नेपाली भाषामा भर्खरै एउटा महत्वपूर्ण ग्रन्थ प्रकाशनमा आएको छ, ज्ञाननिष्ठ ज्ञवालीद्वारा लिखित ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ शीर्षकमा । यो ग्रन्थ बहुआयामिक छ ।
यसभित्र एकसाथ तीन गहन सन्दर्भ समायोजित छन्– महाकवि लक्ष्मीप्रसाद देवकोटा, शाकुन्तल महाकाव्य र पूर्वीय दर्शन । लेखकले यी तीन सन्दर्भलाई संयोजन गर्ने विशेष प्रयत्न गरेको पाइन्छ । लेखकले महाकवि देवकोटा र उनको महाकाव्य शाकुन्तललाई केन्द्रबिन्दु बनाएर पूर्वीय दर्शनको अन्वेषण–विश्लेषण गरेका छन् ।महाकवि देवकोटाको काव्य साधनाका अनेक पाटा, पक्ष र क्षेत्र छन् । तीमध्ये दर्शन एक महत्वपूर्ण पाटो हो । परन्तु देवकोटाको दार्शनिक महासिन्धुको अध्यापन छिटपुट प्रयास मात्र भएको पाइन्छ, काव्य कृतिकेन्द्री भएर कसैले एकनिष्ठ अध्ययन–विश्लेषण गरेको यसअघि जानकारी प्राप्त छैन।
यद्यपि महाकवि स्वयंले त कविता मस्तिष्क, बुद्धि, विचार, दर्शनले लेखिने–रचिने होइन, हृदय, भावनाले रचिने कुरा बताएका छन् । त्यो उनको उदारता, महानता हो । धेरैलाई भ्रम छ, देवकोटा दार्शनिक होइनन् भन्ने । परन्तु उनको दर्शन उनका प्रत्येकजसो कृतिमा सशक्त रूपमा प्रवाहित भएको पाइन्छ । त्यसमाथि देवकोटा पूर्वीय दर्शनका व्याख्याता समेत हुन् । यस कुराको साक्षी विवेच्य ग्रन्थ नै बनेको छ । यसमा देवकोटाका केही फुटकर कविता, केही निबन्ध, खण्डकाव्य र नाटकलाई उद्धृत गर्दै तिनमा अभिव्यञ्जित दर्शनको दृष्टान्तसहित व्याख्या गरिएको छ । शाकुन्तल महाकाव्य त मूल आधार ग्रन्थ नै भएको छ।
देवकोटा आफ्नो आशुकवित्व, महाकवित्व तथा विषय क्षेत्रगत व्यापकताका कारण नेपाली वाङ्मय जगत्का ‘न भुतो न भविष्यति’ अद्वितीय स्रष्टा हुन् । उनको ‘शाकुन्तल’ महाकाव्य नेपाली साहित्यको सर्वश्रेष्ठ महाकाव्य हो । पूर्वीय पूराकथाको स्रोतमा सिर्जित–संरक्षित यो महाकाव्य प्रथम आधुनिक स्तरीय नेपाली महाकाव्य हो । यो स्वच्छन्दतावादी तीव्र प्रभावशाली प्राकृत महाकाव्य पनि हो । यसमा पूर्वीय दर्शनका मूल्य–मान्यता प्रकृतिका विविध छटाझैँ यत्रतत्र प्रस्फुटित र प्रदर्शित भएका छन्, जसको नीरक्षीर विवेचना सटीक रूपमा अध्येता ज्ञाननिष्ठ ज्ञवालीबाट यस नवीन ग्रन्थमा भएको छ । यो अत्यन्त स्वागतयोग्य कुरा हो।
देवकोटालाई प्रकृतिवादी, ईश्वरवादी, जीवनवादी, आदर्शवादी, मानवतावादी जस्ता अनेक विशेषतामा चिनाउने काम पनि यस ग्रन्थले गरेको छ । मूलतः देवकोटाको काव्यिक दार्शनिक धरातललाई बुझ्न चाहनेका लागि यो ग्रन्थ महत्वपूर्ण हुनेछ ।
‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ जम्मा तीन अध्यायमा विभाजित छ । यो कृति मूलतः पूर्वीय दर्शनअन्तर्गत ‘ईश्वर र जीवन जगत्’मा केन्द्रित रहेकाले पहिलो अध्याय ‘शाकुन्तल महाकाव्यमा ईश्वरचिन्तन’ रहेको छ । दोस्रोमा ‘शाकुन्तल महाकाव्यमा जीवन जगत्–चिन्तन’ र तेस्रो अध्यायमा ‘समग्र निष्कर्ष’ रहेका छन् । पहिलो अध्यायअन्तर्गत पूर्वीय दर्शनमा ‘ईश्वर चिन्तन’मा सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनमा समेटिएको ईश्वर चिन्तनको चिनारी दिइएको छ । अनि, देवकोटाका ‘भिखारी’, ‘यात्री’, ‘गरिब’ जस्ता कविता र मुनामदन, सावित्री सत्यवान, लक्ष्मी निबन्ध संग्रहमा प्रवाहित ईश्वरीय चिन्तनको सन्दर्भ उठाइएको छ।
देवकोटाले ईश्वरलाई अपरिहार्य मानेको, निर्देशक र प्रकृति मानेको, सत्य र कर्मको प्रतीक मानेको संकेत गरिएको छ । ‘शाकुन्तल महाकाव्यमा ईश्वर चिन्तन’ उपशीर्षकअन्तर्गत मङ्गलाचरण, प्रकृति चित्रण, शिशुकेन्द्री, स्वरूपकेन्द्री ईश्वर चिन्तन अभिव्यक्त भएको बताइएको छ । त्यस सन्दर्भमा देवकोटाले विभिन्न पूर्वीय दर्शनमा निहित ईश्वरीय स्वरूप र भूमिकालाई मौलिकतासहित विशिष्टता साथ प्रस्तुत गरेका छन् । यहाँ शिव, गणेश, राम, कृष्ण, सरस्वती, बह्मा, विष्णुलाई स्मरण गरी ईश्वरका विविध स्वरूपको चिन्तन गरेको दृष्टान्त दिई देवकोटा ईश्वरवादी महाकवि हुन् भनी पुष्टि गरेकोपाइन्छ । उनको ईश्वरवाद मानवतावादी, प्रकृतिवाद रहस्यवादी छ ।
दोस्रो अध्याय जीवनजगत् चिन्तनसँग सम्बन्धित छ । पूर्वोक्त पूर्वीय दर्शनशास्त्रहरूमा अभिव्यक्त जीवनजगत्को रूपरेखा प्रस्तुत गरी देवकोटाको जीवनजगत् चिन्तनलाई केलाइएको छ । देवकोटाले प्रारम्भिक अवस्थादेखि नै जीवनजगत्सम्बन्धी आफ्ना धारणा पूर्वीय दर्शनसापेक्ष बनाएर प्रस्तुत गरेको पाइन्छ । जीवन सत्यवादी, कर्मवादी, मानवतावादी हुनुपर्ने उनको मान्यता छ । उनी प्राचीन सभ्यता, संस्कृति, शान्तिप्रति आकर्षित छन्।
शान्कुतल महाकाव्यमा प्रदर्शित जीवनजगत् चिन्तनबारे यस ग्रन्थमा विशद् चर्चा गरिएको छ । आध्यात्मिक प्राचीन पूर्वीय जीवनजगत्अन्तर्गत सभ्यताका धरोहर विश्वामित्र, कण्व, दुर्वासा, कश्यपजस्ता ऋषिका वैशिष्ट्य र त्याग तपोमय जीवन पद्धतिको देवकोटाले मुक्तकण्ठले प्रशंसा गर्दै पूर्वीय संसारको आलोकका रूपमा चिनाएका कुरालाई यस ग्रन्थमा सोदाहरण प्रस्तुत गरिएको छ । कठोर तपोबलबाट ब्रह्मर्षि बन्न सफल तपोमूर्ति विश्वामित्रको तपस्या–साधना लक्ष्य प्राप्तितर्फको महान् यात्रा भएको र पूर्वीय दर्शनानुकूल आध्यात्मिक जीवन चेतनाको उपल्लो रूप भएकाले सबैका लागि प्रेरणादायी रहेको बताइएको छ।
