११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार महिलाका कार्यक्षेत्र सुरक्षित हुनुपर्नेमा जाेड

एसिया–प्रशान्त राष्ट्रका महिला पत्रकारहरूले विभेदरहित कार्य क्षेत्र हुनुपर्नेमा जोड दिएका छन्। गत नोभेम्बरमा बैंककमा सम्पन्न बेइजिङ प्लस ३० मा सहभागी पत्रकार महिलाले यस्तो आवाज उठाएका हुन्। बेइजिङ घोषणापत्रको चासोका रूपमा रहेको ‘सञ्चार र महिला सत्र’ मा सहभागी पत्रकारहरूको आफ्नै समस्या ठूलो कथाका रूपमा देखिएको तीसबर्से समीक्षा एसिया प्रशान्त क्षेत्रीय सम्मेलनले जनाएको छ। सम्मेलनले एक घोषणा पत्र जारी गर्दै अहिले पनि पत्रकार महिलाका लागि कार्य क्षेत्रको पेसागत सुरक्षा चासोको विषय बनेको जनाएको छ।

तीस बर्से समीक्षा सम्मेलनको घोषणा सभाको पत्रकार सम्मेलनमा १२ देशकाचौबीस जना पत्रकार महिला सहभागी थिए। उक्त घोषणा सभा संयुक्त राष्ट्र संघ एसिया प्रशान्त क्षेत्रीय मञ्चकी निर्देशक क्रिस्टिना अरब र संयुक्त राष्ट्र संघ एसिया–प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगका श्रीनिवास टाटाको सहभागितामा भएको थियो।

‘मिडिया उद्योगमा महिला समावेशिता र नेतृत्व तहमा सहभागिताका लागि हामी बलियो कदम चाल्ने छौं’, विशेषगरी ऐतिहासिक रूपमा पछि परेका समुह र समुदायको सहभागिताका लागि’ घोषणा पत्रमा उल्लेख छ।

‘पत्रकार महिलाभित्र पनि विविध पत्रकार महिलाका लागि कार्य क्षेत्रमा कार्यगत र शारीरिक सुरक्षा हुनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो’, घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी सन् २०२० मा रोयटर्सले एसियाली मुलुकमा रहेका एक सय ६२ जना महिला सम्पादक तहमा रहेको जनाएको छ। सन् २०१५ मा संयुक्त राष्ट्र संघले गरेको सर्वेक्षणअनुसार पत्रकार महिला र पुरुषबीचको पारिश्रमिकमा विभेद रहेको र २४ प्रतिशत मात्र सञ्चार गृहले लैंगिक तथा सामाजिक समावेशी नीति अपनाएको पाइएको थियो। ‘महिलामैत्री सञ्चार गृह सुनिश्चित गर्नका लागि अहिले पनि ध्यान दिइएको देखिएन। धेरैजसो सञ्चार गृहको माथिल्लो पदमा पुरुष पत्रकारकै हाबी छ’, पत्रमा उल्लेख छ।

अबको सञ्चार गृह महिलामैत्री वातावरण, लैंगिक संवेदनशीलतालाई सहयोग गर्ने खालको सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ। त्यसैगरी राति काम गर्ने महिला पत्रकारको हकमा यातायातको व्यवस्था, शिशु स्याहार केन्द्र, यौन दुर्व्यवहारका लागि उजुरी गर्ने संरचना हुनुपर्ने घोषणा गरिएको छ। यसका साथै काम गरिरहेका पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम, पत्रकार महिलामाथि हुने डिजिटल हिंसाका बारेमा सचेत गराउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ।

पत्रकार महिलामाथिको विभेद एसियाली मुलुकमा अहिले पनि कायमै रहेको सम्मेलनले विश्लेषण गरेको छ। पत्रकार पुरुष र महिलाका बीचमा हुने सम्मानजनक व्यवहार तथा पारिश्रमिकमा अहिले पनि असमानता कायमै रहेको पाकिस्तानी पत्रकारले औंल्याएकी छन्।

सञ्चार गृह र पत्रकार महिलाको पेसागत सुरक्षा र पेसागत चुनौतीलाई सम्बोधन गर्न, विविध तथा पछि परेका समुहका पत्रकार महिलाको समावेशिताको सुनिश्चित गर्नुपर्ने विषयमा सम्मेलन केन्द्रित भएको जनाइएको छ। सम्मेलनमा उठेका विषयलाई आगामी मार्चमा अमेरिकामा आयोजना हुने बेइजिङ घोषणाको तीसबर्से महिला सम्मेलनका विषय समावेश हुनुपर्नेमा जोड दिइएको छ।

प्रकाशित: ११ पुस २०८१ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App