डा. अमर गिरी
आधुनिक नेपाली समालोचनाको आरम्भसँगै कवितासम्बन्धी आधुनिक नेपाली समालोचनाको पनि आरम्भ भएको थियो । साहित्यसम्बन्धी विमर्शको सबैभन्दा महत्वपूर्ण रूप पनि समालोचना नै हो । यसका अतिरिक्त कविताका सम्बन्धमा आयोजित विचार–गोष्ठीहरूमा प्रस्तुत गरिने कार्यपत्रहरू, त्यसमाथिका टिप्पणी, साहित्यिक पत्रिका लगायत सञ्चारका अन्य माध्यममा गरिने कवितासम्बन्धी बहस, कविता कृतिका समीक्षा आदि पनि कविता विमर्शभित्रै समेटिन्छन्।
विमर्शमा समालोचक, कवि र पाठकको सहभागिता रहन्छ । समालोचकलाई विमर्शको सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ । सैद्धान्तिक आधारमा रचनाको विस्तृत विश्लेषण एवं मूल्यांकन गर्ने कार्य समालोचकले गर्ने भएकाले उनीहरूलाई विमर्शको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको हो । विमर्शमा कविहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ । कैयौँ कवि प्रबुद्ध समालोचक एवं टिप्पणीकार पनि हुन्छन् र विमर्शमा महत्वपूर्ण भूमिका गर्छन् । सचेत पाठकको भूमिका पनि विमर्शमा महत्वपूर्ण रहन्छ । यी सबैबाट विमर्शको परिदृश्यको निर्माण हुन्छ र त्यसबाट विमर्शमा महत्वपूर्ण योगदान पुग्छ । नेपाली कवितासम्बन्धी विमर्शमा यी सबैको योगदान रहँदै आएको छ । यसमा सबैभन्दा महत्वपूर्ण योगदान समालोचकको रहेको छ र यो स्वाभाविक पनि छ।
कवितासम्बन्धी विमर्शका सैद्धान्तिक र प्रायोगिक गरेर दुई पक्ष छन् । सैद्धान्तिक विमर्शमा कविताका सैद्धान्तिक पक्षबारे चर्चा गरिन्छ । प्रायोगिक समालोचनामा कविताको अन्तर्वस्तु र रूपका विविध पक्षबारे विश्लेषण एवं मूल्यांकन गरिन्छ । नेपाली कविता विमर्श पनि सैद्धान्तिक र प्रायोगिक बाटो हुँदै अघि बढेको छ । नेपाली कविता विमर्शमा विश्वविद्यालयसँग जोडिएका र नजोडिएका दुवैथरी समालोचक रहँदै आएका छन् । समकालीन कविता विमर्शमा विश्वविद्यालयसँग जोडिएका समालोचकको संख्या धेरै छ ।
समालोचना सिद्धान्त र पद्धति आधारित हुन्छ ।
सिद्धान्त र पद्धतिभन्दा बाहिर गएर समालोचना सम्भव छैन । कविताको समालोचना पनि यसैअनुरूप गरिन्छ । कविता मात्र होइन, समग्र साहित्य नै जीवन र जगत्को कलात्मक पुनः सिर्जना हो । यसमा स्रष्टाको विचार, जीवनानुभव, साहित्यदृष्टि, जीवन एवं साहित्य मूल्य सबै विद्यमान रहन्छन् । यसका विचारधारात्मक, संज्ञानात्मक र सौन्दर्यात्मक प्रकार्य हुन्छन् । साहित्य सिर्जना स्रष्टाले यीभन्दा बाहिर गएर गर्दैन, गर्न सक्तैन । विश्लेषण र मूल्यांकनका प्रतिमान र त्यसका सैद्धान्तिक आधार समालोचनाका निम्ति अनिवार्य मानिन्छ ।
