उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले आत्मघाती आक्रमण गर्ने ड्रोनको उत्पादनलाई ठूलो मात्रामा बढाउन आदेश दिएका छन्। त्यसअघि उनले मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्स (यूएटीसी) द्वारा निर्मित जमिन र समुद्री लक्ष्यमा प्रहार गर्न सक्ने गरी डिजाइन गरिएका ड्रोनको परीक्षण हेरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जानकारी दिएको छ।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले भनेको छ, ‘किम जोङ उनले आत्मघाती आक्रमण गर्ने ड्रोनको ठूलो उत्पादनको आवश्यकतामा जोड दिएका छन्।’ मानवरहित आत्मघाती ड्रोन विष्फोटकसहित शत्रुको क्षेत्रमा खसाल्न डिजाइन गरिएको हो।
यसले प्रभावकारी रूपमा निर्देशित मिसाइलको काम गर्छ। विज्ञहरूका अनुसार रुससँग बढ्दो सम्बन्धका कारण उत्तर कोरियाले अब यो प्रविधि प्रयोग गर्न चाहेको छ। बिहीबारको परीक्षणमा, ड्रोनहरू पूर्वनिर्धारित मार्गमा उडेर सही लक्ष्यमा पुगेका थिए। रोयटर्सका अनुसार किमले सैन्य उद्देश्यका लागि ड्रोनहरू प्रयोग गर्ने प्रतिस्पर्धा विश्वभर तीव्र भइरहेको भनेका छन्।
उत्तर कोरियाले सियोललगायत प्रमुख क्षेत्रहरूमा घण्टौंसम्म उडान गर्दै दक्षिण कोरियाको सीमापार ड्रोन पठाएको थियो। उत्तर कोरिया र रुसबीच हालै एक व्यापक रणनीतिक साझेदारीलाई अनुमोदन गर्ने सहमति भएको थियो। दुई देशबीचको पारस्परिक रक्षा सम्झौता पनि त्यसमा समावेश छ। उत्तर कोरियाले युक्रेन युद्धमा रुसको पश्चिमी फ्रन्टलाइनमा आफ्ना हजारौँ सेना तैनाथ पनि गरेको छ। उत्तर कोरियाले यो प्रविधि रुसबाट लिएको हुन सक्ने आशंका गरिएको छ।
प्रकाशित: ३० कार्तिक २०८१ १०:०६ शुक्रबार