विवेक उपाध्यायले कलिलो उमेरमा नै पाउनुपर्ने सफलता हात पारिसकेका थिए । एक समय कस्तोसम्म थियो भने उनका अगाडिपछाडि चार पाँच जना साथीभाइहरु उनका लागि हरदम हरकिसिमको सहयोगका लागि तत्पर हुन्थे । उनको खातामा चार–पाँच करोड रुपैयाँ हुन्थ्यो । यो सफलताबाट परिवार मख्ख थियो, साथीभाइ खुसी थिए ।
जम्माजम्मी २२ वर्षे उमेरमै एउटा सहकारीको सञ्चालक थिए, एउटा निजी विद्यालय चलाइरहेका थिए । साथमा पारिवारिक व्यापार फलिफुलिरहेको थियो । उनका हातमा लाख–लाखका गड्डी केहीबेरमा आउँथे र जान्थे पनि । जीवनमा योभन्दा सफलता कति नै हात लाग्नु र !
समय सधैँ उस्तो नहुँदोरहेछ ! उनमा अझै बढी व्यवसायलाई फराकिलो पार्ने महत्वाकांक्षा चुलिएर आयो। त्यसपछि उनले केही लगानी जग्गामा गरे, केही ढुकुटी खेल्नमा लगाए। अचानक उनको जमिन धस्सियो, व्यापार घाटामा जान थाल्यो। त्यसलाई थेग्न सहकारीबाट पैसा झिके। त्यो पैसा पनि डुब्यो। त्यसपछि स्कुल चलाउन उनलाई धौधौ हुन थाल्यो। यस्तो पुरानो ईबी साँध्नेहरुले उनलाई ठगी मुद्दा चलाए।
लगभग चार करोड रुपैयाँ अचानक डुबेपछि उनी पोखरा बसिरहन सकेनन् र काठमाडौँ आइपुगका थिए । उनी दाइको पसलमा बसिरहेका बेला प्रहरी आयो र उनलाई पक्राउ ग-यो । उनी त्यहाँबाट भाग्न सक्थे तर भागेनन् । उनलाई लाग्थ्यो, पैसा डुब्ने र कमाउनु ठूलो कुरा होइन । जसको ऋण छ, उसलाई समयक्रममा तिरिहाल्छु तर कानुनले त्यस्तो नभन्दो रहेछ ।
जिन्दगीमा पहिलो पटक उनी प्रहरी चौकीमा एक दोषीका रुपमा उभिए । काठमाडौँको महाराजगञ्जस्थित प्रहरी चौकीमा जाउञ्जेल उनी के मुद्दामा त्यहाँ आइपुगे भन्ने बुझ्नसमेत भ्याएका थिएनन् । एक दुई घण्टामा नै उनी फर्कने आशामा थिए तर दुई दिन त्यहीँ बिताउनु परेपछि उनलाई गम्भीर किसिमको आरोप लागेको महसुस भयो ।
उनलाई दुई दिनपछि पोखरा झिकाइयो र त्यहीँ थाहा पाए, कुनै पुरानो चेक बाउन्स भएको केसमा उनी अदालतमा ठगी मुद्दामा जेल पठाउन खोजिरहेको रहेछ । त्यसपछि त उनको परिवारमा पहिरो नै गयो ।
उनका लागि प्रहरीले हतकडी बाँध्नु सबैभन्दा पीडाको क्षण थियो । उनको जीवनमा त के, उनको खान्दानमै पनि कोही खराब आचरणका कारण आलोचित हुनु परेको थिएन । परिवारको कान्छो छोरा, जसले केही वर्षमै राम्रो सम्भावना देखाएको थियो, ऊ नै ठगी मुद्दामा प-यो ।
यसपछि उनी पोखराको एउटा चौकीमा ३० दिन बस्नु प-यो । त्यहाँ सानो कोठामा ३०/३५ जना कोच्चिएर बस्नु पथ्र्यो । अनेक किसिमका अपराध गरेर अदालतमा पालो कुरिरहेका मानिससँग उनको परिचय भयो ।