नेपाली कविताको समग्र एवं विहंगम मूल्यांकन गर्ने कुरामा नेपाली समालोचना अझै पनि पछाडि छ । समग्र नेपाली कविताको इतिहास झन्डै पौन तीन सय वर्ष लामो रहेको छ । कविताको लामो इतिहास र यसको विपुल लेखनले व्यापक र सूक्ष्म मूल्यांकनको अपेक्षा गर्नु स्वाभाविक छ । यो अपेक्षा नेपाली समालोचनाले पूरा गर्न सकेको छैन । आधुनिक नेपाली कविताकै समग्र मूल्यांकन हुन सकेको छैन । समकालीन नेपाली कविताका बारेमा त तुलनात्मक रूपमा कम कलम चलाइएको छ।नेपाली साहित्यमा आधुनिक युगको आरम्भसँगै विभिन्न वाद र प्रवृत्ति देखापरे । साहित्यसम्बन्धी आधुनिक चिन्तनका विविध धाराको प्रभाव कवितामा पनि पर्यो ।
स्वच्छन्दतावाद, यथार्थवाद, माक्र्सवाद, अस्तित्ववाद, विसंगतिवाद, मनोविश्लेषणात्मकता लगायत विभिन्न दृष्टिकोण र प्रवृत्तिलाई नेपाली कविताले आत्मसात् ग¥यो । प्रयोगवादी अमूर्त र क्लिष्ट कविता लेखन पनि एउटा कालखण्डमा मौलायो । विभिन्न समालोचना प्रणालीहरू पनि यस अवधिमा देखापरे । पाश्चात्य र पूर्वीय साहित्य चिन्तनमा आधारित रहेर यस अवधिमा प्रशस्त समालोचना लेखिएका छन् । आधुनिक नेपाली समालोचनाका सबल पक्षका साथै कमजोरी पनि छन् । यी कमजोरीले कविता विमर्शको समग्र परिदृश्यलाई प्रभावित गरेको पाइन्छ । यस्ता कमजोरीमा प्राज्ञिक गहिराइ र इमानदारितामा न्यूनता, यान्त्रिकता र स्थुलता, आग्रह र संकीर्णता आदि पर्छन् ।
फलतः समालोचना अपेक्षित रूपमा समृद्ध हुन सकेको पाइन्न । कवितासम्बन्धी विमर्शका सबै रूप यी कमजोरीबाट कुनै न कुनै रूपमा प्रभावित रहेका छन् । कमजोरी रहे पनि आधुनिक नेपाली कवितालाई समृद्ध गर्न समालोचनाले महत्वपूर्ण योगदान दिएको छ । आज नेपाली कविता जहाँ छ, यसमा कवितासम्बन्धी समालोचनाको पनि योगदान रहेको छ । आधुनिक नेपाली समालोचनाले कवितासम्बन्धी विमर्शमा योगदान दिँदैनथ्यो भने आजको कविताको तस्बिर पनि यस्तो हुँदैनथ्यो।समकालीन नेपाली कविता विमर्शका विभिन्न वैचारिक धारा छन् । माक्र्सवाददेखि उत्तर आधुनिकतावादसम्मका विविध विचार समकालीन कविता विमर्शमा सक्रिय पाइन्छन् ।
यिनैबाट समकालीन नेपाली कविता विमर्शको वैचारिक परिप्रेक्ष्यको निर्माण भएको छ । विभिन्न सैद्धान्तिक, वैचारिक कोणहरूबाट समकालीन कवितालाई हेर्ने र आफ्ना धारणा प्रस्तुत गर्ने गरिएको छ । समकालीन नेपाली कविता विमर्शलाई लिएर गम्भीर टिप्पणी पनि हुने गरेका छन् ।
यस्तो टिप्पणी गर्नेहरूमा कवि र पाठकहरू मात्र छैनन्, स्वयं कतिपय समालोचकहरू पनि छन् । विमर्श गम्भीर, व्यापक र सूक्ष्म भएन, यो आग्रही, अनुभवपरक र सङ्कीर्ण भयो, यो समकालीन साहित्यिक परिदृश्यमा विद्यमान गुट–उपगुटबाट प्रभावित रह्यो, यो कविताको सामथ्र्य एवं कमजोरीप्रति त्यति गम्भीर रहेन, यो मूल्यमा आधारित हुन सकेन आदि समकालीन कविता विमर्शलाई लिएर गरिने गम्भीर टिप्पणी हुन्।
