१५ आश्विन २०७७ बिहीबार
अन्य

बनारसका भाग्यमानी साँढे

तस्बिरहरु : अमृत भादगाउँले ।

नेपाली समाजमा एउटा भनाइ छ,‘धर्म हराए काशी जानु, न्याय हराए गोरखा जानु ।’ काशी अर्थात बनारसको पुरानो नाउँ वाराणसी हो।

अध्यात्म, धर्म र विद्याको त्रिवेणी मानिन्छ बनारस ।प्राचीन भारतीय सहर ‘बनारस’ धेरै हिसाबले प्रख्यात छ–विश्वनाथ मन्दिर, सारनाथ, गंगा आरती, शैक्षिक केन्द्र, सन्तहरूको बस्ती, साडी, नागबेली गल्ली, पान, मिठाई र साँढेको सहरका रूपमा।

पावन भूमिका रूपमा हिन्दु धर्माबलम्बीले विश्वनाथको श्रद्धा गर्छन् । त्यहाँको आध्यात्मिक वातावरणमा मृत्यु भएमा मोक्ष प्राप्त हुन्छ भनिन्छ, अर्थात् मान्छेले जन्म र पुनर्जन्मको चक्रबाट सदाका लागि मुक्ति पाउँछ ।यसपालि हामी चार पत्रकार कान्तिपुरका हरिबहादुर थापा, सेतोपाटी डटकमका चन्द्र काफ्ले, नयाँ पत्रिकाका अच्युत पुरी र म  त्यो पवित्र भूमिमा असार १८ गते साँझ पुगेका थियौं।हाम्रा कतिपय नेपाली राजनीतिज्ञ र भाषा साहित्यका अगुवाहरू पढेको, बसेको र साधना गरेको भूमि बनारसै हो । सानैदेखि बनारसको विषयमा हामीले पढेका र सुनेका थियौं।

हाम्रो बनारस यात्राको चाँजो बुद्ध एयरले मिलाएको थियो । उसले बनारस र काठमाडौंबीच हवाई पुल जोडिदिएको छ । यसबाट दुवैतिरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ । बुद्ध एयरले सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडौं–वाराणसी–काठमाडौं उडान भर्दै आएको छ । साथै होलिडेज प्याकेजमा पनि नेपालीलाई बनारस घुमाउँछ । आफ्नै सुरमा जाँदा आफ्नै ढंगले घुम्न पाइन्छ । प्याकेज किनेर जाँदा चाहिँ होटल खोज्ने, गाडी व्यवस्थापन गर्ने, गन्तव्य खोज्ने लगायत झन्झट गर्नुपर्दैन, उताको ट्राभल कम्पनीको तालमा लय मिलाइदिए पुग्छ।

बनारस धेरै हिसाबले प्रख्यात छ–विश्वनाथ मन्दिर, सारनाथ, गंगा आरती, शैक्षिक केन्द्र, साधुसन्त, नागबेली गल्ली, साडी, पान, मिठाई र साँढेको सहरका रूपमा ।

 गर्मीले काठमाडौं रापिएका बेला मध्यअसारमा बनारस यात्राको साइत जुर्यो । हामीले आफूलाई भाग्यमानी नै मान्नुपर्छ, यात्राभर अचाक्ली गर्मी सहनु परेन । उता हल्का वर्षा भएकाले अनुमान गरेजति गर्मी खानु परेन।  बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेर ४५ मिनेट सडक नापेर क्यान्टोनमेन्ट भन्ने ठाउँमा पुग्दा झमक्क साँझ परिहाल्यो । त्यो रात कतै घुम्न भ्याइएन । होटलमै बस्यौं । क्यान्टोनमेन्ट क्षेत्रमा सुविधायुक्त होटल छन्– हाम्रो ठमेल र पोखराको लेकसाइडजस्तै।  

बिहानदेखि घुमफिर सुरु भयो । एउटा गाडीमा गुरुजीसहित हामी पाँचजना चढ्यौं । गुरु राजुले हामीलाई गंगामा लगे । त्यहाँको बसपार्कमा हामीलाई डुंगावाला भाइ अर्जुन साहनी कुरिरहेका थिए । हामीले उनैलाई पछ्यायौं ।  
बनारसका गल्लीमा साँढे निर्वाध हिँड्छन् । कुनै रोकतोक छैन तिनलाई किनभने भगवान शिवका वाहन हुन् ती । त्यतिमात्रै कहाँ हो र, चोक–चोकमा अग्ला स्तम्भको शिरानमा साँढेका प्रतिमा छन् । साँढेको मुख जता फर्किएको छ, त्यतै सोझिँदा विश्वनाथ मन्दिर पुगिँदो रहेछ।

भारतमा मोदी सरकारको उदय भएपछि साँढेको प्रतिमा बनाइएको सुनियो । त्यो दृश्य  अनौठो लाग्यो ! दुई वर्ष भइसकेको रहेछ अर्जुन भाइले डुँगा चलाउन थालेको । उनी डुंगा ड्राइभर मात्र होइनन्, बनारसका राम्रा पथप्रदर्शक पनि हुन् । डुंगामा बसेपछि उनले बनारसको बखान गर्न थाले । भगवान शंकरको त्रिशूलमाथि बसेको सहर भएकाले बनारसमा कहिल्यै प्रलय हुँदैन रे !

