१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

महिला समूहको भान्छा

हाम्रो समाजमा आज पनि भान्छाको काम महिलाकै जिम्मामा छ । त्यसैले पकाउने–खुवाउने सीपमा महिला अब्बल पनि छन् । तर महिनाभरि खाना पकाएबापत गृहिणीले न ज्याला पाउँछन्, न त तलब।

खाना पकाउनु पनि श्रम हो भन्ने महिलाले सोच्दा पनि सोच्दैनन् । अलि अघिसम्म काठमाडौं महानगरपालिका– २३ का महिलाले पनि न घरमा दिनहुँ घरभान्छा गर्दाको मूल्य पाउनुपर्छ भन्ने सोचेका थिए, न त आफूले पकाएको खाना अरुले पैसा तिरेर खान्छन् भन्ने नै।

हिजोआज उनीहरूले नसोचेकै भएको छ । उनीहरुले पकाएको खानको भीड लाग्छ । उनीहरू हरेक महिनाको शनिबार आफ्नो परिवारबाहेकका पाहुनालाई खाना बनाउन व्यस्त हुन्छन् । त्यो पनि घरको भान्छामा होइन, सार्वजनिक ठाउँमा । वसन्तपुर दरबार स्क्वायरमा महिनाको अन्तिम शनिबार उनीहरू नेवारी परिकार पकाउँछन् । वसन्तपुर घुम्न आउनेहरू उनीहरूको खानाको स्टलमा झुम्मिन्छन् । उनीहरूले वसन्तपुरको आन्तरिक तथा बाह्य पर्यटकलाई नेवारी परिकार खुवाउने गरेका छन्।

काठमाडौं महानगरपालिका– २३ का महिलाको समूह हो, महिला जागरण समाज । यही समूहले वसन्तपुरमा खानाको स्टल राख्छ । केही महिनायता राखिएको नेवारी भान्छा स्टलबाट समूहमा आबद्ध महिला निकै हौसिएका छन् । समाजकी कोषाध्यक्ष सपना शाही भन्छिन्, ‘हामीले सधैँ पकाउने खानाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने हामी कतिले अझै पनि सोच्न सकेका छैनौँ । तर, हामीले महिनामा एक दिन परिकार बेचेर राम्रो आम्दानी गरिरहेका छौँ।’

फागुनको अन्तिम शनिबार दिउँसो सपरिवार वसन्तपुर घुम्न आएका थिए, स्वयम्भूका राम गुरुङ । कुनै भोजझैँ वसन्तपुरमा नेवारी परिकार पाकिरहेको देखेपछि उनीहरू त्यहीँ अडिए । योमरी र छोइला खाए । खाइसकेपछि गुरुङले भने– यति सस्तोमा खाजा खान पायौँ । त्यो पनि टिपिकल नेवारी स्वाद ।

यसरी स्टलबाट समूहमा आबद्ध महिलाले आम्दानी मात्र गरेका छैनन्, उद्यमशीलता समेत बढाइरहेको कोषाध्यक्ष शाहीको भनाइ छ । ‘वर्षाैंदेखि आफूले भान्छामा पकाउँदै आएको खानेकुरा उद्यमशीलताको आधार बन्न सक्छ भन्ने उदाहरण हामीले दिन खोजेका हौँ,’ उनी भन्छिन्, ‘महिलाको सीपको व्यावसायीकरण हुन सक्छ भन्ने सम्भावना देखाउने काम गरेका छौँ।’

महिला समूहको फुड स्टल धेरैका लागि नेवारी परिकार चाख्ने थलो भएको छ । गएको फागुनको अन्तिम शनिबार दिउँसो सपरिवार वसन्तपुर घुम्न आएका थिए, स्वयम्भूका राम गुरुङ । कुनै भोजझैँ वसन्तपुरमा नेवारी परिकार पाकिरहेको देखेपछि उनीहरू त्यहीँ अडिए । योमरी र छोइला खाए । खाइसकेपछि गुरुङले भने, ‘यति सस्तोमा खाजा खान पायौँ, त्यो पनि टिपिकल नेवारी स्वाद।’

