१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

डा.राजकुमार सुवेदी
वास्तुशास्त्री

प्राकृतिक नियमले भवन निर्माणको ज्ञान स्थापत्य वेदमा पाइन्छ । स्थापत्य वेदको नियमलाई मूर्त रूप दिनु नै वास्तु हो । वेदसम्बन्धी आधुनिक व्याख्याकार महर्षि महेश योगीका अनुसार स्थापत्य वेदको महŒव त्यति नै छ जति अन्य वेदहरूको छ । वैदिक विश्वविद्यालयका स्थापत्य वेद संकाय अध्यक्ष प्रो. सेतु माधवनका अनुसार इँट भित्ता (गाह्रो) सिमेन्टको प्राचीन एवं अर्वाचिन इतिहास नै वास्तुकला विज्ञान हो । जसबाट पूरै ब्रह्माण्ड बनेको छ । प्रसिद्ध भारतीय वास्तुकार प्रो. के. प्यागुरकिष्णण नंबुदरीपादका अनुसार हाम्रो पूर्वीय वास्तुशास्त्र युरोप र अन्य देशको वास्तु शास्त्रभन्दा कयौं गुणा प्रभावशाली छ । युरोपको वास्तु चार भागमा विभक्त छ जबकि पूर्वीय वास्तु शास्त्रका नौ आयाम छन् । जसमा गहिराइ, उचाइ, संगीत, अध्यान, लम्बाइ, चौडाइ, समय, आकाशीय ऊर्जा, मृत्यु आदि पर्छन् । वास्तु ज्ञानको अभावमा भवनमा वास्तु दोषको कारणले मनुष्य दुखी बनेका देखिन्छन्, पाइन्छन् । पृथ्वीको उत्तरी धु्रव र दक्षिणी धु्रवको बीचमा एउटा ठूलो चुम्बकीय क्षेत्र छ । हाम्रो रगतमा रहेको मुख्य तŒव फलाम हो । फलामको सिधा सम्बन्ध चुम्बकसँग हुन्छ । यसकारण दक्षिण दिशाबाट भवनमा प्रवेश गर्ने घरका निवासीलाई मस्तिष्क या हृदयको रक्त सञ्चालनमा प्रतिकूल असर पर्छ र रक्त क्यान्सरको समेत सम्भावना हुने कुरा एक अमेरिकन शोधकर्ताको दृष्टिकोण रहेको छ । महर्षि वैदिक विश्वविद्यालयमा पढाइने स्थापत्य वेद र वास्तुमा अनेक अनुसन्धानपश्चात् यो प्राप्त भयो कि युरोप र अमेरिकाका भवनमा दक्षिण दिशातर्फको प्रवेशद्वार बन्द गरी वास्तु सम्मत भवन निर्माणपछि सकारात्मक परिवर्तन देखिएको थियो । वैदिक शास्त्रअन्तर्गत वास्तु अध्ययन गर्ने विभिन्न वास्तु शास्त्रीहरूले आ–आफ्नो रिपोर्टमा भनिएको छ कि कुनै पनि स्थान खराब एवं नराम्रो हुँदैन, त्यहाँको वरिपरिको वातावरण र धनात्मक–ऋणात्मक ऊर्जासँग निर्भर हुन्छ । 

पृथ्वीमा सकारात्मक–नकारात्मक दुवै ऊर्जा, अन्य विभिन्न ग्रहबाट आइरहेको हुन्छ । यसैले काम गर्दा धनात्मक–ऋणात्मक ऊर्जा क्षेत्र खोज्नु पर्छ । शयन कक्ष, अध्ययन कक्ष सकारात्मक ऊर्जा क्षेत्रमा बनाउनु पर्छ । शौचालय एवं फोहोर जम्मा गर्ने स्थान ऋणात्मक ऊर्जा क्षेत्रमा बनाउनु पर्छ । दैनिक समयमा आठ प्रहरहरू हुन्छन् । हरेक प्रहरमा अलग–अलग प्रकारका ऊर्जा तरङ्ग उत्पन्न हुन्छन् । मुहूर्त ज्ञानअनुसार रातको दुई बजेदेखि बिहान ५ बजेसम्मको समयलाई  ब्रह्ममुहूर्त भनिन्छ । यसै मुहूर्तमा सकारात्मक शक्ति मनुष्यलाई प्राप्त हुन्छ । पूर्वमुखी भवन, इसान कोण क्षेत्रमा पानीट्याङ्की, पश्चिममा शौचालय, दक्षिण दिशातर्फ घरमूलीको शयन कक्ष बनाउनु उत्तम मानिएको छ । 

