१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

परिवारै परमधाम

ज्ञानेन्द्र विवश

मह र मौरी गुणकारी हुन् । मह काढ्नेले हात चाट्छ र तिनैलाई बढी थाहा हुन्छ महको स्वाद । तर, हिजोआज महको स्वादमा सक्कली स्वाद आउँदैन । भीरमौरीको शिकारले मौरीको गोलोको दोहोलो काढिएको छ । शान्त, सुन्दर र सुखी परिवारको परमधामले मौरीपुस्ताकै अन्त्य हुँदैछ । वास्तवमा यो अत्यन्तै दुःखद् पाटो हो ।

तोरीबारीमा भुन्भुनाइरहेका मौरीका हुल मह जम्मा पार्न एकनाश रस बटुलिरहेका छन् । फूलबारीमा पनि तिनको दलबल रस चुस्दै उडिरहेका छन् । मौरीका घार गइरहेका छन् । फूलका रस चुस्न आइरहेका छन् । तिनीहरूमा बेग्लै उमङ्ग छ, बेग्लै उत्साह र आनन्द छ । मित्रता र मिलेमतोको साझा सङ्कल्प छ त्यहाँ । मौरी ममताको महानता छ त्यहाँ । कसैप्रति कुनै गुनासो र दुःखेसो छैन । कसैप्रति कुनै आरोप र आग्रह छैन । आफ्नै परिश्रममा परितृप्त मौरीको मिहिनेत मीठो छ । मौरीले बनाउने घार त्यत्तिकै सुरक्षित हुन्छ । मौरीको मह त्यति नै मीठो हुन्छ । मिहिनेतको फल त्यसै मीठो हुन्छ । आफ्नै परिश्रमको कमाइ स्वादिष्ट हुन्छ ।

निर्धो मौरीको निर्बलियो घार हुँदैन । हल्का र सानो ज्यानका लागि कमजोर कोठा पनि बलियो नै हुन्छ । तथापि मौरीको घार गठिलो र मजबुतको हुन्छ । त्यही घार मौरीका लागि आलिसान दरबार हो । त्यो घार, घर–संसार समग्र हो । जतनले बनाएको घारमा मह सञ्चयको सागर हुन्छ । हुरी, बतास, असिना, मुसलधारे पानी र प्रचण्ड घामले कत्ति पनि बिगार्न सक्दैन । त्यति सुरक्षित र ओभानो ओत हुन्छ त्यो । 

यद्यपि मौरी मारेर मज्जा लिने महशिकारीहरूका कारण त्यो घार र ती मौरीको भविष्य भताभुङ हुन्छ । भत्किन्छ, भत्काइन्छ र भग्नावशेषमा परिणत गराइन्छ । महशिकारीरूपी हुण्डरीले मौरीको सुन्दर, शान्त संसारको चिल्लिबिल्ली पार्छ । मौरीलाई छिन्नभिन्न र तहसनहस पार्छ । मौरी र शिकारीबीच घमासान युद्ध हुन्छ । तर मौरीले जित्न सक्ने कुरै भएन । शिकारीले हार्ने प्रश्न उठ्दैन । 

भुन्भुनाइरहेका लाखौं मौरीका हुल । आक्रमणमा प्रतिक्रमण गर्न तम्तयार जस्तो । थाहै नपाई चिल्न सक्ने र चिलेर कतै बेपत्ता हुन सिपालु मौरीका बथान । महका लागि आफूलाई चाहिने फूलको रस कहाँ छ ? त्यो सजिलै थाहा पाएर त्यहाँ पुगी मुखमा च्यापी जम्मा गर्छन् । भीरमा बलियो गरी घार बनाउँछन्, मह जम्मा पार्छन् र बच्चा हुर्काउँछन् । 

