७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुर्खाश्लाघाले डामिएको इतिहास

साझा प्रकाशनबाट २०३५ मा प्रकाशित ‘विद्वच्छिरोमणि हेमराज शर्मा’ शीर्षकको पुस्तकमा हालै आँखा पुग्यो।

८८ पृष्ठको उक्त पुस्तक राणाकालीन समयमा राणा दरबारका नायब बडागुरुज्यू हेमराज शर्मा पाण्डेको जीवनीका रूपमा उनका नाति प्रकाश ए राजले लेखेका हुन् । २०१० पुसमा निधन भएका हेमराजको जीवनीमाथि उनको मृत्युको ६४ वर्षपछि टिप्पणी लेख्नु उचित नहोला भन्ने लाग्यो।

तर, पुस्तकको प्रस्तावनामा उल्लिखित ‘यो जीवनीको उद्देश्य उहाँको देनबारे प्रकाश पार्नु मात्र होइन, उहाँसम्बन्धी प्रकाशित लेख, उहाँको डायरी र उहाँको सम्पर्कमा आएका व्यक्तिसँगको अन्तर्वार्ताद्वारा राणाशासनकालको उत्तराद्र्धको नेपालको इतिहासका कैयौँ घटना क्रमलाई स्पष्ट पार्दै नेपालको तथ्य इतिहासबारे अन्वेषण गर्न सहायता गर्न खोजिएको पनि छ’ भनाइले पुस्तकमाथि केही लेख्नैपर्ने महसुस भयो।

प्रकाश ए राज नेपाली इतिहास, संस्कृति, समाजमाथि एकपछि अर्को गर्दै अनेकौँ पुस्तक लेख्दै आइरहेका पात्र पनि भएकाले र उनले आफ्ना हजुरबा बारेको पुस्तक नेपालको तथ्य इतिहासबारे अन्वेषण गराउन लेखेको बताएकाले उक्त पुस्तकमाथिको टिप्पणी आवश्यक नै लागेको छ।

१९०३ सालको कोतपर्वपछि आफ्नो इरादा पूरा गराउने बाटोमा नलागेपछि जंगबहादुरको भण्डारखालमा हत्या गराउने योजनामा थिइन्, राजा राजेन्द्रविक्रमकी कान्छी श्रीमती लक्ष्मीदेवी । उनको योजनाको पोल लगाइदिएबापत जंगबहादुरले हेमराज पाण्डेका बराजु विजयराज पाण्डेलाई दरबारमा बडागुरुज्यू बनाएका थिए।

उसै पनि, हामीकहाँ इतिहासका सवालमा पर्याप्त तथ्य, प्रमाणको अभाव छ। श्रुति, स्मृति, पुराण, वंशावली, विरुदावलीलाई छामेर, पर्गेलेर त्यसैका आधारमा भाष्य, दृष्टिकोण तय गर्नुपर्ने अवस्थाबाट हामीले गुज्रनुपर्ने अवस्था छ। यस्तोमा वंशावली, पुर्खा स्मृतिहरू कसरी लेखिन्छन् भनेर अलिकति पर्गेल्न पनि केही लेख्नु नै उचित ठानिएको छ ।

‘विद्वच्छिरोमणि हेमराज शर्मा’ पुस्तकमा प्रकाश ए राजले नेपालको इतिहासको तथ्य अन्वेषण गराउने योजनाको हरफ जोडेपछि नेपालको इतिहास कसरी लेखिन्छ, लेखाइन्छ र तथ्यका नाममा, सत्यका नाममा आफ्ना प्रिय शासक, सत्ताधारी, सत्ताका प्यादाहरू या सत्तासीनसँग जोडिएकाको कुरूपतालाई छोपेर तिनको महिमामण्डन कसरी गरिन्छ भन्ने सबैभन्दा बलियो प्रमाणमध्ये एकका रूपमा यो पुस्तक हाम्रासामु मौजुद रहेको प्रस्ट देखिन्छ।

