१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

सुनको बाला

पसलेले इन्दिराको हात समातेर बाला लगाइदियो । इन्दिराले आफ्नो हात फुत्काउने झिनो प्रयास गरिन् । तर, सकिनन् ।छातीको संक्रमणले प्रमोद थलिएको धेरै दिन भएको थियो । अनेक ठाउँमा उपचार गराउँदासमेत सन्चो नभएपछि उसकी पत्नी इन्दिराले सहरको सुविधासम्पन्न अस्पतालमा उपचार गराइरहेकी थिइन्।

अस्पतालमा झुण्ड्याइएको भित्ते पात्रो हेरेपछि प्रमोदले आफू अस्पतालमा आएको एक महिना भएको थाहा पाएको थियो । यस अवधिमा प्रमोदको स्वास्थ्यमा केही सुधार भएको थियो । तर, ऊ पूर्णरूपमा स्वस्थ भइसकेको थिएन । लामो समयसम्मको उपचारले उनीहरूलाई खर्च थेग्न सक्ने अवस्था थिएन ।इन्दिराले प्रमोदको सेवामा निकै खटिएकी थिइन् । उनी प्रमोद छिट्टै सन्चो होस् भन्ने कामना गरिरहेकी थिइन् । एक दिन बिहान इन्दिराले प्रमोदलाई भनिन्,  ‘डक्टरले भन्दै थिए यो नयाँ औषधी थप्नु पर्छ...।’

प्रमोदले यसमा खासै चासो दिएन । र, भन्यो, ‘मलाई पनि थाहा छ । हेर इन्दिरा ओढ्ने कपडा जत्रो छ त्यति मात्रामा खुट्टा फैलाउनु पर्छ । अब हाम्रो औकातले पनि भ्याउँदैन ।’‘औकात भन्ने कुरा पैसाको हेरिन्छ मान्छेको होइन । अस्पताल अगाडि मेडिकलको कम्पाउन्डरले यसै अस्पतालमा काम गर्छन् । उसले उधारोमा केही व्यवस्था गरिदिन्छ कि !’अस्पताल बस्दा इन्दिराले धेरैलाई चिनिसकेकी थिइन् ।‘होइन, ऋणमा डुबेर म आफ्नो उपचार गराउन चाहन्नँ । ऋणमा डुबियो भने मानसिक रोगसमेत बल्झिन्छ । अब तिमी सुत्न जाऊ।’

बिरामी कुरुवाहरू प्रायः सबै कुरुवा कक्षमा गएर सुतिसकेका थिए । इन्दिरा सुत्न गइन् ।भोलिपल्ट बिहान प्रमोद अलि अबेर बिउझियो । बिउझिँदा उसले आफ्नो बेड छेउको र्याकमाथि नयाँ औषधीहरू देख्यो । उसले वार्ड वरपर आँखा घुमायो । इन्दिरा चिया लिएर आउँदै थिइन् । इन्दिरा सुत्ने ठाउँमा पनि फोल्डिङ खाट देख्यो । प्रमोद आफैसँग प्रश्न गर्न थाल्यो, ‘इन्दिराले कहाँबाट यत्रो पैसाको जोहो गरिन् ? कसरी उधारोमा औषधी ल्याइन् ।

अनि त्यो कम्पाउन्डरले किन हामीलाई यो अपरिचित सहरमा सहयोग गरिरहेको छ ।’ तर, प्रमोदले आफ्नै प्रश्नको जवाफ पाउन सकेन ।इन्दिरा नजिकै आइन् । र, सोधिन्, ‘के सोचिरहनु भएको ?’‘यो औषधि...।’‘मलाई थाहा थियो, तपाईँ यही बारेमा सोचिरहनुभएको छ । यो कसैको दया मायाले ल्याएको होइन, मैले मेरो हातको सुनको बालालाई बन्धकी राखेर ल्याएको हुँ ।’प्रमोदले निधार खुम्चाउँदै आफैलाई प्रश्न गर्यो, ‘किन यस्तो गरेकी तिमीले ? कमसेकम एकपल्ट मलाई सोध्नुपर्ने ।’

