– रोशन दाहाल
महिनावारी एउटा सहज र वैज्ञानिक प्रक्रिया हो, तर यसलाई शास्त्रसँग जोडेर पूर्वजन्मको नराम्रो कर्मको फल हो भन्ने गरेको पाइन्छ । शास्त्रहरूमा महिनावारीका विषयमा विभिन्न घटना उल्लेख भएका पाइन्छ, तर कतै पनि यस अवस्थालाई पाप भने भनिएको छैन ।
भागवतमा महिनावारी सुरु भएको विषयमा एउटा कथा छ –
देवताहरूका गुरु थिए वृहस्पति । एकपटक उनी इन्द्रसँग रिसाएका थिए । त्यही बेला असुरहरूले इन्द्रको राज्यमा आक्रमण गरे । इन्द्र असुरहरूबाट मुक्ति पाउने उपाय खोज्दै ब्रह्माकहाँ पुगे । कुनै ब्रह्मज्ञानीको सेवा गर्ने हो भने गुरु वृहस्पति खुसी हुने र असुरहरूबाट मुक्त हुने उपाय मिल्ने सल्लाह ब्रह्माले इन्द्रलाई दिए ।
इन्द्रले एक ब्रह्मज्ञानीको सेवा गर्न थाले । एक दिन उनले ती ब्रह्मज्ञानीकै हत्या गरिदिए । इन्द्रले यसरी हत्या गर्नुको कारण थियो, ब्रह्मज्ञानीकी आमा ।
ब्रह्मज्ञानीकी आमा असुर थिइन् । उनको र ब्रह्मज्ञानीको असुरहरूप्रति विशेष राग थियो । ब्रह्मज्ञानीले देवताका लागि चढाइने हवनका सामग्री असुरलाई चढाइरहेका थिए । यस्तो देखेपछि इन्द्रले सहन सकेनन् र ब्रह्मज्ञानीको हत्या गरिदिए । आफूले गुरु मानेर सेवा गरिरहेका ब्रह्मज्ञानीको हत्या गरेपछि इन्द्रलाई ब्रह्महत्याको पाप लाग्यो । त्यस पापले दुःख दिन थालेपछि इन्द्र एउटा फूलभित्र लुकेर विष्णुको तपस्या गर्न थाले । विष्णुको कृपा पाएर उनी पापको दुःखबाट मुक्त भए । ब्रह्महत्याको पापबाट मुक्त हुन भने अझै सकेनन् ।
आफ्नो शिरबाट पाप हटाउनका लागि उनले रूख, पानी, जमिन र महिलालाई आफ्नो पापको अलिअलि भाग लिन आग्रह गरे । पापको अलिकति भाग लिएको बदलामा इन्द्रबाट बरदान पाउने शर्तमा इन्द्रको प्रस्ताव सबैले स्वीकार गरे ।
इन्द्रको पाप लिएका कारण यी सबैमा एकएक वटा अवगुण देखियो । केही भूमिमा उब्जनी नहुने अवस्था, रूखबाट निस्कने खोटो, पानीको फिँज र स्त्रीमा रज देखिन थाल्यो ।
इन्द्रले सबैलाई एकएक वटा वर दिए । जसअनुसार रूख काटिएको अवस्थामा पनि आफैँ जीवित हुने, पानी सधैँ पवित्र हुने र उब्जनी नहुने भूमि फेरि उब्जाउयुक्त बन्ने भयो ।
उनले महिलालाई दिएको वर थियो, ‘महिलाले पुरmषहरूको तुलनामा कैयौँ गुणा धेरै कामको आनन्द लिनेछन् ।’
हिन्दू शास्त्रले यस समयमा महिलालाई यी कुरा नगर्न भनेको छ–
१. धार्मिक कार्य नगर्नू ।
२. भोजन नबनाउनू ।
३. पतिसँग सम्बन्ध नराख्नू ।
४. मन्दिर नजानू ।
८ गुरु र आफूभन्दा ठूला मानिसको नजिकै नजानू । उनीहरूको चरणस्पर्श नगर्नू ।
यस मान्यताकै आधारमा महिलालाई अहिलेको समयमा अछूतको जस्तो व्यवहार गर्नु गलत हो ।