यसपछि अदालतमा मुद्दा चल्यो, उनी त्यसमा दोषी ठहरिए र अदालतले उनलाई धरौटीबापतको सात लाख रुपैयाँ तिर्न आदेश दियो । सात लाख रुपैयाँ नतिरुञ्जेल उनी जेल बस्नुपर्ने भयो । ‘मैले गलत नियतले अरुको पैसा खाएको थिइनँ, मात्र गलत ठाउँमा लगानी फँस्यो,’ उनले स्पष्टीकरणको भाकामा भने, ‘यसपछि त दुनियाँको नजरमा म दोषी भएँ ।’
उनी चौकीमा जसरी सकसका साथ बसिरहेका थिए, त्योभन्दा बरु जेल केही खुला ठाउँ थियो । जेल उनका लागि नितान्त नौलो ठाउँ थियो । अर्कै वातावरण, अर्कै जीवनशैली । त्यहाँको नियम र चलन पनि फरक ।
जेलमा उनले अनेक किसिमका मानिस भेटे । कोही एकदुई हजारदेखि चार पाँच हजार रुपैयाँसम्म तिर्न नसकेर जेलमै कयौँ वर्ष बिताउन बाध्य किशोर–किशोरी, वयस्क र वृद्ध उनले फेला पारे । उनलाई लाग्थ्यो, जेलमा सबै अपराधी हुन्छन्, क्रूर मानिसहरुको भीड हुन्छ त्यहाँ तर होइन रहेछ । कोही परिबन्धले पनि जेल पर्दा रहेछन्, कोही खराब नियत नराखी पनि जेल पुग्दा रहेछन् । त्यहाँ उनले थाहा पाए, कति ससाना दोषमा सर्वसाधारण जेल पर्दारहेछन् ! कति सानो मनोवेगले मानिस जेलमा सड्दा रहेछन् !
जेल पर्दा उनको अगाडिपछाडि हरदम तयार रहने ग्याङ भने गायब भयो । उनको खैरखबर सोध्ने पनि कोही भएनन् । मात्र परिवारले एकोहोरो उनलाई सहयोग गरिरह्यो । उनले मागे जति पैसा दिइरह्यो ।
उनी जेलमा बसुञ्जेल दिनको एक हजार खर्चबर्च परिवारबाट पाउँथे । एक दिन थाहा भयो, एउटा किशोर जम्मा एक हजार तिर्न नसकेर वर्षौंदेखि यहीँ बिताउन बाध्य छ । उनी छक्क परे, एक हजार रुपैयाँ तिर्न नसक्दा त्यो किशोरले यत्तिका समय अनाहकमा जेलजीवन भोगिरहनु परेको छ । त्यसपछि उनले त्यहाँका जानकारलाई भने, ‘मैले उसलाई पैसा दिएँ भने आजको भोलि नै छुट्छ त ?’
नभन्दै त्यो किशोर छुट्यो । उनलाई थोरै भए पनि आफूले सकेको सहयोग गर्न पाउँदा खुसी लाग्यो । उनलाई लाग्यो, मेरो सानो रकमले अरुका लागि कति ठूलो काम गर्न सकिँदोरहेछ ! उनलाई त कस्तोसम्म लाग्थ्यो भने म यहाँबाट निस्कन साढे सात लाख रुपैयाँ सरकारलाई बुझाउनुभन्दा बरु त्यो रकम यहाँका अशक्तलाई निकाल्न प्रयोग गर्न पाए कति राम्रो हुन्थ्यो होला ! तर अर्को मनले भन्यो, ‘पहिला म निस्कन पाएँ भने बरु राम्रोसँग केही गर्न सक्थेँ होला !’
अरुका लागि निःस्वार्थ भावले सहयोग गरेको कुरा जिल्ला कारागार कास्कीमा जंगलको आगोझैँ फैलियो । केही मनकारी पुनः उनीछेउ आए र भने, ‘यो मानिसले पाँच हजार तिर्न नपाएर यत्तिका वर्ष जेलमा सडिरहनु परेको छ । यसलाई निकाल्न मद्दत गर्न सकिन्छ त ?’
