२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गाउँमा कविता

विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।

यहाँ कला साहित्यको थालनी धरै वर्ष अघिदेखि भएता पनि यसलाई व्यवस्थित गर्न सकिएको थिएन। नाटक र काव्य गोष्ठी हुने गर्थे कुनै अवसर पारेर । दशैं, तिहार वा नयाँ वर्ष आदिमा । जब ०७३ वैशाख १ गतेदेखि ‘झोराहाट नाटकघर’ पूर्णरुपमा संचालनमा आयो, त्यसपछि कला र साहित्यको काम गर्ने राजमार्ग खुल्यो । नाटकघरले नाट्य यात्रालाई नियमित आरम्भ ग¥यो भने साथमा हरेक महिनाको दोश्रो शनिबार दिउँसो १ बजे संचालन हुने गरी ‘गाउँमा कविता’ कार्यक्रमको शंखघोष ग¥यो । र ०७५ भदौ ९ गतेसम्म आइपुग्दा २७ औं श्रृंखला पूरा गरिसकेको छ । यस्ता कार्यक्रमले समाजलाई उत्साहित बनाउँछ।

झोराहाटका साहित्यिक तथा सामाजिक अभियन्ताहरु भरत गुरागाईं, गण्डकीपुत्र, गायत्री गुरागाईं, टीका खतिवडा, उमेश लुइटेल, रमेशचन्द्र अधिकारी, निरज न्यौपाने र प्रयाग न्यौपानेले यसलाई यहाँसम्म ल्याउन समय खर्चेका छन् । यो अभियानमा प्रेस युनियन मोरङका सभापति तथा कवि मीनकुमार नवोदितलाई पनि बिर्सन सकिँदैन।

झोराहाटलाई साहित्यिक हब बनाउने अभियानमा जुटेका छौं हामी । यो यात्रामा हामी उत्साहित छौं।  

गाउँमा कविता कार्यक्रमका परिकल्पनाकार कवि गण्डकीपुत्रले कार्यक्रम संयोजक भएर केही श्रृंखलाको नेतृत्व गरे भने त्यसपछि रमेशचन्द्र अधिकारी संयोजक बने । हाल केही श्रृंखलादेखि प्रयाग न्यौपाने संयोजक र उमेश लुईटेल सह–संयोजक रहेर कार्यक्रम भइरहेको छ । यो कार्यक्रमलाई यहाँसम्म ल्याउन नाट्य केन्द्रका कलाकार भाइबहिनीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ।

गाउँमा कविताको प्रथम श्रृंखलाको थालनी पूर्वका सशक्त कविहरु ज्योति जगंल, सीमा आभास, शुभलक्ष्मी लम्साल र खगेन्द्रा खुशीबाट भएको थियो । प्रत्येक श्रृंखलामा चार कविका ४÷४ वटा कविता अर्थात १६ वटा रचना वाचन गरिन्छ । हालसम्म  १०८ कविका ४३२ कविता नाटकघरको प्रेक्ष्यालयमा गुन्जिसकेका छन् भने वार्षिकोत्सवका  अवसरमा कविता र गजल वर्षा नै हुन्छ।

कविहरु कुन्ता शर्मा, बम देवान, अनिल पौडेल, विवश पोखरेल, विप्लव ढकाल, मिश्र बैजयन्ती, आरएम डंगोल, प्रोल्लास सिन्धुलीय, राजेन्द्र शलभ, राजेन्द्र पराजुली, बद्री भिखारी, खेम नेपाली, आर.आर चौलागाईं, मुनाराज शेर्मा, हरिमाया भेटवाल, देवान किराती, हेमन यात्री, मीनकुमार नवोदित, गंगा सुवेदी, शिव प्रणत, छवि अनित्य, सुन्दर कुरुप, नविन प्यासी, ऋषभदेव घिमिरे, भरत गुरागाईं, उमेश लुइटेल, ताराबहादुर बुढाथोकी, उमेश अकिन्चन, मीना श्रेष्ठ, विष्णु न्यौपाने, शिवनारायण पण्डित सिंगल, विराट अनुपम, हरि कट्टेल, रोशन परियार, मुकुन्द प्रयास, विष्णु सन्यास साथै सीमापारीबाट राजा पुन्यानी, मनोज बोगटी लगायत थुप्रै स्थापित र नवोदित स्रष्टाहरु यो मञ्चमा उभिइसकेका छन् । २७ औं श्रृंखलामा आएर भवानी क्षेत्री, प्रेम सञ्जेल, रामकुमार एलन र दीपेन्द्रसिंह थापा जोडिए।

कार्यक्रममा औपचारिक सभापति र प्रमुख अतिथि आसन ग्रहण गराइँदैन । चार कवि नै नायकका रुपमा मञ्चमा बस्छन् । कार्यक्रमकै लागि भनेर लिखित निमन्त्रणा–पत्र नबाँडिए पनि सामाजिक सञ्जालका सूचना र टेलिफोन माध्यमबाटै अपार सहभागिता हुँदै आइरहेको छ।