मह उत्पादनका लागि मौरीको मिहिनेत सामान्य वा साधारण हुँदैन । तोरीबारी, फूलबारी वा गुराँस, चाँपचम्पाका रसको खोजीमा कोसौँ दूरी वेग हान्छन् । यसरी बनाउँछन् महका चखिला, रसिला र पहेँला चाका मौरीले । मौरीको परिश्रमलाई कसैले पछ्याउन र उछिन्न सक्दैन । मौरीको जाँगर जगतभरै जगजाहेर छ । महशिकारी वा अरू शत्रुबाट बच्नका लागि पनि मौरीले अप्ठ्यारो भीरमा आफू बस्ने घर बनाउँछ । जहाँ हत्पति कोही पनि पुग्नै सक्दैनन् । त्यही अप्ठ्यारो अक्करे भीरमा भीरमौरीका चाका छन् । त्यस्तो अप्ठ्यारोमा मानिसलाई चकित पार्ने चाका मौरी र महका भण्डार हुन् । यिनै महका सुनौला गोलाकार चाकामा शिकारीको गिद्धेनजर गाडिएको हुन्छ ।

तथापि नेपालका भीरहरू महशिकारका लागि प्रसिद्ध छन् । उहिल्यैदेखि महशिकारको सिलसिलाले निरन्तरता पाउँदै आएको छ । त्यसैले महशिकार अर्थात् हनी हन्टिङका नामले पनि नेपाल चिनिन्छ । 

एकातिर कालोमुस्लो धुवाँको उडान । अर्कोतिर अक्करे पहाडी उचाइको भीर । एकान्त अनकन्टार पहराको टाकुरा । ढुंंगाका कापहरूमा महका घारका हारैहार, खातैखाता । सुन जस्तै पहेँलपुर रसिला चाकाहरू पहरामा तुर्लुङ्ग झुण्डिएको देखिन्छ । हो, त्यही सुनरूपी चाकामाथि शिकारीको लोभी आँखा लाग्छ । अनुभवी महशिकारीहरू शिकारी सत्ताको कठोर रणनीतिमा जुट्छन् । हुन त, ज्यान खाने भीर हो भीरमौरीको घर । देख्दैमा सात्तो जाने चट्टानमा अवस्थित हुन्छ मौरीको घार । न टेक्ने टेको, न समात्ने बुटो हुन्छ त्यहाँ । न त देख्ने दृश्य हुन्छ । न हारगुहारको सुनुवाइ हुने ठाउँ हो त्यो । केवल अरण्य रोदन मात्र । तल हेर्दा कहालीलाग्दो गहिरो खोँच । जीवनलाई जोखिममा राखेर तैपनि शिकारी टोली आक्रमणमा अग्रसर हुन्छन् । 

भीरमौरीको शिकारकर्ममा साहस, शक्ति र सुव्यवस्था चाहिन्छ । यहाँ डरपोकको कुनै काम छैन । यहाँ कमजोर मन र मुटुले आउनै हुँदैन । आँट, धैर्य भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुन्छन् । त्यसैले भीरमौरीको महशिकार गर्नु जोखिम र रोमाञ्चकतासँगै राम्रो आम्दानी देख्नेहरू छन् । वास्तवमा साहसी कामका रूपमा लिइन्छ भीरमौरीको मह शिकार । अचम्मै लाग्छ अर्कालाई मार्ने पनि साहसी शिकार ?

मौरीको घार घेरेर सुरक्षित किसिमले घोचाले उधिनेर निकाल्नु कम चुनौती र चमत्कारको काम होइन । महशिकार गरी मह काढ्न मरिहत्ते गर्ने महशिकारी गुरुङ बूढाहरू बिँडीको सर्को तान्दै योजना बुनिरहेका हुन्छन् । आङै सिरिङ्ग हुने अग्ला भीर पहरामा निडरतापूर्वक मह काढेको दृश्य कतिका लागि अविस्मरणीय, रमणीय र रोचक क्षण हुन्छ । कतिपयका लागि भने पीडाजन्य हुन्छ । अनुभवी र दक्ष महशिकारीले मात्र शिकारमा भाग लिन्छन् । अग्ला भीरपहरामा चढेर मह काढ्नु साहसी र कुशलताको काम हो । यसले पर्यटकलाई पनि लोभ्याउँछ ।