गंगा किनारमा थुपै्रै घाट छन् । मणिकर्णिकाघाट, आदिकेशवघाट, हरिश्चन्द्रघाट, दश्वाशमेघघाट, पंचगंगाघाट, असीघाट आदि । मणिकर्णिकाघाट चौबिसै घन्टा व्यस्त हुँदोरहेछ । हामीले पनि त्यहाँ चितामा जलिरहेका शव देख्यौं ।  ललिताघाटमा पशुपतिनाथको मन्दिर छ । हाम्री रणबहादुर शाहकी कान्छी रानी ललिता त्रिपुरासुन्दरीले मन्दिर र घाट बनाउन लगाएकी रै’छिन् । हामी पशुपतिनाथ मन्दिर प्रवेश गर्ने बेला एक योगी ठूलो खोपामा ध्यान मुद्रामा थिए । अच्युतले तिनलाई पृष्ठभूमिमा राखेर आफ्नो तस्बिर खिचाई मागे । खिचिक्क ! गरिदिएँ मैले ।हामीभित्र घुमेर आउँदासमेत ती टसमस नभई ध्यानमै थिए । यस्तै ध्यानमा बस्दा मनमा शान्ति छाउँछ ।

पशुपतिनाथको दर्शन गरेपछि अर्जुन भाइले हामीलाई विश्वनाथ पुर्याए । त्यहाँका गल्लीले हाम्रै भक्तपुर सम्झाए । गल्लीमा वरैदेखि छयाप्छयाप्ती सुरक्षाकर्मी थिए । तीर्थहरूको सुरक्षा हुनुपर्छ भन्दैमा भक्तजनकै मनमा त्रास छाउने गरी गोलीगठ्ठा बोकेर सुरक्षाकर्मी तैनाथ हुनु कति शोभनिय हो ?विश्वनाथको प्रवेशद्वारमा मात्र होइन, मन्दिरको आँगनमा समेत उत्तिकै थिए सुरक्षाकर्मी ।जीवनको सार्थकता भेटिन्छ काशीमा । विश्वनाथ ज्योतिर्लिंग हुन् । हिन्दु धर्माबलम्बीको एउटा प्रमुख केन्द्रको शिवलिंग दर्शन गर्दा पुण्य प्राप्त हुन्छ।

सबैभन्दा ठूलो कुरा आस्था र विश्वास हो । देवस्थल धाउँदा दुई किसिमको फाइदा हुन्छ । पहिलो घरबाट बाहिरिने बहाना मिल्छ, जसले थकानबाट मुक्ति दिलाउँछ र बाहिरी संसार बुझ्न सघाउँछ । दोस्रो देवदेवीलाई आस्थाको फूल चढाउन पाउँदा मनोवैज्ञानिक उपचार हुन्छ । अब भन्नुस, यसबाट मान्छेलाई केही बेफाइदा छ ?विश्वनाथ दर्शन गरेर फर्कंदा अर्जुन भाइले ‘शिव–पार्वतीले हनिमुन मनाएको जग्गा कुन् हो’ भनेर सोधे।

आरतीको माहोलमा मन सायद देवलोकतिर डुल्छ । आध्यात्मिक भावनाले मन निथ्रुक्क बन्छ । आनन्द र शान्त अनुभव हुन्छ । आरती दर्शनका बेला मलाई लाग्यो–आफूलाई नास्तिक भन्नेहरू पनि यहाँ आइपुगे भने तिनका मनका अन्तरकुन्तरबाट ईश्वरभक्ति प्रकट हुन थाल्छ।
 

