मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ सहसचिव खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका सचिव रुघुराम विष्टले ५८ वर्षको उमेर हदको कारण अनिवार्य अवकाश पाएपछि विष्टको ठाउँमा एउटा सचिव पद रिक्त रहेको थियो । रिक्त ठाउँमा सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारीलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । मेलमिलाप आयोगका सचिव पराशर ढुङ्गानालाई कानून मन्त्रालयमा सरुवा गरेपछि मेलमिलाप आयोगमा सचिव पद रिक्त रहेकोे थियो ।
कानून मन्त्रालयका सचिव उदय सापकोटाले ५८ वर्षको उमेर हदको कारण अनिवार्य अवकाश पाए पछि कानून मन्त्रालयमा सचिव पद रिक्तरहेको थियो । रिक्त ठाउँमा ढुङ्गानालाई सरुवा गरिएको छ ।
प्रकाशित: ३ असार २०८२ २१:५७ मंगलबार