१६ चैत्र २०८० शुक्रबार
अन्य

धरहरा पुनर्निर्माण अन्योलमा

टेन्डर प्रक्रियामा किचलो नआएको भए यतिबेला तीन वर्षअघि भूकम्पले भत्काएको धरहरा क्षेत्रमा धमाधम पुनर्निर्माण भइरहेको हुन्थ्यो। तर, टेन्डर टुंगो लाग्ने दिन सुरु भएको किचलो महिना दिन पुग्न लाग्दा पनि टुंगिन सकेको छैन, जसका कारण पुनर्निर्माण नै अन्योल बनेको छ।

असार २६ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको टेन्डर टुंगो लगाउन आर्थिक प्रस्ताव खोल्ने तयारी गर्दा प्रधानमन्त्री कार्यालयबाट सूचना आयो, ‘हप्ता दिनसम्म आर्थिक प्रस्तावलाई यथावत राख्नू।’ त्यसको कारण थियो– ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेका भन्दै रसुवा कन्ट्रक्सनका सञ्चालक सांसद् मोहन आर्चायले उजुरी हाल्नु । यसले धरहराको पुनर्निर्माण समेत पछाडि धकेलिरहेको छ।

धरहराको पुनर्निर्माणको टेन्डरको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको महिना दिन पुग्दा पनि टेन्डर अन्योलमा छ।

प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरका अनुसार ठेक्का हालेका ६ कम्पनीका कागजपत्र जुटाएर अध्ययन गर्ने काम भइरहेको छ। धरहरा पुनर्निर्माणको लागि ठेक्का पार्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँगको साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आशिष, स्वच्छन्दता र कुमार गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरियो।

‘हामीले ६ वटै निर्माण कम्पनीको कागजपत्र संकलन गरेर अध्ययन गरिसकेका छौं,’ उनले भने, ‘उक्त अध्ययनलाई प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी भएको छ।’ उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट थप अध्ययन हुनेछ। प्राधिकरणको अध्ययन क्रममा भने फर्जी कागजपत्र भेटिएको छैन।

सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम रकममा ठेक्का हाल्ने कम्पनीले ठेक्का पाउँछ। सांसद् आचार्यले सबैभन्दा कम दर रकम कन्ट्रक्सनको रहेको सुइको उक्त कम्पनीको कागजपत्र छानबिन गर्न उजुरी गरेका थिए। सोही उजुरी अनुसार प्राधिकरणले ठेक्का प्रक्रियामा सामेल ६ वटै कम्पनीको कागजपत्र छानविन थालेको थियो।

‘प्रधानमन्त्री कार्यलयले पनि थप छानविन गर्नेछ,’ मानन्धरले भने, ‘त्यसपछि मात्रै टेन्डरको टुंगो लगाएर धरहरा पुनर्निर्माण थालिनेछ।’ प्राधिकरणको लक्ष्य अनुसार पुनर्निर्माण थालेको दुई वर्षमा सम्पन्न गराउनेछ।

धरहरा पुनर्निर्माणमा झण्डै ४ अर्ब लगानी लाग्ने अनुमान प्राधिकरणको छ।

धरहराको ठूटोलाई यथावत राखेर त्यसैको छेउमा अर्को २२ तलाको धरहरा बनाउने प्राधिकरणले योजना अघि सारेको छ। प्राधिकरणले धरहराको डिजाइन यसअघि सार्वजनिक गरिसकेको छ। नयाँ बन्ने धरहरा २२ तलाको हुन्छ भने मोटाइ पनि साबिकको भन्दा ठूलो हुनेछ । नयाँ बन्ने धरहरामा पहिलेको जस्तै भर्यान हुनेछ भने ‘लिफ्ट’को व्यवस्था गरिने जनाइएको छ। अब बन्ने धरहरा भने पर्यटकीय दृष्टिकोणबाट निर्माण हुने प्राधिकरणले बतायो।

धरहरा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा आफ्नी महारानी त्रिपुरा सुन्दरीदेवीका निर्माण गरेको इतिहास पाइन्छ। थापाले दुई वटा धरहरा बनाएका थिए। १९९० सालको भूकम्पमा भीमसेनको नामको धरहरा भने जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरा मात्रै प-यो। तत्कालीन राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालअघि ११ तला रहेको त्यही धरहरालाई नौ तलाको बनाएका थिए। २०७२ वैशाख १२ गतेको भूकम्पले भने त्यो धरहरालाई पनि फेद मात्रै बाँकी राखेर ढालिदियो।

प्रकाशित: २८ श्रावण २०७५ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App