भनिन्छ, जीवन र मृत्युलाई नजिकबाट नियाल्ने व्यक्ति साहित्यमा भिज्न सक्छ । त्यसैले होला, सधैँ पीडाको वरिपरि रहने चिकित्सकले लेख्ने साहित्यमा मानवीय संवेदना पाइन्छ।
चिकित्सकले सोखकै रूपमा किन नलेखून् ? कतिपयका रचना गम्भीर, सत्यनजिक र प्रस्तुतीकरण पनि राम्रो हुन्छ ।तर, व्यस्त रहने चिकित्सकसँग समय कसरी हुन्छ ? गम्भीर जिम्मेवारीबाट समय निकाल्नु कम्ती सकस छैन । तैपनि लेख्न मन भएपछि भने निस्कन्छ नै समय।
नेपाली साहित्य क्षेत्र नियाल्ने हो भने केही चिकित्सक पनि लेखनमा सक्रिय देखिन्छन् । उनीहरू चिकित्सा क्षेत्रलाई पेसा बनाएका छन् भने लेखनलाई सोख । तर, उनीहरूको लेखन सोखका रूपमा मात्रै छैन । नेपाली साहित्यलाई योगदान दिने खालकै पाइन्छ।एउटा होइन, दर्जन हाराहारीमा कृति लेख्ने चिकित्सक पनि छन् । त्यसैमा पर्छन्, डा. रविन्द्र समीर भनेर चिनिने रविन्द्र पाण्डे । जनस्वास्थ्य विज्ञका रूपमा जसरी परिचित छन्, त्यसैगरी साहित्य क्षेत्रमा चर्चित छन् उनी।
लघुकथामा प्रसिद्ध डा. समीर स्कुल पढ्दादेखि नै साहित्यमा रुचि राख्थे । विद्यालयमा हुने साहित्यिक गतिविधि नै उनका लागि साहित्य प्रवेशको बाटो बन्यो।डा. समीरले अहिलेसम्म ११ वटा कृति प्रकाशन गरिसकेका छन् । उनका कृतिले पद्मश्री पुरस्कार, मोती पुरस्कारजस्ता दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन्।उनको पछिल्लो कृति हो– भूकम्पमा मल्हमपट्टी ।
२०७२ वैशाख १२ मा आएको भूकम्पपछि विभिन्न जिल्लामा गएर सेवा गर्दाको अनुभवलाई समेटेर लेखेको यो कृतिले उत्तम शान्ति पुरस्कार पाएको थियो । अहिले उनी मृत्युको आयु लघुकथा संग्रहको तयारीमा छन् ।पेसाकै सिलसिलामा विभिन्न भूगोल, जाति, संस्कृति, भाषा तथा समस्यासँग साक्षात्कार गर्छन् । यही विषयलाई टपक्क टिपेर आफ्नो साहित्य रचनामा राख्छन् उनी । त्यसैले त उनको साहित्य कल्पनामा भन्दा बढी वास्तविकतामा केन्द्रित हुन्छ।
‘पेसाको सिलसिलामा दैनिक भेटिने पात्रहरूको भाषा, हाउभाउ तथा पीडालाई कल्पना, कथ्य र समसामयिकतामा ढालेर लेख्ने अवसर चिकित्सकले पाउँछ,’ डा. समीर भन्छन्, ‘त्यसैले कल्पना डुबेर लेखेको भन्दा भोगेर लेखेको साहित्य जीवन्त हुने अनुभव गरेको छु ।’ त्यसैले चिकित्सकले लेखेका धेरै साहित्य मर्मस्पर्शी हुने उनी बताउँछन्।
डा. समीरका लघुकथामा समाजका विकृति, विसंगति पनि पाइन्छ । ‘भूकम्प, बाढी, रोगको प्रकोप भएका बेला पीडितलाई सहयोग गर्न विभिन्न ठाउँ जाने गर्छु,’ उनले भने, ‘यस्तो बेला समाजमा देखेका कुरालाई नै लेखनको विषय बनाउँछु ।’ कतिपय साहित्य लेखनमा भने डाक्टर समीर अध्ययन गर्नैका लागि निस्कन्छन् ।
