coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आइबी सर हामीसँगै

सबैभन्दा पहिले पढेँ मैले इन्द्रबहादुर राईलाई कथामा । ‘विपना कतिपय’ कथासंग्रह भित्रका कथामा उनलाई भरिभन्डै भावुक, कारुणिक र व्यावहारिक पनि पाएँ । त्यो पुस्तक पढ्दा म केटाकेटी नै थिएँ । कहाँबाट कसरी मैले त्यो किताब पढ्न पाएँ थाहा छैन, तर सबैभन्दा ज्यादा मलाई प्रभाव परेको कथा थियो, ‘मेरी दिदी’।

मैले त्यो कथा कतिपल्ट पढेँ–पढेँ, अझै पनि त्यो कथा म बेलाबेला पढिरहन्छु । त्यसपछि ‘रातभरि हुरी चल्यो’, ‘हामीजस्तै मैनाकी आमा’, ‘जार भएकै एउटा कथा’ आदि सबै कथाहरू नै त्यस संग्रहभित्र ज्यादै प्रभावी भएर रहेका छन् । बुझ्न गाह्रो नभएका, सजिलै रमाउन पाइने, रुन पनि पाइने, हाँस उठ्ने पनि कथा छन् त्यहाँ ।

‘चप्रासी’ कथाले मनलाई कति अमिलो गरी छुन्छ हो कि ? धुरुधुरु रुनुपर्छ, जयमाया आफू मात्र लिखापानी आइपुगेको देख्दा । इन्द्रबहादुर राईका त्यस संग्रहका कथाले नेपाली पाठकलाई कञ्चनजंघाको चिसो सिरेटोले तीखो गरी छोएझैँ छुन्छ । पढेर कोही पनि अघाउँदैन । कलिलै उमेरको भए पनि मलाई ती कथाले राम्रै गरी समातेका थिए।

पछि पढेँ अर्काे पुस्तक ‘कथास्था’ । त्यसमा आइपुगेपछि मेरो केही लागेन, डेग चलेन । यस संग्रहमा आइपुग्दा भाषा पनि बटारिएको अप्ठेरो खोजीखोजी अप्ठेरो पार्न गरिएको भाषा । प्रत्येक वाक्य लामा–लामा व्याख्याका सूक्तिजस्ता लागे । ‘आस्थापक्ष’ जसमा आयामको व्याख्या गर्न खोजिएको थियो, त्यो व्याख्या आफैँ नै दुर्बाेध्य थियो ।

आयामको अभियान नबुझेर वाक्क भई पढ्न छाडेका धेरै मानिसहरू भइसकेपछि म त्यस पुस्तकको पाठक बन्न पुगेँछु, तथापि मलाई हार्न मन लागेन । ‘आस्था छोडेर’ कथा पढ्न थालेँ । कथा त राम्रै थिए, पढ्न मन लाग्ने नै । ‘खीर’ कथाले यस संग्रहभित्र मलाई राम्रै पिरा ओच्छयाइदियो । पलेँटी कसेरै बसेँ । त्यसपछि ‘ब्लाक आउट’, ‘काजु बदाम छोरा’, ‘ऊ त्यसरी बाँचेको छ’, ‘त्यसरी नै’, ‘एउटा दिनको सामान्यता’ आदि कथाहरूले मलाई उठेर हिँड्न दिएनन् ।

इन्द्रबहादुर राईका कथाहरूको पाहुना लागिसकेको मलाई बिस्तारै ‘आस्था’ पनि पढौँ न त भन्नेपट्टि आस्था बढ्दै गयो ।सजिलो छैन आइबीको भाषा । न सजिलो छ उनले भनिरहने गरेको कुरा बुझ्न । सुन्दा साह्रै सरल भाषामा बोलेको सुनिन्छ तर गमेर विचार गर्दा त्यसको क्लिष्टताबाट उम्कनै कठिन । कथास्थामा व्याख्या गर्न खोजिएको तेस्रो आयामको सैद्धान्तिक पक्ष उनको भाषाकै कारणले भन्छु, मैले बुझ्न सकिनँ । कथाकथा मात्र पढी छोडिदिएँ तिनलाई।

ऋषिमुनिझैँ जीवन व्यतीत गरी आएका राई अब यो जीवित संसारमा रहेनन् । शरीरले उहाँ हामी माझ नरहे पनि विचार र सिर्जनाले युगयुगसम्म रहनेछन् । मलाई लाग्दैन पछि आउने कैयौँ त्यस्ता विचारले पनि उनलाई विस्थापन गर्न सक्नेछ । शरीरका राई हिजोसम्म उनका परिवार माझ थिए, विचारका राई सधैँ हामीसँगै रहनेछन्।

