१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

मुसलमान प्रेमी

अनिता न्यौपाने 

भग्नावशेषमा उभिएकी छु । शान्त छ, वातावरण । तर लागिरहेछ, कोलाहलमा छु । मात्रै उभिएकी छु । उभिएको के भन्नु, लगलग काँपेका छन् गोडाहरू । शिथिल भएको छ शरीर । शून्य भएको छ मस्तिष्क । चुपचाप चुपचाप छन् ओठहरू । आँखाबाट अविरल बगिरहेको छ, आँसुका थोपा । 

कोही चिच्याइचिच्याई भनिरहेछ, ‘कहाँ गएकी थियौँ, यतिका दिन ? तिम्रो पर्खाइमा मैले कति रात अनिँदो काटेँ । कतिपटक तिम्रो आगमनलाई मैले बाटोभरि आँखा छाडी चुपचाप बसिरहेँ । कति दिन तिम्रो कल्पनामा मेरो आँखाले सपना देखेनन् । कति भयो, तिम्रो प्रतीक्षा गरेको । तर तिमी ढिला आयौ । किन यति ढिला आयौ ? यति धेरै प्रतीक्षा गर्ने गरायौ । न मैले कहिले कसैलाई यसरी पर्खिएँ, न पर्खन नै सक्छु ।’ 

घरबाट निस्केर एकपटक धरहरा हेर्न आएँ । निकै शान्त थियो धरहरा । चढ्ने र ओर्लनेको लाइन थियो । क्याफेमा मःमः चाउमिन खानेको घुइँचो लागेको थियो । 

त्यो साँझ भौँतारिएर आएका थियौ, तिमी मेरो जीवनमा । संसारका सारा कसिंगरलाई निफनेर मेरो ओठमा सप्तरंगी रंग भर्न चाहन्थ्यौ । दुनियाँका हर खुसी मेरो जीवनमा ल्याएर पर बसेर मेरो चञ्चलतालाई मेरो बालापनलाई नियाल्न चाहन्थ्यौ । मेरै नाम लेखेर जिन्दगीका हरेक खुड्किला उक्लन चाहन्थ्यौ । भुलेर आफूलाई हराउन चाहन्थ्यौ, मेरो केश राशिमा । घन्टौँ गफ गरेर काट्न चाहन्थ्यौ रातहरू, आकाशका पूर्ण जून हेरेर । आफ्नो अँगालोमा बेरेर मलाई पूर्ण रूपमा प्रेम गर्न चाहन्थ्यौ । देख्न चाहन्थ्यौ, आफूलाई पूर्ण हिरो र सम्झन चाहन्थ्यौ, आफूले बनाएको प्रेमिकाको सुन्दर आकृति । तिमी फकिर होइनौ तर फकिरझैँ हिँडेर लुकाएर ल्याउन चाहन्थ्यौ, मेरो हृदयमा मायाको आवेग । 

पक्कै हाम्रो भूगोल फरक थियो । रीतिरिवाज, परम्परा, धर्म–संस्कृति सबै फरक थिए, तर कसरी एउटै देख्यौ मन । कसरी सोच्न सक्यौ, मेरो मनमा तिम्रो प्रेमले डेरा जमाएको छ भन्ने कुरा ? कसरी देख्न सक्यौ, मेरा आँखामा तिम्रा लागि अनगिन्ती सपना छन् भन्ने । काठमाडौं बसाइको अन्तिम साँझ थियो, कफी सपको सातौँ तलामा हामी पुग्यौँ । रातो रुमालले लपेटिएका टेबल, क्यान्डिल बलिरहेको, छेउमा रातो गुलाफ मुस्कुराइरहेको ठाउँमा पुग्दा मलाई लागेको थियो, म स्वर्गमा छु । यो संसारमा स्वर्ग र नर्क भन्ने छ भने यही हो स्वर्ग, यस्तै अनुभूत भएको थियो मलाई । त्यो प्रेमिल साँझ, पियानो बजिरहेको थियो । नारायणगोपालको स्वर गुन्जिरहेको थियो– 

यो सम्झिने मन छ, म बिर्सुं कसोरी ।

तिमी नै भनिदेउ हे जानी निठुरी ।

म खुसीले मुग्ध थिएँ, त्यो सुन्दर वातावरण पाएर । तिम्रो ओठमा पनि मधुरो मुस्कान छाएको थियो । ‘मनप¥यो तिमीलाई यो ठाउँ ?’ तिमीले सोध्यौ । मैले निसंकोच भनेकी थिएँ, ‘अत्यधिक, आजको साँझ मेरा लागि यादगर हुनेछ ।’ टेबलको गुलाफलाई चुम्बन गरिदिएँ, आर्टिफिसियल न थियो गुलाफ । कफी मगायौ र बिस्तारै तिमीले आफ्नो मनका कुरा खोल्दै गयौ, म क्रमशः छाँगाबाट खसेसरी भएकी थिएँ । 