राम गुरुङको परिवारजस्तै दर्जनौँलाई खाजा खुवाउँछन्, समूहका महिला । धेरै ग्राहकले त यस्तो स्टल दिनहुँ राख्न पनि अनुरोध गर्ने गरेको कोषाध्यक्ष शाही सुनाउँछिन् । तर, घरको सबै काम पनि भ्याएर दिनहुँ स्टल राख्न महिलालाई गाह्रो भएको उनी बताउँछिन् । ‘हामीले गरेको यो नमुना कार्यक्रम मात्र हो,’ उनी भन्छिन्, ‘बरु अन्य ठाउँमा अरु महिलाले पनि गरून् भन्ने चाहन्छौँ।’

खानाको स्टल राख्न महिनाको अन्तिम हप्ताभरि नै तयारीमा जुट्छन्, समूहका सदस्य । उनीहरू एक हप्ता अघिदेखि नै सरसामानको जोरजाममा जुट्छन् । पकाउने भाँडा संकलन गर्नेदेखि पीठो मसला किन्ने काम सबैलाई बाँडफाँड गर्छन् । शनिबारको दिन भने बिहानैदेखि पकाउने सामग्री बिहानै तयार पारी वसन्तपुर लगिन्छ।

महिला जागरण समाजका कोषाध्यक्ष सपना शाही भन्छिन्, ‘बिहान ११ बजेदेखि नै खाने मान्छे आउँछन् । स्टलमा गरिने काम पनि पहिले नै बाँडफाँड भइसकेको हुन्छ । त्यहीअनुसार दिनभरि पकाउने र दिने काम हुन्छ ।’यसरी महिनाको एक दिन राखिने स्टलमा ५० हजार रुपैयाँसम्मको कारोबार हुने उनी बताउँछिन् । नाफाको पाँच प्रतिशत रकम अचार बनाउन एकमुष्ठ छुट्याएपछि बाँकी रकम सदस्यलाई बाँडफाँड गर्छन्।

‘यसरी भएको आम्दानीले गृहिणी महिलाको आत्मबल बढेको पाएका छौँ,’ समूहकी सदस्य सविना महर्जन भन्छिन्, ‘सीप बेचेर गृहिणी महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण भएका छौँ।’

सहरी गृहिणी महिलाको अनुत्पादक समयलाई आयआर्जनमा लगाउन घरको भान्छालाई बाहिर ल्याइएको महर्जन बताउँछिन् । यसबाट महिलाको आर्थिक, सामाजिक सशक्तीकरणमा सानो भए पनि सहयोग पुर्‍याउने उद्देश्य रहेको समूहका महिला बताउँछन् ।

अरु महिलालाई प्रेरणा
आफूहरूको काम हेरेर अन्य ठाउँका महिलाले सिकून् भन्ने ठान्छन्, महिला जागरण समाजका महिला । ‘हामीले जस्तै खाजा नै बेच्नुपर्छ भन्ने होइन । समूह बनाएर अरु कुनै पनि आयआर्जनका काम गर्न सकिन्छ ।’ कोषाध्यक्ष शाही भन्छिन्, ‘नेपालमा धेरै जाति छन् । उनीहरूले पनि आ–आफ्नै मौलिक उत्पादनलाई सानोतिनो आम्दानीका लागि उपयोग गर्न सकिन्छ ।’ आफ्नो समूहको यो काम देखेर वडा– २३ का महिलालाई उद्यमशील बन्न प्रेरणा मिलेको उनको भनाइ छ।

