सलोजा दाहाल
उनलाई चिन्न कुनै एक क्षेत्रको परिचयले मात्रै पुग्दैन । उनका सबै प्रतिभाबारे परिचित हुनु आवश्यक हुन्छ।
भाषाविद्, प्राज्ञ, प्राध्यापक, अन्वेषक, कवि, कथाकार, निबन्धकार, समालोचक, अनुवादक, बालसाहित्यकारकारूपमा चिनिन्छन्, बालकृष्ण पोखरेल । यीमध्ये कुनै एकको उपमाले मात्रै उनको परिचय अधूरो हुन्छ ।
परिचयसँगै साहित्यमा उनलाई चिनाउने नाम पनि थुप्रै छन् । ‘केकेमनुक्च्यो’, ‘रूपावासी’, ‘गढतिरे साइँलो’, ‘हिमालपाने बराल’, ‘लक्ष्मीविलास पाध्या’, ‘इसावापुर’, ‘आत्रेय’, ‘आत्रेयी’, ‘वसन्त’लगायत नामबाट उनले विभिन्न रचना लेखेका छन् । उनले ‘वसन्त’ उपनामबाट ५० अंकसम्म उपन्यास लेखेका छन् ।साहित्यका विभिन्न विधामा फरक नाम किन ? ‘यही भन्ने केही छैन, त्यसबेला नाम राख्ने मन लाग्यो र राखेँ ।’ ८६ वर्षीय बालकृष्णले हास्दै भने।
लामो समय साहित्य कर्ममा बिताएका उनले सयभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका छन् । अहिले भने उनी साहित्य लेखनमा सक्रिय छैनन् । यसको कारण हो– ढल्किँदो उमेर र अस्वस्थ शरीर । तैपनी उनलाई साहित्यको ‘नशा’ले छाडेको छैन।‘लेख्ने विषयवस्तु त छन् । तर, शरीरले साथ नदिएपछि लेख्ने रहर गरेर मात्रै के गर्नु ?’ उनले साहित्य लेख्न नसक्नुको कारण खुलाए, ‘लेख्न नसकेपछि आजभोलि कविता, कथा र निबन्धकै सपना देखिन्छ।’
गएको जाडो मौसमदेखि बुबाले साहित्य लेखनमा सक्रियता देखाउन नसकेको साइमुनाल पोखरेलले बताउँछन् । ‘अब उहाँलाई उमेरले पनि साथ दिएको छैन,’ उनले भने।उनी कुनैबेला बुबाले दैनिक १८ घन्टासम्म पनि लेख्ने गरेको सम्झन्छन् । ‘२०३० सालमा रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ‘एक मन सात चिन्तन’ पुस्तक उहाँले एक महिनामा लेख्नुभएको हो,’ उनले भने ।त्यतिबेला बालकृष्ण कलेजमा प्राध्यापन गर्थे । उनको मासिक तलब तीन सय ७५ रूपैयाँ थियो।
उनको लेखनमा नेपाली झर्रा शब्दको प्रयोग पाइन्छ । यससँगै नेपालीपन, चेतना र यथार्थलाई समातेर विषयवस्तुलाई मालाझैँ गास्न सक्ने उनको खुबी हो । लेखनीमा नयाँ शब्दको प्रयोग गर्न र आवश्यकता अनुसार नयाँ शब्द बनाउन पनि उनी पोख्त छन् ।
उक्त पुस्तक लेखेबाफत रत्न पुस्तक भण्डारले उनलाई कलेजको ६ महिनाको तलब बराबरको रकम दिने सहमति भएको थियो । तर, प्रकाशन गृहले उनलाई सहमतिभन्दा बढी रकम दिएको थियो ।त्यतिबेला निकै मेहनत गरी पुस्तक लेखेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘त्यसबेला १६ देखि १८ घन्टासम्म पनि लेखेँ ।’ त्यसकै कारण प्रकाशन गृह पनि सन्तुष्ठ बनेको उनी बताउँछन्।