समकालीन नेपाली कविता विमर्शलाई लिएर गरिने यी टिप्पणी पूरै अनुचित छैनन् । समकालीन कविता विमर्शमा केही कमजोरी छन् । समालोचनामा रचनाको विश्लेषण र मूल्यांकन त गरिएको पाइन्छ, तर यो सामान्य रूपमा कथ्य आधारित र स्थूल रहने गरेको छ । समकालीन नेपाली कविताको कलात्मक उचाइ, अतीतदेखि यसलाई अलग गर्ने यसको विशिष्ट अनुहार, यसका मौलिक प्राप्तिहरू, यसको जीवनदृष्टि, काव्यदृष्टि र काव्यमूल्य, यसको आन्तरिक जगत् र त्यसलाई प्रकट गर्ने यसको शिल्प सामथ्र्य आदिका बारे समलोचना धेरै गहिरिएको पाइन्न।
कविताका कमजोर पक्षबारे रचनात्मक विमर्श गर्ने कार्य त अझ कम भएको छ । समालोचनामा वैचारिक आग्रह र सङ्कीर्णता मात्र पाइँदैन, डरलाग्दो पक्षपात पनि पाइन्छ । राम्रोलाई राम्रो र कमजोरलाई कमजोर भन्ने साहस निकै कम समालोचकमा देखिन्छ । समालोचना विद्यार्थीकेन्द्रित मात्र छैन, यान्त्रिक र निरस अनुभव हुने गरी फर्मेटबद्ध पनि छ । विश्वविद्यालयसँग सम्बन्धित कतिपय समालोचकहरूका सन्दर्भमा विख्यात भारतीय कवि एवं चिन्तक मुक्तिबोधको ‘युनिभर्सिटीका डाक्टरहरूको जडता दर्शनीय र प्रदर्शनीय छ’ भन्ने भनाइको सम्झना हुन्छ।
कमजोरीहरू कवि र पाठकमा पनि छन् । स्रष्टाबाट विमर्शमा पुगेको योगदानको प्रशंसा पनि गरिनुपर्छ, तर उनीहरूका कमजोरीप्रति दृष्टि पनि पुर्याउनुपर्छ । आग्रह, संकीर्णता, सतही अध्ययन, असन्तुलन, वस्तुनिष्ठताको अभाव, प्रभाव एवं अनुभवपरकताको प्रधानता आदि जस्ता कमजोरी कविमा पनि पाइन्छन् । कैयौँ कविहरूको विमर्शसम्बन्धी दृष्टिकोण आफ्नाबारेमा केही लेखिएको छ कि छैन, लेखिएको छ भने कस्तो लेखिएको छ भन्ने कुराबाट प्रभावित रहने गरेको छ । समकालीन विमर्श र कविताबारेका उनीहरूका टिप्पणीलाई नै दृष्टान्तका रूपमा प्रस्तुत गर्न सकिन्छ।
आज कतिपय कवि एवं टिप्पणीकारले समकालीन नेपाली कविता देवकोटा, रिमाल, भूपि आदिभन्दा अघि बढ्नै सकेन, यो उनीहरूको प्रभावबाट मुक्त हुनै सकेन, यो अघिल्तिर होइन, ह्रासोन्मुख दिशातिर जाँदै छ, यसको आफ्नो मौलिक वा विशिष्ट अनुहार नै छैन, यो अतिवादको सिकार छ, आदि जस्ता विचार व्यक्त गरेको पाइन्छ । यस्ता टिप्पणीहरू वस्तुगत होइन, बढी भावनात्मक छन् र यथार्थबाट टाढा पाइन्छन् । यिनै कमजोरीका कारण स्रष्टाबाट पनि रचनात्मक विमर्शको परिदृश्य निर्माणमा अपेक्षित योगदान पुग्न सकेको देखिन्न । पाठकबारे धेरै टिप्पणी गर्न उचित हुन्न तर उनीहरू पनि आफ्ना टिप्पणीप्रति गम्भीर हुनुपर्छ।
विमर्श प्राज्ञिक गतिविधि हो । विमर्श आफ्नो समयमाथिको बौद्धिक हस्तक्षेप पनि हो । गहिरो अध्ययन, बौद्धिक इमानदारिता, आलोचनात्मक चेतना, विश्लेषणात्मकता, वस्तुनिष्ठता, आग्रह र संकीर्णताबाट मुक्त, रचनात्मक शैली र प्रस्तुति आदि सार्थक विमर्शका अनिवार्य तत्व हुन् । उपलब्धिमूलक कविता विमर्शका निम्ति यी सबै कुरा आवश्यक छन् । यिनै कुराको कमीले आजको कविता विमर्श अपेक्षित रूपमा गम्भीर हुन सकेको पाइन्न । गम्भीर विमर्शको अपेक्षा त गरिन्छ, तर यसका निम्ति चाहिने आवश्यक कुराको आत्मसात्मा ध्यान दिइँदैन।
