हामीमध्ये धेरैले जिम्मेवारीलाई आवश्यकताभन्दा बढी बोक्ने गर्छौं । कहिले हामी परिवारलाई आवश्यकताभन्दा बढी बोकिरहेका हुन्छौँ र थोरबहुत सन्तुष्टि पनि कमाइरहेका हुन्छौँ। कहिलेकाहीँ हामीले जागिरलाई पनि आफूसँगै कार्यालयमा मात्र होइन घरमा पनि बोकेर हिँडिरहेका हुन्छौँ अनि बडो असन्तुष्टि पालेर हिँडिरहेका हुन्छौँ। जागिरले हाम्रो गोजी भर्छ तर यात्राले हाम्रो जिन्दगीलाई नै भरिदिन्छ। पछिल्ला केही समययता जब कुनै यात्रामा निस्कन्छु, त्यसबेला लाग्न थालेको छ– जीवन एउटा अद्भूत क्यानभास हो र यात्रा चाहिँ त्यो क्यानभासमा चलाइने कुची हो । हामीले भर्ने यात्राको रङले हाम्रो जीवनको क्यानभासमा अद्भूत चित्रहरु कोर्ने गर्छौं । यस्तै एउटा क्यानभास यसपाला तिलिचो ताल घुम्न जाँदा मनमा कोरियो, जुन यहाँ मैले अक्षरका माध्यमले फोर्ने प्रयास गरेकी छु ।
यस पटक हामीलाई संसारकै अग्लो स्थानमा रहेको ताल तिलिचो घुम्न जान मन लाग्यो । त्यसैले जेठ महिनाको अन्तिम सातातिर हामी मनाङ जिल्ला हुँदै तिलिचो तालसम्म घुम्ने योजना बुन्यौँ ।
यो समुद्र सतहभन्दा ४ हजार ९१९ सय मिटरको उचाइमा रहेछ । मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र यो ताल पर्ने रहेछ। त्यहाँसम्म पुग्न मनाङ हुँदै तिलिचो बेस क्याम्पसम्म पुग्ने र त्यहाँ एक रात आराम गरेर भोलिपल्ट ताल पुग्ने गरी हामीले योजना बुनेका थियौँ ।
हामीले बेस क्याम्पमा आराम गर्नका लागि तीन वटा मात्र लज फेला पार्यौँ । हामी जुन बेला पुग्यौँ, त्यो पर्यटकको सिजन रहेनछ । त्यसैले बस्नका लागि हामीलाई कुनै कठिनाइ परेन ।
तिलिचो बेस क्याम्प जाँदा ६० देखि ७० प्रतिशत बाटोमा पहिरो गइरहँदोरहेछ । त्यो बाटोमा पहिरोलाई छक्याउँदै हामी अघि बढ्यौँ । त्यहाँ कुनै पनि बेला माथि पहाडबाट ढुङ्गा खस्ने भएकाले सचेत हुँदै हिँड्नु पथ्र्यो । ठाउँ–ठाउँमा स्थानीय तहले यात्रुलाई सजग गराउन साइन बोर्ड राखेको रहेछ ।
म नेपालका कयौँ यात्रामा निस्किएकी छु । कयौँ अप्ठेरा बाटामा रमाउँदै हिँडेकी छु तर यसपालाको तिलिचो तालको यात्रा मेरा लागि अलि कठिनै बन्यो । बाटोघाटोको राम्रो व्यवस्था थिएन । सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविरजस्ता केही उम्दा ट्रेकिङ रुटको राम्रो पक्ष के थियो भने त्यहाँ खानपिनको सुव्यवस्था थियो तर यहाँ त्यस्तो देखिएन ।
शिरमा गगनचुम्बी चट्टानका पहाडहरु, ठूला–ठूला झरना, कतै सेताम्य, कतै पहेँला फूल आदि हेर्दै कहीँ खुसी त कतै ऐड्ढया अब त चढ्न सकिन्न होला भन्दै हामी अघि बढेका थियौँ । हुन त यात्रालाई जसरी पनि पूरा गर्नैपर्छ भन्ने आँट लिएपछि जस्तोसुकै दुःख पनि पार गरिँदोरहेछ । यसपाला मलाई यस्तै महसुस भयो ।
स्थानीय सरकारले तिलिचोसम्मको बाटो बनाउन असार २० सम्मको मिति तोकेको रहेछ । त्यसका लागि ३० लाख रुपैयाँ बजेट पनि छुट्याइएको रहेछ । सल्यान जिल्लाबाट एउटा कामदारको सानोतिनो ताँती नै आएर काम गरिरहेको रहेछ । उनीहरुलाई दिनको ८०० रुपैयाँ दिइँदोरहेछ । यही पैसामा उनीहरु बस्न–खान त पु¥याइरहेका थिए नै, केही बचाएर घर पनि पठाइरहेका थिए ।
उफ् ! महिनौं महिनासम्म यहाँ ज्यानै जोखिममा पारेर कति मिहिनेत गरेका ! महिला कामदारले आफ्ना सन्तानलाई पनि टेन्टमा भुलाएर कति सुन्दर तरिकाले काम गरिरहेका ! उनीहरुको कामप्रतिको त्यो लगाव देखेर अघिसम्म अघि बढ्न नमानेको मेरो जाँगर अकस्मात कताबाट पलाएर आयो । त्यसपछि त मेरो अल्छ्याइँ र सुस्तता नै हरायो र फटाफट पाइला अघि बढाएँ ।