त्यस्तै, निःस्वार्थ परोपकारी, गुणी कण्व ऋषि मानवतावादी, अहिंसावादी र अध्यात्मवादी विचारकका रूपमा देखिएका छन् । झट्ट हेर्दा क्रोधीका रूपमा देखापरे पनि दुर्वासा ऋषि नैतिक मूल्य–मान्यता वा कर्तव्यानुशासनमा चल्ने व्यक्तित्व हुन् । त्यसैगरी, कश्यप ऋषिले संरक्षक र उपदेशकको महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । यिनै ऋषि महर्षिहरूका गतिविधि, विचार र आदर्शलाई सशक्त रूपमा काव्यात्मक ओजसहित प्रस्तुत गरिएकाले ‘शाकुन्तल’ महाकाव्यले विशिष्टता प्राप्त गरेको सन्दर्भ पनि कृतिमा उठाइएको छ।
विभिन्न उपशीर्षकमा प्रकृति, सत्य, भौतिक÷आधुनिक तथा विविधअन्तर्गत नेपाली जनजीवन÷किसानकेन्द्री, भाग्यवादी, आशावादी, विश्वासकेन्द्रित, गृहस्थी, प्रेममय, शिशुकेन्द्री, नारीकेन्द्रित, राजनैतिक र देवकोटेली जीवन चिन्तनका सन्दर्भहरूलाई प्रस्तुत गरिएको छ । प्रकृतिलाई सर्वोपरि ठान्नु र आफ्ना काव्यकृतिमा महत्वका साथ स्थान दिनु देवकोटाको मूल वैशिष्ट्य हो । ‘शाकुन्तल’ महाकाव्यमा पनि प्रकृतिका विविध रूपको चित्रण गरी प्रकृति नै मानव जीवनको मूल आधार भएको धारणासाथ प्रकृतिमय प्राचीन आर्यसभ्यता र संस्कृतिको उद्घाटन गरेर त्यसैमा आध्यात्मिक शान्ति पाइने कुरा बताएको ग्रन्थमा उल्लेख गरिएको छ ।
देवकोटाको विचार सत्यवादी जीवनचिन्तनतर्फ उन्मुख छ । भौतिक वा आधुनिक जीवन पद्धतिप्रति भने देवकोटा त्यति सकारात्मक छैनन् । उनको अभीष्ट नै प्राचीन पूर्वीय प्राकृत जीवनतर्फको आकर्षण हो । प्रसंगवश ‘शाकुन्तल’मा नेपालीको सरल, सहज, निःस्वार्थ र कर्मशील जीवन पद्धतिलाई किसानको केन्द्रीयतामा प्रस्तुत गरिएको छ ।
भाग्यवाद पूर्वीय दर्शनको महत्वपूर्ण पक्ष हो । यसैसँग आशा र विश्वास पनि जोडिएर आउँछन् । अध्यात्मपरक गृहस्थी जीवनका हिमायती देवकोटा प्रेमलाई सिर्जनाको कारक र विश्वको आधार मान्छन् । निश्छल, पवित्र र आकर्षक बाल्यजीवनतर्फ देवकोटा आकर्षित देखिन्छन् । बाल्यकाललाई स्वर्णकाल मान्छन् । उनी हिन्दू नारी आदर्शप्रति निष्ठावान् देखिन्छन् । परिवार, समाज तथा समग्र मानव आश्रित र निर्भर रहने भएकाले नारीको स्थान सदैव उच्च र पूज्य रहने विचार देवकोटाले पोखेको पाइन्छ ।
त्यस्तै, शासकहरू असल, दयावान्, दक्ष, जनसेवक, विशाल हृदयी हुनुपर्ने संकेत गरेको भेटिन्छ । देवकोटा स्वयम् अध्यात्मनिष्ठ कर्मवादी प्राकृत जीवनपद्धतितर्फ आकर्षित छन् । विवेचित ग्रन्थमा देवकोटाका जीवन चिन्तनसम्बन्धी यिनै मान्यतालाई सूक्ष्म रूपमा चित्रण र उद्घाटन गरिएको छ।
यो कृतिमा शाकुन्तल महाकाव्यलाई पूर्वीय दर्शनका सापेक्षतामा अध्ययन विश्लेषण गरेर देवकोटाको दार्शनिक पक्ष पहिल्याउने प्रयास गरिएको छ।देवकोटालाई प्रकृतिवादी, ईश्वरवादी, जीवनवादी, आदर्शवादी, मानवतावादी जस्ता अनेक विशेषतामा चिनाउने काम पनि यस ग्रन्थले गरेको छ । मूलतः देवकोटाको काव्यिक दार्शनिक धरातललाई बुझ्न चाहनेका लागि यो ग्रन्थ महत्वपूर्ण हुनेछ।
प्रकाशित: २६ जेष्ठ २०७५ ०२:५० शनिबार