पुस्तक लेख्न कति घन्टा पढ्नुपथ्र्यो ? ‘किताब लेख्नकै लागि भनेर पढ्नुपरेन । विद्यार्थीलाई पढाउनका लागि भने पढ्थेँ,’ उनले भने, ‘पढेर जे सिकेँ, त्यसकै पुस्तक लेखेँ ।’ अलमल भएको विषयबारे आधा घन्टा पढेपछि तीन घन्टासम्म लेख्ने खुराक पाउने गरेको उनले सुनाए ।
‘मैले आफ्नो पेशालाई कहिल्यै ठगठागको विषय बनाइनँ । विद्यार्थीलाई राम्रो कुरा दिनका लागि आफैमा गहिरो अध्ययन जरुरी थियो।
त्यसका लागि आत्मबाटै मनन गरेर पढ्थेँ, विद्यार्थीलाई विभिन्न उदाहरण दिँदै बुझाउँथेँ। त्यसैले विद्यार्थीलाई पढाउन गरेको तयारीले समालोचनाको पुस्तक निकाल्दा पनि सहयोग गर्यो,’ उनले भने ।त्यो पुस्तक निकै चर्चित भयो । ‘त्यसबेला त्यति राम्रो समालोचना अरु आएकै थिएन । मेरो पुस्तक एक नम्बरको थियो,’ उनले भने ।
उनी साहित्य क्षेत्रमा मात्रै होइन, अध्ययन अनुसन्धानमा पनि उत्तिकै क्रियाशील थिए । उनले नेपालमा जातजातिका विषयमा गहन अध्ययन गरेका छन् । उनी विभिन्न भाषाको अध्ययन र अन्वेषण गरी त्यसको गहिराइ छुन मन पराउँछन् ।
उनको लेखनमा नेपाली झर्रा शब्दको प्रयोग पाइन्छ । यससँगै नेपालीपन, चेतना र यथार्थलाई समातेर विषयवस्तुलाई मालाझैँ गास्न सक्ने उनको खुबी हो । लेखनीमा नयाँ शब्दको प्रयोग गर्न र आवश्यकता अनुसार नयाँ शब्द बनाउन पनि उनी पोख्त छन् ।
उनको अर्काे चर्चित पुस्तक हो, ‘खस जातिको इतिहास’ । लामो समय अध्ययन गरेपछि उनले यो पुस्तक लेखेका थिए । त्यसैले पनि यो पुस्तकले निकै चर्चा पाएको जानकार बताउँछन् ।
२०१३ सालदेखि खस जातिबारे अध्ययन सुरु थालेका उनले २०५५ सालमा पुस्तक प्रकाशन गरे।
पुस्तकमा नेपाली खस समुदायबारे मात्र होइन, एसियामा इतिहासको अति नै प्राचीन युग, भूमध्यसागर क्षेत्र, हिमाली उपमहादेशका सुदूरपूर्वी आसाम क्षेत्रको जातजाति, धर्म, संस्कृति, भाषा आदिका विषयमा समेत उल्लेख गरिएको छ ।पुस्तक मानवशास्त्रीय ढंगले अध्ययन गरी प्रकाशन गरिएको छ । उनी भाषाशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली हुन् । उनी भन्छन्, ‘यो पुस्तक समुद्र हो।’
आफैले समुद्र हो भन्दै गर्दा पुस्तकले महिलाको विषयमा छुट्टै उल्लेख नगरेकाले उनलाई पनि केही अपुग भएझै लाग्छ । भन्छन्, ‘त्यसबेला अहिलेको जस्तो महिलाको कुरा उठेको भए अझै ४० पृष्ठ थपिने थियो।’उनले तत्कालीन जुद्ध हाइ इङ्लिस स्कुल (अहिलेको आदर्श मावि, विराटनगर)मा अध्ययन गरेका थिए।बुबाको संस्कृत पढाउने इच्छा थियो । तर, उनलाई अंग्रेजी भाषामा रुचि थियो । त्यसैले उनले बुबाको आँखा छलेर इच्छा अनुसारकै विषय पढे।