निसन्देह तत्कालीन सत्ताधारीको पुरोहित या गुरुज्यू खलकमा जन्मिएका हेमराज पाण्डेले नेपाली समाजका अदना नागरिकले सपनामा पनि सोच्न समेत अपराध मानिने शिक्षा हासिल गरेका थिए र सत्ताको (राणा, राजाहरूको) गुरु हुनुको लाभमा तत्कालीन समयमा अरुको हातमा पर्न नसक्ने पुस्तक, ताडपत्र, लेखोट जम्मा गरेका थिए, जो पछि (आज) राष्ट्रिय पुस्तकालयका रूपमा परिणत भयो ।

यो अर्कै कुरा हो कि नेपाली जनताकै कर, तिरोबाट राणाहरूको स्वस्ति शान्ति गरेबापत हेमराजलाई हात लागेको दानधन, तागत, पहुँचबाट जम्मा भएको सामग्री २०१२ सालमा सरकारले जनताकै तिरोबाट जम्मा भएको राज्यकोष खोलेर खरिद गरेको थियो।

यद्यपि, उनले जुन महत्वपूर्ण सामग्री आफ्नो निजी पुस्तकालयमै सही जम्मा गरे, त्यो अवश्य नै नेपाली समाजका लागि उपयोगी र गुन लगाउने कार्य गरे, जसका लागि उनी धन्यवादका पात्र हुन् नै । जनताका छोराले त पुस्तकालय खोल्न खोज्दा राणाकालमा सजाय नै व्यहोर्नुपरेको थियो, दण्डित गरिएको थियो । त्यसरी दण्डित गरिनेहरूको सूचीमा थिए, लक्ष्मीप्रसाद देवकोटा, हरिकृष्ण श्रेष्ठ, जोगवीर सिंहलगायत।

१९०३ सालको कोतपर्वपछि आफ्नो इरादा पूरा गराउने बाटोमा नलागेपछि जंगबहादुरको भण्डारखालमा हत्या गराउने योजनामा थिइन्, राजा राजेन्द्रविक्रमकी कान्छी श्रीमती लक्ष्मीदेवी । उनको योजनाको पोल लगाइदिएबापत जंगबहादुरले हेमराज पाण्डेका बराजु विजयराज पाण्डेलाई आफ्नो दरबारमा बडागुरुज्यू बनाएका थिए । त्यसपछि राणाहरूको स्वस्ति शान्ति, चिना–टपरा गरेर विजयराजका सन्तानले राणा दरबारको आडमा आफू र आफ्ना सन्ततिको भविष्यको रेखाचित्र उज्यालो बनाए ।

तिनै विजयराजका उत्तराधिकारीका रूपमा माहिला पण्डितका नामले इतिहासमा उल्लिखित पात्र हेमराज पाण्डे राणाहरूको विभिन्न स्वार्थ समूहमध्ये एकको चाकरी फलाकेर राणा दरबारमा नायब गुरुज्यू भए र त्यही राणा दरबारको ताबेदारीको गुन तिर्न राणाहरूले उनलाई १९९२ सालमा ‘विद्वच्छिरोमणि’को उपाधि दियो, जुद्धशमशेरको करकमलबाट ।पुस्तकमा बालकृष्ण शमशेरले लेखेका छन्, भूमिकाजस्तो, अनुमोदनजस्तो शैलीमा, ‘जुनसुकै धार्मिक कार्य आइपर्‍यो माहिला गुरुज्यू, कुनै विदेशका विद्वान्हरू शास्त्रार्थका निमित्त आइपुगे माहिला गुरुज्यू, ...राजनीतिक समस्या आइपरे गुरुज्यू।

’ प्रकाश ए राजले विदेशी विद्वान्सँग शास्त्रार्थ चलेको घटनाको बयान गर्दै लेखेका छन्– संवत् १९७९ सालको शिवरात्रिमा भारतबाट एक स्वामी सच्चिदानन्द नेपाल आई चन्द्रशमशेरको दरबारमा शास्त्रार्थ चलेको कुरा राहुल सांकृत्यायन, बालकृष्ण सम, राममणि आ.दी. र नयराज पन्तले लेख्नुभएको छ, (पृ. २५) । सो घटनाबारे तिनै बालकृष्ण समले आफ्नो पुस्तक ‘मेरो कविताको आराधन’ मा लेखेका छन्, ‘हामीले सुन्यौँ भारतबाट एक विद्वान् स्वामी सच्चिदानन्द यहाँ आएका छन् रे, ...महाराज चन्द्रशमशेकहाँ भरे ठूलो सभा हुन्छ रे ।