यसपालिको यात्रामा करिब ६० प्रतिशत ट्रेकिङमा निस्किएकाहरु कलेजका भाइबहिनी थिए । उनीहरुमा ट्रेकिङ मोह र उत्साह देखेर मलाई औधि अचम्म लाग्यो । युरोपेली पर्यटकहरुको त कुरै भएन, उनीहरु त नेपालको ट्रेकिङका प्रशंसक नै भइहाले । पछिल्लो समय युवा भाइबहिनीहरु आफ्नै देशको प्राकृतिक सौन्दर्य बुझ्न र घुम्न थालेका छन् र यो देख्दा मलाई एक किसिमको सन्तोष पनि लाग्यो।
सन् २०२० मा भिजिट मनाङ मनाउने तयारी भइरहेको रहेछ । त्यसका लागि यहाँ भरपुर तयारी भइरहेको देख्दा मलाई खुसी लाग्यो । भिजिङ मनाङ त मनाउने तर जुन उत्साहका साथ नेपाली युवापिँढी आन्तरिक पर्यटनमा आकर्षित भइरहेका छन्, कतै विदेशी पर्यटकको मोहमा तिनलाई उपेक्षा नगरियोस् ! यस्तो उपेक्षा म आफैँले पनि कयौँ पटक भोगेकी छु । त्यसैले भिजिङ मनाङका बेला या अन्य सामान्य बेला पनि हरेक पर्यटकीय स्थलका व्यवसायीहरुले बुझ्नुपर्छ– पर्यटक चाहे स्वदेशी होऊन् या विदेशी, उनीहरुको खातिरदारीमा कुनै कमी हुनुहुँदैन । जब हामीले हाम्रा मानिसलाई सम्मान गर्न थाल्छौँ, त्यसपछि आउने समृद्धि दिगो हुन्छ । विदेशी पर्यटक त आज आउँछन्, भोलि नआउन सक्छन् तर आन्तरिक पर्यटन मौलायो भने देशलाई गाह्रो परेका बेला भरथेग गर्न सहज हुन्छ ।
तिलिचो बेस क्यापमा हामी एक रात बसेर भोलिपल्ट बिहान करिब ८ बजेतिर तिलिचो तालतर्फ लाग्यौं । त्यहाँ विदेशमा बस्ने नेपाली परिवार पनि हामीसँगै हुनुहुन्थ्यो । उहाँहरुसँगै ४१०० मिटरबाट लगभग ५००० मिटर हुँदै पुनः ४९४९ मिटरमा रहेको तालतिर लाग्दा समय कटेको पत्तो नै भएन ।
तिलिचो ताल संसारकै उच्च ठाउँमा भएको तालमध्ये एक हो । मनाङ जिल्लामा अवस्थित यो ताल र यो क्षेत्र अत्यन्तै रमणीय ट्रेकिङ क्षेत्र रहेछ। यहाँ एकदमै लोभलाग्दा प्यानोरमा माउन्टेन भ्यु देख्न पाइयो । अन्नपूर्ण हिमालको उत्तरी भागको मनोरम दृश्यलाई हामीले नजिकबाट अवलोकन गर्दा मलाई लाग्यो– ओहो ! हामी कति भाग्यमानी ! यस्तो दृश्य हाम्रै देशमा छ हगि !
तल हेर्दा मर्स्याङ्दी नदी अनि झण्डैझण्डै आफैँजत्रो उचाइमा मनास्लु हिमालचुली देखिन्छ । ताल पुग्नु आधा घण्टाअगाडि मनै हर्ने यहाँको दृश्य देख्दा मानिसले खोज्ने गरेको स्वर्गको सुख त यहीँ होलाजस्तो लाग्छ ।
बेस क्याम्पबाट करिब पाँच घण्टा लगाएर हामी तिलिचो ताल पुग्यौं । दुई घण्टा जति हामी त्यहीँको दृश्यमा हरायौँ । न्यानो घाम, नीलो ताल अनि सेतो हिमाल ! त्यो दृश्य हामीले शब्दमा बयान गर्न सक्तैनौँ– मात्र महसुस गर्न सक्छौँ ।
तिलिचो वरपर त्यो अद्भूत सौन्दर्यलाई मनन् गर्दै चिया या कफीको स्वाद लिने तलतल ह्वात्तै बढ्छ । तर त्यस्तो तलतल मेट्ने भएको एउटा रेस्ट¬रेन्ट पनि जेठको अन्तिम साता अफसिजन भएर बन्द भएको रहेछ । यस्तो हुँदा हामी आन्तरिक पर्यटकलाई केही खल्लो महसुस हुँदोरहेछ ।
त्यहाँ पुगेपछि हरेक मानिसलाई कस्तो लाग्दोरहेछ भने– म संसारको जस्तोसुकै बाधा अड्चन आए पनि नआत्तिकन समाधान गर्न सक्छु । त्यस्तो आँट, जाँगर र जोश लिएर मानिस फर्कँदोरहेछ ।
ताल जाँदा हामी पाँच घण्टा लगाएर चढेको उकालो करिब पौने दुई घण्टामै ओर्लिएका थियौँ । लाग्यो– मानिसलाई उकालो चढ्न कति मिहिनेत गर्नुपर्छ ! तर त्यही बाटो ओर्लनुपर्यो भने कति थोरै समय लाग्दोरहेछ !
प्रकाशित: १९ श्रावण २०७५ १०:२६ शनिबार