तपाईंले कवि भूपी शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ भित्रका थुप्रै कविता पढ्नुभएको हुनुपर्छ । तीमध्ये मैनबत्तीको शिखा, घण्टाघर, भैरहवा र हामी पर्छन् नै, जसले भूपीका उच्च कोटिका कविताकलाको साक्ष्य प्रस्तुत गर्छन् । तपाईं हामीले पढेको तर बढी चर्चा नगरेको कविता हो ‘हो चि मिन्हलाई चिठी ।’ धेरैलाई यस कविताको भावभूमिबारे उतिसारो चासो नभएझैँ लाग्छ । वास्तवमा यो एक उत्कृष्ट अन्तर्राष्ट्रिय भावनाको क्रान्तिकारी कविता हो र नेपाली प्रगतिशील कविताको उत्कृष्ट नमुना अर्थात् आइकन नेपाली प्रगतिशील कविता हो।
मेरो विचारमा यो कविता भियतनामका निमित्त महान् कला स्मारक (मोनुमेन्टल हेरिटेज) का रूपमा रहेको छ । नेपालले चाहे यस कविताको माध्यमबाट उदाउँदो एसियाली आर्थिक शक्तिमध्येको एक मुलुक भियतनामसँग सार्थक कूटनीतिक संवाद गर्न सक्छ । तर के हाम्रा राजनीतिक क्षेत्रका महानुभावले यस कविताको ताकतलाई बुझेका छन् ? उनीहरूले बुझून्, उनीहरूसँग भियतनामी जनता र राज्यलाई आफ्नो पक्षमा तान्ने अमोघ अस्त्र छ, भूपी शेरचनले दशकौँ अघि लेखेको कविता हो चि मिन्हलाई चिठी।
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छ्रे हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैँ
बिस्तारै–बिस्तारै उठेर
मेरो अगाडि उभिइरहेछ
तिम्रो बूढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ– ‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठूला चट्टानहरूको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरूले
आफूलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला !
वास्तवमा यस कवितामा दुईवटा महान् जलप्रवाह भावनात्मक रूपले जोडिएका छन् । चीनबाट निस्केर लाओ, कम्बोडिया, भियतनाम हुँदै करोडौँ मानिसहरूको जीवनरेखा बनेको र प्रशान्त महासागरमा मिसिएको मेकोङ नदी र धवलागिरिको धवल हिउँबाट निस्केर काली गण्डकीमा खस्तै सप्त गण्डकीको मूल हाँगो काली गण्डकी हुँदै करोडौँ नेपाली र भारतीय जीवनको महŒवपूर्ण आधार बनेको गंगा नदीमा मिसिँदै बंगालको खाडीमा विलीन हुने सानो लेते खोलाका बीच केही साम्य छन् । भूपीले त्यो साम्य पहिल्याएका मात्र छैनन्, भावनात्मक दृष्टिले एकाकार पनि गरिदिएका छन् । ती दुई महान् जलप्रवाह यस कविताको रचनापछि मानवीय संघर्ष र स्वतन्त्रताका प्रतीक बनेका छन् । र, नेपाली जनता युगान्तकारी भियतनामी स्वतन्त्रता संघर्षको अभिन्न मित्र बन्न पुगेको छ।
म जम्माजम्मी तीनपटक मुस्ताङ पुगेको छु । एकपटक विमानबाट र दुईपटक पैदल । जतिपटक पुगे पनि म लेते खोलालाई छोएर पुगेको छु । पहिलोपटक प्लेनको झ्यालबाट मैले त्यसलाई नियाल्ने प्रयास गरिरहेको थिएँ, र त्यो निकै सानो लागेको थियो, दोस्रोपटक लेतेमाथिको पुलको जिपमाथि जिउ राख्नु अघि मैले त्यसलाई हात र खुट्टाले नापेको थिएँ, त्यसको चिसो स्पर्शले मेरो शरीरलाई ऊर्जा दिएको थियो । तेस्रोपटक मैले त्यसमाथिको झोलुंगे पुलको बीचमा उभिएर करिब १५ मिनेट त्यसको शक्तिशाली धारलाई अपलक हेरेको थिएँ, र बु“द राना, तीर्थ श्रेष्ठ, रोशन शेरचन आदि लस्करे साथीहरूलाई भेटाउनुअघि पारिको परित्यक्त होटलको भग्नावशेषलाई हेर्दै मेरा अग्रज कवि भूपीदाइलाई श्रद्धाञ्जली दिएको थिएँ।
लेते त्यसै मेकोङसँग दाँजिएको थिएन । नारायणचौरको भूपी निवासमा एकपटक मैले उनलाई सोधेको थिएँ, ‘दाइ, तपाईंले त्यत्रो विशाल बगर बनाउँदै हिँडेको शालिग्राममय कालीगण्डकीलाई प्रतीक रूपमा चयन नगरेर परम्परागत काठमाडौंको राजकुलो जति पनि पानी नभएको लेतेलाई किन चुन्नुभयो?’