...हामी पनि सुन्न पाऔँ भनेर हाजिर पठाउँदा चन्द्रशमशेरले बोलाए, (पृ. २३४) ।’ उनी त्यस सभाको बयान गर्दै सच्चिदानन्दको तर्क काट्न नसकेपछि हेमराजलगायत भारदारी पण्डितहरूको प्रस्तुतिबारे लेख्छन्, ‘त्यसपछि गुरुज्यू हेमराज तथा उनका पक्षका सारा पण्डितहरू क्रुद्ध भई कराउन लागे– हाम्रो चलिआएको सनातन धर्मविरुद्ध बोल्ने यस्ता पाखण्डी यहाँ पहिले पनि आएका थिए, हाम्रो गुह्यश्वरी माईलाई नित्य रगतको भोग चाहिन्छ, त्यो बन्द गराउन खोज्नेलाई हामीले पिटेर धपाएका थियौँ, अहिले पनि यस्तो पाखण्ड।

’ यसले हेमराजमा शास्त्रको ज्ञानबारे रहेको गहिराई कति थियो र राणासत्ताको उन्मादमा अरुमाथि दमनको कति नशा चढेको थियो भन्ने कुराको संकेत मिल्छ नै।उनको विद्वतालाई चुनौती दिने विदेशी मात्रै होइन, स्वदेशी माधवराज जोशी शास्त्री (सहिद शुक्रराज शास्त्रीका पिता) सँग शास्त्रार्थमा हारेपछि उनी माधवराजमाथि आफैँ कुटपिटमा उत्रिएको कुरा तत्कालीन समयका ज्ञाताले लेखेको पुस्तकमा उल्लेख भएको पाइन्छ।

‘माधवराज जोशीले माहिला गुरुज्यूको रुढिवादी पण्डित्याइँलाई मान्यता नदिएकाले र पशुपतिनाथको मूर्तिलाई ढुंगा मात्र हो भनेकाले त्यहीँ नै उनलाई निर्घातसित पिट्न लगाइयो र पछि जेलमा हालियो, (उदास, गेहेन्द्रमान– नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन, पृ. ८) ।
प्रकाशले आफ्ना बाजेमाथि लागेका आरोपको खण्डन गर्न निकै कलिलो तर्कको सहारा लिएको देखिन्छ।

हेमराजले ‘मकैको खेती’ पुस्तकका लेखक कृष्णलाल अधिकारीविरुद्ध चुक्ली लगाएर उनलाई जेल पठाएको प्रसंगबारे उनले लेखेका छन्– मकैको खेती पर्वमा हेमराजको पनि हात थियो भनेर देखाउन केही व्यक्तिबाट कोसिस भइरहेको देखिन्छ । तर, यस तर्कको समर्थनमा बलियो प्रमाण नदेखिएकाले र यस कुराप्रति संकेत गरी लेखिएका लेख पनि विरोधाभासले भरिएका पाइएका छन्, (पृ. २८) ।खासमा कृष्णलाल निकै पठित, तीक्ष्ण बुद्धि, इमानदारिता भएका र विषय र मुद्दाबारे गम्भीर बहस गर्न सक्ने कर्मचारी भएका कारण चन्द्रशमशेरको प्रिय भएका थिए ।

उनी चन्द्रशमशेरको सिकार यात्रामा समेत सँगै लगिन थालेपछि राणा शासकलाई आफ्नो घेरा बाहिरका मानिसमा गए आफ्नो स्वार्थको स्वर्गमा आगो लाग्छ भन्ने जानेका हेमराजले मकैको खेती नामक कृष्णलालको किताबलाई कृष्णलाललाई सिध्याउने अस्त्रका रूपमा प्रयोग गरेको देखिन्छ।