भोजन कक्षको वास्तु : लगभग ४/५ दशक पूर्व घरको मध्य क्षेत्रमा आँगन बनाइन्थ्यो र त्यहीँ नै अथितिलाई बसाएर खानेकुराको प्रबन्ध गरिन्थ्यो । साथै फुर्सदका बेलामा बसेर व्यापारिक, आर्थिक र अन्य वार्तालाप समेत गर्ने गरिन्थ्यो । समय बित्दै जाँदा जीवनशैलीमा परिवर्तन आयो र सीमित भू–भाग र सीमित स्थानको कारण आतिथ्य एवं भोजन कक्षको रूप पनि बदलिएर आयो । आज आतिथ्य एवं भोजन कक्ष बहुउपयोगी कक्षको रूपमा प्रयुक्त भएको देखिन्छ । भोजन कक्ष, विश्राम कक्ष तथा शयन कक्षको रूपमा विकसित भएको छ । यसको विकसित रूप गेष्टहाउसलाई लिन सकिन्छ । अतिथि कक्षको मुख्य प्रयोग बाहिरबाट आएका अभ्यागतको स्वागत, सत्कारका लागि गरिन्छ । यस अतिथि एवं भोजन कक्षको रूप साज–सज्जा यस्तो उच्च प्रकारको हुनुपर्छ कि आएका अतिथिमा त्यसघरका मुख्य स्वामीआदिमा  सुरुचि, विद्वता, तथा सम्पन्नताको विषयमा राम्रो प्रभाव परोस् । यस बहुउपयोगी कक्षको ध्यान राख्दै, भवनको पूर्व या पश्चिम दिशाको मध्यमा भोजन कक्ष बनाउन उचित हुन्छ । कारण के हो भने – वास्तुको दृष्टिले भोजन कक्ष पूर्व–दक्षिण कोण या उत्तर–पश्चिम कोणमा हुनु राम्रो हुन्छ । अतः पूर्व या पश्चिम दिशाको मध्यभागमा बनेको पाहुना कक्षमा भोजन तयार गर्न र भोजन गराउन सजिलो हुन्छ । उत्तर पश्चिम दिशामा भोजन कक्ष भएमा दाम्पत्य जीवनमा सुख सन्तोष हुन्छ भनिए तापनि केही वास्तु शास्त्रीका मतमा यस दिशामा बनेको भोजन कक्षले धन हानि र पराश्रित हुनुपर्दछ भन्ने गरेका छन् । पूर्व–उत्तर दिशामा बनेको भोजन गृहले राम्रो आम्दानी, भवनवासी विद्वान तथा सामान्य रूपले यश र प्रतिष्ठा प्राप्त गर्ने हुन्छ । केही वास्तु शास्त्रीहरूले ईशानकोणमा भगवान् स्थापना गरी अन्य कक्ष बनाएमा सामान्य वास्तु दोष मात्रै मानेका छन् । वास्तु शास्त्रीहरूको विभिन्न विचारहरूमध्ये यस्तो पनि विचार रहेको पाइन्छ कि आर्थिक दृष्टिले महत्वपूर्ण विषयमा विचार गर्ने बेला आवासीय भूस्वामीको मुख उत्तर–पूर्व या पूर्व मध्य दिशामा हुनु कल्याण हुन्छ । आफ्नो आसनी दक्षिण–पश्चिम कोणमा राख्नु शुभ हुन्छ । भोजन कक्षमा खुला भान्सा हुनु अशुभ मानिन्छ । भान्साको अगाडि पर्ने गरी अतिथि भोजन गराउनु हुँदैन, यस्तो दोषले परिवारमा वैर–विरोध तथा वैमनश्यता बढाउँछ । सन्तानबाट समेत चिन्ता भई दाम्पत्य जीवन विच्छेदको परिस्थितिसमेत बन्ने हुन सक्छ । भोजन कक्षको उत्तर–पश्चिममा नल या पानी ट्याङ्की राख्न हुँदैन । राखेमा आर्थिक स्थिति बिग्रँदै जान्छ । भू–स्वामी या घरको मूली व्यक्ति अतिथि कक्ष या भोजन कक्षमा शयन गरेमा घरका स्त्रीसमूहको विचार कमजोर भई स्वभाव बिग्रने सम्भावना बढ्दै जान्छ । शौचालययुक्त भोजन कक्ष मानसिक सन्ताप तथा दाम्पत्य जीवनमा नराम्रो असर पार्छ । भोजन या अतिथि कक्षमा दराज राख्दा र प्रवेशद्वार राख्दा धनात्मक ऊर्जा क्षेत्रमै राख्नु पर्छ ।