उपचारका क्रममा आउने नसोचिएका परिणामलाई डाक्टरले अनुभूत गर्न पाउँछन् । यसरी मानवीय संवेदना अनि मृत्युलाई नजिकबाट नियालिरहेका चिकित्सकसँग साहित्यका लागि धेरै विषयवस्तु हुन्छन्।
प्रकाशोन्मुख लघुकथा संग्रह ‘मृत्युको आयु’ लेख्दा युएई, बहराइन तथा ओमनमा रहेका नेपाली श्रमिक बस्ने शिविरमै गएर भेटेको उनले बताए ।चिकित्सक पेसाले गर्दा लेखनलाई समय छुट्याउन गाह्रो हुन्छ नै । साहित्यिक कार्यक्रम र अन्य गतिविधिमा संलग्न हुन समय हुँदैन । चिकित्सा पेसाबाट निस्केको मिनेट, मिनेट नै समीरले लेखनका लागि समय छुट्याउने गर्छन् ।
समीरलाई भने पूर्ण रूपमा लेखनमै लाग्ने मन छ । त्यसतर्फ सोचिरहेको उनले बताए । नेपाली साहित्यलाई विश्वमा पु¥याउन अंग्रेजी भाषामा अनुवादको विकल्प छैन । त्यसका लागि प्रज्ञा–प्रतिष्ठान सक्रिय हुनुपर्ने उनले बताए ।
साहित्यमा कहलिएका अर्का चिकित्सक हुन्, डा. भोला रिजाल । स्त्री रोग विशेषज्ञ डा. रिजाल जसरी चिकित्सा क्षेत्रमा चर्चित छन्, त्यसैगरी साहित्यमा पनि उनको नाम चम्किलो छ।
उनको साहित्यिक यात्रा बाल्यकालबाटै सुरु हुन्छ । भोलाका हजुरबुबा धुुवलाल रिजाल, बुबा जननी रिजाल र दाजु कालीप्रसाद रिजाल संगीत क्षेत्रमा थिए । पारिवारिक वातावरणकै कारण बाल्यकालमै उनी संगीत गुनगुनाउन थालिसकेका थिए । त्यसैले उनी साहित्यलाई जन्मँदै पाएको वरदान ठान्छन् । अनि, चिकित्साले मलजल हालेर आफ्नो साहित्य फैलाएको मान्छन्।
‘घरको सांगीतिक वातावरणबाट सुरु भएको सिर्जना यात्रा विद्यालय होस् वा डाक्टर पढ्दा कतै छेकिएन,’ डा. रिजालले भने, ‘चिकित्सा र साहित्य झन् एकै सिक्काका दुई पाटा हुन् जस्तो लाग्छ ।’ भोला चिकित्सक पेसामा पुगेपछि साहित्यमा झनै चम्किए । आज उनी बहुमुखी प्रतिभाका रूपमा चिनिन्छन्।
उनले हालसम्म दुई सयभन्दा बढी गीत रचना गरेका छन् भने आठवटा चलचित्र लेखेका छन् । त्यस्तै, आधा दर्जन गीति संग्रह प्रकाशन गरेका छन् भने केही गीति संग्रह आउने क्रममा छन्।
रिजालको रचनामा कतै न कतै चिकित्सक क्षेत्रको अनुभव मिसिएको भेटिन्छ । ‘कतिपयले चिकित्सा र साहित्यलाई सौता मान्छन्,’ उनले भने, ‘मचाहिँ एक–अर्काको परिपूरक मान्ने गर्छु ।’ साहित्यमा हुने दया, करुणाको साहित्यिक ज्ञानलाई मेडिकल शिक्षामा पनि लागू गर्नपर्ने उनको बुझाइ छ । बिरामीको कुरा बुझ्न साहित्यले मद्दत गर्ने उनी बताउँछन्।