उक्त प्रकरणबारे प्रमोदशमशेर राणाले ‘राणाशासनको वृत्तान्त’मा लेखेका छन्, ‘चन्द्र शमशेरको कार्यकालमा निजामती सेवाका नायब सुब्बा कृष्णलाल अधिकारी कुशल र इमानदार कर्मचारी कहलिएका थिए । यिनी मुद्दा–मामिला हेरी जाहेर गर्न निकै सिपालु थिए, त्यसैले सवारी सिकारीमा यिनी सधैँ पर्थे।

कद पातलो हुँदा महाराज ‘च्यांग्रे सुब्बा’ भनी बोलाउँथे । ...सुब्बा कृष्णलालले ‘मकैको खेती’मा उल्लेख गरिएका रातो र कालो टोपीका कीरा महाराज र मुख्तियारलाई व्यंग्य गरी लेखेका हुन् भनी दुई तल्लो तहका कर्मचारीहरू भोजराज र रामहरि अधिकारीले गुरु हेमराज पाण्डेकहाँ जाहेर गरेछन् र गुरुज्यूले त्यो पुस्तक पढी लेखकले महाराज र मुख्तियारप्रति व्यंग्य गरेरै लेखेको हो भनी जाहेर गरे।

मकैको खेती प्रकाशित गर्नुअघि लेखकले पुस्तकको पाण्डुलिपि जनरल केशरशमशेर, गुरु दुर्गानाथ र कवि शम्भुप्रसाद (ढुंगेल)समेतलाई देखाई उनीहरूले पुस्तकमा कुनै आपत्तिजनक कुरा नदेखी छाप्नका लागि मौखिक स्वीकृति पनि दिएका थिए । तर, हेमराज पाण्डेले विषयवस्तुको अर्कै अर्थ लगाई महाराजमा जाहेर गर्दा कृष्णलालले राजनीतिक कुराबाट प्रेरित भई यो पुस्तक लेखी राजद्रोह फैलाउन खोजेको हो भन्ने अभियोग उनलाई लाग्यो, (पृ. २१७,२१८)।’

उनीमा राणाहरूको निकट भएका अन्यमाथि समेत कति गहिरो रिस देखिन्छ भन्ने कुरा उनले राममणि आ.दी.लाई कारबाही गराउन उनले लेखेको श्लोकको कसरी गलत तवरले व्याख्या गरी चन्द्रशमशेरको कान फुक्न खोजेका थिए भन्ने जान्न प्रमोदशमशेरको सोही पुस्तकमा उल्लिखित यी हरफ बढी सहयोगी हुन्छन्, ‘१९७७ भाद्र ८ गते प्रकाशित भएको गोरखा शिक्षा माला (दोस्रो भाग) पुस्तकमा छापिएको एउटा श्लोकको भित्री अर्थ महाराज चन्द्रशमशेर नै अस्ताउन लागे भनी जनतालाई भड्काएर उकास्ने उद्देश्यले छापिएको हो, यसैले यसका लेखकमाथि कडा कारबाही गरिनुपर्छ भनी गुरु हेमराज पाण्डेले महाराजकहाँ जाहेर गरे, (पृ. २१९) ।’ त्यो श्लोकका लेखक सुब्बा राममणि आचार्य दीक्षित चन्द्रशमशेरको विश्वासपात्र कर्मचारी भएकाले चन्द्रशमशेरले उनीमाथि कारबाही गरेनन् ।

आर्य समाजी माधवराज जोशीसँग शास्त्रार्थमा हारेको रिस र माधवराज र उनका छोराहरूले परम्परागत हिन्दुभीरु समाजका पण्डितको रुढीविरुद्ध उठाएको आवाजले हेमराजले आफूभित्र कति गहिरो प्रतिशोध पालेका रहेछन् भन्ने जान्न शुक्रराज शास्त्रीको प्रकरणमा जानुपर्छ, जसलाई प्रकाश ए राजले चलाखीपूर्वक उल्लेख नै गरेका छैनन् । आफ्ना बाजेको विरुदावलीमा कालो नपोतियोस् भनेर उनले जानीजानी पुस्तकमा कतै पनि माधवराज शास्त्री प्रकरण, शुक्रराज शास्त्री प्रकरणहरूबारे उल्लेख गरेका छैनन्।