पछि वैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ पढेँ, छुट्टै कुनै किताबमा । अहा,   कविता कति राम्रो, जोसिलो, स्वादिलो पनि । अरुका कविताजस्तो सजिलो त त्यो थिएन तर नयाँ पाराको र त्यति नअप्ठेरो कविता थियो त्यो । जोसले भरिएको, विद्रोहको एक खतरनाक आह्वान थियो त्यो । त्यसलाई पढेर मनले भन्थ्यो, हो, यस्तै विद्रोह आवश्यक छ आजलाई, आजैको वर्तमानलाई ।एक दिन मित्र प्रतीक ढकालले ईश्वरवल्लभका कविताबारे हाँस्दै भने, ‘ईश्वरवल्लभका कविताहरू हुन्, ईश्वरवल्लभका कविताहरू होइनन्।

’ यो सुनेपछि राम्रैसँग वल्लभका कविता पढौँ भनी कम्मर कसेँ । वल्लभका कविता त झन् काइँलाका भन्दा चौखन्डै क्लिष्ट लागे । उनले प्रयोग गरेका मिथकहरूको पश्चिमी परम्परा नबुझी ती कविता नबुझिने गरी ।अनि फेरि इन्द्रबहादुर राईको ‘कथास्था’ पल्टाएँ । मलाई तेस्रो आयामको बारेमा बुझ्ने इच्छा झन्–झन् बढ्दै गयो । त्यसैबीच प्रा. चन्द्रेश्वर दुबेको ‘तेस्रो आयामको शवपरीक्षा’ नामक पुस्तक पढ्न पाएँ।

त्यस पुस्तकले तेस्रो आयामको नांगेझार हुने गरी आलोचना गर्दै ईश्वरवल्लभका कविताको सत्यानाश गर्न खोजेको छ । तर त्यो पुस्तक ईश्वरवल्लभलाई झन् मल भयो । त्यसले त वल्लभका पाठकहरूलाई अझ बढाउन पो मद्दत गर्‍यो । प्रा. दुबेको त्यस पुस्तकले पनि मलाई ‘कथास्था’को आस्था पढ्न झन् प्रेरित ग¥यो । पढ्दै गएँ।

सुपारी चपाएजस्तो, सुरुमा असजिलो, नमीठो, टर्राे हुँदै बिस्तारै त्यसको स्वाद जिब्रोलाई मोहनी लाग्दै गएझैँ, तेस्रो आयाम मलाई ढिलो गरी पढ्नु र बुझ्नुपर्ने विषय अनुभूत भयो । अनि फेरि काइँला र वल्लभका कविताहरू पढ्न थालेँ, जहाँ मैले, मिथक, आध्यता, सम्पूर्णता, चित्रात्मकताको सोझो साम्य भाषा, वस्तुता आदि अनेक प्राविधिकतासँग परिचय गरेँ।

इन्द्रबहादुर राई तेस्रो आयामका एक उच्चकोटिका व्याख्याता हुन् भनेर चिनिसकेपछि उनलाई पढिरहेको मैले उनका अरु कृतिहरू पनि नपढी त्यसै छाड्नुभएन । अनि उनका लेख, समालोचना र सैद्धान्तिक व्याख्या–विश्लेषणहरू धमाधम पढ्न थालेँ । ‘नेपाली उपन्यासका आधारहरू’, ‘सन्दर्भमा ईश्वरवल्लभको कविता’ जस्ता पुस्तकहरूले इन्द्रबहादुर राईको बौद्धिकताको उचाइलाई सहजै नाप्न कठिन बताए ।
तेस्रो आयामका सूत्रधारका रूपमा परिचित हुन पुगेका इन्द्रबहादुर राई २०२० सालपूर्व उत्कृष्ट कथाकारका रूपमा स्थापित भइसकेका थिए।

‘आज रमिता छ’ जस्तो अतुलनीय उपन्यास दिएर चुप लागी एक कुनामा बसेर नेपाली पाठकहरूको अनुहारको अध्ययन गर्न पल्केका राईलाई तेस्रो आयाम आन्दोलनले घिसारेर आँगनमा ल्याई उभ्यायो ।ईश्वरवल्लभ र वैरागी काइँला समेतको सहकार्यमा तेस्रो आयाम दह्रो हुर्किंदै आएको भए पनि काव्यात्मक क्षेत्र राईले समाएनन् ।