२००९ सालमा बनारसबाट म्याट्रिक्स पास गरेका उनले २०११ मा इलाहाबादबाट आइए गरे । त्यसपछि २०१३ सालमा बनारसबाट बिए र २०१७ मा कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक तथा तुलनात्मक भाषाशास्त्रमा एमए गरे । उनी भाषाशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली पनि हुन् ।उनी २०१८ देखि २०४७ सम्म प्राध्यापनका सक्रिय रहे । त्यसअवधिमा उनले विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा प्राध्यापन गरे।
‘लेख्ने विषयवस्तु त छन् । तर, शरीरले साथ नदिएपछि लेख्ने रहर गरेर मात्रै के गर्नु ?’ उनले साहित्य लेख्न नसक्नुको कारण खुलाए, ‘लेख्न नसकेपछि आजभोलि कविता, कथा र निबन्धकै सपना देखिन्छ ।’
उनले युवावस्थाको केही समय राजनीतिमा समेत बिताए। उनी अहिलेको राजनीतिलाई ‘दहीचिउरे’ पेशाको संज्ञा दिन्छन् । पछिल्लो समय साहित्यकार पनि राजनीतिमा लागेकाले यो दुःखद्पूर्ण अवस्था भएको उनको भनाइ छ । ‘साहित्यकारहरू पहिले निःस्वार्थ रूपमा साहित्य सृजना गर्थे । अहिले विभिन्न दलका ‘दास’ भएर स्वतन्त्र कलमको दुरुपयोग गरिरहेका छन्,’ उनी भन्छन् । लेखनीमा व्यापारीकरण भएको उनलाई पटक्कै मन परेको छैन । भन्छन्, ‘पहिला पनि लेखन व्यापारसँग जोडिएकै थियो । त्यसको क्रम अहिले झन् बढेको छ । यस्तो अवस्थामा सही मानेको साहित्य सिर्जना गर्न गाह्रो हुन्छ।’
उनले २००९ सालमा मगर भाषामा ‘कानुङलाम’ कविता संग्रह प्रकाशन गरेका थिए । यसै आधारमा उनी मगर भाषाको ‘आदिकवि’समेत मानिन्छन्।साथीहरूकै कारण विभिन्न भाषासम्बन्धी अध्ययन गर्न प्रेरणा मिलेको उनी बताउँछन् । विभिन्न स्थानमा जाँदा फरकफरक भाषा बोल्ने साथीहरू भेटिए । त्यसपछि यसप्रति चासो बढ्यो । र, भाषासम्बन्धी अध्ययन गर्ने प्रेरणा मिल्यो।’
नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विखन्डनकारीले जातीयताका आधारमा विवाद चर्काउने योजना बनाएको उनको बुझाइ छ । ‘जातीयताको विवाद चर्काए पनि कसैले गहिराइ छामेका छैनन् । विवाद गर्नेहरू नै जातीय पहिचानबारे जानकार छैनन्,’ उनले भने ।
अहिले नेपालमा बोलिने नेपाली भाषा भावनात्मक राष्ट्र भाषा मात्र हो । खस नेपालीहरूको मातृभाषा होइन । यो सम्पर्क भाषा हो।
वाङ्मय र व्याकरण हेरेर निर्माण गरिएको अहिलेको सम्पर्क भाषा नेपाली स्थानअनुसार बोलीचालीको भाषागत शैलीमा फरक पाइन्छ । उनको अनुभवमा स्थान अनुसार बोलिने भाषाहरू फरक छन् । त्यसैले भाषाको विषयलाई लिएर विवाद गर्नु उपयुक्त नहुने उनको ठम्याइ छ ।
उनले २००३ साल (जतिबेला उनी १३ वर्षका थिए)देखि कविता लेख्न सुरु गरेका थिए । दराजभरिका पुस्तकतिर हेर्दै उनी भन्छन्, ‘कुनैबेला लेखेका पुस्तक हुन यी ।’ केही पुस्तक प्रकाशनका क्रममा रहेको उनी बताउँछन्उनले अहिले तीन सयभन्दा बढी पृष्ठको नेपाली अंग्रेजी नेपाली शब्दकोष प्रकाशन गरेका छन् ।उनका ‘भाषेली जमर्काहरू’, ‘भाषेली तरेली सुरेलीहरू’, ‘नेपाली भाषाको कथा’, ‘नेपाली भाषाको उत्पति’, ‘नेपाली भाषा र साहित्य’लगायत पुस्तक प्रकाशित छन्।