भूपी किञ्चित गम्भीर भएका थिए मेरो प्रश्नमा । एकछिनमै रोगले थला परेको उनको मुखमण्डल प्रभावान् भएको थियो र त्यसमा एक भिन्नखाले तेज देखापरेको थियो । उनले भनेका थिए, ‘हो, कालीगण्डकी पनि हुन सक्थ्यो तर लेते हो चि मिन्हको कायासँग मिल्दो थियो । मलाई लाग्यो, यसमा केही समानता छ, दुब्लाइको समानता, संघर्षको वेगको समानता।’
मैले तत्काल उनलाई अर्कै विषयतिर मोडिदिएको थिएँ, फ्रान्ज काफ्काको मेटामर्फोसिस कथाको पात्र साम्सातिर । मलाई त्यस पात्रको कायान्तरण अद्भूत लाग्ने गथ्र्यो र म पनि कतै कीरामा फेरिन्छु कि वा त्यसरी फेरिँदा मानिसहरूले कीरो श्यामललाई कसरी हेर्दा हुन् भन्ने भावना बेलाबेला आइरहन्थ्यो । अनि, मैले उनलाई सोधेको थिएँ, ‘यस प्रकारको कायान्तरण तपाईंलाई कस्तो लाग्यो ?’
उनको घाँटी घ्यारघ्यार गर्न थाल्यो । उनले भने, ‘म फेरिए जस्तै । ई... चारवटा रोगले च्यापेपछि म बिस्तरामा सीमित भएको छु । कीराजस्तै गुँडुल्किएको छु । यो ब्रोंकाइटिसले मलाई इन्सुलिनले भन्दा बढी खाइरहेको छ । त्यसपछि उनको सास बढ्न थाल्यो । उनको घाँटीको घ्यारघ्यार बढिरहेपछि म चुप लाग्नु थियो।
वास्तवमा एक प्रकारले महान् कवि भूपीदाइ कीरा बनिसकेका थिए । त्यो कीरामय समय थियो । प्रज्ञा प्रतिष्ठानको कुर्सीमा बसेका कीरामध्येका एक कीरा । उनको प्रज्ञामाथि उनीभन्दा अति कम इमानदार र धेरै कम प्रतिभाशाली उनकै दौँतरहरूले प्रश्न उठाइरहेको समय थियो । तिनले भूपीमाथि प्रश्न गरिरहेका थिए, जो पञ्चायतको आयु लम्ब्याउन प्रयोग गरिएका थिए र जसको पद प्रोफेसर वा सोसरहको हुन्थ्यो । ती दलीय स्वतन्त्रताका पक्षधरहरूसँग रात्रिकालीन गोप्य बैठकमा बसेर दिवाकालमा पञ्चायत नीति तथा जाँचबुझ समिति (पनीजाबुस)को नीति बनाउँदै राजालाई अत्याधुनिक निरंकुश बन्न उक्साउँथे । ती भूपीजस्तो इमानदार कविमाथि प्रश्नको प्रयोग गर्दै आफ्नो नीतिच्युत अनुहार लुकाउँथे । तिनलाई एकै समय राजभक्त र क्रान्तिकारी दुवै हुनु थियो । भूपीलाई लाग्यो, राजा सत्य हो, लागेपछि उनले ढाकछोप गरेनन्, सीधै श्रीपेचलाई सलाम टक्र्याउने कविता लेखिदिए । दोहोरो चरित्र उनले देखाउन सकेनन् । अतः उनी स्वयंले आफूलाई एकाबिहानै साम्साजस्तै कीरामा कायान्तरण गरिएको पाए।
‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भनेर अहिलेका क्रान्तिकारीका लागि सिग्नेचर कविता लेखेका उनै भूपी थिए, जसले नेपाली जनताको चिन्तालाई विश्व मानवको चिन्तासम्ममा विस्तार गरिदिएका थिए । ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा’ लेख्ने भूपी तिनै थिए, जसले महाकवि देवकोटाले ‘गरिब भन्छौ, सुखको मझैँ धनी’ भनेर जीवनप्रतिको आशाभाव जगाएर राख्ने कविता परम्पराभन्दा उन्नत शैलीमा गरिब नेपाली केटाको अवस्थामाथि गम्भीर हुँदै आममानिसको चिन्तामा सरोकार राख्ने कविताका लागि नयाँ क्षितिज उघारेका थिए । रिमालले देखेको नेपाली आमाको सपनालाई करोडौँ मानिसको स्वतन्त्र भियतनामको आकांक्षासम्म तन्काएर नेपालबाट भियतनामी जनताको संघर्षलाई सलाम गरी ऐक्यबद्धता प्रकट गरेका थिए । त्यसैले नेपाली कवितालाई विश्व सरोकारको विषय बनाउने देवकोटा (माओ त्से तुङ) र विजय मल्ल (लेनिन) को परम्परालाई अझ घनीभूत तुल्याउँदै उनले अमेरिकी साम्राज्यवाद र फ्रेन्च उपनिवेशवादका विरुद्धको हुंकारमा जुटेको नेपाली आत्मालाई कलात्मक ओज दिएका थिए ।
हो, हो चि मिन्हलाई चिठीमा भनिएजस्तै भियतनामी जनताका प्रिय काका हो चि मिन्ह दुब्ला थिए । तर, तिनको सपना र संघर्ष मुस्ताङी खोला लेतेको वेगवान बाढीजस्तो थियो, जसले वरिपरिका ठुल्ठूला महाशक्ति मानिएका चट्टानका पाइला अन्ततः डगमगाए र फ्रान्सले भियतनाम छाडेर जानुप¥यो । त्यसैले नै भियतनामका जंगल हजारौँ हजार आततायी अमेरिकी सैनिकहरूका चिहानमा परिणत भए । त्यो भूपी स्वयंको ‘मेरो लेतेखोला’ जस्तै आत्मीय थियो । हो चि मिन्हको दुब्लो अनुहारमा लेते भेटिनु वा वर्षाकालीन लेतेखोलाको अजस्र प्रवाहमयतामा हो चि मिन्ह भेटिनु आश्चर्यको कुरा त थिएन, तर यो तुल्यता बडो चाखलाग्दो थियो, किनकि जतिबेला यो कविताको रचना भयो, प्रकाशन भयो र मानिसहरूले यसलाई गहिरोसँग आत्मसात् गरे, त्यतिबेला राजशाहीबाट मुक्त हुने नेपाली सपनाहरूले आकार लिँदै थिए । मेरो जानकारीमा आएसम्म, स्वाधीनताको यो भावयात्रालाई उछिनेर अहिलेसम्म त्यस्तो कुनै कविता लेखिएको छैन, जसले हो चि मिन्हलाई चिठी कविताको कलात्मक चेतलाई छोअोस्।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरूको बीचका सीमारेखाहरूले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु
तिम्रो प्रत्येक पुलको टुटाइमा म टुटेको छु
तिम्रो प्रत्येक गोल–गोल मंगोल अनुहार भएकी
आइमाईको बेइज्जतीमा
मैले आफ्नी पत्नी र दिदी–बहिनीहरूलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध–विहारको विध्वंशमा
मैले आफ्नो स्वयम्भूको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धराहरामाथि परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरू
मैले पनि जागरणका ट्रेन्चहरूमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरि मुढाहरू दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठूलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठूलो ज्योति सल्केको पाएको छु
हनोइमाथिको बम
सहरमाथि होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरूले ती बमहरूलाई
आफूमाथि पड्केको भन्ठानेका छौँ
मेरो कामरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’ !