वल्लभले कविता मात्र नलेखी कथा, लेख, गीत तथा आयामका व्याख्या विश्लेषणहरू समेत गरेका छन् तथापि आयामको उच्चस्तरीय व्याख्या राईका कलम भित्रैबाट मात्र घोलिएर निस्किएको पाइन्छ । नेपाली साहित्यमा त्यस बेला कुन आवश्यकताले तेस्रो आयामलाई जन्माउन बाध्यता पर्‍यो ? मोहन कोइरालाका आधुनिक कविताले बोलेको विसंगतलाई एक छेउतिर छोडिराखेर किन उनीहरू आयामतिर उक्लिए होलान्?

तर तेस्रो आयाम नेपाली आधुनिक कविताको दह्रो मञ्च बनेको देखिन्छ । जहाँ नवकवि र कविताहरू नाच्दछन् । आयामकै नामले नयाँ कवितामा प्रविष्टि नदेखिए पनि यसको मुस्लै प्रभाव आजको अधिकांश कवितामा छ । आयाम नबुझ्ने, आयामिक कविता क्लिष्ट लाग्ने, राजनीतिक आस्थाको अन्तरका कारण अलग भन्न रुचाउने जुनसुकै कवितामा आयामले अवतार ग्रहण गरेको छ।

ईश्वरवल्लभ र वैरागी काइँलाले प्रयोग गरेको मिथकको व्यापकता आजको कविताको पनि प्रमुख धार देखिन्छ । मिथकप्रधान अभिव्यक्तिबाटै मात्र समकालीन व्यंग्य र भविष्यको आह्वान गर्न सुगम पाइन्छ । विगतका घटनाचक्रहरूको वर्तमान स्मरण र भविष्यमा त्यसको अवतार आजका कविताको मूल चरित्र छ, त्यो तेस्रो आयामले २०२० सालतिर सिकेको थियो ।कविताबारे आयामेलीको धारणा बिल्कुल फरक छ।

उनीहरूको काव्यिक टुंगोले कवितालाई अर्थहरूबाट मुक्त राखेको र त्यसलाई वस्तुताको शक्ति प्रदान गरिएको पाइन्छ । कवितामा अर्थहरू हुनुपर्छ कविताले सन्देशहरू बोक्नुपर्छ, कविताले अरु राजनीति, धर्म तथा विश्वासहरूले झैँ एक युगको भारी बोकी अर्काे युगमा बिसाउनुपर्छ भन्ने परम्परागत मान्यता तोडिएको देखियो । कविताबारे धेरै ठाउँमा राईले लेखेको पढेँ–

‘कविकै अर्थ मात्र कृतिको अर्थ हुँदैन, कविले देखेकै मात्र कृतिमा देखिने थोक हुँदैन । कलाकृतिहरू जीवित वस्तुता हुन्छन् आयामिक भाषामा भन्छौँ अर्थात् विभिन्न कालमा विभिन्न जीवनले कृतिहरू बाँच्छन्’ (सन्दर्भमा ईश्वरवल्लभको कविता, पृष्ठ २) ।‘कविता बुझ्न कविलाई हेर्नुपर्ने, कविलाई बुझ्न समाजलाई हेर्नुपर्ने, फेरि समाज बुझ्न समग्र विश्वका विगतआगत हेर्नु पुग्नुपर्ने भार काव्य समालोचनाको होइन भन्छौँ’ (ऐ,ऐ)।

‘अर्थ नै कविता हो ? गमी हेरे प्रस्ट हुन्छ, अर्थ कविता होइन, ती अर्थहरूले जन्माउन सकेका भावहरू, कल्पनाहरू, संकेतहरू कविता हुन्, कवितामा कविता जन्माउने साधन अर्थ छ’ (ऐ,ऐ) ।‘सुन्दर महान् विचार हुँदैमा कविता लेख्न पुग्दैन । उदास युगबोधलाई धेरैले लेखेँ, सबैका समान श्रेष्ठताका कविता बनेका छैनन्’ (ऐ,ऐ) ।

कविताबारेका राईका माथिका विभिन्न भनाइहरूले एउटै सार कुरा बोल्छन्, कविता अर्थहरूको डङ्गुर होइन । कविता विम्ब, प्रतीक, शब्दध्वनि र व्याकरणहरू समेतको संयोगबाट उत्पन्न भाव र सङ्गीत हो । विचारले र अर्थले सम्पन्न हुने कुरा कविता होइन । कवितामा ती सब भएर पनि अर्कै र बेग्लै भावका संसारको रचना कविले गर्दछ।

