१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

५० दिनमा पनि पुरिएनन् खाल्डा

फाइल फाेटाे

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।

प्रधानमन्त्री ओलीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव,  सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कलंकी–थानकोट, चाबहिल–जोरपाटी–बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए । तर, अझै स–साना खाल्डाखुल्डी यथावत् रहेको र पानी जमेको भेट्टिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मगंलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘सडक केही ठूला खाल्डाखुल्डी पुरिएको भए तापनि स–साना खाल्डाखुल्डी यथावत रहेको र पानी समेत जमेको देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धता जनाए अनुसार नभएको साथै कतिपय नयाँ गाडिएका विद्युतका पोलहरू सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा गाडिएको भेट्टियो।’

‘सडक केही ठूला खाल्डाखुल्डी पुरिएको भए तापनि स–साना खाल्डाखुल्डी यथावत रहेको र पानी समेत जमेको देखिएको छ ।’

कार्यालयले मंगलबार गरेको अनुगमनमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको जिम्मेवारीमा रहेको उक्त चाबहिल–बौद्ध जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले प्रधानमन्त्रीको निर्देशनअनुरूप खाल्डाखुल्डी पुर्ने काम नभएको बताउँछन् । कार्यालयले अनुगमनको क्रममा निर्माण सामग्री यत्रतत्र छरिएर रहेको अवस्थामा भेट्टाएको थियो।

कार्यालयले कंलकी– नागढुंगा सडकखण्ड पहिलाको तुलनामा केही सुधार भएको जनाएको छ । महाशक्ति पेट्रोल पम्प नजिकको सडकखण्डको पोल र तार हटाएर ढलान हुन लागेको प्रवक्ता कुँवरले जानकारी दिए । ‘महाशक्ति पेट्रोल पम्पदेखि  मंगलदोय माविसम्म पोल सार्न, घरहरू  हटाउन  तथा सडकको राइट अफ वे बाँकी रहेकाले बाटो  विस्तार नभएको तथा खाल्डाहरू यथावत रहेका छन्,’ उनले भने, ‘त्रिभुवन पार्क थानकोटको ओरालोमा खाल्डाहरु बढी रहेका छन् । बीचबिचमा रिटेनिङ वाल लगाए पनि पोल सारिएका छैनन्।’

त्यस्तै गरी कार्यालयले हाइभिजन माउन्ट सगरमाथा ब्रिलियन्ट एकेडेमीदेखि दूरसञ्चार कम्पाउन्डसम्म, आर्दशनगरदेखि नैकाप तीनथाना फेमिली मार्टसम्म र सतुंगल मुख्य बजारमा बार तथा पोल हटाउन बाँकी रहेको जनाएको छ।

कार्यालयले बाँकी रहेका कामहरू समयमै सम्पन्न गर्न तत्काल खाल्डाखुल्डीहरूमा बेस हाली सम्याउने, नाली बनाई मुख्य ढलमा मिसाउने, निर्माण सामग्री, फोहोरमैला तत्काल उपयुक्त स्थानमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । त्यस्तै गरी विद्युत र टेलिफोनको पोल तथा तारहरु हटाउने र  यथाशीघ्र चाँडो आयोजना सम्पन्न गनए निर्देशन दिएको कार्यालयले जनाएको छ।

तर, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले चाबहिल–बौद्ध जोरपाटी सडक खण्डका मुख्य खाल्डाखुल्डी पुर्ने काम सकिएको दाबी गर्छन् । ‘सडकमा रहेका मुख्य खाल्डाखुल्डी  पुरेका छौं,’ उनले भने, ‘नियमित वर्षा भएकाले केही ठाउँमा स–साना खाल्डाखुल्डी देखिएका छन् । हिउँदसम्म कालोपत्रे गर्ने योजना बनाएका छौं।’

प्रकाशित: १५ भाद्र २०७५ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App