भीरमा झुन्डिएर मौरीको सामना गर्दै मह काढ्नु चानचुने कुरा अवश्य होइन । परम्परागत प्रविधि अपनाएर मह काढिन्छ । पुर्खाहरूले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप अपनाएर आफूहरूले मह काढ्ने गरेको महशिकारीको भनाइ छ । 

मौरीले चिल्ला भनी बच्नका लागि अनेक उपायको तयारी हुन्छ । कोही जिउभरि ग्वाम्लाङ बोराले छोपिएर बस्न बोराको जोहो गर्छन् । कोही मुख ढाक्ने पारदर्शी ढकन बनाउँछन् । कसैले पङ्खा हम्केर मौरी धपाउने तयारी गर्छन् । कोही भने आगोको मुस्लोले झोसेर मौरीको मृत्यु घोषित गर्ने रणनीतिमा जुट्छन् । मह काढ्नेले हात चाट्छ । ज्यानलाई बाजी मारेर जिउनका लागि, दुईचार पैसाका निम्ति हरेक वर्ष यसरी महशिकार गरिने परम्परा बराजु पुस्तादेखि अद्यपि खनाति, जनाति पीँढिसम्म निरन्तर कायम छ । ज्यान हत्केलामा राखी डोरीको लिस्नो टेकिन्छ । त्यसकै सहायताले भ-याङ चढिन्छ । सास्ती सहेर चिनीभन्दा गुलियोे मह काढिन्छ । 

महशिकारमा कुइरिमण्डल धुवाँको धुपले देखिसक्नु हँुदैन । बादल लागेझैं छपक्कै ढाकिन्छ भीर । घुर्मैलो रङमा अनुवाद भीरमा एक प्रकारले मानिसको शिकारी मानसिकता मौलाउन थाल्छ । मानिस शिकारी युगतिर फर्किंदै गएको सङ्केत हुन्छ । घोचाले घोचेर त्यसैमा महका चाका उधिन्दै अड्याएर निकालिन्छ । 

त्यतिबेला आक्रमणका लागि छिनभरमै मौरीको फौज झुत्तिन्छन् र झम्टिन्छन् । आखिर केही लाग्दैन निरीह निम्सराको । पीरो धुवाँको मुस्लो पीडा खप्न नसकी कति तत्क्षण मृत्युवरण गर्न पुग्छन् । कति आगोको लप्काले मर्छन् । कति धुवाँले निस्सासिएर निमोठिन्छन् । केही भने बल्लतल्ल उम्केर बाँच्दा आफन्त खोज्दाखोज्दै पहाडको शून्यतामा आफू एक्लै अनायासै हराउँछन् । प्राणपखेरू थाहै नपाई पहाडी खोँचमै बिलाउँछ । 

कति मौरी तिरिमिरीझ्याइँ देखेर तितरवितर हुन्छन् । कति आत्तिएर मर्छन् । कतिपय तर्सिएर मर्छन् । जीवनभन्दा मरणकै गणना धेरै हुन्छ । त्यहाँ कसले औषधि र उपचारको व्यवस्था गर्ने ? कसले चह-याइरहेको घाउँमा मल्हमपट्टी लगाउने ? मायालु स्पर्शले त्यहाँ कसैले सुम्सुम्याउँदैन ।

अन्ततः भीरमौरीको घार भताभुङ्ग हुन्छ । तिनको भविष्य त्यहीँ समाप्त पारिन्छ । परिश्रमका पुजारी मौरीहरूप्रति कसैले बिचरा भन्न सक्दैनन् । कसैले दयाको बलिदान दिँदैन । मौरीले आफ्नै निःस्वार्थ मिहिनेतको कमाइको फल खान पाउँदैनन् । बच्चा हुर्काउन र बचाउनसमेत सक्दैनन् ।