उनीसँग गोजीमा तत्काल पाँच हजार थिएन । उनले घरबाट आउने दैनिक एक हजार केही दिन जोगाएर ती व्यक्तिलाई पनि जेलमुक्त गरे । त्यसपछि उनले जेलमा यसरी नै दुःखजिलो गरेर समय कटाइरहेकाहरुलाई भन्थे, ‘अब मेरो जीवनको लक्ष्य नै यस्तो धरौटी बुझाउन नपाई जेलमै जीवन गुजार्न बाध्य हुनेहरुका लागि सहयोग गर्न म पुनः यहाँ आउँछु ।’
जेलका उनका नयाँ साथी उनको कुरा पत्याउँदैन थिए । भन्थे, ‘यहाँबाट कुन बेला उम्कौँजस्तो हुन्छ, तपाईंले यो कुरा केही दिनभित्रै बिर्सनुहुन्छ ।’
उनी भन्थे, ‘हैन, म फेरि आउँछु तर अर्कै स्वरुपमा ।’
जेलमा रहँदा पनि उनले भने जति पैसा परिवारले दिइरह्यो तर परिवारमाथि कस्तो समस्या आइपरेको छ र उनीहरुमाथि कस्तो पीडा छ भन्ने उनले जेलमा रहँदा बुझ्न सकेका थिएनन् । उनका लागि त जेल बसुञ्जेल अरुका लागि सहयोग गर्न पाउनु नै समय कटाउने ठूलो मेलो थियो ।
परिवारले ऋणपान गरेर उनका लागि साढे सात लाख जोहो ग-यो र उनी जेलमुक्त भए । जेलमुक्त हुनु उनका लागि खुसीको कुरा थिएन किनभने उनलाई परिवारबाहेक अरुले अपराधीको व्यवहार गथ्र्यो । कुराकानी गर्न डराउँथे । कोही बोल्दैछ भने र उनी ठीक त्यही बेला पुगे भने कुराकानी नै बन्द हुन्थ्यो र खासखुस सुरु हुन्थ्यो ।
पहिलेका साथी–साथी रहेनन्, पहिलेको हार्दिकता–हार्दिकता रहेन । उनले सजाय भोगेर जेलबाट निस्किए पनि समाजले उनलाई सजाय सुनाइरह्यो, यातना दिइरह्यो– ठगका रुपमा । ‘मैले जे गल्ती गरेको थिएँ, त्यसको कानुनी सजाय मैले पूरा गरेँ तर समाजको नजरमा अझै दोषी थिएँ,’ उनले भने, ‘यसले मलाई यति विरक्त बनायो कि बाँच्नु नै धिक्कारजस्तो लाग्यो।’
त्यसपछि उनले एउटा विषको बोतल किनेर ल्याए । राति टन्न खाना खाए र सुत्नुअघि एउटा सुसाइड नोट लेखे, जसमा परिवारप्रति माफी मागिएको थियो । परिवारले गरेको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए । दुःख र पीडाको यस्तो अवस्थामा उनीहरु जसरी छोरा वा भाइको पक्षमा उभिएका थिए, त्यसका लागि उनले धन्यवाद दिएका थिए । बरु उनी आफूले परिवारको शिर जसरी ठाडो पार्नुपथ्र्यो, त्यो गर्न नसकेकामा माफी मागेका थिए, दुःख व्यक्त गरेका थिए ।
त्यसपछि उनले विषको शिशी पूरै रित्याइदिए ।
विषको प्रभावले हो कि के हो, उनले त्यो रातभरि अनौठा–अनौठा सपना देखे । स्वर्गमा विचरण गरेको र अनेकन् अद्भूत सपना देखे, जुन उनले यसअघि कहिल्यै देखेका थिएनन् न त कल्पना नै गरेका थिए ।
०००
घरमा तहल्का मच्चिएको थियो । परिवारलाई थोरबहुत भनक त थियो नै, छोरो–भाइ अलि तनावमा छ, जेलबाट छुटेर आएपछि ऊ एकान्त खोजिरहेको छ । आत्महत्याका लागि विष नै खाला भन्ने परिवारले सोचेको थिएन ।
बिहान अबेरसम्म पनि ढोका नखुलेपछि परिवारले ढोका फो¥यो र विवेकलाई अस्पताल पु-यायो । अस्पतालमा उपचार हुँदै गर्दा विवेकलाई रमाइलो लाग्यो । त्यस क्षणलाई सम्झँदै विवेकले भने, ‘वरिपरि मानिस, केही डाक्टर अनि केही नर्स देख्दा मलाई रमाइलो लाग्यो किनभने उनीहरुको अनुहारमा गम्भीरता देख्दा र परिवारको आँखामा आँशु देख्दा म त मरिसकेछु भन्ने लाग्यो । सोचेँ, अब मलाई जलाउनेछन् र म आफूले आफैँलाई जलाएको देख्न पाउनेछु ।’
यसपछि चिकित्सकहरुको अहोरात्र खटाई र परिवारको प्रार्थनाले उनी ज्यूँदै घर फर्किए । यस पटक पनि परिवारले उनलाई केही भनेन । उनलाई लाग्थ्यो, परिवारले गाली गरोस्, कुटोस् तर त्यस्तो केही गतिविधि भएन । उल्टै उनीप्रति परिवारको स्याहार, सुसार देखेर कस्तो नमीठो गल्ती गरिएछ भन्ने पछुताउ हुन थाल्यो ।
उनलाई लाग्यो– म किन बाँचेँ ? केका लागि बाँचेँ ? मैले जीवनमा अरुका लागि के गर्न सक्छु ? यही प्रश्नमा उनी धेरै समय रुमल्लिरहे ।
दिनभरि काठमाडौँ सहरका गल्ली डुल्ने, घरमा रहेको थोरबहुत पैसा गोजीमा हाल्ने र मज्जाले रक्सी खाने अनि अबेर राति घर फर्कने उनको दैनिकी बनेको थियो । रक्सी खाने क्रममा एक जना वकिलसँग उनको भेट भयो र सोधे, ‘संस्था नै खोलेर मलाई एउटा समाजसेवा गर्न मन छ, कसरी गर्ने होला ?’