विश्वास गर
मैले तिम्रो जितको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रूखहरू डढ्छन् ।
भूपी माक्र्सवादी पाठशालाका विद्यार्थी थिए, तसर्थ उनी अन्तर्राष्ट्रियतावादी हुनु पनि स्वाभाविकै मान्नुपर्छ । यति भनेर मात्र यस कवितालाई पन्छाउन मिल्दैन । उनले त्यो अन्तर्राष्ट्रियतावादी चेतलाई कवितामा कति कलात्मकता र गहिराइका साथ उपयोग गरे, त्यो हेरिनुपर्छ । अमेरिकी कवि एलेन गिन्सबर्गले आफ्नै मुलुकको अमानवीय चरित्रमाथि अमेरिका शीर्षकको कवितामा ‘अमेरिका, म तेरो एटम बमलाई सम्भोग गर्दछु’ भनेर जसरी नंग्याएका थिए, र सिआइए डोप क्यालिप्सो शीर्षक कवितामा एसियाली भूमिमा चलेको सिआइएको दुश्चक्रको भण्डाफोर गरेका थिए, तिनमा हो चि मिन्हलाई चिठीमा रहेको कलात्मक ओज र स्तर भेट्न सकिन्न । पक्कै पनि गिन्सबर्ग आफ्ना कवितामा अधिक खुला र अलि बढी नै मुखर छन्, र तिनको ऐतिहासिक महŒव यसकारणले पनि छ कि त्यसअघि कुनै अमेरिकी कविले त्यस स्तरमा आफ्नै मुलुकको मानवमारा नीतिको विरोध गरेको छैन । भूपी यस कविताको विषयवस्तु, विम्बरचना, प्रतीक निर्माण र युगबोधका दृष्टिले यसर्थ विशिष्ट कवि हुन्, किनकि उनले आफ्नो समयको सर्वाधिक महŒवपूर्ण अन्तर्राष्ट्रिय राजनीतिलाई बडो होसियारीपूर्वक कवितामा प्रवेश गराएका छन् र नेपाली जनताको चासो यसमा कलात्मक सौष्ठवका साथ व्यक्त भएको छ।
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उम्रिने असंख्य च्याउहरूजस्तै ।
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे«को छायामा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरूलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामथ्र्यमा छु
जित तिम्रो हुनेछ
जित हाम्रो हुनेछ
माक्र्सवादी भूपीको वैचारिक प्रस्थानबिन्दु आममानिसको जीवनका आकांक्षाहरू हुन् भने उनको गन्तव्य पनि स्वतन्त्र मानव जीवन नै हो । उनी मानवतावादी कवि हुन् । मानवता कहिल्यै नमर्ने र त्यो डढेलोपछि उम्रेका असंख्य च्याउजस्तै उम्रिने उद्घोष गरिरहेका छन् । भियतनाम युद्धमा अमेरिकी हार अमेरिकी जनताकै बीचमा अद्यापि आलोचित छ भन्ने तथ्यले पनि भूपीको वैचारिकताको औचित्यको पुष्टि हुन्छ । उनका कविताको यसै वैचारिक शक्ति र कलात्मक ओजले उनका उत्तरकालीन कमजोरीहरूलाई धुमिल तुल्याउने सामथ्र्य राख्छन्, जुन कमजोरी चरम निराशा, दारुण गरिबी र पारिवारिक दबाबबाट देखिन पुगेका थिए ।
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धर्तीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
यो काव्य वक्तव्य के सामान्य शब्दकला हो ? पश्चिमा पुँजीवादको चरित्र यही होइन त ? अन्तरिक्षमा मरेको कुकुरको शोकमा गिर्जाघरमा भेला भएर आँसु झार्ने मानवता के सक्कली मानवता हो, जसले धर्तीका असंख्य मानिस मारिरहेको छ ? के अहिले पनि प्रजातन्त्र र मानव अधिकारका नाममा सिरिया, लिबिया र इराकमा मानवताको हत्या भइरहेको छैन, जसरी गोरा फौजीहरूबाट भियतनाममा कैयौँ वर्ष हत्याको शृंखला चलाइएको थियो ? के अहिले अमेरिकी जनताले भियतनाम युद्धमा पुच्छर लुकाएर भागेका आफ्ना शासकलाई क्षमा दिइसके ? अमेरिकामा