इन्द्रबहादुर राईमा कुनै कुरालाई पनि हेर्ने र पढ्ने शैली एकदम नै केशचिरा छ । एउटै कवितामाथि सिंगै किताब लेखेर उनले जुन आफ्ना आयामिक समालोचनाको नमुना पेस गरेका छन्, ‘सन्दर्भमा ईश्वरवल्लभको कविता’ पुस्तक, त्यसले राईको कलमको चमकले पाठकका आँखा टल्काउँछ।

लेखनलाई नै आफ्नो तपस्या मानी सबै समय व्यतीत गरेका राई भन्छन्,‘कामहरू अरुले गर्न सक्ने म गर्दिनँ । मैबाट मात्र हुने लेखाइ म गर्छु । तानेर लैजान्छन् अरु काममा, जान्छु पनि । केही दिन बितेपछि लेखिन लाग्न थाल्छ । फर्केर लेख्नमै आउँछु’ (लीलालेखन, पृष्ठ ४४–४५, घाँसी कथा)।

यस भनाइले बोकेको भारी त धेरै गह्रुँगो छ । अरु जसले पनि गर्न सक्ने काम आफूले नगरे पनि हुने, अरुबाटै गराउने र आफूबाहेक अरु कसैले गर्न नसक्ने काम मात्र आफूले गर्ने (पढ्ने, लेख्ने, चित्र बनाउने, आविष्कार गर्ने आदिजस्ता) भन्ने उनको विचार ज्यादै रमाइलो र गहिरो छ।

वास्तवमा इन्द्रबहादुर राईले अरु कामहरुतिर (ठेकापट्टा, व्यापार, दलाली, खेतीपाती आदि अनेकतिर) लागेको भए आज नेपाली साहित्यले पाएका यी अनौठा र अलग्गै परै हिमालझैँ टल्कने कृतिहरू कसरी जन्मन्थेँ होलान् ?राईको तेस्रो कथासंग्रह ‘कठपुतलीको मन’ प्रकाशित भयो सन् १९८९ मा । उक्त कथासंग्रहले आठवटा कथा र कथासम्बन्धी केही सूत्रहरूसहित संकलन लीलालेखनतिर छ, बोकेर आयो।

नेपाली भाषाको साहित्यमा बारम्बार प्रयोग र नयाँ प्रस्तुतिहरू पस्किरहने राईले तेस्रो आयामभन्दा कता एक फड्को मार्दै लीलालेखनको प्रस्ताव उक्त कथासंग्रहबाट प्रारम्भ गरे । २०३४ पुसको ‘रुपरेखा’ २०० अंकमा भ्रान्तिहरू र लीलालेखन मात्र शीर्षकको एक लेख लेखी सर्वप्रथम नेपाली साहित्यमा लीलालेखन शब्दको प्रयोग उनले नै गरेका थिए।

संगहमा आठवटा कथाहरू संकलित भए तापनि ‘कठपुतलीको मन’ शीर्षकको कथामै पाठक तथा समालोचकहरू केन्द्रित भएको पाइन्छ । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’लाई पुनः लेखन गरिएको त्यस कथामा विनिर्माणको प्रयोग गरिएको हुनाले नेपाली साहित्यमा विनिर्माणवादको प्रयोग गरिएको प्रथम कथा मानी त्यसको चर्चा उत्कर्षतिर लाग्यो । अर्काको कथालाई लेखन गरी आफ्नो पार्न सकिने विचित्रको कला त्यहाँ प्रयुक्त छ।

सरासर गुरुप्रसाद मैनालीको ‘परालको आगो’ भन्ने कथा पढिरहेको पाठक, इन्द्रबहादुर राईलाई अर्काको कथा चोरी गरेको आरोप लगाउन पनि सक्दैन र त्यो कथा इन्द्रबहादुर राईको मौलिक होइन पनि भन्न सक्दैन । त्यस कथाले नेपाली साहित्यमा लीलालेखनलाई कृतिलेखनको प्रविधिका रूपमा प्रवेश गराएको छ ।यसै पुस्तकमा उनले लीलालेखनको केही शास्त्रीयताको पनि जानकारी गराएका छन् । योजनाबद्ध ढंगले लीलालेखन दह्रो खुट्टा टेकेर पाठक सामु प्रस्तुत भयो यस कृतिमार्फत।

