२७ असार २०८२ शुक्रबार
image/svg+xml
अन्य

चन्द्रमामा मानव दृष्टि किन?

यस्ताे पनि!

६० वर्षअघि चन्द्रमा टेकिसकेको मान्छेले निजी कम्पनी सबल हुँदै जाँदा चन्द्रमा हुँदै मंगल ग्रहसम्म पुग्ने प्रयास गरिरहेको छ। तर पछिल्लो समय चन्द्रमामा किन यति धेरै चासो छ त?

अमेरिकाले ५५ अन्तर्राष्ट्रिय सहयोगी संस्था र देशहरूको सहयोगमा आर्टेमिस अन्तरिक्ष उडान कार्यक्रम सञ्चालन गरेको छ। यसमा विमानमार्फत वैज्ञानिकहरू चन्द्रमाको दक्षिणी भेगमा पुग्ने छन्। त्यहाँ नयाँ अन्तरिक्ष स्टेशन ‘गेट वे’ बनाइनेछ। यस्तै चीनले पनि रुस र अन्य  १३ अन्तर्राष्ट्रिय सहभागिताका साथ चन्द्रमामा आधारशीला बनाउँदैछ।

सन् २०३५ सम्म चन्द्रमामा उसले इन्टरनेशनल लूनार रिसर्च स्टेशन बनाइसक्ने छ। त्यसपछि रोबोटिक उपकरणलाई स्थायी रूपले स्थापित गरिनेछ।

चन्द्रमामा फलाम, सिलिकन, हाइड्रोजन, टाइटेनियम र दुर्लभ किसिमका खनिज तत्वहरू पाइने भएकाले शक्तिसम्पन्न मुलुकहरू यहाँ आफ्नो आधिपत्य जमाउन चाहन्छन्। त्यसो त ती संशाधनलाई निकाल्न र पृथ्वीसम्म ल्याउन निकै महँगो हुनेछ तर पृथ्वीमा ती खनीजहरू पाइन छाडेको अवस्थामा तिनलाई ल्याउन सकिन्छ। यसका अतिरिक्त चन्द्रमामा आधार बनाउन त्यहीँका संशाधन आवश्यक पर्छ। पृथ्वीबाट सामान ओसार्न महँगो पर्ने भएकाले त्यहीँको सामग्री उपयोग गर्नु आवश्यक हुन जान्छ।

चन्द्रमाको माटो (रेगोलिथ)लाई विकिरणबाट सुरक्षाका लागि र चन्द्रमामा अन्य निर्माण कार्यका लागि उपयोग गर्न सकिन्छ। त्यस्तै चन्द्रमामा नै पानी र बाली उत्पादनमा प्रयोग गर्न सकिन्छ। यस्तो हुन सके मंगल ग्रह जानका लागि यसलाई ‘ट्रान्जिट लाउन्ज’का रूपमा प्रयोग गर्न सकिन्छ। चन्द्रमाको माटोलाई रकेट इन्धनका लागि पनि प्रयोग गर्न सकिने देखिएको छ। त्यसैले मंगल लक्ष्यका लागि चन्द्रमामा आराम गर्न र त्यहाँबाट इन्धन भर्न अझ बढी आवश्यक पर्छ। चन्द्रमाको दूरी चार लाख किमि छ। अहिलेको रकेटमार्फत त्यहाँ पुग्न लगभग तीन दिन लाग्छ। चन्द्रमामा मान्छे पुगेका खण्डमा त्यहाँको पर्यावरणलाई के कस्तो प्रभाव पार्छ भन्ने पनि अनुसन्धानहरू भइरहेका छन्।

चन्द्रमाको पानी, धातु र अन्य संशाधन प्रायेग गरेर लामो समयसम्म त्यहाँ बिताउन सकिन्छ कि सकिदैन र सकिएको खण्डमा सबैभन्दा प्रभावशाली तरिका के हुनसक्छ भन्ने अनुसन्धान जारी छ। त्यसका लागि आवश्यक उपकरण, उत्खनन र नमूना विश्लेषण, भूगर्भिय अध्ययन तथा अन्तरिषमा चन्द्रमाको मौसम जाँच्ने उपकरणहरू विकसित गरिँदैछ।

सन् १९६० र ७० को दशकमा अमेरिकाले अपोलो मिशन चलाउँदा चाहिने इलेक्ट्रोनिक र टेलिकम्युनिकेशन उपकरणहरू बनाउँदा आकारमा निकै सानो बनाउनु परेको थियो। पछि त्यो मोबाइल नेटवर्कका लागि निकै फलदायी साबित भएको थियो। वैज्ञानिकहरूलाई अन्तरिक्षमा खान आवश्यक पर्ने खाद्यहरूलाई सुकाउने, अझ पौष्टिक बनाउने लगायतका खोजका कारण नै अहिले हामीले लामो समयसम्म खान मिल्ने डिब्बाबन्द खान्कीहरूको सुविधा उपभोग गरिरहेका छौँ। रोबोटिक सेन्सर, टेलिमेडिसिन लगायतका टेक्निक पनि अन्तरिक्ष अनुसन्धानका फाइदा हुन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ असार २०८२ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App