५ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘रिपब्लिक’ नेपालमा ‘रोयल’ रहर

हरेक दिन सुन्धारास्थित ‘नेपाल एयरलाइन्स’ (आरएनएसी) भवनअगाडि उपत्यकाका विभिन्न स्थानका लागि छुट्ने गाडीको ताँती लाग्छ । मिनिबस, माइक्रोबस र टेम्पोका सहचालकहरू ‘गोंगबु गोंगबु’, ‘बालाजु बालाजु’, ‘कोटेश्वर कोटेश्वर’, ‘लगनखेल लगनखेल’ जस्ता रुटको नाम लिँदै यात्रु बोलाउन व्यस्त हुन्छन् ।

मनोवैज्ञानिक मोहन अधिकारी ‘रोयल’ शब्द राजसी ठाँटसँग जोडिएकाले धेरैले सान देखाउनका लागि नै यसको प्रयोग गरेको हुन सक्ने बताउँछन् ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुनुपूर्व ‘नेपाल एयरलाइन्स’को नाम ‘रोयल नेपाल एयरलाइन्स’ थियो । राजतन्त्रको अन्त्यसँगै यसको नामबाट ‘रोयल’ शब्द हट्यो । तर, जनजिब्रोमा यस स्थानको नाम अझै पनि ‘आरएनएसी’ नै छ ।
जनजिब्रोबाट ‘नेपाल एयरलाइन्स’ अगाडिको ‘आर’ अर्थात् ‘रोयल’ हट्न नसकिरहेका बेला यसैको भवन अगाडि रोकिने सवारी–साधनका नाममा भने ‘रोयल’ थपिन थालेको छ । मुलुक औपचारिक रूपमै ‘रिपब्लिक’ अर्थात् गणतन्त्र युगमा दौडिरहेका बेला सडकमा गुड्ने सवारी–साधन धनी र चालकमा भने ‘रोयल’ अर्थात् ‘शाही’ मोह देखिन थालेको हो ।
गणतन्त्र नेपालका सवारीधनी र चालकमा किन ‘रोयल’ मोह बढिरहेको छ त ? यसबारे चालक र सवारीधनीका आफ्नै तर्क र धारणा छन् । कतिले बुझेर आफ्ना सवारी साधनका नामअघि ‘रोयल’ लेखेका छन् भने कतिपयले लहलहैमा लागेर तथा नबुझीकनै पनि ‘रोयल’ लेख्ने गरेका छन् ।
उपत्यकाभित्र चल्ने मात्र होइन, अचेल उपत्यकाबाट बाहिरिने र अन्य क्षेत्रमा चल्ने सवारी–साधनमा समेत नामअघि ‘रोयल’ लेखेको भेटिने गरेको छ ।
देवानन्द आले बा.३ख  ५५४४ नम्बरको ‘रोयल रूपाकोट’ गाडीका मालिक हुन् । गाडीको नाम ‘रोयल’ राखे पनि आले आफू भने राजतन्त्रविरोधी र गणतन्त्रवादी हुन् । कलंकीमा बसेर अध्ययन गर्दै गरेका आले ०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए । त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय उनी ०६२÷६३ को दोस्रो जनआन्दोलनमा पनि आन्दोलनकारीकै रूपमा सक्रिय भए ।
विचारले क्रान्तिकारी र गणतन्त्रवादी उनले गाडीमा भने किन ‘रोयल’ शब्दलाई बोकेर हिँडिरहेका छन् त ? ‘राजतन्त्रको मायाले हैन,  बरु रोयल शब्दको मोहले हो नि,’ कलंकीमा भेटिएका आलेले मुस्कुराउँदै भने, ‘अहिले मेरो गाडी काठमाडौं–पोखरा रुटमा चल्छ, त्यस रुटका गाडीमा ‘रोयल’ शब्द लेख्ने लहर नै चलेको छ ।’
आले मात्र होइन, अहिले धेरै सवारीधनीले आफ्ना गाडीको नाम ‘रोयल’बाट सुरु गरिरहेका छन् । माइक्रोबस, मिनिबस, बसदेखि ट्रक, ट्र्यांकर र ट्र्याक्टरमा समेत ‘रोयल’ लेखेको भेट्न सकिन्छ । उपत्यकाका सुन्धारा, रत्नपार्क, पुरानो र नयाँ बसपार्क, कलंकी, लगनखेल, कोटेश्वरलगायत स्थानका बसपार्कमा रोकी राखिएका गाडीका नाममा ‘रोयल’ भेटिनु सामान्यजस्तै भइसकेको छ ।
उपत्यका बाहिरिने र भित्रिने सवारी–साधनमा पनि ‘रोयल’ जोडेको पाइन्छ । कुनै सवारीको अगाडि त कसैको पछाडि ‘रोयल’ जोड्ने गरिएको छ ।