निडर र निर्दयी शिकारी समूहद्वारा घरबासकै उठिबास हुन्छ । त्यहाँ त्यतिबेला रुने, कराउने, चिच्याउने, विरोध–समर्थनको कुनै अर्थ हुँदैन । महशिकारीको निर्मम नीलडामले मौरीका लालाबालाको के कुरा मौरी बथानकै बेहाल हुन्छ । मर्छन् र मारिन्छन् चाकाभित्रै । गुम्स्याइन्छन्, गुटुमुटु गुम्नाम बनाइन्छन् । बाहिरी संसारसमेत देख्न नपाई आँखा खोल्नै नपाई परमधाम हुन पुग्छन्, पु-याइन्छन् मौरीका परिवार । 

ती मौरीको रोदन, अनुनय, विनय, विभत्स विलाप, चित्कार कसैले सुन्दैन । मौरीको अरण्य रोदनको शृङ्खला क्रमशः चुलिँदै जान्छ । मौरीको पीडाजन्य पक्ष एकातिर । अर्कोतिर मीठो सपनालाई विपनामा रूपान्तरण गर्न जुँगा मुसार्ने महशिकारीहरू । मह चाट्दै, चाख्दै स्वादिलो अनुभूतिको गुलियो मिठासको घुट्को लिन्छन् । 

भनन्न भन्किरहन्छन् झम्टिन मौरीका झुण्ड । तर चिल्ने र चिल्न नपाउनेहरूको छरपस्ट उडान यत्रतत्र हुन्छ । तीमध्ये पनि रानोविनाका मौरी कति त्यत्तिकै आफैं मर्छन् । कति भागेर कतै भीरमा पुग्छन् । खोज्छन् आफ्ना प्रिय आफन्तहरू । कति अरूका आहारा बन्छन् । कति भाग्दाभाग्दै, उड्दाउड्दै भोकाएर, थाकेर मर्छन् । अन्ततः एउटा सुन्दर पारिवारिक संसारको आखिरी अन्त्य हुन्छ । हजाराैं निर्दोष ज्यानमाराबाट मारिन्छ ।

महशिकारी मौरीले चिलेको नीलडाम बोकेर घारबाट घर फर्किन्छन् । मौरीले चिलेको खिलसँगै भुक्क सुन्निएको चिन्नै नसकिने चेहरा लिएर आउँछन् । चिलाइको पीडा तिनैलाई थाहा छ । तैपनि चिलाइबाट चेत्दैनन् ।

मौरीको चिलाइले आँखै नदेखिने विरूप स्वरूपमा पनि तिनलाई मज्जा छ । भत्भती दुखाइमा पनि हाइसञ्चो र सुविधा छ । आखिर गुलियो महको स्वाद छँदै छ । महको बिक्रीबाट आम्दानी हुने हिसाब–किताबको बेग्लै उपलब्धि छ । यति भएपछि कुनै दुखाइ र पीडा हुँदैन । कसैको चिन्ता र चासो रहँदैन । पैसाले पीडा बिर्साएको हुन्छ ।

म्याग्दी, बागलुङ, स्याङ्जा आदिका अक्करे भीरहरूमा मह शिकार गरिन्छ । भीरमा महशिकारी डोरीको सहायताले भीरमौरीको गोलासम्मै पुगेर मह काढ्छन् । देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह काढिरहेका हुन्छन् । तल बसेर हेर्दा त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । यी ठाउँबाहेक अरू धेरै भीरहरूमा भीरमौरीको शिकार गरिन्छ । 

बर्सेनि यसरी नै मौरीमाथि शिकारी भालाले प्रहार हुन्छ । तिनको आक्रमणबाट भटाभट मौरी मर्छन् । यो क्रमको निरन्तरताले भीरमौरीको भविष्य भत्किँदै गइरहेको छ । भीरमौरीको बासस्थान असुरक्षित बनिरहेको छ । यस किसिमको आक्रमणले कुनै दिन भीरमा मौरी नपाइन सक्छ । वस्तुतः भीरमौरी पनि अन्य कतिपय लोपोन्मुख प्राणी जस्तै त्यस्तै लोपोन्मुखको सूचीमा पर्नु के बेर ? यद्यपि चिन्ता र चासो जागेको कसैलाई छैन । जाबो मौरी निमिट्यान्न भएर के हुन्छ ? भन्ने भनाइ छ ।