 भाषविद् प्राडा टंक न्यौपाने, प्राज्ञ विवश पोखरेल, प्राडा भीम खतिवडा, बरिष्ठ कवि÷साहित्यकार कुन्ता शर्मा, कवि/समालोचक मिश्र बैजयन्ती, गजलकार मधु पोखरेल, कवि÷कथाकार गायत्रीकुमार चापागाईं, कथाकार लोचन रिजाल, साहित्यकार रामबाबु दाहाल लगायत झापा, मोरङ, सुनसरी र छिमेकी जिल्लाबाट समेत स्थापित र नवोदित थुप्रै कवि तथा साहित्यकारको गरिमामय जमघट हुनेगर्छ कार्यक्रममा र दर्शक दीर्घामा बसेर कविता सुन्ने काम हुन्छ । यसरी नेपाली साहित्य आकाशका हस्तीहरु दर्शक दीर्घामा बसेर कार्यक्रमको ओज बढाउनुका साथै हौसला प्रदान गर्ने काम हुन्छ।

नाट्यकेन्द्र र गाउँमा कविता कार्यक्रमले तेश्रो वार्षिकोत्सव मनाइसकेको छ । जसमा नेपाल र भारतका साहित्यकारको उल्लेखनीय उपस्थिति रहने गर्छ । वार्षिकोत्सवमा ‘गाउँमा कला र साहित्यको उत्सव’का रुपमा मनाउने गरिन्छ जसमा नाटक मञ्चन, साहित्यिक बहस, कवितामा युवा शक्ति, मुक्तक वाचन, गजल साँझ, सडकमा कविता, छन्दमा कविता, सीमा पारीका कविता, काव्य विमर्श जस्ता कार्यक्रम भइसकेका छन्।

दुइदिनसम्म मनाइने वार्षिक कार्यक्रम आवासीय हुने गर्छ । झोराहाटवासीहरु पाहुनालाई सत्कार र आवासका लागि घर उपलब्ध गराउन पाउँदा अत्यन्तै गौरवानुभूति महशुस गर्छन् । हामी समस्त साहित्यप्रेमिप्रति आभारी छौं।  

त्यस्तै गरेर विजया दशमीको श्रृंखलामा ‘१० कविका कविता’ वाचन कार्यक्रम पनि भएको थियो । नाट्य केन्द्रमा साहित्यका कृतिसमेत विमोचन हुन्छ । जस अनुसार नाट्य केन्द्रका अध्यक्ष, रंगकर्मी, कवि भरत गुरागाईंको काव्यकृति ‘रात र युद्ध’ को विमोचन  कवि तुलसी दिवसबाट भएको थियो।  

नाट्य केन्द्र र गाउँमा कविताको वार्षिकोत्सव पारेर पुरस्कार समेत वितरण गरिएको थियो । कवि अनिल पौडेलद्धारा स्थापित ‘भावना प्रतिभा पुरस्कार’ बाट बादलदेवी चाम्लिङ र रोशन परियारलाई सम्मानित गरिएको थियो । त्यस्तै झोराहाटका युवाद्धारा स्थापित ‘झोराहाट साहित्य पुरस्कार’ बाट कवि मुनाराज शेर्मा र शुभलक्ष्मी लम्साललाई सम्मानित गरिएको थियो । नाट्य केन्द्रद्धारा स्थापित ‘झोराहाट नाट्य पुरस्कार’ बाट नाट्यकर्मीहरु रामभजन कामत र कविता नेपाललाई पुरस्कृत गरिएको थियो।

यसैगरि झोराहाटमा २०१६ सालदेखि नाटक यात्रा आरम्भ गरि रंगमञ्चको क्षेत्रमा नयाँ पिढींलाई मार्गदर्शन गर्नुहुने अग्रज लोकनाथ न्यौपाने, देवीप्रसाद ढुंगाना, धनपति लुइटेल, यादव लुइटेल, मित्रप्रसाद भट्टराई, छत्रपति लुइटेल, तेजप्रसाद खनाल, टीकाराम खनाल, धर्मराज तामाङलाई सम्मान गरिएको थियो । झोराहाटका जेष्ठ नागरिक सय वर्षे बखतबहादुर कार्की (मुखया बा) लाई पनि सम्मान गरिएको थियो।

कवि श्यामल, साहित्यकार तुलसी दिवस, आख्यानकार कृष्ण धराबासी, कवि मनु मञ्जिल लगायत थुप्रै अग्रज स्रष्टा यी कार्यक्रममा साक्षात्कार भइसकेका छन्।

गाउँले जीवन अलि व्यस्त र स्वावलम्बी हुन्छ । उनीहरु चारोको खोजीमा बिहान निस्कन्छन् र साँझ गुँडमा फर्किन्छन् । उनीहरुसँग प्रतिभा र सिर्जना हुँदाहुँदै पनि कहिल्यै एकाकार हुन सकिएन । त्यसैले बेलुकी खानापछिको फुर्सदलाई सदुपयोग गर्नुपर्छ भन्ने निक्र्यौल हाम्रो केन्द्रले ग-यो र हरेक महिनाको दोश्रो र अन्तिम शुक्रबार साँझ ७ : ३० बजे ‘रंगमञ्चमा सिर्जना’ भन्ने अर्काे नयाँ कार्यक्रम थालनी ग-यौं । जसमा स्थानीय सर्जकहरुले अभिनय, लघुकथा, कविता, मुक्तक, गजल, गीत, बालन, संगीनी आदि पस्किने गर्छन्।

झोराहटलाई चिनाउन र यसलाई साहित्यको हब बनाउन सकियोस भन्ने हाम्रो साझा प्रयास हो । यो यात्रामा हामी उत्साहि छौं।

प्रकाशित: ६ आश्विन २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App