घिमिरेले कलमवीर, विश्वबन्धु, स्वदेशको संगालो, पर्वतवासिनी देवी, साँझ, वैशाख, अन्नपूर्णा, नवयुवक, यात्री, काली गण्डकी जस्ता उत्कृष्ट कविताहरू वि.सं. २००४ देखि २०१५ सालभित्रको अवधिमा रचेको पाइन्छ । यिनले ‘पापिनी आमा’ (२०१३) र ‘गौरी’ (२०१५) जस्ता उत्कृष्ट खण्डकाव्यहरू पनि यसै अवधिमा रचेको पाइन्छ । वि.सं. २०१७ मा ‘राजेश्वरी’ खण्डकाव्य प्रकाशित भएपछि यिनको काव्यसाधना अझ परिष्कृत र प्रौढ बन्दै गएको देखिन्छ । यसमा मानवतावादी र जीवनवादी चेतना निकै प्रबल रूपमा देखा पर्दछ । ‘गौरी’ आत्मकेन्द्रित छ भने ‘राजेश्वरी’ खण्डकाव्यले जीवनको गान गरेको छ । यिनका ‘सुख र दुःख सञ्चित गर्छु, जून एक मुढी, वैशाखका दिन आदि उत्कृष्ट गीतहरू पनि यस अवधिमा प्रकाशित भएका छन्।

वि.सं. २०२३ मा ‘राष्ट्रनिर्माता’ खण्डकाव्य प्रकाशित भएपछि घिमिरेको काव्यकला राष्ट्रिय चेतनाका आलोकमा मौलाएको देखिन्छ । यिनमा इतिहास चेतना, पूर्वीय सन्दर्भको समेत उजागर हुन्छ । त्यसपछि २०३० मा राष्ट्रियता र राष्ट्रवादी चेतनाको संयुक्त अभिव्यक्ति भएको ‘धर्ती माता’ खण्डकाव्य प्रकाशित हुन्छ । यसै समयमा क्रमशः ‘दुलही हिमाल कञ्चनजङ्घा’ कविता, तथा ‘बाललहरी’ (२०२५) बाल कविता संग्रह, ‘किन्नर किन्नरी’ (२०३३) गीत संग्रह प्रकाशित भएका छन्।

उनका ‘शकुन्तला’ (२०३७), ‘मालती मंगले’ (२०४१) गीतिनाटक, ‘विषकन्या’ (२०५०) गीतिनाटक, ‘अश्वत्थामा’ (२०५३) गीतिनाटक,  ‘सुनपंखी चरी’ (२०५३),  ‘हिमालपारि हिमालवारि’ (२०५५) गीतिनाटक, ‘बिजुले बिजुला’ (२०६३), ‘दुर्गा सप्तशती’ (२०५८) अनुदित काव्यजस्ता अनेक कृतिहरू प्रकाशित छन्।

राष्ट्रकवि घिमिरेको काव्य साधनाबाट प्राप्त भएका मुख्य काव्य प्रवृत्तिहरू छन् । स्वच्छन्दतावादी भाव धारालाई परिष्कारधर्मी शैली शिल्पद्वारा प्रकट गर्नु उनको लेखनको केन्द्रीय प्रवृत्ति देखिन्छ । राष्ट्रियताको चेतना, सामाजिक र युगीन सुधार तथा नवनिर्माणको चेतना, जीवनप्रतिको आस्था, प्रेम वा प्रणय प्रसंगको प्रस्तुति यिनका अन्य काव्य प्रवृत्तिहरू रहेका छन् । मूलतः शान्त, अद्भूत, वीर, करूण र शृंगार रसको उपस्थिति उनका कवितामा पाइन्छन् । यिनको कविताशिल्प पूर्वीय काव्य शास्त्रबाट बढी प्रभावित देखिन्छ । वर्णमात्रिक र वार्णिक छन्दमा यिनका रचना हिँड्छन् । गीति–चेतना तीव्र रूपमा देखिनु यिनका कविताको विशेषता नै हो । यिनका कविता सहज सम्प्रेष्य र प्रसाद गुणयुक्त हुन्छन्।

‘कुञ्जिनी’ पत्रिका (२०५५, पृ. ९) को ‘कवितानिष्ठ दृष्टिले लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे’ शीर्षकमा लेखक भानुभक्त पोखरेलले दुई कविका बीच तुलना गर्दै यसो भनेको पाइन्छः

द्यौकोटा कल्पनावेगी भावोद्वेलित अर्जनी
घिमिरे रचनायोगी रसोल्लसित चाँदनी

यसप्रकारको काव्यसाधनामा तल्लीन भएका राष्ट्रकवि माधव घिमिरेको सुस्वास्थ्यको कामना गर्दछु । उनीद्वारा रचना गरिएको तर अप्रकाशित महाकाव्य ‘ऋतम्भरा’को चार हरफसँगै यो लेख समाप्त गर्छु :

यै देह प्राण मन बुद्धि फुटाल्न बाँकी
यै जीवलाई अझ माथि उचाल्न बाँकी
धर्ती भरी विपुल स्वर्ग बसाल्न बाँकी
प्रत्येक प्रातः नव सूर्य निकाल्न बाँकी

(लेखक पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।)

प्रकाशित: ६ आश्विन २०७५ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App