सवारीमा ‘रोयल’ लेखाउनेमध्ये धेरैले गणतन्त्रलाई मन पराउने बताउँछन् । तर, आफ्ना गाडीमा ‘रोयल’ लेख्न भने छाडेका छैनन् । कतिपयले भने, सवारीमा ‘किङ’ समेत लेखेको पाइन्छ ।
ओखलढुंगाका नवीनकुमार खनाल बा.३ख ५५४४ नम्बरको ‘रोयल ओखलढुंगा’का चालक हुन् । ‘रोयल ओखलढुंगा’ चलाउने उनलाई यसै साता पेप्सीकोलामा भेट्दा ‘स्लो लाइफ’ लेखिएको टिसर्ट लगाइरहेका थिए । तर, उनी न ‘रोयल’ प्रेमी हुन्, न त उनको जीवन नै टिसर्टमा लेखिएजस्तो सुस्त चलिरहेको छ । तैपनि उनलाई ‘रोयल’ र ‘स्लो लाइफ’का स्लोगनले तानिरहेका छन्, त्यसैले त उनले यिनै शब्दलाई बोकेर हिँडिरहेका छन् ।
लोकतान्त्रिका आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी पहिले पृथ्वी राजमार्ग हुँदै घुमाउरो र लामो बाटोबाट ओखलढुंगा पुग्थे । अहिले बिपी राजमार्गबाट छोटो समयमै पुग्न सक्छन् । ‘न म राजावादी हुँ, न त मेरो जीवन अहिले ढिलो छ,’ उनी भन्छन्, ‘यी सब लेख्ने र देखाउने कुरा मात्र हुन् ।’
कक्षा ९ को पढाइ सकेर सवारी क्षेत्रमा काम गर्न थालेका उनले गाडी चलाउन सुरु गरेकै एक दशक भइसक्यो । उनले आफ्नो गाडीको नाम ‘रोयल ओखलढुंगा’ लेख्नुको कारण पनि अनौठो छ । ‘ओखलढुंगा साहुको घर भएकाले गाडीको नाम ओखलढुंगा भएको हो,’ उनले भने, ‘मलाई रोयल शब्द प्यारो लागेकाले अगाडि थपिदिएको हुँ ।’ उनको गाडीमा गाढा रूपमा ‘रोयल’ शब्द लेखिएको छ । तर, ‘रोयल’को मसी गाढा भए पनि राजतन्त्रप्रति आस्था गाढा नरहेको उनी दाबी गर्छन् ।
गाडीको नाम ‘रोयल’ राख्दा सान बढ्ने कतिपयको अनुभव छ । ‘राजा नमाने पनि आफ्नो ठाउँमा राजा हुन सबैलाई मन लाग्छ,’ ‘रोयल टेकु’का चालक अनिश महर्जनले भने, ‘त्यसैले कतिपयले आफ्नो गाडीमा ‘रोयल’ र ‘रोड किङ’ लेख्ने गरेका हुन् ।’
ओखलढुंगाबाट राजधानीका लागि चल्ने गाडीधनी केशव उदास पनि ‘रोयल’ले सान बढाउने भन्दै अरुले नाममा जोड्ने गरेको बताउँछन् । ‘मैले त मेरा केही सवारीमा  ‘प्यारो ओखलढुंगा’ लेखेको छु,’ उनले भने, ‘धेरैमा  भने ‘मेरो प्यारो नेपाल लेखेको छु ।’
दोस्रो जनआन्दोलनले नेपाललाई गणतान्त्रिक मुलुकमा रूपान्तरण गरेपछि सबै सरकारी निकायका नाममा जोडिएका ‘रोयल’ शब्द हटाउने लहर नै चलेको थियो । आन्दोलनका बेला सरकारी कार्यालयका साइन बोर्डमा ‘रोयल’लाई मेटेर ‘गणतन्त्र’ लेख्ने अभियान समेत चलेको थियो । तर, सबैतिरबाट राजतन्त्र जनाउने संकेत हटाइएका बेला सवारी–चालक र धनीमा ‘रोयल’ मोह जाग्नुमा आफ्नो सान बढ्ने मनोविज्ञानले नै काम गरेको देखिन्छ ।
मनोवैज्ञानिक मोहन अधिकारी ‘रोयल’ शब्द राजसी ठाँटसँग जोडिएकाले धेरैले सान देखाउनै यस्तो शब्दको प्रयोग गरेको हुनसक्ने बताउँछन् । ‘सायद यसमा हुने सेवा–सुविधा उच्च स्तरको छ भन्ने मान्यताले राखिएको हुन सक्छ,’ उनले भने, ‘यो शब्दको प्रयोगसँगै मेरो सवारी ठूलो भन्ने देखाउन खोजेको भान हुन्छ ।’ उनले सवारीमा मात्र नभई अन्य क्षेत्रमा पनि मान्छेमा सान देखाउने मनस्थितिले काम गर्ने गरेको बताए ।

प्रकाशित: १४ पुस २०७४ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App