‘वास्तवमा शुक्रराजलाई प्रजापरिषद्सम्बन्धी र अन्य राजनीतिक आरोप लगाएको देखिँदैन । केवल महात्मा गान्धीसँग भेटेर आएको आरोपको उल्लेख छ । तैपनि उनलाई गद्दी ताक्नेमा सबभन्दा प्रमुखजस्तो बनाएर सबभन्दा पहिले ज्यान र सर्वस्वको सजाय सुनाइयो । यसभित्र सत्यको इतिहास खोजी गरी हेर्दा उनलाई तात्कालिक गुरु–पुरोहितहरूले मौका छोपेर ज्यान सजाय दिन लगाएको देखिन्छ।

किनभने, उनी आफ्ना पिता माधवराज जोशीको अनुसरणमा धर्मसुधार आन्दोलनमा लागेका थिए । उनलाई तीन वर्षअघि पक्रिएको तर त्यसबेला ज्यान सजाय नदिइएको र पछि मुद्दा दोहोर्‍याएकामा समेत पुरोहितपन्थी कट्टर हिन्दू धर्माधिकारीहरूको उपरोक्त निहित स्वार्थ रहेको पनि प्रष्ट हुन्छ, (उदास, उही, पृ १३१)।

‘शुक्रराजको मुद्दा सुनुवाइमा– तँ ज्यापूले गीतको व्याख्या गर्ने ! बडे–बडे नम्बरी पण्डितहरूले गर्न नसकेको ब्रह्मसूत्र उल्था गर्ने । तेरो बाबु गान्धी भेट्न जाने !’ भनी गड्केको कुरा मात्र हामी सुन्थ्यौँ । यसरी ज्यान सजाय दिइएकामा राणाभन्दा गुरु–पुरोहितहरूकै हात बढ्ता देखिन्छ, किनभने उनका बाबु माधवराज जोशीलाई पनि आर्य समाजको प्रचार ग¥यो भनी झन्डै ज्यान सजाय दिन लागिएकामा भाग्नुपरेथ्यो, (यमि, धमरत्न–नेपालका कुरा, पृ. १२६)।’

माधवराजले पोखरा, काठमाडौंमा वैधानिक रूपमै आर्यसमाजको स्थापना गरेका थिए । उता, दरबारिया पुरोहितहरू, राज गुरुहरू, पण्डितहरू र ब्राह्मणहरूको एकाधिकारविरुद्ध जस्तो भएकाले उनीहरूले खतरा ठाने र चन्द्रशमशेरकहाँ कुरा पुर्‍याए।

चन्द्रशमशेरले पनि राजगुरु हेमराजको अध्यक्षतामा पण्डित मण्डली बोलाई माधवराजसँग शास्त्रार्थ गराए । १९८२ साउन वदि १२ का दिन सिंहदरबारमा श्री ५ महाराजाधिराज पृथ्वी वीरविक्रम शाह, श्री ३ महाराज चन्द्रशमशेर र अरु भारदारहरूको सामुन्ने शास्त्रार्थ गर्न बडागुरुज्यू प्रयागराज लगायत सयौँ पण्डित एकातिर र अर्कोतिर माधवराज एक्लै थिए । यस कथित शास्त्रार्थमा माधवराजले नेपाली समाजमा पुरोहित वर्गले लादिरहेको बोझ, श्राद्ध, मर्दापर्दा पुरोहितलाई दिइने दान, जातपात इत्यादिको तथ्यपूर्ण तर्कद्वारा खण्डन गरे।

बहसका क्रममा मूर्तिपूजाको प्रसंग उठाइयो । माधवराजले मूर्तिपूजाको विरोधमा बोल्न थाले । यहीबीच अघिबाटै कुरा मिलाइएअनुसार बडागुरुज्यूले श्री ३ महाराजसँग बिन्ती गरे, ‘नेपालमा राजादेखिन् मानिआएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाऔँ महाराज । बडागुरुज्यू र त्यहाँ उपस्थित अरु पुरोहितले माधवराजलाई बेस्सरी पिटे । लौराले पिटेको हुनाले माधवराजको टाउको फुट्यो, (गौतम, राजेश– नेपालको प्रजातान्त्रिक अन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका, पृ. ३०) ।’