गणेशबहादुर प्रसाईले एक दिन त्यस कथासंग्रहको कुरा गरेर मलाई घन्टौँ राखे । उनका कुरा सुनेपछि पढ्नैपर्ने ठानी कोरीकोरी पढ्न थालेँ । कथालाई पनि कुनै गणितलाई जस्तो रफ, साफी गर्दै, शब्दकोश हेर्दै गर्न थालेँ । २०४८ सालदेखि पढ्न तथा टिपोट गर्न थाली २०५३ सालमा एक नयाँ पुस्तकको रूप दिन सकेँ ‘लीलालेखन’ । ‘कठपुतलीको मन’ कथासंग्रहले जन्माएको त्यस पुस्तकमा त्यस संग्रहका सबै कथाहरूलगायत लीलालेखनबारेका विविध धारणा र विचारहरू समावेश गरिएको छ।

संसारमा चलेका र हाल अस्तित्वमा उभिरहेका, जीवनलाई कुनै न कुनै रूपबाट सहयोग पुर्‍याउँदै आएका विचार र दर्शनहरूको आधारस्रोतलाई टेक्ने धर्ती मानेर आएको यस फूर्तिलो प्रविधिले तर धेरैको मथिंगललाई हल्लाइरहेको छ ।

कतिपय विद्वान्हरूले यसलाई विभिन्न अरु विचारहरूको नक्कल गरिएको, मौलिकता नभएको, छ्यासमिसे पाराको, विदेशी सिद्धान्त र विनिर्माणवादको नेपाली संस्करण भनी आरोप लगाउँदै आएका भए पनि यसले पछिल्लो कालमा नेपाली साहित्यमा सशक्त उपस्थिति जनाइसकेको छ ।साहित्यलाई राजनीतिले सत्ताप्राप्तिको भरिया बनाउने प्रयत्नबाट मुक्त गराउने आजको सामूहिक प्रयत्नमा लीलालेखनले एक हातको बल प्रदान गरिरहेको पाइन्छ ।

लेखक तथा पाठकलाई निर्विकल्पहरूबाट मुक्ति देखाउँदै अनिश्चित र अनिर्धार्यतातिर फर्काएपछि वस्तु र विषयको एकाधिकारको अन्त्य हुने गरेको छ ।आजको बहुलवादी समाजमा सम्भावनाहरूको जुन स्वतन्त्र सत्ता छ त्यसलाई लीलाले समातेको देखिन्छ ।

आजको संसारमा आइरहेको प्रत्येक पूर्वनिर्धारितहरूमाथिको विघटनले केही पनि हिजोको जस्तो, चलिआएको, भोगिल्याएको जस्तो छैन । भाषामा, संगीतमा, संस्कृतिमा, सबै कुरामा विघटन छ र नयाँ बनाउने प्रतिस्पर्धा छ।

सिर्जनाको क्षेत्रमा कथाहरू लेखी लीलालेखनलाई व्यावहारिकता प्रदान गर्ने राईले यस विधिलाई समालोचनाको प्रविधिसमेत हो भन्ने देखाउँदै सन् १९९४ मा ‘अर्थहरूको पछिल्तिर’ शीर्षकको एक समालोचनात्मक कृति प्रकाशन गरे । आयामिक समालोचनाको नमुना कृतिका रूपमा ‘सन्दर्भमा ईश्वर वल्लभको कविता’ प्रकाशन गरेका थिए भने लीला समालोचनाको नमुनाका रूपमा उक्त कृतिलाई हेर्न सकिन्छ । प्रश्नहरू उठाएर पुस्तकभरि छलफल गरि अन्तिममा उत्तरहरू दिई कृति समापन भएको छ ।

समालोचनामा यो एक अनौठो नमुना कृति छ । यसभित्र विभिन्न कालमा विभिन्न लेखकले प्रह्लाद मिथकलाई हेरेको हेराइ हेरिएको छ । भागवतको ‘प्रह्लाद’, बालकृष्ण समको ‘प्रह्लाद’ नाटक र जगदीशशमशेरको ‘नृसिंह अवतार’को प्रह्लादलाई विभिन्न समयमा विभिन्नतापूर्वक कसरी हेरिएको छ बारे राईको हेराइ छ । साथमा वैरागी काइँलाको अस्तित्वको दाबीमा साबातको ‘बैला उत्सव’ कवितालाई पनि हेरिएको छ।