समकालीन कविता विमर्शमा रहेका कमजोरीलाई हटाउन र यसलाई अझ उपलब्धिमूलक बनाउन समालोचक, कवि एवं पाठक गम्भीर हुन आवश्यक छ । सर्वप्रथम समालोचकहरू आफ्ना कमजोरीप्रति गम्भीर हुनुपर्छ । विमर्शलाई खँदिलो बनाउने खँदिलो समालोचनाले नै हो । कविता विमर्शमा समालोचकको विश्वसनीयतामा कमी आएकै कारण आजको सिर्जनात्मक एवं विमर्शात्मक परिदृश्यमा अनेकौँ असंगति देखापरेका हुन्।
समालोचनामा रचनाको गुणदोषबारे मात्र चर्चा गरिन्न, समकालीन यथार्थ, कविताका समग्र पक्ष एवं सिर्जनशीलता आदिका बारेमा पनि चर्चा गरिन्छ । गहकिलो समालोचनाले विमर्शलाई उचाइ प्रदान गर्छ र विमर्शका नाममा प्रस्तुत हुने त्रुटिपूर्ण दृष्टिकोणलाई सच्याउन र माझ्न पनि योगदान दिन्छ । समालोचक र स्रष्टाबीचको सघन विमर्शात्मक संवादबाटै सिर्जनालाई नयाँ उचाइ र सौन्दर्य पनि प्रदान गर्न सकिन्छ । समालोचनालाई समालोचनाजस्तो बनाउन आग्रह र संकीर्णताबाट मुक्त हुन जरुरी छ । आग्रह एवं संकीर्णता समालोचनाका निम्ति विजातीय तŒव हुन् । वैचारिक भिन्नता र आग्रह एउटै कुरा होइनन् । संकीर्णता पनि मूलतः वैचारिक भिन्नता र वैयक्तिक आग्रहसँग जोडिने गरेको छ।
समालोचकीय दायित्व निर्वाहका निम्ति समालोचकीय इमानदारिता चाहिन्छ । गहिरो प्राज्ञिकता र प्रौढता पनि सन्तुलित र गम्भीर समालोचनाका निम्ति आवश्यक छन् । अत्यन्त यान्त्रिक रूपमा फर्मेटबद्ध गरिएको समालोचना पनि आजको समालोचना लेखनको एउटा कमजोरी हो । कविता समालोचनामा कविताको कथ्य र रूपको स्थुल अध्ययन विश्लेषण बढी भएको छ । कविताको सामथ्र्य र कमजोरीलाई उधिन्ने काम पनि त्यति भएको छैन । आलोचना गर्दा आउने अप्ठेराको सामना गर्ने साहस पनि समालोचकमा कम पाइन्छ । समकालीन नेपाली कविताका विविध विशेषताबारे चर्चा त भएको छ, तर अतीतभन्दा यो कहाँनेर विशिष्ट छ भन्ने विषयमा चर्चा निकै कम भएको छ । कतिपय समालोचक व्यावसायिक छन्।
बजार, मिडिया, प्रकाशक र स्रष्टा मिलेर सिर्जना र विमर्शलाई बजारको मातहत ल्याइन्छ । समकालीन कविता विमर्श र सिर्जनामा यसको प्रभावलाई रेखांकित गर्न सकिन्छ । कमजोर स्तर भएका कृति चर्चामा आए स्तरीय कृति पछाडि पर्छन् । गम्भीर विमर्शबाटै यस स्थितिमाथि हस्तक्षेप गर्न सकिन्छ ।