‘हामीसँग साहित्यिक ज्ञान भएमा सजिलै बिरामीको मर्म बुझ्न सक्छौँ,’ उनले भने, ‘मर्म बुझ्न सक्दा उपचारमा पनि सहज हुन्छ ।’ साहित्यिक ढंगबाट बिरामीको मर्म बुझ्न सके उपचारमा पनि सहज र साहित्यमा पनि कलम चलाउने विषय हुने बुझाइ उनको छ । त्यसैले त उनले प्रत्येक बिरामीलाई नयाँ पानाका रूपमा लिन्छन् । सबै तिरबाट आउने बिरामीको भावनालाई साहित्यमा उतार्छन् उनी । चिकित्सा क्षेत्र मस्तिष्क र सांगीतिक तथा साहित्यिक क्षेत्र मुटु जस्तो लाग्छ उनलाई।
‘म भावना र परिस्थितिका आधारमा कलम चलाउँछु,’ उनले भने, ‘बिरामीको परिवेश, पीडा, आँसुजस्ता कुरा नै मेरो विषय बन्छ ।’ पात्रको भावना, मनोदशा बुझेर लेखेको साहित्यभन्दा कल्पना गरेर लेखेको साहित्य राम्रो हुन्छ जस्तो उनलाई लाग्दैन । पात्रको भावना बुझेर, पात्रसँग संवाद गरेर लेखिएको साहित्य जीवन्त हुने उनको बुझाइ छ।
मान्छेले अरुको मन बुझ्नका लािग पनि लेख्नुपर्ने उनी बताउँछन् । ‘साहित्यले अरुको दुःख र पीडालाई बुझ्न मद्दत गर्छ,’ उनी भन्छन्, ‘त्यसैले साहित्य लेख्न सबैलाई अनुरोध गर्छु, चिकित्सा पेसामा रहनेले त झनै साहित्य लेख्नुपर्छ भन्ने लाग्छ ।’ साहित्यलाई बुझ्न नसक्नेले बिरामीको मनलाई बुझेर उपचार गर्न समेत गाह्रो हुने उनी बताउँछन्।
चिकित्सकभन्दा लेखक भन्न रुचाउनेमा पर्छन्, डा. अरुण सायमी । उनी साहित्यकार बन्नुमा पारिवारिक पृष्ठभूमिको पनि देन छ । अरुणका बुबा धुस्वाँ सायमीले २० वर्षको उमेरमा उपन्यास लेखेका थिए । अरुणले बुबाभन्दा अगाडि नै लेख्ने भनेर १९ वर्षमै उपन्यास लेखे ।
अहिलेसम्म अरुणका नेपाल भाषामा तीन र नेपाली भाषामा तीन उपन्यास प्रकाशित छन् । उनी गीत पनि लेख्छन् । अखबारी लेखनमा पनि सक्रिय अरुणका कविता संग्रह, गीति एल्बम पनि प्रकाशित छन्।
उनको लेखनमा पनि चिकित्सकीय अनुभव पाइन्छ । दैनिकजसो आउने बिरामी नै साहित्य लेखनका लागि पात्र हुने गरेको उनी बताउँछन् । ‘जीवन र मृत्युलाई नजिकबाट नियाल्ने डाक्टरका लागि प्लट खोज्न कतै जानुपर्दैन,’ उनले भने, ‘बिरामीको भावनालाई बुझेर सोही भावनालाई काल्पनिक ढंगबाट लेख्न सकिन्छ ।’ त्यसैले त डाक्टर हुनुमा गर्व लाग्छ उनलाई । तर, उनी आफूलाई डाक्टरभन्दा लेखक भनेर चिनाउन रुचाउँछन् । अगाडि डाक्टर लेख्दाभन्दा लेखक लेख्दा खुसी हुन्छन् सायमी।
‘डाक्टरभन्दा लेखक बन्न पाएकामा गर्व गर्छु,’ उनले भने, ‘म डाक्टर नभएको भए बिरामीलाई अरु कसैले उपचार गर्दथ्यो, तर मैले लेख्ने साहित्य अरुले लेख्छ भन्ने त छैन ।’ त्यसैले उनी व्यस्तताका बाबजुद पनि साहित्य सिर्जनामा लाग्छन् । जसरी एउटा बिरामीलाई निको पार्दा डाक्टर खुसी हुन्छ, त्यसैगरी साहित्य सिर्जना गर्दा पनि डाक्टर रमाउने गरेको उनले सुनाए।
