पृथ्वीभन्दा पनि बाहिर जीवन सम्भव छ र त्यहाँ निकै विकसित प्राणीहरू बस्छन् भन्ने कथा, टीभी र फिल्ममा हामीले देखेका हौँला तर केहीले यसमा आशंका गर्ने गरेका थिए। पछिल्लो समय जेम्स वेब स्पेस टेलिस्कोपले भने एलियन प्राणीहरू रहेको हुन सक्ने सशक्त संकेत पाएको वैज्ञानिकहरूको मत छ।
हाम्रो सौर्यमण्डलबाहिर यस्तो वायुमण्डलको रासायनिक संकेत पाइएको छ, तिनको अस्तित्वको कारणले त्यहाँ जैविक प्रक्रिया रहेको निश्चित गरिएको हो। जुन किसिमको जैविक प्रक्रियाबाट पृथ्वीमा वायु तयार हुन्छ, ठीक त्यस्तै प्रकारले त्यहाँ बनिरहेको तथ्य वैज्ञानिकहरूले उजागर गरेका हुन्।
खासगरी डिमिथाइल सल्फाइड (डिएमएस) र डाइमिथाइल डाइसल्फाइड (डिएमडीएस) जस्ता ग्यासको संकेत केटु १८ बी ग्रहमा देखिएको वैज्ञानिकहरूको दाबी छ। यस्ता ग्यास पृथ्वीमा जीवित प्राणीहरूले उत्पादन गर्ने गर्छन्। पृथ्वीमा समुद्रमा उत्पन्न हुने केही विरुवाले त्यस्ता ग्यास उत्पादन गर्ने गर्छन्।
डिएमएस र डिएमडिएसजस्ता ग्यास बाहिरी ग्रहका कारण त्यहाँ देखिएको हो कि अथवा, ग्रहभित्रैको प्रतिक्रियाले देखिएको हो भन्नेबारे अध्ययन हुन भने बाँकी नै छ। यी दुई ग्यास उक्त ग्रहमा ९९.७ प्रतिशतसम्म पाइएको छ। वैज्ञानिकहरूले लामो समयदेखि एलियनको खोजी गरिरहेका छन्।
ती दुई ग्यासको उपस्थितिको कारणबारे बताउँदै केही वैज्ञानिकहरूले सूक्ष्मजीवहरूको त्यहाँ बाक्लो उपस्थिति हुनसक्ने बताइरहेका छन्। यसको अर्थ, प्राणीहरू नै त्यहाँ रहेको भने होइन। बरु त्यहाँ जैविक प्रक्रियाको संकेत पाइएको हो। यस हिसाबले सबैभन्दा बढी त्यहाँ नजर राख्नुपर्ने आवश्यकता रहेको वैज्ञानिकहरूले बताएका छन्।
सौर्यमण्डलबाहिर जीवनको खोजी गरिरहेका वैज्ञानिकहरूका लागि यो परिवर्तनको क्षण रहेको केही बताउँछन्। यस खोजसँगै अब जीवनको सम्भावना भएका ग्रहहरूमा जीवनको सम्भावना र जीवनको संकेत पत्ता लगाउन सम्भव भएको छ। यो घटनासँगै जीवविज्ञानले अर्को युगमा प्रवेश पाएको छ।
जीवनको सम्भावना भएको के२–१८ ग्रह पृथ्वीभन्दा ८.६ गुणा ठूलो छ। यो ग्रहले सूर्यभन्दा सानो र कम चम्किलो छुद्र तारालाई परिक्रमा गर्ने गर्छ। यो पृथ्वीभन्दा करीब एक सय २४ प्रकाश वर्ष टाढा (९.५ लाख करोड किमि टाढा) रहेको छ भने लियो नक्षत्रमा रहेको छ।
हालसम्म वैज्ञानिकहरूले पाँच हजार ८०० ग्रह पत्ता लगाइसकेका छन्। तिनलाई एक्सोप्लेनेट वा बाहिरी ग्रह भनिन्छ। सन् १९९० को दशकदेखि ती ग्रह खोज्न थालिएको थियो।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ८ वैशाख २०८२ ०७:२१ सोमबार