जीवनमा मिथकको प्रयोग कति छ ? हामी बाँचेको केमा छौँ ? मिथकबाट मुक्तिसम्भव छ कि छैन ? मिथकहरू कसरी कालानुसार अर्थान्तर हुँदै जान्छन् ? मिथक कसरी जीवनमा र परम्परामा घुलेको छ भन्नेबारे राईको अभिव्यक्ति पढ्न पाइन्छ।

वस्तुले पाइरहेको अर्थ जसलाई हामी नबुझेर, नजानेर पनि व्यवहारमा प्रयोग गरिरहेका हुन्छौँ, त्यो कहाँदेखि छ, कहाँसम्मलाई छ ? त्यसको खोजी गर्न थाले पाइरहेका र भोगिरहेका अर्थहरूको पछिल्तिर पस्नुपर्ने व्यापक सुझाव छ राईको । हामीले बाँचिरहेको र भोगिरहेको सब कुरा मिथकीय छ, यो मिथक हाम्रो लागि सुरक्षा छ जोसँग विगत टाँसिएको छ र त्योसँग हाम्रो संघर्ष पनि छ जो वर्तमानमा खडा छ । आमा शब्द आफ्नै घरमा भएकी बूढी आमालाई सम्बोधन शब्द हो।

आमा शब्द उमेर र अवस्था मात्र नभई भावमय छ । आज मेरो घरमा भएकी आमा विगतका प्रत्येक घरमा थिइन् र भविष्यमा प्रत्येक घरमा हुन्छिन् । आमा कत्रो ठूलो मिथक छ । आमाको वात्सल्य, स्नेह, ममता र सुरक्षा कत्रो मिथक छ । पत्नी, पति, पिता सब मिथक छ । परम्परादेखि कति दुर्घटना र प्रलयले पनि नाश गर्न नसकेको यो निरन्तरता । मिथकबाट विमुक्ति सम्भव छ ? एउटा त्रासद।

प्रत्येक अर्थका पछि महाअर्थहरू छन्, प्रत्येक विश्वासका पछि महाविश्वासहरू छन् । जब अर्थ र विश्वासका पछितिर हेर्न थाल्छौँ अनि जीवनलाई विश्व रूपमा देख्नेछौँ । सारा ब्रह्माण्ड नै आफैँमा समाहित, त्यो सम्पूर्णताको एक अत्यन्त सानो तर पूर्णरूपमा नै आफैँ रहेको बोध हुन्छ । विशालताबाट एक टुक्रातिर उही गुण र विशेषताले युक्त आफू प्रत्येक बोध हुन्छ । प्रत्येक चुम्बकको टुक्रामा उत्तरी ध्रुव र दक्षिणी धु्रव रहेझैँ।

राईको यो ८२ पृष्ठको कृतिमा प्रत्येक वाक्य व्याख्याका विशाल मुखहरू बाएर पाठकतिर फर्किएका छन् । डर लाग्छ, ती वाक्यहरूले खालान् भन्ने । इन्द्रबहादुर राईको बौद्धिकताको खुर्कीखार्की समेटिएको कृति हो ‘अर्थहरूको पछिल्तिर’ र यसै कृतिले लीलालेखनको सैद्धान्तिक चरम अभिव्यक्ति पनि गर्छ ।इन्द्रबहादुर राईलाई नेपाली साहित्यका पाठकहरूले उच्च सम्मान गर्छन् । वैचारिकताका एक अग्ला धरोहर राई नेपाली साहित्यमा मौलिक विचारहरू दिँदै, त्यसलाई लेखन परम्परा बसाउन सक्ने एक मात्र प्रतिभा हुन्।

निरन्तर सोचिरहने, लागिरहने, पढिरहने र अजस्र ज्ञानको स्रोत आफूमा समेटी ऋषिमुनिझैँ जीवन व्यतीत गरी आएका राई अब यो जीवित संसारमा रहेनन् । शरीरले उहाँ हामी माझ नरहे पनि विचार र सिर्जनाले युगयुगसम्म रहनेछन् । मलाई लाग्दैन पछि आउने कैयौँ त्यस्ता विचारले पनि उनलाई विस्थापन गर्न सक्नेछ । शरीरका राई हिजोसम्म उनका परिवार माझ थिए, विचारका राई सधैँ हामीसँगै रहनेछन् ।

प्रकाशित: २६ फाल्गुन २०७४ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App