१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एकल हुनुको मज्जा

कति बिहे र जोडीका कुरा गर्नु ? आउनुस्, एक्कैछिन एकल जीवनको रमाइलोबारे पनि गफ्फिऔँ ।
के तपाईं एकल हुनुहुन्छ ? दाैंतरीहरु जोडी बाँधेर रमाइरहेको देख्दा आफूलाई एक्लो महसुस गर्नुहुन्छ होला । खुसी रहन तपाईं आफू एक्लो नै काफी छ । एकल रहेर पनि तपाईं यसरी रमाउन सक्नुहुन्छ ।
एकल हुँदा तपाईं स्वतन्त्र र निस्फिक्री रहनसक्नु हुन्छ । जबकि कुनै सम्बन्धमा रहँदा आफ्नो मात्र नभई आफ्नो मायालुको बारेमा पनि धेरै सोच्नुपर्ने हुन्छ । जसले तपाईंको दैनिकीमा तनाब थपिदिन्छ ।
भर्खरै ब्रेकअपबाट तपाईं एकल हुनुभएको छ वा अझै जोडी भेटिएको छैन भने पनि पीर नगर्नुहोस् । मस्तिष्कबाट नकारात्मक पाटाहरुलाई चटक्कै भुल्न र एकल भए पनि सकारात्मक सोच राख्नका लागि तपाईंलाई यी कुराले मद्दत गर्न सक्छन् ।
आफैंले आफैँलाई चिन्नुहोस्
एक्लै हुँदा तपाईंले आफ्नो सम्पूर्ण खाली समयलाई आफ्नै विकासका लागि खर्चन सक्नुहुन्छ । तपाईंले चाहेका तर समय अभावले गर्न नसकेका कार्यलाई निरन्तरता दिन सक्नुहुन्छ । तपाईंले आफ्ना निजी रुचिलाई प्राथमिकता दिन सक्नुहुन्छ । शारीरिक व्यायाम गर्ने, नयाँ भाषा सिक्ने र केही सामाजिक कामहरुमा संलग्न हुन सक्नुहुन्छ । विगतलाई सम्झेर दुःख मनाउ गर्न छोडिदिनुहोस् । मस्तिष्क र शरीरमा स्फूर्ति ल्याउनुहोस् र आफूलाई नयाँ मानिसका रुपमा निर्माण गर्नुहोस् ।
आफ्नै समय, आफ्नै काम
सम्बन्धमा रहँदा एकअर्कालाई सानाभन्दा साना कुराहरु पनि सेयर गरिरहनुपर्ने बाध्यता हुन्छ । जस्तैः घरमा आज के पाक्यो, खाना मीठो लाग्यो कि लागेन, पाहुना कतिजना आएजस्ता झिनामसिना कुराहरु बताइरहनुपर्छ । तपाईं एक्लो रहँदा यी सबै कुराहरुको झन्झट हुँदैन । तपाईं आफ्ना कार्यहरुलाई मात्र फोकस गर्न सक्नुहुन्छ । अझ कामहरुलाई तालिका बनाएर योजनाबद्ध तरिकाले काम भ्याउन सक्नुहुन्छ ।
साथीसँग नयाँ ठाउँ घुम्नुहोस्
एक्लो हुनुको रमाइलो फाइदा भनेकै तपाईंले साथीभाइलाई समय दिन सक्नुहुन्छ । सम्बन्धमा रहनेहरु आफ्नो मायालुका कारण साथीभाइलाई समय दिन भ्याउँदैनन् । घुमघाम र सभा समारोहका लागि बनाइएका योजना पनि सफल हुन सक्दैनन् । साथीभाइसँगको समारोहरुमा मायालुकै कारण आफूलाई एकलकाँटे बनाउनुपर्ने झन्झन्ट हुन्छ । साथीभाइसँग रमाइरहँदा मायालु चिढिन सक्ने अवस्था पनि आउन सक्छ । एक्लाहरुले मायालुको तनाव नलिई साथीभाइसँगको जमघटलाई पूर्ण मित्रवत् बनाई मज्जाले रमाउन सक्छन् ।
नयाँ कुराको थालनी
