२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्कुलै नपढी कलेज

तस्बिर : कृष्पा श्रेष्ठ

साहित्यकार माया ठकुरी भारतको लख्नौको सैनिक अस्पतालमा जन्मिएकी हुन् । उनी परिवारको पहिलो सन्तान थिइन् । पहिलो सन्तान जन्मँदा जुन किसिमको हर्षोल्लास हुनुपर्ने हो, त्यो उनी जन्मँदा भएन । उनका पिताले छोरा जन्मेपछि खुसी मनाउने भन्दै तोप पड्काउन ठिक पारेर राखेका थिए । तर, जसै छोरी जन्मिइन् उनले पुर्पुरोमा हात समाउँदै छोरीको मुखै हेरेनन् ।

उनका पिता सैनिक हस्पिटलमा काम गर्दथेँ । आम्दानीका लागि खासै गाह्रो थिएन । त्यसमाथि नेपालको राणा खानदान लाउनखान गाह्रो पर्ने कुरा भएन । तर उनी छोरी भएर जन्मनु नै अभिशाप भयो । उनका पिताले उनलाई फर्केर हेरेनन् । घरमा आर्थिक सहयोग कहीँ कतैबाट भएन । उनका पिताले अघोषितरूपमा उनकी आमालाई छोडिदिएसरह नै भयो ।

विद्यालय नै नपढी एसएलसी

आमाले धेरै दुःख गरेर उनलाई हुर्काइन् तर पढाउन भने सकिनन् । तर ‘खाने मुखलाई जुगाँले छेक्दैन’ भने जस्तै भयो उनलाई । मेघालयमा हुर्केकी उनी त्यहाँ नारी प्रधान समाज थियो । उनी भन्छिन्, ‘नारी प्रधान समाजमा महिलाले बिहे गरेर पुरुषलाई घर लिएर जान्थे । महिलालाई हेलो होँचो भने हुँदैनथ्यो । तर, मैले पढ्न नपाउनुमा आर्थिक कारण नै प्रमुख रहेको थियो ।’ ठकुरीले स्कुलमा औपचारिक शिक्षा भने लिन पाइनन् । प्राइभेट एसएलसी दिनका लागि आमालाई मनाएर एकजना सरसँग पढ्न गइन् । त्यहाँ अरू विद्यार्थी पनि आउँथे । उनले त्यो दिन सम्झिँदैै ‘मैले सरसँग पढेको पैसा दिन सक्दिनथेँ । अनि उहाँहरूकै घरमा भाँडा माझ्दै पढेँ ।’

उनको पहिलो परीक्षा नै एसएलसी थियो । त्यहाँभन्दा अगाडि कुनै परीक्षा दिएको अनुभव उनमा थिएन । उनलाई पढाउने सरले अगाडि नाम रोल नम्बर लेख्न सिकाए । तर उनले भयंकर गल्ती गरिछन् । त्यो कुरालाई उनले यसरी सम्झिन्, ‘मलाई कहाँ कसरी लेख्ने थाहा थिएन । कापीको एकापट्टि मात्रै लेखेँ । पछि यसो अरुलाई हेरेको त दुवैपट्टि लेखेको देखेँ अनि मैले आइडिया लगाएँ प्रश्न नम्बर लेख्दै उत्तर लेख्दै गरेँ, त्यसरी हेर्दा एक पानामा एउटा उत्तर अर्काे पानामा अर्काे उत्तर भयो । अनि कापीको पुछारमा प्रश्न नम्बर लेख्दै गएँ आखिरीमा त्यही विषयमा सबैभन्दा धेरै नम्बर आयो ।’ 

कलेज पुग्दा तर्सिएँ

स्कुलको मुख नदेखेको म एकैचोटी कलेज जाँदा त तर्सिएँ ठकुरी भन्छिन्, ‘त्यो माहोल ठूलो कक्षा कोठा सरहरूले पढाउने तरिका, साथीहरूले अंग्रेजी बोलेको देखेर म त आश्चर्यमा परेँ ।’ उनलाई साथी कसरी बनाउने । कसरी घुलमिल हुने भन्ने नै थाहा थिएन । उनले कलेजमा पिकनिक जाने घुम्ने, सिनेमा हेर्ने कुनै काम गरिनन् । उनी भन्छिन्, ‘खासमा मेरो कलेज लाइफ भन्ने नै भएन । साथीभाइसँग रोमान्स के हो भन्ने कुरा नै आएन । सरसर्रति पढ्यो आयो, क्लास सकिनेबित्तिकै काममा गयो । बडो बिचित्रको लाइफ भयो मेरो त ।’ उनी मेघालयमै टाइपिस्ट थिइन् । त्यहाँ उनले मासिक ६० रुपैयाँ पाउने गरी काम गर्थिन् ।

