काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ।
उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी वर्षेनी सयौं जनाले ज्यान गुमाउने गरेका छन् । उपत्यकामा सवारी दुर्घटना कमी हुुनुको सट्टा झन्–झन् वृद्धि हुदैं गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ।
चालकको लापरबाही, अव्यवस्थित सडक, ट्राफिकको बेवास्तालगायत कारण उपत्यकामा सडक दुर्घटना भई मृत्यु हुनेको संख्या कम हुन सकेको छैन । उपत्यकामा गत साउनदेखि जेठ मशान्तसम्मको दश महिनाको अवधीमा पाँच हजार सात सय ८१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा एक सय ६८ जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा परी चार हजार ९९ जना घाइते भएका छन् । जुन तथ्यांक गत आर्थिक वर्ष २०७३–७४ को १२ महिनाको अवधिमा १ सय ८२ जना दुर्घटनामा परेर ज्यान गुमाएका थिए । आर्थिक वर्ष सकिन बाकीँ रहदै गर्दा दुर्घटना दर अझै बढ्ने देखिन्छ । महाशाखाका एसएसपी तथा प्रमुख बसन्त पन्त काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भयावह रहेको बताउँछन् ।‘उपत्यकामा सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या अस्वाभाविक ढंगले बढिरहेको छ । जुन निकै चिन्ताको विषय हो,’ उनले भने,‘समयमा नै सचेतना नअपनाएको खण्डमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या अत्यधिक हुनेछ ।
त्यसैले आजैका दिनदेखि ट्राफिक जनचेतना फैलाउनुपर्ने देखिन्छ ।’महाशाखाका अनुसार सवारीचालकको लापरबाही, सवारीसाधनको अत्यधिक चाप, सडकको अवस्था, सवारीसाधनको तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना हुने गरेका छन् ।
प्रमुख पन्त सवारीचालकको लापरबाहीकै कारण उपत्यका दुर्घटनामा बढेको बताउँछन् । ‘उपत्यकामा सवारीचालकको चरम लापरबाहीकै कारण अधिकांश दुर्घटना हुँदै आइराखेका छन्’ उनले भने, ‘सवारीसाधनको चाप बढेअनुसार सचेतनात्मक कार्यक्रम गर्न सकेनौँ, त्यसले सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको हो।’
नागरिक समाजका अगुवा कनकमणि दिक्षितले उपत्यकामा बढ्दो सवारी दुर्घटना संख्याले पैदलयात्रु र सवारीचालकका लागि यहाँका सडक असुरक्षित बन्न थालेको बताए ।‘उपत्यकाका सडक पैदलयात्रुमैत्री नै छैनन् । जसको कारणले वर्षेनी सवारी दुर्घटना बढेका छन्,’ उनले भने,‘अब सवारी दुर्घटना न्यूनीकरणको लागि पाठयक्रम नै ट्राफिक जनचेतना सम्बन्धि उल्लेख गर्नुपर्ने बेला भइसक्यो ।’ उनका अनुसार सहरी क्षेत्रमा ५० प्रतिकिलोमिटरको गतिमा सवारीसाधन गुडाउदाँ पैदलयात्रु असुरक्षित भएका हुन् ।
महाशाखाका अनुसार सवारीचालकको लापरबाही, सवारीसाधनको अत्यधिक चाप, सडकको अवस्था, सवारीसाधनको तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना हुने गरेका छन् ।यातायात व्यवस्था विभागका कायममुकायम महानिर्देशक प्रेमकुमार सिंहले यान्त्रिक गढबढी र चालकको लापारवाहीको कारणले सवारी दुर्घटनामा वृद्धि भएको बताउँछन् ।
‘मान्छेलाई जस्तै सवारीसाधनको पनि नियमित जाँच गर्नुपर्ने हुन्छ,’ उनले भने,‘सवारीसाधनको जतिसुकैबेला पनि यान्त्रिक गढबढी हुन्छ ।त्यसैले नियमित मर्मतसम्भार गरेमा धेरै हदसम्म दुर्घटना अन्त्य हुने थियो ।’ उनका अनुसार विभागले सवारी दुर्घटना न्यूनीकरणको लागि सातवटै प्रदेशमा भेहिकल फिटनेल सेन्टर सञ्चालन गर्न लागेका छौं । गत साउनदेखि जेठ मशान्तसम्म देशभर ९ हजार ९ सय ८९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा परेर देशभर दुई हजार तीन सय १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ११ हजार ३ सय १० जना घाइते भएका छन् ।
आर्थिक वर्ष ०७१–७२ मा उपत्यकामा सवारी दुर्घटनामा परेर एक सय ३३ जनाले ज्यान गुमाएकामा ९२ पुरुष थिए । त्यस वर्ष तीमध्ये २८ महिला, नौ बालक र चार बालिकाको ज्यान गयो । आर्थिक वर्ष ०७२–७३ मा दुर्घटनामा परेर एक सय ६६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये एक सय २२ पुरुष थिए भने ३१ महिला, आठ बालक र पाँछ बालिका थिए । आर्थिक वर्ष ०७३–७४ मा उपत्यकामा एक सय ८२ ले ज्यान गुमाएका थिए । त्यसमध्ये एक सय २४ पुरुष, ४३ महिला, १३ बालक र एक बालिका थिइन् ।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा– १३७ अनुसार पैदलयात्रीले जेब्रा क्रस, सब–वे, ब्रिज वा बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ । तर, ऐनमा जेब्रा क्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रस्ट छैन । ऐनको दफा– १६१ अनुसार सवारीचालकले जानाजान दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भए दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ ।
प्रकाशित: ८ असार २०७५ ०३:२० शुक्रबार