२६ श्रावण २०७७ सोमबार
अन्य

पितृ मोक्षको लागि ‘उपाकु वनेगु’

मृतककाे सम्झनामा पाल्चा(बत्ती) दिँदै स्थानीय। तस्बिर :तेज महर्जन/नागरिक

काठमाडौं हनुमानढोका परिसरमा गत शुक्रबार बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।

संस्कृतिविद् उपप्राध्यापक राजनलाल जोशीका अनुसार आठ दिनसम्म मनाइने उल्लासमय इन्द्रजात्राको बीच हुने ‘उपाकु वनेगु’, ‘दागिं’, ‘बौमत’, ‘हाथु हायेकेगु’, ‘यंकीदँ (इन्द्र सरोबर) जाने’ पितृ मोक्षको लागि गरिने जात्रा तथा परम्परा हुन्।

इन्द्र जात्राको पहिलो दिन भदौ शुक्ल द्वादशीको दिन ‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवार काठमाडौंको भित्री शहरमा नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन् । यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षको लागि गरिने परम्परा रहेको उनले बताए।

‘वर्षदिनभित्र मृत्यु भएका आफन्तलाई स्वर्गको बाटो देखाउन भनी यसरी बत्ती दिएर जाने चलन रहेको छ,’ उनले भने ।
संस्कृति अध्ययता एकाराम सिंका अनुसार नेवार संस्कारमा काँचो दियो मृत्यु संस्कारमा मात्रै चलाइन्छ । उनले भने, ‘काँचो दियो भनेको मृत्यु संस्कारमा मात्रै चलाइन्छ, त्यसैले उपाकु बेला काँचो पाला राखेर जानुको अर्थ मृतात्माको लागि गरिने परम्परा हो भनेर बुझ्नुपर्छ।’

अध्ययता सिंका अनुसार उपाकु परम्परा लिच्छविकालमा नै सुरु भइसकेको मानिन्छ । काठमाडौंको परम्परागत सहरको निर्माण लिच्छविकालीन राजा शंकर देवको पालामा सुरु भई गुणकामदेवको पालामा सम्पन्न भएको मानिन्छ । नगर निर्माणपछि गुणकामदेवले उपाकु भनेर नगरको सीमा क्षेत्रको बाटो हुँदै नगर परिक्रमा गर्ने चलन बसाएको हो।

उपाकु बेला भीमसेनस्थान, भगवतीबारी, चसान, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछि, भोताहिटी, महाबौद्ध, न्युरोड गेट, टेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ । उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्ग आकारको रहेको मानिन्छ।

‘गुणकामदेवले तत्कालीन नगर खड्ग आकारमा बनाएको हुँदा नगरको सीमा क्षेत्रबाट परिक्रमा गर्दा खड्ग आकारमै परिक्रमा गर्नुपथ्र्यो । तर, अहिले कुनै कुनै ठाउँमा परिक्रमा गर्ने बाटो थप भइसकेकोले ठ्याक्कै खड्ग आकारको भने छैन,’ अध्ययता सिंले भने।

संस्कृतिविद् जोशीका अनुसार सीमा क्षेत्रको बाटो हुँदै नगर परिक्रमा गर्नुको कारण तत्कालीन समयमा नागरिक समाजबाट आफ्नो नगरको सीमा क्षेत्रको अनुगमन गर्नु पनि हो । उनका अनुसार परिक्रमाको बाटो नगर बाहिर सीमा क्षेत्रमा राख्नुको उद्देश्य नगर सुरक्षाको लागि बनाएका पर्खालहरूको अवस्था के कस्तो छ भन्ने नागरिक समाजबाट अनुगमन गर्नको लागि पनि हो।

गुणकामदेवले नगरको रक्षाका लागि ३२ ठाउँमा क्षेत्रपाल राखेका थिए । इन्द्रजात्राको बेला यी ३२ ठाउँमा अहिले पनि क्षेत्रपालको रुपमा रहेका भैरवको मूर्ति निकाल्ने परम्परा रहँदै आएको छ । भैरवको मूर्ति निकाल्ने ठाउँमा साना साना लिंगो पनि ठड्याउँछन् भने उपाकुको दिन समय्बजि सजाएर राखिन्छ । उपाकु परिक्रमा गर्ने बेला यी क्षेत्रपाल भैरव रहेको ठाउँमा पनि पाला राख्दै जान्छन् । त्यस्तै दोबाटो, चौबाटोमा पनि पाला राख्दै जान्छन्।

संस्कृति अध्ययता सिंका अनुसार नेवार परम्परामा दोबाटो–चौबाटोमा भूत प्रेत हुन्छ भन्ने चलन छ । ‘यी भूतप्रेत पन्छाउन पनि उपाकु बेला दोबाटो चौबाटोमा बत्ती बाली पाला राखिन्छ,’ उनले भने।

वर्षदिनभित्र आफन्तको मृत्यु भएको घरमा ‘दलू मत’ (एक प्रकारको घरको झ्याल बाहिर झुण्ड्याएर राखिने ठूलो दियो) झुण्ड्याएर पुजा गरि बत्ती बालिसकेपछि उपाकु परिक्रमाको लागि आफन्तजन बाहिर निस्कन्छन् । ‘दलू मत भनेको कोही व्यक्तिको मृत्यु भइसकेको घरमा मात्र राखिन्छ । त्यसैलै वर्षदिनभित्र मृत्यु भएको व्यक्तिको नाममा उपाकुको दिन दलू मत झुण्ड्याइ सकेपछि मृतात्माको मोक्षका कामना गर्दै दिनदिनै साँझ यसमा बत्ती दिने गरिन्छ,’ संस्कृतिविद् जोशीले भने।

प्रकाशित: ५ आश्विन २०७५ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App