शास्त्रले महिनावारीका बेला महिला अपवित्र हुने भएकाले यी पवित्र मानिने कार्य नगर्नू भनेको मात्रै हो । यो बेला महिला शारीरिक र मानसिक रूपमा कमजोर हुने भएकाले समाजमा व्यवस्था मिलाउनका लागि शास्त्रमा यस अवस्थालाई अपवित्रताको संज्ञा दिइएको हुन सक्छ । हुन पनि त्यो समय नियमकानुन भनेकै शास्त्र थियो । महिला कसरी महिनावारी हुन्छन् भन्ने कुराको वैज्ञानिक व्याख्या थिएन । महिनावारीका बेला अधिकांश महिलालाई कष्ट हुन्छ भन्ने कुरा मात्रै थाहा थियो । सायद महिलालाई यस्तो समयमा आराम होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको होला ।
अर्को कुरा, त्यस बेला महिलामा भित्री वस्त्र लगाउने चलन थिएन । महिनावारीको समयमा जथाभावी फोहोर हुने सम्भावना हुन्थ्यो । यस्तो अवस्थामा महिनावारी अवधिभर एकान्तमा बस्ने नियम बसेको हुन सक्छ । पछि त्यही प्रथा समयक्रममा पापका रूपमा जोडिएको हुन सक्छ ।
महिनावारीका बेला भित्र दबिएका भाव बाहिर निस्कने भएकाले एकान्तमा बसेर आध्यात्मिक अभ्यास गर्न सके भावलाई जरैदेखि फाल्न सकिन्छ भन्ने हिसाबमा पनि एकान्तबासको प्रथा चलाइएको हुन सक्छ ।
महाभारतमा एउटा प्रसङ्ग आउँछ । जसअनुसार युधिष्ठिरले जुवाको खालमा आफ्ना सबै चीज हारेपछि द्रौपदीलाई दाउमा लगाउँछन् र त्यो पनि हार्छन् । दुर्योधनले द्रौपदीलाई लिन दुशासनलाई पठाउँछन् । त्यस बेला द्रौपदी महिनावारीको अवस्थामा हुन्छिन् । उनी एकसरो लुगा लगाएर छुट्टै कोठामा बसिरहेकी हुन्छिन् ।
द्रौपदीलाई दुशासनले घिसार्दै जुवाको खालमा ल्याउँछन् । द्रौपदीले आफ्नो समस्या बताउँछिन् तर दुशासनले उनको कुरा सुन्दैनन् । यसबाट महिनावारी भएको समयमा पुरmषले छुन तथा हेर्न नहुने चलन थिएन कि भनेर अनुमान लगाउन सकिन्छ ।
अर्को एउटा रोचक प्रसङ्ग छ यस विषयमा–
आसामको पश्चिम गुवाहटीस्थित नीलाञ्चल पहाडमा कामाख्या देवीको मन्दिर छ । शास्त्रहरूमा व्याख्या भएअनुसार त्यस ठाउँमा शिवले सतीको मृत शरीरलाई बोकेर लेजाने क्रममा सतीको शरीरबाट पाठेघर खसेको थियो । यस मन्दिरलाई महाशक्तिपीठ मानिन्छ र योनिको पूजा गरिन्छ ।
महिनाको तीन दिन देवीको मासिक धर्म हुने भन्दै मन्दिर प्रवेशमा निषेध गरिन्छ । मासिक धर्म हुने समय पञ्चाङ्गका आधारमा निकालिन्छ । मासिक धर्म सकिएको दिन मन्दिरको ढोका खोलेर सफाइ गरिन्छ ।
तीन दिनसम्म देवीको मन्दिरबाट रातो तरल पदार्थ बाहिरसम्मै बग्ने र ब्रह्मपुत्र नदीसमेत रातो हुने विश्वास गरिन्छ । देवी रजस्वला भएकै कारणले नदी रातो भएको मानिन्छ । पीठनजिकैको नदीको रातो पानी भक्तजनलाई प्रसादका रूपमा बाँडिन्छ । पानीमा भक्तजनले नुहाउने पनि गर्छन् । यस मन्दिरमा देवीको योनिको पूजा गरिन्छ । योनिको स्वरूपमा रहेको ढुङ्गा सधैँ ओसिलो रहन्छ । अचम्मको कुरा त उक्त मन्दिरमा महिनावारी भएका महिलाले भने प्रवेश पाउँदैनन् ।
मान्छेमा लागू हुने कुरा देवीमा लागू नहुने मान्न सकिए पनि यसबाट महिलाको महिनावारी पाप होइन भन्ने कुरा स्पष्ट हुन्छ । महिलाले प्रवेश नपाउने नियम पछि लगाइएको बुझ्न सकिन्छ ।