हेमराजले गरेका भनिएका सुकीर्तिमय कामहरूको सूचीमा कुन राजाका छोरा या नाति या राणाका छोराहरूलाई मन्त्र दिए, विद्या दिए र त्यसबापत राणाहरूबाट कस्तो पुरस्कार पाए भन्ने उल्लेख छ । र, थपमा मानिसहरूलाई पुस्तक त राम्रै गरी लेखिएको रहेछ र हेमराज गजबकै मानिस रहेछन् भन्ने परोस् भनेर प्रकाश ए राजले लेखेका छन्, ‘यो जीवनी हेमराजकै वंशजद्वारा लेखिएको भए पनि हेमराजलाई अनावश्यक रूपले गौरवान्वित गर्ने यसको उद्देश्य होइन।

यसो गर्नु नेपालको इतिहाससँग पनि अन्याय गर्नुहुनेछ भन्ने कुरालाई लेखकले हृदयंगम गरेको छ, (प्रस्तावना, पृ. घ) ।’ र, पुस्तकमा हेमराजको कमजोरीका रूपमा जयतु संस्कृतम् र २००७ सालको क्रान्तिमा राणाहरूको बचाउमा लाग्नु रहेको उल्लेख छ ।
माथि लेखिएका हरफमा खास विमति राख्न आवश्यक छैन।

तर, कसरी तथ्य इतिहासका नाममा, केही तृतीय कमजोरीहरू पनि उल्लेख गरेजस्तो गरेर, गराएर इतिहास लेखिँदो रहेछ र त्यसमा पनि दर्जनौँ इतिहाससम्बन्धी पुस्तक लेखेका र लेखिरहेका प्रकाश ए राजले आफू, आफ्ना पुर्खा र आफ्ना पुर्खाको उन्नयनका लागि बाटो खोलेका शासकबारे कसरी लेखिरहेका छन् भनेर उनले चलाखीपूर्वक लुकाएका तर तत्कालीन भुक्तभोगीले लेखेरै दर्ता गराइसकेका हेमराज पण्डितबारे केही कुरा यहाँ थप्नुपरेको हो ।‘पद्यशमशेरले रुञ्चे स्वरमा ‘भारतबाट ब्रिटिस गइहाले छ भाइ ! मैले गरे पनि तिमीहरूले गरे पनि प्रजालाई यसरी राख्न सकिन्न ।

प्रजातन्त्रको खुड्किलो चढाउने हामी भएनौँ भने भारतबाट अंग्रेज गएजस्तै सुविस्तासित हामी जान पाउने छैनौँ ।’ अरुले त्यसको अनेक जवाफ दिए । अनि, हेमराजले ‘म महाराजको गुरु हुँ । मलाई बिन्ती गर्ने हक छ । यस्तै कुरा हो भने हजुर राणा कुलका कुलंगार हौ’ भने (यमि, धर्मरत्न–नेपालको कुरा, पृ. १४७) ।’ यसले माहिला गुरुज्यू हेमराज पाण्डे राणा दरबारको राजनीतिक छिनाझम्टीमा पनि सामेल भएको त यसैबाट पुष्टि हुन्छ।

‘जयतु संस्कृतम्’ आन्दोलन दबाउन हेमराजको भूमिका नरहेको जनाउन प्रकाश राजले लेखेको तर्क झनै कमजोर छ । उनले लेखेका छन्– नेपालभरिमा ज्यादै कम पाठशाला र स्कुल भएका बेला त्यसताक धेरै बाहुन विद्यार्थीहरूलाई पढ्नका निमित्त अनेक सुविधा प्राप्त थियो । स्कुलमा पढ्न फिस नलाग्नुका साथै पाकशालामा बस्न र खान समेत पैसा तिर्नुपर्दैनथ्यो।