उनले महेन्द्र विद्याभूषण (२०१९), मदन पुरस्कार (२०२१), रत्नश्रीपदक (२०२२), शिक्षा विभागीय पुरस्कार (२०२२), लरी स्वण (२०२९), महेन्द्र विद्याभूषण (२०३२), प्रतिभा पुरस्कार (२०४४), त्रिभुवन प्रज्ञा पुरस्कार (२०५२), जुही रत्न शिरोमणि सम्मान (२०५९) लगायत पुरस्कार र सम्मान पाएका छन्।
उनलाई २०५१ सालमा सिलसिला विराटनगरले रथयात्रा गराएको थियो भने २०६३ सालमा चेतन प्रतिभा उन्नयन तथा संरक्षण प्रतिष्ठान नेपालले नागरिक अभिनन्दन गरेको थियो।
अहिलेसम्म कति पुस्तक प्रकाशित भएका छन् ? ‘त्यस्तै एक सयभन्दा बढी होलान्,’ पोखरेलले भने । यद्यपि उनलाई आफैले लेखेका पुस्तकको संख्या यकिन छैन।उनले अध्ययन, अनुसन्धान लेखेका पुस्तक पनि थुप्रै छन् । यि पुस्तकको संख्या पनि उनलाई थाहा छैन ।
भाषा सर्वेक्षण अभियानका क्रममा नेपालभरि भ्रमण गरेका पोखरेलका लेख पत्रपत्रिकामा पनि प्रकाशन भएका छन् । ‘उहाँले अनुसन्धान गरेर लेखेको विषयमा आजभोलि अरु व्यक्तिकै नाममा लेखहरू निस्कन थालेका छन्,’ साइमुनालले भने, ‘त्यो लेख पढेपछि पहिले बुबाले लेख्नुभएको हो भन्ने सम्झना हुन्छ । तर, त्यसलाई संस्थागत गर्न सकेनौं । त्यसको फाइदा अरुले उठाए ।’भाषा र जातिको अध्ययन गर्नेहरूका लागि उनले लेखेको पुस्तक ‘खस जातिको इतिहास’ अत्यन्त उपयोगी छ । तर, बजारमा पाइँदैन।
अध्ययन अनुसन्धान गरेर आफूले थुप्रै कुरा पत्ता लगाएको उनको दाबी छ । किँरातहरूको उत्पति सत्य युगभन्दा पहिले कृत लोकबाट भएको र त्यसैकारण किँरात लेखिएको उनको भनाइ छ । यस्तै अनुसन्धानबाट आत्रेय (पोखरेल)हरू क्षत्रीका सन्तान रहेको र ऋषि भएपछि ब्राहमण भन्न थालिएको पत्ता लागेको उनको दाबी छ।झर्रोवादी अभियानको परिकल्पनाकार, सुरुवातकर्ता र प्रयोगकर्तासमेत हुन्, उनी । उनका अनुसार नेपाली भाषा बोलीचालीको भाषा मात्र हो । समयक्रमसँगै जनबोलीलाई खस भनी स्वीकारियो । त्यसलाई सरकारले राष्ट्रिय भाषाको मान्यता दियो ।
प्राध्यापक कुमार कोइराला भन्छन्, ‘भाषाविद् पोखरेल राज्यको सम्पत्ति हो। उहाँको नाममा ट्रस्ट खोलेर उहाँले गरेका अनुसन्धानात्मक विषय, लेख रचनाको संकलन, प्रकाशन नभएका पुस्तक प्रकाशन गर्ने र अन्य पुस्तकको पुन प्रकाशनको व्यवस्था मिलाउनु जरुरी छ । बहुमुखी प्रतिभाका धनी पोखरेललाई अब हामीले व्यक्ति होइन सस्थाका रूपमा हेरेर अभिछिन्न उत्तराधिकारीहरूको आवश्यकता छ।’भारतको बनारसबाट एसएलसी पास भएपछि त्यही बसेर उच्च शिक्षा अध्ययन गर्ने क्रम सुरु भयो । यसबेला अंग्रेजी र नेपाली पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक हुन्थ्यो।