ढलान आवश्यक भएमा पूर्व या उत्तर दिशातर्फ ढलान राख्नुपर्छ । उत्तर–पूर्व दिशाको धरातल तल राख्नुपर्छ । भोजन कक्षको मध्य बिन्दु (भूमि या छत) मा कुनै पनि प्रकारको गह्रुँगो वस्तु बिग्रिएको पंखा, मेच, कुलर, फ्रिजआदि राख्नु हुँदैन । रुमकुलर, फ्रिज, एयरकन्डिसन कक्ष पश्चिम दिशामा राख्नुपर्छ । यी वस्तुहरू सदैव ऋणात्मक ऊर्जा क्षेत्रमा राख्नु शुभ हुन्छ। सोफा, दराज आदि गरूङ्गो समान दक्षिण–पश्चिम भित्ताको साथ जोडेर राख्नु राम्रो हुन्छ । भोजन गर्ने कोठामा युद्ध अपराध, विभिन्न वियोगान्त चित्र, भोकै–नाङ्गै–रुँदै–कराउँदै गरेको बच्चा या अन्य व्यक्तिको चित्र, नग्न मूर्ति या चित्र कदापि राख्नु हुँदैन । यो भू–स्वामीको  क्रुरता, संवेदनहिनता र अश्लीलताको परिचायक हो । पशुपक्षीको मूर्ति भोजन कक्षमा सजाउनु अनुचित हुन्छ । राख्नै पर्ने भएमा उत्तर–पश्चिम कुनामा राख्न सकिन्छ । अतिथि एवं भोजन कक्षमा अस्त्र–शस्त्र सजाउनलेु चित्तमा उद्विग्नता र क्षोभ बढाउँछ । पारिवारिक प्रतिष्ठासँग जोडिएको शस्त्रादिलाई दक्षिण–पश्चिम दिशामा भण्डारण गर्नु उपयुक्त हुन्छ । पश्चिमको मध्य भू–भाग भोजन कक्षका लागि सर्वोत्तम मानिएको छ । उत्तर या पूर्व दिशाको भोजन कक्ष सामान्य शुभ मानिन्छ । भोजन कक्ष यथासम्भव समतल बनाउनु पर्छ । भान्साको नजिकमा भोजन स्थान बनाउनु पर्छ । सिंढि भएको विभिन्न धरातलयुक्त भोजन कक्ष अनिष्ठप्रद हुन्छ । भोजन गर्ने समयमा घरको मूल व्यक्तिको मुख पूर्वतर्फ फर्किएमा धन वैभव आदिको वृद्धि हुन्छ । मूल व्यक्ति भोजन गर्ने बेला उत्तर दिशातर्फ फर्केमा धन वैभवमा न्यूनता हुन्छ । भोजनको बेला गृहस्वामीको मुख दक्षिणतर्फ हुनु उत्तम मानिन्छ । भोजनको मेच, टेबुल वर्गाकार, आयताकार हुनुपर्छ । गोलाकार, बर्तुलाकार मेच, टेबुल बनाउनु हुँदैन । गोलाकार टेबुलमा भोजन गर्न अवश्यमेव कठिन हुन्छ । भोजन कक्षको ठीक ठाउँमा हातमुख धुने व्यवस्था हुनु राम्रो हुन्छ । भोजन कक्षमा जलस्रोत (हातमुख धुने व्यवस्था) उत्तर या पूर्व दिशामा हुँदा शुभ–कल्याण हुन्छ । प्रवेशद्वार र झ्याल धनात्मक ऊर्जा क्षेत्रमै बनाउनु पर्छ । भोजन कक्षमा प्राकृतिक सौन्दर्य दर्शाउने खालको चित्र दृश्य पूर्वी या दक्षिण भित्तामा लगाउनु पर्छ । उत्तर मध्यमा बनेको भोजन कक्ष अति उत्तम मानिएको छ । भोजन कक्षमा बस्दाको खाली समयमा आर्थिकसम्बन्धी कुराकानी गर्नुपर्ने भएमा उत्तर, उत्तर–पूर्व या पूर्व दिशातर्फ मूल व्यक्तिको मुख भएमा राम्रो हुन्छ । 

भोजन कक्षमा गरूङ्गो सामान दक्षिण या पश्चिम दिशामा राख्नुपर्छ । भित्तामा प्राकृतिक सौन्दर्य या सुखी र सम्पन्न व्यक्तिको चित्र टाँस्नाले मनमा आशा उत्साह, स्वस्थता र शान्तिको सञ्चार हुन्छ । पश्चिम मध्यमा बनेको भोजन कक्षले समेत स्वास्थ्यमा सुख र सम्पन्नता दिन्छ । मूल व्यक्तिले भोजन गर्दा मुख पूर्व गर्नु राम्रो हुन्छ भने अतिथिको मुख दक्षिण हुनु उत्तम हुन्छ । victoria20602003@gmail.com

प्रकाशित: ३१ वैशाख २०७५ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App