सुदूरपश्चिमको डोटी जिल्ला सदरमुकाम सिलगढीमा हनिमुन मनाएको कथा सुनेको थिएँ, जानेको कुरा बताइदिएँ । उनले त होइन, बनारसमै मनाएका हुन् भनेर जिद्दी कसे । आखिर भगवान न परे, धेरैतिर मनाए होलान् मधुमास !
त्यो दिन खानापछि हामी संकटमोचन हनुमान मन्दिर गयौं । मंगलबारका दिन हनुमान मन्दिरको भिड देख्दा अनौठो लागेन, बरु त्यहाँ हनुमानचालिसा वाचन गरिरहेका सयौं भक्तालुको आस्था र विश्वास देखेर चकित पर्यौं । यति धेरै मान्छेले हनुमानको भक्तिगान गाएको यसअघि मैले कहिल्यै देखेको थिइनँ ।लाइनमा बसेर हनुमानजीको दर्शन गर्ने समय र धैर्य हामीसँग थिएन । त्यसैले बाहिरैबाट ‘संकटमोचन हुनमान कि’ जय ! भन्दै फरक्क फर्कियौं।

लामो समयदेखि पर्यटक घुमाउँदै आएका हाम्रा गुरु राजु पनि बेलाबेला हामीलाई ‘ब्रिफिङ’ दिन्थे । भारतीयलाई घुमाउन धेरैपटक काठमाडौं आइसकेका उनी नेपालको तारिफ गरेर हाम्रो मन जितिरहन्थे ।हामीले यात्रामा बनारसी पान, लस्सी र बिर्यानी चाख्यौं । थरिथरिका पान खाइयो । कुनै पानको पत्ता यति कमला थिए कि मुखमा राख्दैमा बिलाउने !  

गुरुजीले हामीलाई बनारस हिन्दु विश्वविद्यालय पुर्याए । त्यहाँ हिन्दु सभ्यता र संस्कृतिसँगै आधुनिक शिक्षा दिइन्छ । विश्वविद्यालय हातामै विश्वनाथको नयाँ मन्दिर बनाइएको छ, हामीले दर्शन गर्यौं ।बाहिर निस्केर सडकको ठेलामा बेचिरहेको नरिवलको चिसो पानी पनि खायौं हामीले । घुम्दै फिर्दै हामी रामनगर किल्ला पुग्यौं । गंगा किनारमा बनाइएको दरबारलाई संग्रहालयमा रूपान्तरण गरेर राम्रै गरिएको रहेछ । त्यहाँ पुराना हतियार, गाडी, तस्बिर आदि सयौंथरी सामान सजाइएको छ ।‘अंग्रेजले धेरैथोक दिएर गए । थोरै लिएर गए,’ किल्लाबाट होटल फर्कने बेला गुरुजीले लामो पुल देखाउँदै भने, ‘रेल, पुल, अग्ला भवन र अंग्रेजी भाषा त अंग्रेजले नै दिएर गएका हुन्।’

साँझ हामी फेरि गंगा किनारमा पुग्यौं, आरती हेर्न । आरती नसकुन्जेल कोही उठेन । आरती त हाम्रो पशुपतिनाथमा पनि हुन्छ । जनकपुरको धनुषसागरमा पनि । हामीले आरतीलाई हेर्नैपर्ने आकर्षक ‘प्रोडक्ट’का रूपमा ब्रान्डिङ गर्नै सकेका रहेनछौं भन्ने बनारस पुगेपछि ज्ञान भयो ।आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ बनेको रहेछ गंगा आरती । तीन दशकअघि आरती सुरु भएको रहेछ । भारतकै हरिद्वारमा आरतीको समय चन्दा माग्नेहरू रसिद लिएर छिनछिनमा आइपुग्छन् । बनारसमा चाहिँ त्यसरी दुःख दिन कोही आएनन्।

आरतीको माहोलमा मन शायद देवलोकतिर डुल्छ । आध्यात्मिक भावनाले मन निथ्रुक्क बन्छ । आनन्द र शान्त अनुभव हुन्छ । आरती दर्शनका बेला मलाई लाग्यो, आफूलाई नास्तिक भन्नेहरू पनि यहाँ आइपुगे भने तिनका मनका अन्तरकुन्तरबाट ईश्वरभक्ति प्रकट हुन थाल्छ ।बनारस हिन्दु र बौद्धमार्गीको संगम हो । गौतम बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेपछि चेलाहरूलाई पहिलोपटक ज्ञान बाँडेको ठाउँ सारनाथ हो । बोधगया पनि बनारसबाट २ सय ६० किमि मात्र टाढा छ।