हामी सबैका आ–आफ्नै रुचि–अभिरुचि हुन्छन् । सम्बन्धमा रहँदा बस्दा तपाईं आफ्ना रुचिहरुलाई कुल्चेर हिँड्नुपर्ने बाध्यता हुन्छ । तपाईंले नयाँ कामलाई सुरुवात गर्न नसकेको समेत हुन सक्नुहुन्छ । उदाहरणका लागि तपाईंले स्विमिङ सिक्न खोज्दा नभ्याएको हुन सक्नुहुन्छ । एक्लो रहँदा तपाईंलाई रोक्ने हो हुन्छ ? जानुस् पानीमा डुबेर पौडीको मज्जा लिनुस् । त्यस्तै कामबाट बचेको समयलाई तपाईंले स्फूर्तिको समयका रुपमा पुस्तक पढ्ने, फिल्म हेर्ने, साइक्लिङ गर्ने जस्ता कामहरु गर्न सक्नुहुन्छ ।
सामाजिक सञ्जालमा सक्रिय हुनुहोस्
सम्बन्धमा रहँदा तपाईंको सामाजिक सञ्जाल प्रयोग गर्दाको समय जाँचपड्ताल भइरहेको हुन सक्छ । सामाजिक सञ्जालमा पोस्टिने फोटो, पोस्ट, कमेन्ट, लाइक र सेयरमा समेत निगरानी हुन्छ । अझ भन्दा तपाईंमाथि एक किसिमको लगाम लगाइएको हुन्छ । तपाईं एक्लो रहँदा पूर्ण स्वतन्त्र हुने हुँदा तपाईंलाई केही कुराको चिन्ता हुँदैन । तपाईंले आफ्ना भावनाहरुलाई साथीभाइसँग खुलस्त साट्ने, पोस्ट, लाइक, कमेन्ट गर्ने स्वतन्त्रता मिल्छ ।
मोबाइलको कम प्रयोग
सम्बन्धमा रहनेहरु सदैव फोनको सामीप्यमा रहनुपर्ने एक किसिमको बाध्यता नै हुन्छ । आउने फोन र एसएमएसको मात्र नभई तपाईंले मिसकलको समेत ख्याल गर्नुपर्छ । मायालुलाई रिझाइरहनुपर्छ । तपाईंले फोन नउठाउँदा, म्यासेज नर्फकाउँदा मायालु रिसाउने सम्भावना हुन्छ । मोबाइलमा धेरै समय खर्चनु भनेको तपाईंले आफ्नो स्वास्थलाई आफैँले बिगार्नुसमेत हो । एकलहरुलाई फोन तथा ग्याजेडको त्यति आवश्यकता वा भनौं प्रयोग गर्नुपर्ने हुँदैन । विद्युतीय सामग्री कम प्रयोग गर्दा तपाईं प्राकृतिक संसारमा रमाउने मौका समेत पाउनुहुनेछ ।
फजुल खर्चको वचत
सम्बन्धमा रहँदाको तपाईं र एकल तपाईंमा निकै भिन्नता हुन्छ । एकल रहँदा तपाईंको खर्चसमेत जोगिन्छ । महँगा उपहार, फिल्म र खानपानको रकम जोगिन्छ । सम्बन्धमा रहँदा बिदा मनाउँदाको खर्च, भेटघाटको खर्च र अन्य फजुल खर्च तपाईंका लागि बोझ हुन्छ । एकल रहँदा यसरी खर्च नभएको रकमलाई तपाईंले अन्यत्र लगानी गर्न सक्नुहुन्छ ।
बलजफ्ती सम्बन्धबाट छुटकारा
सम्बन्धमा रहँदा तपाईंलाई मायालुको मात्र नभई उसको परिवार, आफन्त र केही अवस्थामा पाल्तु जनावरको समेत ख्याल गर्नुपर्ने हुन्छ । यो भनेको तपाईंले आफ्ना लागि भन्दा पनि अरुका लागि बाँच्नुपर्ने, काम गर्नुपर्ने किसिमको अवस्था सिर्जना हुन जान्छ । एकल तपाईंलाई अरुका बारेमा नसोची पूर्ण रुपमा आफ्नो बारेमा मात्र सोच्न समय हुन्छ ।
सबैकुराका केही न केही फाइदा बेफाइदा पक्कै हुन्छन् । सम्बन्ध निकै मूल्यवान् चीज हो तर यसो भन्दैमा सम्बन्ध नभएका वा टुटुेकाहरु निराश भएरै बस्नुपर्छ भन्ने छैन । मस्तिष्क मात्र नभई शरीरलाई पनि शान्त रहन एक्लो मानिस नै काफी हुन्छ । एकल रहने महिला र पुरुष आफ्ना बारेमा मात्रै सोच्दै आफैँलाई निर्माण गर्न सक्छन् । कोही कसैको भर पनि पर्नु पर्दैन । उसो भए एक्लो हुनुको पनि मज्जा छ, हैन त ?

 

प्रकाशित: १५ मंसिर २०७४ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App