ती वकिलले संस्था खोल्ने तरिका बुझाइदिए । संस्था खोल्न उनलाई गाह्रो थियो किनभने उनलाई पत्याएर नागरिकता दिन कोही तयार भएनन् । ठगी मुद्दामा जेल भोगेर आएको मानिसलाई कसले पो विश्वास गरोस् !
उनले फेसबुकमा केही साथी बनाएका थिए । उनले तिनलाई नागरिकता दिन आग्रह गरे र संस्था खडा भयो । संस्थाले जेल परेका र वर्षौंसम्म धरौटी बुझाउन नपाएर त्यहीँ सडेकाहरुलाई निकाल्ने पुनीत उद्देश्य लिएको थियो । यसअघि यस्तो संस्था जन्मिएको थिएन । त्यसैले सबै फेसबुके साथीले सहयोग गरे । थोरबहुत पैसा पनि उठाए ।
जो व्यक्ति केही समयअघि जेल परेको थियो, अब उही जेल परेकाहरुलाई छुटाउन उद्दत हुन थाल्यो । यसका केही समस्या थिए । उनले जेलर चिनेका थिएनन् । कहाँबाट कसरी काम गर्नुपर्छ भन्ने थाहा थिएन । फेरि उनलाई सुरुमा सङ्कोच पनि थियो, जसलाई जेलमा परेका दुःखीको सेवा गर्छु भन्दा आफ्नो पूर्वकथा सुनाउने कि नसुनाउने ? आफू ठगी मुद्दामा जेल सजाय काटिसकेको भन्दा अरुले के भन्लान् ? कतै गलत पो ठान्ने हुन् कि ?
त्यसपछि उनको वास्तविक संघर्ष सुरु भयो । कसरी जेल परेर धरौटी बुझाउन नसकी जेलमै अड्किएकाहरुलाई सहयोग गर्ने त ? कसरी निकाल्ने त ? कहाँ जाने ? यी सबै समस्या थिए तर एकपछि अर्को सहयोगी उनले पाउँदै जान थाले ।
डिल्लीबजार सदरखोरका तत्कालीन सहायक जेलर सन्तोष दाहालले उनलाई भरपूर सहयोग गरे । प्रहरी सेवाका पूर्व एआइजी विज्ञानराज शर्माले पनि उनलाई बाटो देखाए ।
यतिबेला उनको संस्था हिडन लाइफ फाउन्डेसनले एक सय १५ जनाभन्दा बढी युवालाई धरौटी तिर्न नसकेर त्यहीँ बिताइरहेकाहरुको उद्धार गरिसकेको छ । यसका लागि उनले कतिपय अवस्थामा आफ्नै गोजीको पैसा लगाइरहेका हुन्छन्, परिवारले दिएको पकेट मनी खर्च गरिरहेका हुन्छन् त कतिपय अवस्थामा साथीभाइको सहयोग लिइरहेका हुन्छन् ।
उनी भन्छन्, ‘जेलमा सबै अपराधी हुँदैनन्, जेलबाट निस्किएपछि पनि उनीहरु अपराधी नै रहिरहँदैनन् । उनीहरुलाई अन्य सामान्य मानिसझैँ व्यवहार गर्नुस्, उसलाई बाँच्ने थोरै ठाउँ दिनुस् । कतै उसले पनि समाजका लागि केही राम्रो काम गर्ने ठाउँ पाइहाल्छ कि !
प्रकाशित: २२ श्रावण २०७५ १३:०२ मंगलबार