२६ असार २०७७ शुक्रबार
अन्य

हलेसी हुँदै रुपाकोट

रूपाकाेट र हलेसीधाम (तल) ।

पछिल्ला केही वर्षदेखि बर्सेनी लाखौं नेपालीले हलेसी दर्शन गर्न थालेका छन् । मोटर बाटो जोडिएसँगै पूर्वको पवित्र भूमीमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । केही समय अघि जयरामघाटमा पक्कि पुल बनेकाले यात्रा झन् सहज भएको छ ।
हलेसीधाम त्रिधार्मिक संगम मानिन्छ । हिन्दुका भगवान शिव लुकेको ठाउँ, बौद्धमार्गीका गुरु पद्मसंभवले सिद्धि प्राप्त गरेको भूमी र किराती सभ्यतासँग जोडिएको ठाउँ भएकाले साझा तीर्थका रुपमा यसको महिमा ठूलो छ । तिर्थालु आ–आफ्ना आस्था र विश्वास अनुसार त्यसमा श्रद्धा दर्शाउँछन्।  

हलेसीमा सामान्यदेखि अत्याधुनिक सुविधाका दर्जनौं होटल खुलिसकेका छन् । हलेसीको शिरानमा तुवाचुङ डाँडा छ । डाँडासँग किराती आदि पूर्खा रैछाकुले, तोयामा र खियामाको जीवनकथा जोडिएका छन्।  

हलेसी पुग्ने लाखौं पर्यटक मध्ये थोरै मात्रै तुवाचुङ उकालो चढ्छन् । तिर्थालुलाई तुवाचुङ मात्रै होइन, खोटाङ सदरमुकाम दिक्तेलसम्म लोभ्याउन सकिने केही सम्पदा छन् । खोटाङले आफुसँग भएका सम्पदाको राम्रो प्रचार गर्न सक्नु पर्छ ।  

पुस तेस्रो साता पूर्वमा नयाँ पदमार्ग ‘मुन्दुम ट्रेल’ एक्सप्लोर गर्ने सिलसिलामा हामी हलेसी दर्शन गरेर साँझ दिक्तेल पुगेका थियौं । हामीले भोजपुरको चखेवा भञ्ज्याङबाट मैयुङ, साल्पा पोखरीदेखि सिलिचुङसम्मलाई मुन्दुम पदमार्गका रुपमा एक्सप्लोर गरेका छौं । मुन्दुम मार्गको उद्धेश्य दिक्तेलबजार, रुपाकोट र टेम्केजस्ता ठाउँ प्रवद्र्धन गर्नु पनि हो।


हिउँ कम भएता पनि टलक्क टल्केका थिए ती । मायालुका आँखामा आँखा जुधाएझैं एक तमासले निकैबेर हिमाललाई हेरिरह्यौं हामीले।

हाम्रो टोलीको नेतृत्व मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले गरेका थिए । टोलीमा पर्यटनविज्ञहरु पवन शाक्य, शुरेन्द्र राना, इन्सु राई, मोहन राई, श्याम सामसुङ राई लगायत थियौं । दिक्तेलको होटल इन्द्रेनीमा रात बिताएपछि बिहान हामी रुपाकोट लाग्यौं।

दिक्तेल बजारबाट उत्तरमा ठिँग उभिएको रुपाकोट (२,६२६ मिटर) । बजारबाट ७ किमि दुरीको मुडेसम्म मोटर बाटो छ । हामी त्यहाँसम्म जीपमा गयौं । त्यहाँबाट स्थानीय फुरु  शेर्पाको पछि पछि उकालो चढ्यौं । त्यसो त तल बजारबाट हामीलाई स्थानीय अगुवा दानबहादुर राई र विकास राईले पनि साथ दिएका थिए।

डाँडाबाट कमलो सूर्यको स्वागत गर्ने हाम्रो रहर । मुडेमाथि जंगल नपुग्दै सूर्यनारायण झुल्किए । उसिनेको आलुका बोक्रा छोड्याउँदै हामीले तिनको दर्शन ग¥यौं । गायक एवं डकुमेन्ट्री मेकर श्यामजी गोप्रो बोकेर अघि नै उकालो चढिसकेका थिए, उनले त झन् सूर्यको दर्शनै पाएनछन् । सूर्य उदाउँदा घना जंगल बीचमा परेछन् !  