यसले समालोचना कर्मलाई गम्भीर रूपमा प्रभावित गरेको छ । आजभोलि समालोचना साहित्य उद्योगको जनसम्पर्क विभागको अङ्ग बनेको छ भन्ने प्रख्यात बेलायती समालोचक टेरी इगल्टनको भनाइ यस सन्दर्भमा मननीय छ । इगल्टनले समालोचनालाई शिक्षण संस्थाहरूको आन्तरिक विषय बनाइयो भनेर पनि तिखो टिप्पणी गरेका छन् । इगल्टनको भनाइ हाम्रा सन्दर्भमा पनि लागू हुन्छ । समय बदलिएको छ, सामाजिक यथार्थ बदलिएको छ, कविताको स्वर र शिल्पमा पनि नवीनता थपिएको छ । समालोचनाले समग्र परिप्रेक्ष्यसहित व्यापक र सूक्ष्म रूपमा यसको अध्ययन विश्लेषण गर्न सकेको छैन।
कविता विमर्शमा वैचारिक दृष्टि एवं पद्धतिका हिसाबले विमर्शका विविध धारा छन् । वैचारिक विविधता समस्या होइन, समस्या समालोचकीय इमानदारिता, दायित्व, प्रतिबद्धता, बौद्धिकता, रचनात्मकता र संवेदनशीलतामा आएको ह्रास हो । वैचारिक भिन्नता सधैँ रहन्छन् र यसलाई स्वाभाविक रूपमा लिइन्छ । यी कुरामा गम्भीर भइएन भने समालोचनाको स्तरलाई माथि उठाउन सकिनेछैन । कविहरू पनि आफ्ना कमजोरीलाई नियाल्न र त्यसप्रति संवेदनशील हुन आवश्यक छ । उनीहरूको विमर्शको आधार आफू होइन, कविता विमर्शको समकालीन तस्बिर र त्यसका सबल दुर्बल पक्ष बन्नुपर्छ । विमर्शमा सहभागी सबै पक्षबीचको रचनात्मक संवाद आजको आवश्यकता हो।
यसका निम्ति आफ्ना कमजोरीको समीक्षा जरुरी छ । स्तरीय एवं बहुआयामिक कविता विमर्शसँग समकालीन नेपाली कविताको वर्तमान र भविष्य जोडिएको छ । आज बजार अतिवादको विकास भएको छ । यसको प्रभाव साहित्यमा पनि परेको छ । साहित्य सिर्जना एवं विमर्श यसबाट कुनै न कुनै रूपमा प्रभावित हुँदै छन् । बजार काव्य मूल्य होइन, बजार मूल्य हेर्छ । बजार, मिडिया, प्रकाशक र स्रष्टा मिलेर सिर्जना र विमर्शलाई बजारको मातहत ल्याइन्छ । समकालीन कविता विमर्श र सिर्जनामा यसको प्रभावलाई रेखांकित गर्न सकिन्छ । कमजोर स्तर भएका कृति चर्चामा आए स्तरीय कृति पछाडि पर्छन् । गम्भीर विमर्शबाटै यस स्थितिमाथि हस्तक्षेप गर्न सकिन्छ।
समकालीन नेपाली कविताकोे आफ्नो निजता छ तर यो परम्परासँग जोडिएको पनि छ । यो कथ्य र शिल्पका दृष्टिले वैविध्यपूर्ण छ । समकालीन नेपाली कविताको ठूलो हिस्सा समाजसँग गहिरो गरी जोडिएको छ । यसमा जीवनको स्पन्दन पाइन्छ । यसको आँखामा परिवर्तनको स्वप्न एवं सत्यम्, शिवम् र सुन्दरम्को आग्रह छ । यसका कमजोरी पनि छन् । कविता कमजोरी मुक्त कहिल्यै रहेन, आज पनि छैन, भोलि पनि हुने छैन । यसैकारण गम्भीर काव्य विमर्शको खाँचो सधैँ पर्छ र यसलाई महत्व प्रदान गरिन्छ । गम्भीर विमर्शका निम्ति विमर्शमा रहने कमजोरीबाट मुक्त हुन जरुरी छ । गम्भीर विमर्शको कुरा गर्ने तर यसका निम्ति आवश्यक प्रयत्न नगर्ने हो भने यसको कुनै अर्थ रहन्न । आजको आवश्यकता अझ गम्भीर र व्यापक विमर्शका निम्ति इमानदार प्रयत्न गर्नु हो । मलाई लाग्छ, यस्तो प्रयत्न सम्भव छ र गर्न सकिन्छ।
प्रकाशित: १२ फाल्गुन २०७४ ०१:२३ शनिबार