हाम्रो भ्रमण तालिकामा बोधगया पनि थियो । त्यसैले बुधबारका दिन बिहानै हामी त्यता लाग्यौं । बिहारको फराकिलो सडकमा यात्रा गर्न ६ घन्टा लाग्यो । त्यहाँको होटलमा झोला बिसाएर हामी बुद्धभूमितिर लाग्यौं ।
बोधगया बिहार राज्यमा पर्छ । त्यहाँ मदिरा निषेध गरिएको छ ।  बोधगयामा बजार छ । हामी अटो चढेर घुम्यौं । त्यहाँ यता लुम्बिनीमा जस्तै विभिन्न देशले विहार र गुम्बा बनाएका छन् । सिद्धार्थ गौतमले बोधीवृक्षमुनि बसेर बुद्धत्व प्राप्त गरेका थिए । त्यो बोधीवृक्ष छँदैछ । मुख्य महाबोधि मन्दिरभित्र बुद्धको रंगीन मूर्ति छ।हामी वरपर घुम्यौं । घुम्दै जाँदा एउटा कुराले मन कटक्कै खायो । यति पवित्र भूमिलाई शान्त राख्नु पर्ने हो तर, त्यहाँ माइकबाट चर्को स्वरमा बुद्ध भजन घन्किरहेको थियो । यसरी नबजाएको भए हुन्थ्यो कि !

बोधगयाबाट १२ किमि दुरीमा पर्छ गयाधाम । त्यहाँ पुगेर पितृका नाउँ तर्पण दिँदा वा श्राद्ध गर्दा उनीहरूको बैकुण्ठमा बास हुन्छ भन्ने मान्यता छ । हामी पुग्दा फाल्गुनी नदीमा केही भारतीय श्राद्ध गर्दै थिए । बनारसमा जस्तै त्यहाँ पनि विभिन्न बहानामा पण्डाहरूले धर्म कमाउन गएका सोझा मान्छेलाई ठग्दारहेछन् । पितृका नाउँमा अनावश्यक खर्च गराउन विवश पार्दा रहेछन् ।गयाको प्रमुख विष्णु मन्दिर हो जहाँ भिडभाड थियो । सरसर्ती दर्शन गरेर फर्कियौं । हामीले कुनै ब्राह्मण साक्षी राखेर पितृ तार्ने काम गरेनौं।  

त्यो दिन हामी बनारस फर्कियौं । बनारसको क्यान्टोनमेन्ट पुग्नुअघि गुरुजीले हामीलाई साडी कारखानामा पुर्याए । साडी बनाएको हे¥यौं । साडी चाहिँ बाहिर पसलमा भन्दा महँगो पर्दोरहेछ, जस्तोकि ः हाम्रो समूहका हरिबहादुर दाई र चन्द्र भाइले भारु. दुई–दुई हजारमा साडी किने ।त्यही साडी कचहरिको एक दामको पसल जालन्समा जम्मा ८ सय ५० भारुमा पाइयो । कमिसनको खेलमा ड्राइभरहरूले मिठो बोलेर पर्यटकलाई फसाउँछन् । सावधान बन्नैपर्छ ।बनारस बसाइएको अन्तिम रात हामीले एउटा सिनेमा घरमा ‘सञ्जु’ फिल्म हेर्यौं।

काठमाडौं फर्कने दिन सारनाथ घुम्ने कार्यक्रम थियो । सारनाथ जहाँ बुद्धले चेलालाई पहिलोपटक ज्ञान बाँडेका थिए । बनारस बजारबाट १० किमि दुरीको त्यो पवित्र भूमिमा गुम्बा र चैत्य छन् । धमेक चैत्यको महत्व ठूलो रहेछ । इँट्टा र ढुंगाबाट बनेको अग्लो चैत्यमा भगवान बुद्धको अस्तु राखिएको छ ।सारनाथ डुल्दाडुल्दै आफ्नै मनसँग सोधेँ, ‘केही साता यतै बसेर योग र ध्यानमा आफूलाई समाहित गर्न पाए कस्तो हुन्थ्यो !’

तीतो सत्य के हो भने धेरैजसो हामी नेपाली हडबडको यात्रा गर्छौं । यात्राबाट जति लाभ लिनु पर्ने हो, नलिई फर्कन्छौं । विदेशीहरू चाहिँ घुमफिरको स्वाद लिन जान्दछन् । उनीहरू हप्तौं वा महिनौं डुल्छन् । अनुभव र ज्ञानको भण्डार फराकिलो बनाउँछन् ।सारनाथ घुमेर हामी आफन्तका लागि कोसेली किन्न जालन्स सपिङ मलमा पुग्यौं । किनमेल ग¥यौं । अनि त्यही साँझ काठमाडौं फर्कियौं । यसरी हाम्रो पाँच दिने बनारस यात्रा सार्थक बन्यो ।यतिबेला मेरा आँखामा गंगा आरतीको झल्को र कानमा भजन गुञ्जिरहेछ । जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ हो बनारस । म एक दिन फेरि परिवारसँगै बनारस जानेछु। 

तस्बिरहरु : अमृत भादगाउँले ।
तस्बिरहरु : अमृत भादगाउँले ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App