१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘पानी’जस्तै तरल

पूर्ण वैद्य, कवि, तस्बिर : विमल भौकाजी

२०१३ सालमा एसएलसीमा एउटा विषयमा अनुत्तीर्ण भएपछि उनले सोचे– फेरि जाँच दिने कि नदिने होला?

‘तर जाबो एसएलसी पनि पास नगरेको मान्छे भनेर समाजमा परिचित भइयो भने ?... यही सोचले गर्दा अर्को वर्ष फेरि जाँच दिएँ, र पास पनि भएँ ।’ गणित विषयमा थोरै नम्बर नपुगेर एसएलसी अनुत्तीर्ण भएपछि त्यो बेला कलेज जानबाट वञ्चित हुनुपरेको पीडा सुनाउँदै कवि पूर्ण वैद्य आफैँमाथि हाँस्छन् । भन्छन्, ‘आफ्नो हिसाब (गणित) साह्रै कमजोर।’

जब आइए पढ्ने भनेर आफ्नो घर भक्तपुरबाट उनी फारम भर्न त्रिचन्द्र आइपुगे, त्यतिखेर गोजीभरि ‘सिक्का’ बोकेर आएको उनी सम्झन्छन् । भन्छन्, ‘नोटको उतिसारो प्रचलन थिएन, क्वाइनकै बढी चलनचल्ती थियो । त्यहीमाथि कलेज जाने जोश ! त्यो दिन खल्ती अलिक गह्रुँगै बनाएर आएको थिएँ।’

तर, बाटैमा उनको भेट भयो एक राजनीतिक नेतासँग । बेला थियो– ०१५ सालको । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनको सरगर्मी यसरी बढेको थियो कि कोही नागरिक पनि नेपालको बदलिँदो राजनीतिप्रति अछुतो वा बेखबर थिएनन्।

‘धत्, यस्तो बेलामा पनि तिमीजस्तो मान्छेले पढेर बस्ने हो?’

त्यो राजनीतिक नेताले आपूmप्रति बोलेको वाक्यले उनलाई भित्रैसम्म छोयो । र, त्यस दिनदेखि उनको दैनिकी नै बन्यो– सादा कागज जोडेर त्यसमा पार्टीको झन्डा बनाउने।

‘त्यसो त म पार्टीको कार्यकर्ता थिइनँ । तर, युवा जोशले मभित्र ठूलो ऊर्जा थपेको थियो ।’ त्यसबेलाको आफ्नो परिश्रम सम्झेर यतिखेर आफैँ हिसाब खोज्छन् उनी । भन्छन्, ‘हँसिया र हथौडा आकारमा कति रङ पोतेर पोस्टर बनाएँ हुँला मैले त्यसबखत ! त्यसको लेखाजोखा खोई कोसँग होला?’
०००

पूर्ण वैद्यलाई आफूले कविता लेखेको यकिन मिति याद छैन । तर, त्यो एउटा समय उनको मस्तिष्कमा सधैँ तरोताज छ, जुन दिन उनी तत्कालीन रत्नराज्य गल्र्स कलेजमा अध्यापन गर्थे । त्यही कुनै एक दिन, बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकामा प्रकाशित एउटा कविताको चर्चा गर्दै उनका सहकर्मीहरूले उनलाई भने, ‘यो कविता लेख्ने पूर्ण वैद्य तिमी नै होइनौं?’

हो रहेछ । यो उनकै कविता रहेछ।

‘तर मैले त नेपालभाषा (नेवारी) मा पो लेखेको थिएँ त!...’

उनले पछि थाहा पाए । वासु शशी उनका कविताहरू अत्यन्तै मनपराउँथे । कति पटक आफ्नै घरमा निमन्त्रण गरेर वासु शशीले उनीबाट कविता सुनेका थिए । शशीले तिनै कवितामध्ये एउटा कविता अनुवाद गरेर ‘उदय’मा छाप्न पठाइदिएका रहेछन्।