घरमा पालिने घरमौरी र वनजङ्गलमा हुने भीरमौरीको मुख्य काम मह काढ्नु हो । रानो अर्थात् रानीमौरीको मातृसत्तात्मक शासनमा मौरीको हुलहुज्जत मिलेर बसेको हुन्छ । ‘रानो हराएको मौरीझैँ’ भनिन्छ नि हो मौरीको बथानमा रानो छैन भने त्यहाँ अस्तव्यस्त भई बेथिति सुरु हुन्छ । एउटा रानीमौरीले हजारौँ मौरीलाई नियन्त्रण गरी सुरक्षा प्रदान गरिरहेको हुन्छ । सिङ्गो मौरीको समूह त्यही रानीमौरीको वरिपरि घेरिएका हुन्छन् । मातृसत्ताको यो सुखद् पाटोसँगै रानोले घार छाडेर हिँड्दा सबै मौरी रानोकै पछि लागेर जान्छन् । रानो म-यो भने सबै मौरी बिस्तारै भकाभक मर्न थाल्छन् । रानोमा कति ठूलो शक्ति सञ्चित छ भन्ने कुरा यसले दर्शाउँछ । 

वास्तवमा रानो भएन भने मौरीको बेहालै हुन्छ । मौरीको समूहमा रानीमौरीको आयु सबैभन्दा बढी हुन्छ । तर रानीमौरीको जन्म स्वाभाविक हुँदैन, योजना अनुसार वा माग भएपछि मात्र हुन्छ । यसको अर्थ घारमा मौरीको संख्या धेरै बढेपछि मौरीहरूले छुट्टिने सल्लाह गर्छन् । र, रानीमौरी जन्माउने प्रक्रिया प्रारम्भ गरिन्छ ।

प्रत्येक मौरी जाँगरिला हुन्छन् । समूहमा मिलेर मह र कुट बनाउँछन् । मौरीको जीवन चक्र र चरित्र रमाइलो र रोचक हुन्छ । खानाको खोजीमा १० किलोमिटर टाढासम्मको यात्रा गर्छन् । एकपटक मह जम्मा गर्न ५० देखि १०० वटासम्म फूलका रस चुस्नु र चुम्नु पर्छ । एउटा घारमा २० देखि ६० हजारसम्म मौरीका फौज हुन्छन् । 

मौरीहरू सबैको काम निश्चित हुन्छ । एक प्रकारले कामको विभाजन गरिएको हुन्छ । रानीमौरी बाहेक अरू सबैको जीउडाल एकैनाशको हुन्छ । पोथीमौरीले मह र कुट जम्मा गर्छन् । टोक्ने र टोकेपछि ती मर्छन् । भालेमौरीले मह जम्मा गर्दैनन् । गर्भाधान गराएपछि ती पनि मर्छन् । रानीमौरीले फूल पार्ने काम गर्छ ।

मौरीले वातावरणलाई शान्त र सुन्दर राख्छ । मौरीको भुन्भुनमा बेग्लै सांगीतिक तरंगको मिठास महसुस गर्न सकिन्छ । भनिन्छ, मौरी नभएको भए संसारमा अहिले पाइने आधा जति  बिरुवाहरू पनि पाइने थिएनन् । संसारमा एक तिहाई बिरुवाको गर्भाधान मौरीमार्फत हुन्छ । मौरीको महका अनेक उपयोगिताहरू छन् । मह कहिल्यै सड्दैन । हाम्रो जीवन धान्ने अनेक तत्वहरू महमा हुन्छन् । मौरीबाट हामीले ग्रहण गर्नुपर्ने धेरै कुराहरू छन् । परिश्रमका पुजारी हुन् मौरी । सामाजिक एकता, मित्रता र मिलनका पक्षहरू मौरीबाट सिक्नुपर्ने कुराहरू हुन् ।