इन्दिरा आर्थिक अभावमा प्रमोदको उपचार बीचैमा रोक्न चाहँदैनथिन् । समयले उनलाई यो अवस्थामा ल्याईपु¥याए पनि विगतमा इन्दिराको एकमात्र सहारा प्रमोद नै त थियो ।हिजो राती सुत्न गएको बेला इन्दिरा औषधी लिन अस्पताल अगाडिको औषधी पसलमा गइन् । टाढाको ब्यारेकबाट रातको ११ बजेको जनाउ दिन घण्टी सुनिँदै थियो । जाडो याम भएकाले होला, सडक शून्य थियो । इन्दिरा औषधी पसलअगाडि पुगिन् । इन्दिरालाई राति औषधी लिन आएको देखेर पसलेले अचम्म मान्दै सोधे, ‘यति राति औषधी लिन आउनुभएको !’

‘औषधी लानुपर्ने थियो । अहिले पैसा छैन । यही हातमा भएको सुनको बाला बन्धकी राख्नुस् ।’ पसलेले इन्दिराको हातबाट सुनको बाला लिएर ओल्टाइपल्टाइ हेर्यो । एकपटक थाहा नपाउने गरी इन्दिरालाई पनि नियाल्यो । इन्दिरा चुपचाप उभिरहेकी थिइन् । पसलेले डाक्टरले दिएको प्रेस्क्रिपसनका आधारमा सबै औषधी इन्दिरालाई दियो । इन्दिरा फर्किन लाग्दा पसलेले बोलायो । उसले नजिक आउने इशारा गर्यो । इन्दिरा नजिकै पुगेपछि पसलेले भन्यो, ‘खै तिम्रो हात ल्याऊ त, यो बाला तिम्रै हातमा सुहाउँछ ।’ पसलेले इन्दिराको हात समातेर बाला लगाइदियो । इन्दिराले आफ्नो हात फुत्काउने झिनो प्रयास गरिन् । तर, सकिनन् ।

एक दिन प्रमोदको उपचार गरिरहेका डाक्टरले भने,‘प्रमोद जी ! अब तपाईँ ठिक भइसक्नुभयो । तपाईँ यति छिटो ठिक हुनुमा इपन्दराजीको हात छ । केही दिनपछि जान सक्नुहुन्छ ।’प्रमोदले अस्पतालबाट बिदा पायो । सहरबाट घर आइपुग्दा अँध्यारो भइसकेको थियो । इन्दिराले टुकी बालेर घर उज्यालो पारिन् । धेरै दिन घर छाडेको हुनाले लथालिङ थियो । दुवैले मिलेर घर सफा गरे । इन्दिराले खानेकुरा बनाइन् । खाना खाएर बिछ्यौनामा पल्टिँदा मध्यरात भइसकेको थियो । लामो समयपछिको आलिँगनमा बाधिँदै उनीहरूले रात बिताए।

बिहान उज्यालो हुँदासम्म इन्दिरा बिउँझिएकी थिइनन् । प्रमोदले घचघच्यायो । इन्दिरा कोल्टे परिन् । प्रमोदले इन्दिराको अनुहारलाई एकटक नियालिरह्यो । आकर्षक अनुहार, छरिएको कपाल, कसिला पुष्ट अंगहरू, निदाएको आँखाका बन्द परेलीहरू, निष्कपट श्वास फेरेको मादक आवाज, गुलाफको फूलको पत्र जस्ता पातला ओंठ । इन्दिराको रूपमा मोहित भएर उसले इन्दिराको कपाल मुसारिरहेको थियो ।

प्रमोदको हात सिरानीमुनि रहेको सानो पोकोमा प¥यो । पोको खोलेर हेर्यो । पोकोमा इन्दिराको सुनको बाला देख्यो । प्रमोदले कहिले इन्दिरालाई त कहिले सुनको बालालाई हेरिरह्यो । र, सोच्यो, यो बाला त इन्दिराले मेरो उपचारका लागि बन्धकी राखेको भनेकी थिइन् । यहाँ कसरी आयो ? आखिर इन्दिराले किन झुठो बोलिन्, मसँग किन कुरा लुकाइन् ?

प्रकाशित: २३ असार २०७५ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App