साहित्यमा रुचि

‘मलाई सानैदेखि साहित्यमा रुचि रहेछ, कविता कोर्ने काम गर्थेँ ।’ उनी कलेजको रमाइलोमा भुल्न नपाए पनि साहित्यिक कार्यक्रममा भने मज्जैले घुलमिल हुन पाइन् । त्यतिबेला उनी साहित्यकार लीलबहादुर क्षेत्री, नाटककार डि आर सुब्बासँग संगत गर्न पाइन् । पढ्ने लेख्ने क्रम त्यसपछि चल्यो । 

पढाइको नाममा शैक्षिक संस्थामा गएर जम्मा ४ वर्ष पढेकी ठकुरीको पढ्ने लेख्ने लगाव यस्तो थियो कि पुराना पत्रिका पुस्तकहरू मज्जाले पढेको सम्झिन्छिन् । उनी भन्छिन्, ‘औपचारिक शिक्षाको लामो अनुभव नभए पनि भेटेका पुस्तक भने म पढेकै हुन्थेँ । जसले आज मलाई यहाँसम्म ल्याइपु-यायो ।’

त्यो ४ वर्ष झिक्दा

७१ वर्षीय ठकुरी आफ्नो जीवनको ४ वर्ष जुन समय उनी कलेज गइन् त्यो समय झिक्दा अपुरो मात्रै हैन जीवन जिउनुको सार्थकता नै नहुने बताउँछिन् । उनी भन्छिन्, ‘त्यो ४ वर्ष मेरा लागि स्वर्णिम काल हो ।’

उनले त्यही शिक्षाले गर्दा पढाउने अवसर पाइन् । लामो समयसम्म पोखराको गण्डकी बोर्डिङ स्कुल पढाएकी उनी, स्कुल नपढे पनि स्कुले बच्चालाई पढाउँदा आफैँ स्कुल पढेको अनुभव भएको बताउँछिन् ।

प्रेममा रहेको थाहै भएन

प्रेम विवाह गरेकी उनी प्रेममा परेको थाहै नभएको बताउँछिन् । उनी भन्छिन्, ‘उहाँ र म छरछिमेकी हौँ । एकले अर्कालाई मज्जाले बुझ्थ्यौँ । प्रेम भनेर त्यस्तो घुम्न पनि गइएन तर जसै हामी नेपाल आयौँ अनि विवाह ग-यौँ ।’ उनीहरूको विवाह अन्तरजातीय हो । अन्तर जातीय विवाह भए पनि उनीहरूलाई समस्या भने भएन । 

मेघालयमा जातभात धर्मको नाममा कुनै किसिमको झैझगडा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘खासमा मलाई श्रीमानले निकै सहयोग गर्नुभयो । मेरो कथालाई अंग्रेजीमा अनुवाद गरेर होस् या मलाई लेख्ने वातावरण सिर्जना गरेर होस् उहाँले मलाई माया प्रेम सद्भाव सधैं गर्नुभयो र अहिले पनि गरिरहनुभएको छ ।’ मैले लेखेका पुस्तकलाई श्रीमानले अनुवाद गर्नुभयो । लोककथा पढ्न नर्वेका लागि छात्रवृत्ति पाएँ र नर्वे गएँ । 

जिन्दगी दुःखसुखको संयोग

‘दुःख र सुख एकै सिक्काका दुईपाटा जस्तै हुन् । कहिले कुन अगाडि आउँछ कहिले कुन ।’ साहित्यकार माया ठकुरीले कुराकानीको सुरुवातमा नै भनिन्, ‘अब त आफूले पहिले पाएका दुःखका कुरा नगराैं कि झैं हुन्छ बेकारमा खाटा बसेको घाऊ किन उप्काउनु ।’

त्यो बिग्रेकी केटी 

सानोमा उनलाई सबैले बिग्रेकी केटी भन्थे । अहिले उनकै कृतिहरू मेघालयका विश्वविद्यालयमा पढाइ हुन्छ । उनी त्यो बेलामा आफूलाई सबैले बिग्रेकी केटी भन्ने गरेको बताउँछिन् उनी भन्छिन्, ‘मलाई त्यतिबेला बिग्रेकी केटी भन्थे । म पढेकी पनि थिइनँ । अरूले केही भने भने म प्रतिवाद गर्दथेँ । बच्चाबेलामा स्कुल पनि गइनँ मलाई त्यतिबेला सबैले बिग्रेकी केटी भन्थे ।’

प्रश्न सोध्न सक्ने आजको पुस्ता

ठकुरी आजको पुस्ता प्रश्न सोध्न सक्ने लाग्छ । उनी भन्छिन्, ‘आजको पुस्ता प्रश्न सोध्न सक्ने छ, हाम्रो जमानामा हामी खानेकुरा माग्न पनि डराउँथ्यौँ तर आजको पुस्ता चाहे परिवारलाई होस् चाहे बाहिर होस् आफूलाई जिज्ञासा लागेको कुरा सोध्न सक्छ ।’

प्रकाशित: २७ भाद्र २०७५ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App