बिहानी चिसो हावामा उकालो चढ्यौं हामी । दोलखाको साँध मुडेमा जस्तै यहाँको मुडेमा पनि आलु फल्दो रहेछ । शेर्पा दाईका अनुसार गाउँमा शेर्पाका ३० र तामाङका ४० घर छन् । खेतीपाती उनीहरुको मुख्य पेशा ।जंगल छिचोलेर हामी चिहान डाँडा पुग्यौं । त्यहाँ माने ठडिएका थिए । अलिक पर्तिर रुपाकोटका भग्नावशेष भेटियो । शेर्पा दाईले लौरोले ढुँगा औंल्याए–‘यहाँ पहिला गढी थियो, त्यसकै ढुँगा हुन् यी।’

ऐतिहासिक महत्व बोकेको गढी संरक्षण गर्नु पर्ने देखिन्छ । साथै इतिहासको राम्रो खोजविन गरी प्रकाश पार्नु पर्छ । त्यहाँ किरातीे उभौलीमा ढोल र झाम्टासहित साकेला नाच्ने रहेछन्।

तिनै शेर्पा दाईले हामीलाई झण्डा डाँडामा पु¥याए । डाँडामा मनोकामना पुरा होस् भनेर रंगविरंगका झण्डा गाड्ने चलन । त्यहीँ पुगेपछि मात्रै हामीले यो कुुरा थाहा पायौं, त्यसैले केही चढाउन सकेनौं । मनमनै झण्डा चढाएँ मैले, कुनै मनोकामना नगरी ।
झण्डा डाँडाबाट हिमालको लामो लर्कन देखियो । दुई दशकदेखि कहिले पर्यटकका अघि  त कहिले पछि हिँड्दै आएका मित्र इन्सुले हिमाल नचिन्ने कुरै भएन । उनले औंला सोझ्याए,–दुधकुण्ड, कार्यालुङ, क्वाङ्दे, चोयु, क्यासर, मेरा पिक, खाङतेगा, मकालु, सगरमाथा, ल्होत्से, नुप्से आदि।

हिमालमा हिउँ कम भएता पनि टलक्क टल्केका थिए ती । सेता हिमालमा आँखा ठोक्किँदा आँखा रसाए । मायालुका आँखामा आँखा जुधाएझैं एक तमासले निकैबेर हिमाललाई हेरिरह्यौं हामीले ।
साँच्चै रुपाकोट पूर्वको सराङकोट रहेछ ! पूर्वको नगरकोट रहेछ !
मन प¥यो रुपाकोट । रमेशजी भन्दैथिए, ‘सुन्दर दृश्य देखिने डाँडा भएकाले यसको नाउँ रुपाकोट भएको ।’
बास्तविकता के हो भनेर शेर्पा दाईलाई सोधें । उनले सुनाए–‘उहिल्यै यहाँ रुपा नाउँकी महिलाको गोठ थियो । त्यही भएर पनि रुपाकोट भनिएको।’

जे भए पनि रुपाकोट चरन क्षेत्र रहेछ । गाइभैंसी, भेडाबाख्रा चराउने ठाउँ । हिँड्दा हिँड्दै हामीले त्यहाँ नाइन होलको गल्फ कोर्स बनाउन सकिने संभावना केलायौं । त्यो भन्दा बढी यति शान्त ठाउँलाई योग र ध्यान केन्द्रका रुपमा विकास गर्न सके कस्तो होला !  
मझुवागढी नगरपालिका–२ मा पर्छ रुपाकोट । यसलाई दिक्तेल, नेर्पा, खार्मी, पाथेका, जाल्पा, बामराङ, हौंचुर, कुविण्डे, नुनथलाको शिरानी हो । बर्खामा रुपाकोट क्षेत्रमा गाइडिँगा चराइन्छ । डाँडाका अग्ला रुखले हिमाल छेकिँदो रहेछ । त्यसैले नगरपालिकाले एउटा टावर बनाइदिए राम्रो हुन्छ । टावरको एक तलामा सुत्ने कोठा समेत व्यवस्था गर्न सके ती महँगोमा बिक्रि हुने थिए।   