यो समूहको सिको गर्दै अन्य महिला समूहले समेत यस्तै स्टल राख्न थालेको समूहकी रविना महर्जन बताउँछिन् । भन्छिन्, ‘हाम्रो हेरेर नजिकतिरका महिला समूहले पनि कहिलेकाहीँ यस्तै स्टल राख्न थालेका छन् । एक–अर्काका लागि उदाहरण महिला नै बन्नुपर्छ ।’ महिलाले एकैपटक धेरै काम गर्न सक्छन् र महिलाले घरमा गर्ने कामको ठूलो मूल्य हुन्छ भन्ने बुझाउन आफूहरूले प्रयास गरेको महर्जनको भनाइ छ ।

कसरी बन्यो योजना ?
खानाको स्टल राख्ने योजना महिला जागरण समाज नामक महिला समूहको हो । यो समूहको स्थापना हुनुमा भने वडा– २३ का वडाध्यक्ष मचाराजा महर्जनले प्रोत्साहन गरेका हुन् । स्थानीय तहको निर्वाचनमा आफूलाई जिताउन महर्जनले वडाका महिलामाझ विभिन्न प्रतिबद्धता गरेका थिए । त्यही प्रतिबद्धता पूरा गर्न उनले वडाका महिलासँग सल्लाह गरेको महिला जागरण समाजका कोषाध्यक्ष सपना शाही बताउँछिन् । भन्छिन्, ‘गृहिणी महिलाको सशक्तीकरणका लागि समूह बनाएर काम गर्ने सल्लाह भयो।

त्यसैअनुसार महिला जागरण समाज बनेको हो ।’ महिला जागरण समाजमार्फत घरेलु उद्योग कार्यालयबाट वडाका महिलालाई अचार बनाउने तालिम दिइयो । यद्यपि अचार बनाउने तालिमपछि कसैले अचारको उद्यम गर्न अघि सरेनन् । एक्लाएक्लै कुनै पनि उद्यम गर्न सजिलो नभएकाले तालिम लिएकामध्ये ६ जना महिला मिलेर समूहमा अचार उत्पादन गर्न थाले । उनीहरूले आफूले बनाएको अचार बनाएर आफन्त, चिनजानका व्यक्तिलाई बेच्न थाले।

कोषाध्यक्ष शाही भन्छिन्, ‘अचार बेच्न थालेपछि समूहमा थप आयआर्जनको काम गर्न सकिन्छ भन्ने आँट बढ्यो । त्यसपछि बाटोमा स्टल राखेर अचार बेच्ने सल्लाह भयो ।’ अचारसँगै स्टलमा नेवारी परिकार बेच्न सके थप आम्दानी उनीहरूले हुने देखे । त्यसपछि हरेक महिनाको अन्तिम शनिबार वसन्तपुरमा नेवारी खाजाको स्टलसहित अचार पनि बेच्न राखिन्छ।

स्टलमा टिपिकल नेवारी खाजा योमरी, बारा, छोइलालगायत परिकार तयार हुन्छन् । सहरमा सामान्यतः रेस्टुराँमा नेवारी परिकार खान पाइँदैन । पाइए पनि मौलिक स्वादको अभाव हुन्छ । यस्तोमा महिनाको अन्तिम शनिबार मौलिक नेवारी खाजा खाने थलो बनेको छ, वडा– २३ को महिला समूहको स्टल । महिनाको अन्तिम शनिबारबाहेक नयाँ वर्ष, भ्यालेन्टाइस डे जस्ता विभिन्न अवसरमा पनि खानाको स्टल राखिन्छ।

समूहले खाजाको स्टललाई निरन्तरता दिँदै अन्य सिर्जनशील र उत्पादनमूलक काम पनि गर्ने योजना बनाएको छ । वर्षको अन्त्यमा आफ्नो समूहका सदस्यका उत्पादन संकलन गरी वडाकै विभिन्न चोकमा प्रदर्शनी गर्ने योजना रहेको कोषाध्यक्ष शाही सुनाउँछिन्।

 

प्रकाशित: १६ चैत्र २०७४ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App