२०१३ सालमा नेपाली भाषाको राम्रो प्रयोग हुन नसकेको र विदेशी शब्दको आगमनले ठेट नेपाली भाषामा धावा बोलेको निश्कर्षसहित डा. बल्लभमणि दाहाल, डा. चुडामणि बन्धु, डा. तारानाथ शर्मा, डा. माधनप्रसाद पोखरेल, कोषराज रेग्मी, चुडामणी रेग्मी, मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट लगायतको समूहले अर्झोवादी अभियानको सुरुवात गरे ।त्यसको नेतृत्व पोखरेलले गरेका थिए । उनी झर्रोवादी आन्दोलनको नेतृत्व मात्र लिएनन्, त्यसलाई स्थापित गराउन पनि सक्रिय रहे।
प्राज्ञ बालकृष्ण पोखरेलको अभिनन्दनग्रन्थमा साहित्यकार भवानी पोखरेल लेखेका छन्, ‘देशले उहाँको विद्यताबाट धेरै पाएको छ । तर, आवश्यक सुविधा दिन नसकेझैँ लाग्छ । एसियाकै गणनायोग्य भाषाविद् र अन्वेषक हो । हामीले गर्व गर्न लायक विद्धान साहित्यकार, उहाँको उल्लेखनीय योगदान छ भाषा र साहित्यमा।
सोही पुस्तकमा भाषाविद् तथा समालोचक नरेन्द्र चापागाइँले प्राज्ञ पोखरेललाई नेपाली भाषाका विद्धान, सर्वस्वीकृत व्यक्ति र असल सर्जक भएको उल्लेख गरेका छन्।साहित्यकार सुमन पोखरेलको बुझाइमा पोखरेल भाषाको शिखर व्यक्तित्व, साहित्यका अथक स्रष्टा र प्रमाणिक व्यक्तित्व हुन् ।
लेखिकाले २०६७ सालमा भेट्दा पोखरेलका हातभरि कलम थिए । उनले त्यही कलम देखाउँदै भनेका थिए– अहिले साहित्य लेखिने कलमहरू पनि दासी भएका छन् ।त्यसबेला समय फरक थियो । उनको साथमा श्रीमती शान्तादेवी पोखरेल थिइन् । ‘दामपत्य जीवनको स्वामी नारी हो । पुरुष सत्ता भनिए पनि आन्तरिक सत्ता नारीकै हुन्छ,’ उनी भन्छन् । तर, अहिले उनीसँग दाम्पत्य जीवनको स्वामी छैन । त्यसैले उनलाई कहिलेकाहीँ केही नपुगे जस्तो लाग्छ।
प्राज्ञ पोखरेललाई भेट्न आएका एक व्यक्तिले सोधे, कोठामा एक्लै सुत्नुहुन्छ ? मृतकको तस्बिर देख्दा डर लाग्दैन ? उनले प्रत्युत्तर दिए, ‘सुत्ने कोठाको भित्तामा झुन्डाएको श्रीमतीको तस्बिरले सम्बन्ध ताजा बनाइदिन्छ । मलाई उनी वर्तमानमै छिन् भन्ने लागिरहन्छ । त्यसैले डर लाग्दैन।
’एक समय थियो, शैक्षिक संस्थादेखि सार्वजनिक कार्यक्रममा उनकै चर्चा हुन्थ्यो । उनका पुस्तक खोजीखोजी पढिन्थ्यो । तर, अहिले उनी गुमनाम छन् ।उनी भन्छन्, ‘यो फूल फुलेको होकी भन्ने लाग्थ्यो । तपस्या गर्नेहरू फूल फुलेजस्तो फक्रने र छोटो समयमा ओइलाउने गर्नु हुँदैन ।’ अहिले उनी आत्मचिन्तनमा छन् । अहिले उनको लेखनी नकुदे पनि मन कुदिरहेको छ।
प्रकाशित: १ वैशाख २०७५ ०२:४० शनिबार