अचेल दिक्तेलबासीको पिकनिक जक्सन बनेको छ रुपाकोट । ‘५० सालमा जन सेवा नेपालले यहाँ पिकनिक मनाउन सुरु गरेको हो’, सहयात्री दानबहादुरले प्रस्टयाए, ‘अचेल नयाँ वर्षमा खुट्टा टेक्ने ठाउँ हुँदैन ।’ मान्छे बढ्दै जाँदा व्यवस्थित गर्न सकेन भने फोहर थुप्रिंदै जान्छ । हामीले नगरपालिकाका प्रतिनिधिलाई यहाँ प्लाष्टिक र बोतल निषेध गर्न सुझायौं । बेलैदेखि फोहर व्यवस्थापनमा ध्यान पु¥याउन आग्रह ग¥यौं।

ओरालो झर्ने बेला साथीहरुले हामीलाई जोगीको कुटीमा पु¥याए । ढुँगाको ककारोमा कोठा बनाइएको रहेछ । त्यहाँ पहिले एकजना जोगी बस्थे रे–बाक्सिला गाउँका शेरबहादुर तामाङ । तिनीसँग हात हेराई माग्ने चलन थियो । शेर्पा दाईले ती जोगीका बारेमा रोचक किस्सा सुनाए । ‘जोगी कहिले बाघ त कहिले सर्प बनेर बस्थे । उनको दर्शनमा आउँदा तलैबाट सुसेला हाल्दै आउनु पथ्यों । त्यसरी सुसेल्दा उनी जुन रुपमा भएका भए पनि जोगीको भेषमा फर्किन्थे।’

दुःख, बिमार पर्दा उनीसँग हात हेराउने चलन थियो । कुटी क्षेत्रमा बौद्धमार्गीले लुङदार र धज्र्यू फर्फराएका छन् । ककारोभित्रको कुटीमा देवदेवीका मूर्ति छन् । शान्त अनि एकान्त ठाउँमा । रुपाकोट राम्रो पर्यटन गन्तव्य बन्न सक्छ । दिक्तेलबासीको गौरब–रुपाकोट । हिमाल हेर्न र तन एवं मनलाई चंगा बनाउन रुपाकोट यात्रा उपयुक्त छ । चराको चिरबिर र जंगली जनाबरको आवाजले पनि मोहित बनाउँछ।

रुपाकोट–मझुवागढी नगरपालिकाले डाँडाको जैबिक विविधता नमासिने गरी पर्यटन गुरु योजना बनाउने बेला भैसक्यो । अनि वातावरणमैत्री रिसोर्ट खोलेर मार्केटिङमा जोड दिइहाल्ने कि ! तत्कालका लागि मुडे गाउँका तामाङ र शेर्पाका घरमा होमस्टे सुविधा दिलाउन सकिन्छ ।
कसरी पुग्ने : काठमाडौं –दिक्तेल २६५ किमि । चाबहिलबाट कोटेश्वर हुँदै दिक्तेलसम्म बस तथा जीप चल्छन् । बस यात्रा ११ घन्टा । दिक्तेल बजारबाट हिँडेर जाँदा अढाई घन्टामा रुपाकोट ।

हाम्रो गौरब


दीपनारायण रिजाल
प्रमुख, रुपाकोट–मझुवागढी नगरपालिका
रुपाकोट हाम्रो गौरब हो । हलेसी आइपुग्ने पर्यटकलाई रुपाकोट र मझुवागढीसम्म तान्ने हाम्रो योजना छ । हामी हलेसीमा एउटा हेल्प डेस्क राख्दैछौं । साथै होर्डिङ बोर्ड, ब्रोसर र प्रोमो पनि बनाउँछौं । रुपाकोटलाई पर्यटकीय गन्तव्य बनाउन आबश्यक पूर्वाधार विकासका लागि पहल गर्नेछौं।          

 

प्रकाशित: २७ माघ २०७४ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App