...यस आन्दोलनको माग ‘भूगोल, इतिहास पढ्न पाउनुपर्छ’ भन्ने भएको र ‘भूगोल, इतिहास पढ्न तिमीहरूलाई दिन्छु, परन्तु तिमीहरूले किन यस्तो माग लियौ’ भन्ने भनाइ भएको कुरा श्री नयराज पन्तले लेख्नुभएको छ, (पृ. ३९) । छोराछोरीका सन्ततिहरूले आफ्ना पूर्वजको आदर्शीकरण गर्न मेहनत गर्ने कुरालाई स्वाभाविक लिँदै पन्तज्यूका हरफहरूमा अहिले बढी केन्द्रित नहोऔँ।

उक्त प्रकरणबारे त्यस समयकै भुक्तभोगीका हरफमा लागौँ– संस्कृत शिक्षाका डाइरेक्टर हेमराज पाण्डे अलि निर्दयी बनेर संस्कृत पढ्नेलाई नयाँ विचार तथा ज्ञान नदिने र राणाहरूको बफादारी बढी गर्नेबारे पनि जानकारी पाएँ, (खनाल, रेवतीरमण– अनुभूति र अभिव्यक्ति, पृ. १४)।

‘संस्कृत विभागका डाइरेक्टरको हेलचक्र्याइँ र बेवास्ताका कारण समेत यो महाविद्यालय एकदम दयनीय अवस्थामा पुगेको थियो । संस्कृत शिक्षा विभागका डाइरेक्टर नायब बडागुरुज्यू हेमराज पाण्डे थिए । उनको ध्यानाकर्षण गर्न संस्कृत महाविद्यालयका छात्रहरूको प्रतिनिधिमण्डलले निवेदनपत्र दाखिल गर्‍यो ।

पाकशालाको हालत तुरुन्त सुधार गर्नुपर्ने, पढाइने विषयमा भूगोल, इतिहास र नागरिकशास्त्र समावेश गर्नुपर्ने, शिक्षकको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग थिए । शिक्षा विभागका डाइरेक्टर हेमराज पाण्डेले विद्यार्थीको माग ध्यानपूर्वक सुनेर आश्वासन दिनुको सट्टा उल्टै उनीहरूलाई कडा शब्दमा हप्काउँदै यस्ता माग पूरा हुन सक्दैनन् भनी ओठे जवाफ दिए,’ (राणा, प्रमोदशमशेर– राणाशासनको वृत्तान्त, पृ. २९८)।

त्रिभुवनले भारतीय दूतावासमा शरण लिएपछि उनलाई हटाएर ज्ञानेन्द्रलाई राजा बनाउनेबारे राणा दरबारमा निकै विवाद जन्मिए । बडा गुरुज्यूलगायत केही राणा त्रिभुवनलाई हटाउन नहुने पक्षमा थिए । तर, हेमराजले बडागुरुज्यूले आफैँ राजमन्त्र दिन तयार भएपछि ज्ञानेन्द्रलाई राजा बनाउने राणा भारदारको समूहले निर्णय लिएको देखिन्छ।

नाबालक अधिराजकुमार ज्ञानेन्द्रलाई हनुमानढोकाको नासलचोकमा लगी त्यहाँ वैदिक मन्त्र उच्चारण गर्दै पौने ३ बजेको साइतमा नायब गुरुज्यू हेमराज पाण्डेले विधिवत रूपमा श्रीपेच पहि¥याए र श्री ५ महाराजाधिराज भएको घोषणा गरे, (राणा, उही, पृ ३१७)।

यसरी इतिहासको तथ्य प्रकाश पार्ने नाममा आफ्ना पूर्वजका खास तथ्यलाई अँध्यारोमा छोपेर केही अर्थहीन दिनपर्चीहरू छापेर नेपालको इतिहासको कस्तो तथ्यबारे अन्वेषण गर्न, सहायता गर्न खोजेका हुन् प्रकाश ए राजले र उनले लेखेका पुस्तकहरूमा रहेका यस्तै उज्यालोले मानिसलाई कता डोहोर्याइरहेको होला भन्ने सन्त्रास पैदा हुन्छ । पुर्खाश्लाघाले भरिएका यस्ता पुस्तकले इतिहासका तथ्य अन्वेषण गर्न होइन, सत्यमाथि पर्दा लगाएका हरफले इतिहासको तथ्यमा पुग्नै नदिने अवस्था सिर्जना गर्छ।

प्रकाशित: १७ चैत्र २०७४ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App