वास्तवमा आजको मितिसम्म करीब ८ दशकको उमेरमा आइपुग्दा पूर्ण वैद्यको कविता–लेखनले नेपालभाषा–साहित्यमा एकदमै ऊँचो मुकाम तयार गरिसकेको छ । यति मात्रै होइन, नेपाली साहित्यका पाठकहरूले समेत समकालीन कविहरूमा पूर्ण वैद्यको नाम अघिल्लो पंक्तिमै लिन रुचाउँछन् । नेपाल प्रज्ञाप्रतिष्ठाद्वारा प्रकाशित ‘पानी मात्र पानी’ उनको एउटा लोकप्रिय कविता संग्रह हो, जसमा संग्रहभरि पानी प्रतीकात्मक भएर कवितामा पोखिएको छ।

‘पानी मैलिन जति सजिलो छ

उसलाई

आफू सँग्लिन त्यति नै गाह्रो छ...’

विशेष शब्दहरूको छनोट उनको कविताको विशेषता हो।

कविता लेख्दा पहिले नेपालभाषामै लेख्ने उनको बानी छ । अनि मात्रै उनी आफैँ त्यसलाई नेपालीमा अनुवाद गर्ने गर्छन्।

‘मैले लेखेको नेवारी कविताका शब्दहरूको उचित भावमा अनुवाद गर्न नसकिएसम्म त्यस्तो अनुवादप्रति म सन्तुष्ट हुन्नँ । जब कि अरूले गरेको टालटुले अनुवादसँग त मेरो सन्तुष्टि झन् किन हुन्थ्यो ?’ आफ्ना कविताहरूको नेपालीमा अनुवाद गरेर प्रकाशित भएको ‘पानी मात्र पानी’प्रति थोरै असन्तुष्टि जाहेर गर्छन् । भन्छन्, ‘मेरा ती मौलिक कविताका कतिपय शब्दहरूका नेपाली अनुवादप्रति मेरो स्वीकारोक्ति छैन ।’
वास्तवमा, हो पनि । मौलिकता बिग्रियो भने त्यसको परिणाम पनि बिग्रन्छ । जस्तैः समाजका हरेक पक्षसँग जोडर हेर्ने हो भने पनि त्यो देखिन्छ । साहित्य होस् वा संस्कृति, वा कलाको पक्ष होस्, त्यसको मौलिकतालाई बिगार्ने हो भने समाजमा त्यसको असर प्रत्यक्ष देखिन्छ।

तर, उनी यसबारे बेखबर पनि छैनन् । केवल एउटा सीमित भाषामा कवितालाई संकुचित गराएर राख्नु त्यो कविताप्रतिको अपराध हो । नेपालभाषाका कविताहरू पनि विश्वबजारसम्म पुगोस् भन्ने लालसा उनीभित्र पनि जीवित छ।

‘पानी मात्र पानी’को निकट भविष्यमै अंग्रेजी अनुवाद संंस्करण पनि प्रकाशित हुँदैछ, जुन संस्करणमा एक भाग नेपालभाषाको मौलिक कविता पनि संयुक्तरूपमा संगृहीत हुनेछन्।

‘नेपाल भाषासँग तपाईं किन यति साह्रो मोहित ?’ मैले प्रश्न गरे।

‘मातृभाषा कसका लागि प्रिय हुँदैन ? त्यसमाथि, नेपाल भाषासँग यस्ता भावमूलक शब्दहरू छन्, जसलाई जनाउने ठेट शब्द अन्य कुनै भाषामा छैन।’

भाषा–मोहको यस्तो कारण उनको कवितासँग मात्रै जोडिएको छैन । २० को दशकअघि नै उनले नेपालभाषाका शिक्षक भएर काम गरिसकेका छन्– पद्मोदय हाइस्कुल र शान्ति निकुञ्जमा । पछि, बिए–बीएड गरेपश्चात् रत्नराज्यमा पढाउन थाले।

‘त्यतिबेला कृष्णराज अर्याल रत्नराज्यका प्रमुख थिए । सायद नेपाल भाषाप्रति उनको हेय–दृष्टि थियो । त्यसैले उनी नेपाल भाषाको कक्षा चलाउन चाहँदेनथे । नेपाली–अंग्रेजी मात्रै पढाइ हुने त्यो कलेजमा ‘अन्य भाषामा अध्ययन गर्न को पो आउलान् र ?’ भनेर उनले एउटा अड्को थापे– १० विद्यार्थी भए क्लास चलाउँछु।’