केही हिन्दू समुदायमा महिनावारीलाई पर्वको रूपमा पनि मनाइन्छ । उनीहरूलाई दूधले नुहाइदिएर नयाँ लुगा लगाइने चलन छ ।
महिनावारी र शारीरिक पीडा
महिलामा गर्भाधान नभएका डिम्बहरू योनिबाट बाहिर निस्कन्छन् । यही प्रक्रिया नै महिनावारी हो । यो बेला हर्मोनहरूको नियन्त्रणमा टुक्रिएका टुक्रा योनिमार्ग हुँदै रगत बग्ने गर्छ । यो प्रक्रिया पाठेघरको भित्री तहमा हुन्छ ।
महिनावारी भएको अवस्थामा करिब ९० प्रतिशत महिलामा पीडा हुने गरेको तथ्य बाहिरिएको छ । यो बेला उनीहरूले आराम गर्नुपर्ने कुरा आधुनिक विज्ञानले भन्छ । यो बेला विभिन्न संक्रमणको खतरा पनि रहेको हुन्छ ।
प्राचीनकालमा महिनावारी हुँदा महिलालाई कुनै गोप्य स्थानमा राखिन्थ्यो । यस अवस्थामा उनीहरूले एकसरो वस्त्र मात्रै लगाउँथे । आफैँ पकाएर खान्थे ।
महिनावारीको अवधि महिलाका लागि कठिन समय हुन्छ । शरीरबाट विषाक्त पदार्थ निस्किएका कारण शरीरमा केही भिटामिन र मिनरल्सको कमी हुन्छ । यसले गर्दा शरीरमा कमजोरी, रिंगटा लाग्ने, पेट र कम्मर दुख्ने आदि समस्या देखिन सक्छ ।
महिनावारी र मनोविज्ञान
मनोविज्ञानले भन्छ, यो बेला महिला बढी तनावमा हुन्छन् । उनीहरूको अनुहारमा थकानको अनुभव हुन थाल्छ । केही महिलामा तनाव, चिडचिडाहट आदि समस्या पनि हुन्छ । उनीहरू छिट्टै भावुक बन्छन् । उनीहरूलाई आफू मानसिकरूपमा पनि कमजोर भएको अनुभव हुन्छ । त्यसैले नराम्रा कुराले छिटो समात्न सक्छ । भनिन्छ, यस समयमा महिलाको शरीरबाट केही विशेष प्रकारको तरङ्ग निस्कन्छ ।
यिनै तथ्यलाई त्यस बेलाकै शैलीमा बुझेर शास्त्रले महिलालाई धर्मको बहानामा आराम गर्ने नियम बनाइदिएको अनुमान गर्न सकिन्छ ।
भागवतको कथाअनुसार महिनावारी पाप नभई महिलामा पनि पानी, जमिन र रूखजत्तिकै नराम्रो कुरालाई पनि शुद्ध गर्न सक्ने क्षमता हुन्छ भनेर बुझ्न सकिन्छ ।
शास्त्रले महिनावारीको समयमा विभिन्न नियम लगाएको छ भने त्यो पक्कै पनि महिलाकै हितका लागि हो । यस अवस्थालाई पाप–धर्मका रूपमा हेरिनुपर्छ भन्ने हुँदैन ।
महिनावारी र अध्यात्म
शास्त्रमा महिनावारी भएको पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भनिएको पाइन्छ ।
यसको अर्थ महिनावारीको समयमा महिला यस्तै हुन्छन् भनिएको होइन । चण्डाल्नीकै जसरी सम्हाल्न गाह्रो हुने गरेर भित्रबाट नकारात्मक भाव निस्कन्छ भनिएको हो ।
महिनावारीको दोस्रो दिन अन्य दिनभन्दा बढी नकारात्मक भावले दुःख दिन्छ । त्यसैले यो दिन अन्य दिनभन्दा विशेष सावधानी अपनाउनुपर्छ ।
अध्यात्मले भन्छ, महिनावारीको समयमा महिलाको सुषुप्त अवस्थामा रहेको संस्कार बाहिर निस्कन्छ । यो बेला एकान्तमा बसेर बाहिर निस्किरहेको भावलाई तटस्थ भएर हेर्न सक्ने हो भने उनीहरू आध्यात्मिक स्तरमा निकै माथि पुग्न सक्छन् । यसरी आफ्नो भाव निकाल्नका लागि एकान्तबास सहयोगी हुन्छ ।