यति गुणकारी र गुणग्राही मौरी र मह । तर यही मौरीलाई मारेर, मासेर हामीले हरामी काम गरिरहेका छौँ । जंगलको निर्दोष मौरीलाई मार्दै हामीले ठूलै बहादुरी देखाउँदै आइरहेका छौँ । एक किसिमले यो निरङ्कुश, निर्दयी र निन्दनीय काम हो । मानाैं, मौरी बद्मास हो । मौरीलाई बचाउनु गद्दार हो । उसलाई मार्नै पर्छ, मास्नै पर्छ । 

मौरीको घरमा आगो झोस्दै उकुसमुकुस पारी गुम्स्याएर बिजोगले मार्नु पर्छ । चिनोबानो बाँकी नराखी मौरी मारिसक्नु पर्छ, समाप्त पार्नै पर्छ । शायद यो मानिसको हितकारी प्राणी हुँदाहुँदै ठूलो शत्रु हो । यसलाई सदाका लागि निमिट्यान्न पार्नु पर्छ ।

एकलाशको पहरो पाटो मौरीको भुनभुन र प्रावृmतिक छटाले शोभायमान थियो । महशिकारीपछि एकाएक श्मशान एकान्त बन्छ । भीर र भुर्इँभरि मृतमौरीका बेवारिसे लाशले नरमाइलो विम्ब उतार्छ । टुक्रा टाटा मौरी, मह र मैनका यत्रतत्र असरल्लै हुन्छन् । घारमाथिको घात र आघातले आक्रान्त घरबार युद्धभूमिमा रूपान्तरित भई संवेदनशील हृदयलाई भक्कानो छुटाउँछ । भीरमौरीहरूको त्यति ठूलो एकताले पनि कुनै प्रतिकार गर्न सक्दैन । त्राहिमाम हुँदै शिकारी आतंकले आत्तिन्छन् । अधिकांश आत्तिएरै मर्छन् । घार शून्य–शून्य हुन्छ । सुखमय स्वतन्त्र खुसीको संसार अन्ततः भीरमौरीको शिकारमा युद्धभूमि बन्छ । यी दृश्यले मन रुन्छ, रुवाउँछ र मुटुसम्म स्पर्श गर्छ । 

धमिलो साँझ विस्मययुक्त ध्वनिसहित रगताम्मे पानीका निरस एकोहोरो छङ्गछङ्गले तर्साउँछ । नेपथ्यमा कोइलीको विरह कैरनले शून्यतामा अझ शोक थपिदिन्छ । एकलास जङ्गलको जङ्घार झन् डरलाग्दो बन्छ । सानो र कमजोरलाई दबाएर विजयको बिल्ला भिर्ने प्रवृत्ति नेपाली समाजमा धेरै भेटिन्छ । मौरी मरणको मतलब पनि यही हो । आफू बाँच र अरूलाई पनि बचाऊ अर्थात् बाँच र बचाऊ भन्ने शाश्वत मान्यता पूर्वीय जीवन पद्धतिको हो । कसैलाई मार्नु त के गालीगलौज गर्नु वा अपमान गर्नु हाम्रो संस्कार होइन । बचाउनका निम्ति नै हाम्रो प्रयत्न सधैँ हुन्छ । मानवीय सद्भाव र संवेदनाका विपरीत दानवीय वा हिँस्रक स्वभाव कदापि मान्य हुँदैन । 

हो, भीरमौरीको शिकारबाट मौरीहरू मर्नु र मारिनु हुँदैन । परिवारका पूरै सदस्यलाई परमधाम पु-याउनु कदापि हुँदैन ।

प्रकाशित: १ भाद्र २०७५ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App