साहित्य लेखनमा चिनिएका अर्का चिकित्सक हुन्, रामेश कोइराला । मुटुरोग विशेषज्ञ कोइरालाका ‘आमाको मुटु’ र ‘कोपिला आश्रम’ दुई कृति प्रकाशित छन् । आमाको मुटु अनुभूतिपरक कृति हो भने कोपिला आश्रम उपन्यास हो । विद्यालय पढ्दा पुरस्कार पाउने लोभले कविता लेख्ने गरे पनि अध्ययनका क्रममा साहित्यलाई खास प्राथमिकता दिन सकेनन् ।
सन् २००७ मा उनले अखबारका लागि एउटा लेख लेखेर चर्चा पाएपछि लेखनमा रहर जाग्यो उनलाई । सोही रहरमा एउटा छोराले आमा बिरामी भएर अस्पताल राख्दा गर्ने अनुभूतिलाई समेटेर कृति लेखे उनले ।
यो कृति जन्मनुमा डाक्टर पेसाकै करामत ठान्छन् उनी । चिकित्सा क्षेत्रका कुरा साहित्यमा लेख्न पाउनु उनका लागि ठूलो अवसर बनेको छ । ‘डाक्टरले धेरै बिरामी भेटेको हुन्छ । प्रत्येक बिरामीका आफ्नै कथा हुन्छन् । अझ बिरामीले डाक्टरसँग सबै कुरा खुलेर गर्न सक्छन्,’ उनले भने, ‘यस्तै विषयलाई डाक्टरले कथावस्तु बनाउन सक्छ ।’ बिरामी कोहीसँग वेदना, कोहीसँग पीडा, कोहीसँग आँसु हुन्छ, कोहीसँग खुसी । यी सबै कुराले डाक्टरलाई पनि छुन्छ।
डाक्टरले बिरामीसँग संवाद गर्न पाउँछन्, उनीहरूको भावना नजिकबाट बुझ्न पाउँछन्, यो नै साहित्य सिर्जनाका लागि विषयवस्तु बन्ने उनी बताउँछन् । अहिले उनी नेपाली र अंग्रेजी भाषामा उपन्यास लेख्ने तयारीमा छन् । विषय फरक रहे पनि अब आउने उपन्यासमा चिकित्सा क्षेत्रको अनुभव पनि भेटिने उनी सुनाउँछन्।उपचारका क्रममा आउने नसोचिएका परिणामलाई डाक्टरले अनुभूत गर्न पाउँछन् । यसरी मानवीय संवेदना अनि मृत्युलाई नजिकबाट नियालिरहेका चिकित्सकसँग साहित्यका लागि धेरै विषयवस्तु हुन्छन् । तर, व्यस्त समयले गर्दा चाहे जसरी लेख्न नसकेको उनीहरू बताउँछन्।
ग्रामीण क्षेत्रमा बसेर चिकित्सा पेसा गर्दै आएका डाक्टर सुमन कर्माचार्य पनि लेखनमा सक्रिय छन् । २५ वर्षदेखि रामेछापमा बसेर चिकित्सा पेसा गर्दै आएका कर्माचार्यको देश दुखेको बेला र आत्माहरू बुद्ध भए भन्ने दुई कृति प्रकाशित छन् । कविता लेखनमा पनि सक्रिय रहेका डाक्टर सुमन भने अस्पतालमा आउने बिरामीभन्दा बाहिर देखिने पीडा लेख्न रुचाउँछन्।
जनरल फिजिसियन सुमन साहित्यले बिरामीको मन बुझ्न सहयोग गरेको बताउँछन् । ‘साहित्यमा संवेदना हुन्छ,’ उनले भने, ‘डाक्टरमा पनि त्यहीँ संवेदना चाहिन्छ, जसले बिरामीको भित्री कुरालाई बुझाउन सहयोग पुर्याउँछ ।’ साहित्यमा रुचि भएकै कारण गाउँको संवेदनाले छोएर गाउँमा सेवा गर्न सकेको उनी बताउँछन् । बिरामीले बाहिरको पीडा बताए पनि भित्रको पीडा बुझ्न साहित्यको संवेदनाले सहयोग पुर्याउने उनको बुझाइ छ।
प्रकाशित: २२ वैशाख २०७५ ०२:१२ शनिबार