अहिले छाउपडीका नाममा महिलालाई असुरक्षित गोठमा राखिने गरेको पाइन्छ । यो गलत चलन हो । महिनावारीको समयमा दैनिक कार्यबाट विश्राम लिएर परिवारकै रेखदेखमा सुरक्षित तरिकाले एकान्तमा रही साधना अभ्यास गर्ने हो भने चाहिँ महिनावारी सकिँदाको समयमा उनीहरू धेरै हदसम्म दबिएको भावबाट मुक्त हुन सक्छन् ।
भविष्योत्तर पुराणमा एउटा कथा आउँछ । कथाअनुसार सुमित्र नाम गरेको एक ब्राह्मण हुन्छ । उसकी जयश्री नाम गरेकी श्रीमती हुन्छिन् । जयश्रीले मासिक धर्मको नियम पालना गर्दैनथिइन् । यसैको फलस्वरूप एक जन्ममा उनी कुकुर र अर्को जन्ममा गोरु भएर जन्मिन्छिन् ।
यही धार्मिक प्रसङ्गका आधारमा हिन्दू महिलाले महिनावारीका बेलामा भएको दोषलाई हटाउन ऋषिपञ्चमीका दिन पूजाआजा गर्ने गर्छन् ।
अहिलेको समयमा महिनावारीको समयमा पनि महिलाले अन्य बेलाकै जस्तो काम गर्नुपर्ने अवस्था छ । छुन नहुने भनिएको कुरा छोइएको कारण उनीहरूको भित्री मनमा दबिएको संस्कारका कारण आत्मग्लानि या डरको भावले डेरा जमाएको हुन सक्छ । यस्तो भावलाई हटाउनका लागि ऋषिपञ्चमीका दिनको पूजाले ठूलो भूमिका खेल्छ । पूजा गर्दा सबै दोष पखालिने विश्वासले उनीहरूको यस्तो भाव हटाउन सहयोग गर्छ । सायद यही विषयलाई बुझेर ऋषिपञ्चमीको परिकल्पना गरिएको हुन सक्छ ।
विभिन्न धर्मको मासिक धर्मबारेको दृष्टिकोण
बौद्ध – बौद्ध धर्मका अनुसार महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । कुनै भिक्षुणी महिनावारी भइन् भने आफ्नो लुगा धोएर लगाएमा कपडा फेरि पवित्र हुन्छ भनिएको छ ।
ईसाई – ईसाई धर्ममा पहिलापहिला महिनावारीको समयमा महिलालाई धार्मिक कार्यमा भाग लिन दिइँदैन थियो । पछि बिस्तारै मानिसको विचार बदलिँदै गयो र अहिले महिनावारीको समयमा पनि महिलालाई चर्चमा जाने अनुमति दिइन्छ ।
इस्लाम – मुहम्मदकी पत्नी आयशाले महिनावारीकै कारण मक्काको यात्रा पूरा गर्न पाएकी थिइनन् भनिन्छ । कुरानमा एक ठाउँमा महिनावारीको समयमा पुरmष महिलाबाट टाढै रहून् भनिएको छ । यसको कारणमा महिलालाई यो बेला पीडा हुने बताइएको छ । यही कारणलाई आधार बनाएर महिलालाई यो बेला धर्मकर्मबाट टाढै राख्ने गरिन्छ । तर कतै पनि महिलाको महिनावारीलाई पाप मानिएको भेटिँदैन ।
सिख– सिख धर्ममा महिनावारीको अन्धविश्वासलाई भ्रान्ति भनिएको छ । यसलाई सामान्य प्रक्रिया मानिएको छ र सफा रहन भनिएको छ ।
यहुदी– यस धर्ममा महिनावारीलाई अपवित्र मानिएको छ । यस समयमा महिलाले कसैलाई छुन पाउँदैनन् । महिलालाई श्रीमान्सँगै सुत्न, श्रीमानले श्रीमतीको जूठो खानजस्ता कुराहरूमा मनाही गरिएको छ । यो बेला महिला एकान्तमा बस्नुपर्छ भनिएको छ ।
प्रकाशित: २० माघ २०७४ १०:५८ शनिबार