अहिले पनि भियतनाम युद्धलाई अमेरिकी पुँजीवादी साम्राज्यवादको हारको दृष्टान्त मानिन्छ र शासकहरू त्यसको घाउ कोट्याएको सुन्न र हेर्न चाहन्नन् । त्यसैले उनीहरू अनेकखाले नयाँ मुद्दाको सृष्टि गर्छन् र भियतनाम सरकारसँग युद्धकालमा हराएका आफ्ना सैनिकको खोज गर्न कूटनीति चलाइरहेका छन् । भूपीले उहिल्यै त्यस हारको प्रक्षेपण गरिसकेका थिए, र महान् भियतनामी जनताको अनिवार्य विजयको उद्घोष गरेका थिए । मेरो विचारमा यो कविता भियतनामका निमित्त महान् कला स्मारक (मोनुमेन्टल हेरिटेज) का रूपमा रहेको छ । नेपालले चाहे यस कविताको माध्यमबाट उदाउँदो एसियाली आर्थिक शक्तिमध्येको एक मुलुक भियतनामसँग सार्थक कूटनीतिक संवाद गर्न सक्छ । तर, के हाम्रा राजनीतिक क्षेत्रका महानुभावले यस कविताको ताकतलाई बुझेका छन् ? उनीहरूले बुझून्, उनीहरूसँग भियतनामी जनता र राज्यलाई आफ्नो पक्षमा तान्ने अमोघ अस्त्र छ, भूपी शेरचनले दशकौँ अघि लेखेको कविता हो चि मिन्हलाई चिठी।
यो कवितालाई हो चि मिन्ह सिटीको केन्द्र भागमा नेपाली, अंग्रेजी र भियतनामी भाषामा कुँदेर स्मारकस्वरूप राख्न सकिन्छ । विश्वमाझ नेपाली कविताको शक्ति देखाउने हो भने, त्यहाँ पुग्ने हरेक यात्री, चाहे त्यो राजकीय भ्रमणमा आएको होस्, या पर्यटकका रूपमा, उसले त्यहाँ नेपाल उभिएको पाउनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानले भियतनामी प्रज्ञा संस्थासँग मिलेर पनि यसो गर्न सक्छ । तर, के हाम्रा प्राज्ञलाई यस्तो कुरामा सोच्ने फुर्सद होला ? यो मैत्री कविता पनि हो । देवकोटाको तासकन्द भाषणले विश्वमा हाम्रो साहित्यको कालिगडी र वैचारिक चासो देखाएको थियो । हो चि मिन्हलाई चिठीले मानवतावादी नेपाली कविको विश्व चासोलाई देखाएको छ । हामीसँग भएका यी कला दस्तावेज विश्वकै कला सम्पदा हुन् भन्ने हेक्का राख्तै दुनियाँका अगाडि हाम्रो समृद्ध कला परम्परा देखाउन तत्पर रहनुपर्छ । यो भियतनामी जनताका लागि नेपाली कविको विशिष्ट उपहार हो।
सन् १९९१ मा म काम विशेषले पाकिस्तान गएको थिएँ । इस्लामावादको सकरपडियाँ भन्ने ए पश्दर्शन स्थल छ, जो एक प्रकारले हाम्रो भृकुटीमण्डप वा गोदावरीजस्तै छ । त्यहाँ राजा वीरेन्द्रले रोपेको कपुर (?) को हुर्केको बोट देखेर राजाविरोधी कित्ताको म फुच्चे कवि एकछिन भावुक बनेको थिएँ । सोच्छु, भियतनामको हो चि मिन्ह सिटीको केन्द्रमा तीन भाषामा उत्कीर्ण हो चि मिन्हलाई चिठी कविता पढ्न पाउँदा नेपालीको छाती गर्वले कति फुल्दो हो।
तर, यहाँ त सामान्यतः कविलाई हेपिन्छ । चारण र भाटहरू राज्यका नियन्ता भएपछि कविहरू हेपिन्छन् । र, जब उसका बारे कतै कुरा उठ्छ, नेताहरू भन्छन्, ए त्यो कवि ? अर्थात् समर्थ र प्रतिभाशाली कवि कलाकार उनीहरूको सत्ता प्राप्तिका औजार मात्र हुन् । सत्तामा उक्लेपछि उनीहरू अरु सबैलाई साना देख्छन्, जहाँ कवि कुनै एक सूक्ष्म बिन्दुजस्तो भीडमा हराइरहेको हुन्छ, जबसम्म उसले नेता विशेषको स्तुतिगान लेख्न सक्तैन । भूपीको नियति पनि त्यस्तै हो, जस्तो देवकोटा र रिमालको थियो।
तर, भूपीलाई सजिलै बिर्सनु उति सजिलो पक्कै छैन ।
प्रकाशित: ८ पुस २०७४ ०३:५९ शनिबार