तर, नेपालभाषा पढ्नका लागि इच्छुक दुई दर्जनभन्दा बढीको नामावली बुझाइदिए पूर्ण वैद्यले।

‘यति भइसकेर पनि कृष्णराज त म नेपाल भाषाको क्लास चलाउँदै चलाउँदिन भनेर जिद्दी गर्न लागे । तर, ठूलो दबावपछि उनले स्वीकृति दिए– स्थायी रूपमा नेपालभाषा कक्षा–सञ्चालनको ।’ उनलाई त्यो क्षणको गर्व छ । उनी भन्छन्, ‘मेरो कक्षामा पछि त विद्यार्थी नै अटाएनन्, करिडोरमै बसेर पनि मेरो कक्षा लिन्थे विद्यार्थीहरू।’

मलाई सम्झना आउँछ– दुई जना मुस्लिम महिला विद्यार्थीले समेत मेरा क्लास लिन्थे।

आजको नेपाली कविता तथा नेपालभाषाका सशक्त नारी हस्ताक्षर प्रतिसरा साय्मी एवम् नेपालभाषा–साहित्यमा निरन्तर कलम चलाइरहेका मनदेवी तण्डुकार, मोतीलक्ष्मी शाक्य उनकै चेली हुन्।

संयोग!

तिनै तीन शिष्यहरूहरूले भर्खरै गुरु पूर्णिमाका दिन गुरुदक्षिणास्वरूप कवि पूर्ण वैद्यको भव्य सम्मान गर्दै आफूहरूद्वारा लिखित पुस्तकहरू उनकै नाममा समर्पण गरे।
०००

‘ओहो, कस्तो सुखद् परिश्रमका दिन थिए ती!’

सुरूका संघर्षका दिनहरू सम्झेर रोमाञ्चित हुन्छन् उनी  । भन्छन्, ‘मेरो मासिक तलब जम्मा २८ रूपैयाँ थियो । । पकनाजोलमा रहेको डेराको मासिक भाडा १६ रूपैयाँ थियो । हिँडेरै पढाउन गइन्थ्यो, हिँडेरै फर्किन्थेँ । तर, त्यो परिश्रममा आपूmले कहिले पनि दुःखित महसुस गरिएन।’

भक्तपुर जन्म भएर आज काठमाडौँ अनामनगरमा स्थायी बसोबास गरिरहेका उनको अन्य कविहरूसँग त्यति विघ्न उठवस छैन । रंगमञ्च–रंगमञ्च वा सडक–सडकमा कवितालाई ‘तमासा’ बनाउने कविहरूको स्वभावभन्दा भिन्न उनीसँग साहित्यको रोमाञ्चक घटना–परिघटनाहरू पनि धेरै छैनन् । व्यक्तिगतरूपले भन्ने हो भने उनी युगकवि सिद्धिचरण, नाट्यसम्राट बालकृष्ण समसँग आकर्षित छन् । समकालीनमध्ये कवि कृष्णभक्त श्रेष्ठ, मोहन हिमांशु थापा, तत्कालीन कवि दमननाथ ढुंगाना त उनका सहपाठी नै हुन्।

‘पूर्ण वैद्य माझिएका कवि हुन् । उनी जादुगरी तरीकाले शब्द–संयोजन गरेर कविता लेख्छन् ।’ अघिल्ला पुस्ताका कवि वंशी श्रेष्ठको कवि वैद्यप्रतिको मान्यता हो यो।
०००

पूर्ण वैद्य शालीन छन् । सौम्य छन् । अन्तर्मुखी छन् । र’त मौन देखिन्छन् । तर... त्यो मौनता कति भयंकर!

‘...पानीलाई कुल्चिने खुट्टाहरू
आफैँ डुब्छन्
पानीलाई हिर्काउने हातहरू
आफैँ दुख्छन्
उज्याएर हान्ने खुकुरीहरू
आफैँ घाउ लाग्छन्, खियाले
पानीको जुन धार हो
त्यसलाई छप्काउन सक्दैन कुनै पनि खुकुरीले...’
०००

प्रकाशित: २६ श्रावण २०७५ ०४:१६ शनिबार