संसारमा मैले बहुत प्रेम गरेको मान्छे म आफैँ थिएँ तर तिम्रो आँखाबाट चुहिँदै गरेको आँसुलाई देखेर मलाई गाह्रो भएको थियो । मैले तिमीलाई आफ्नो ठानेकी थिएँ, प्रेमी हैन । मैले तिमीलाई आफ्नो मानेकी थिएँ, आफ्नो बनाउने सोच कहिल्यै थिएन । 

म जहिले तिम्रो साँघुरो गल्लीबाट हातमा तरकारीको झोला बोकेर आफ्नै घरतर्फ लाग्थेँ, तिम्रो आँखाले मलाई हेरेको म प्रस्ट देख्थेँ । तर, कहिल्यै लागेको थिएन, तिमी यसरी एकोहोरो प्रेममा डुबेर संसारको सुन्दर प्रेमी बन्ने आशामा गरेको कुरा । 

तिमीले किन सुन्छौ मेरो फेब्रेट गीत ? किन लगाउँछौँ मेरो प्रिय रङ ? किन बोकी हिँड्छौँ, मेरो मनले देखेको सपनाको खात ? किन चुम्छौँ, मेरो प्रिय गुलाफ ? यसको कारण मैले त्यही दिन मात्रै थाहा पाएँ, जुन दिन तिमीले खल्तीको रुमाल निकालेर आँसु पुछ्यौ र भन्यौ, ‘मैले प्रतीक्षा गरेको र चाहेको एक मात्रै मान्छे हौ तिमी ।’

मलाई थाहा थिएन, तिमी आफूलाई बदलेर, मेरो धर्म अँगाल्न चाहन्छौ । तिमी आफूलाई छाडेर मसँग बस्न रमाउँछौ । तिमी आफ्नो संसार छाडेर मेरो संसारमा रमाउन चाहन्छौ, हरेकपटक मस्जिदको घर जाँदा तजबिज बोकेर उभिन्छौ र दुई हात जोडेर प्राथना गर्छौ । 

कुरान भुलेर पढ्न चाहन्थ्यौ वेद र भन्न चाहन्थ्यौ– बदलिएँ म बदलिएँ । तिमी त मेरो संसारको राजकुमार बन्न तयार थियौ तर कहिल्यै, कुनै समय पनि सोधेनौ कि मलाई के मनपर्छ ? 

तिमीले रोजेको संसार कस्तो छ ? तिम्रो संसारमा म उपयुक्त पात्र हो कि होइन ? तिमीले देखेको सपनाजस्तै मेरा आँखाले ती सपना देखेका छन् कि छैनन् ? म चञ्चल पक्कै थिएँ तर कति गम्भीर थिएँ भन्ने कुराको गहिराइ तिमीले कहिले नापेका रहेनछौ । 

कफी सपबाट निस्कँदै गर्दा खुब पानी परिरहेको थियो । मसँग छाता थिएन । यसरी बेमौसमी झरी वर्षन्छ भन्ने नै कहाँ लागेको थियो र ? मस्त पानीमा भिज्न मलाई मनपर्छ । तर त्यो दिन कति नमीठो संयोग, कति कर्कश लाग्ने पानीको संगीत, किनकि तिमीसँग छुटेदेखि मेरो आँखामा आँसु छुटेको थिएन । भिज्न त मलाई पानीले निकै भिजाएको थियो तर त्योभन्दा बढी भिजेकी थिएँ आँसुले । तिमीले किनिदिएको क्याटबरी कति बेस्वादिलो लागेको थियो । 

मन मान्नै तयार थिएन, तिमीले मलाई प्रेम गर्छौ भन्ने । म रुझ्दै घर पुगेँ । निकै थाकेकी थिएँ । खानाको स्वाद थाहा भएन, तर अरुका लागि बाँच्ने मान्छे म बाबाका लागि खाना खाइदिएँ ।

रातभरि झरीले रुझेको माटो बिहान उठ्दा न्यानो अनुभव गर्दै थियो । बाबाले बे्रक फास्ट बनाइदिएर टेबुलमा राखिदिनुभएको रहेछ । कफी थियो, साथमा थियो ब्रेड । सधैँ गए है भनेर जाने बाबा, त्यो दिन केही नभनी जानुभएको थियो । सायद बाबालाई राम्ररी थाहा थियो, केही भएको छ, तर केही बुझ्ने कोसिस गर्नुभएन । घरका सारा निर्णय लिने छोरीले आफ्नो निर्णय गर्न सक्छे भन्ने बाबालाई राम्रोसँग थाहा थियो । तर भित्र छोरी कति कमजोर भएकी छ भन्ने कुरा बाबाले थाहा पाउनुभएको थिएन । कफी पिएँ । खुसी लाग्यो– विश्वास गरिने रहेछ भन्ने कुरामा न बाबाले बेलुका गाली गर्नु भो, न बिहान केही भन्नु भो । 

बिहान उठ्दा बाहिर एक बुक्के गुलाफको फूल रहेछ, उचालेर ल्याएँ । सबैले प्रेम गर्छन्, गुलाफलाई । तर त्यसको एक पत्र मात्र छोएर हेर्नुपर्छ कति कोमल हुन्छ । यस्तै त हो मन पनि, हेर्दा दरिलो देखे पनि भित्र त्यति नै कमजोर भएकी थिएँ म पनि त्यतिबेला । यति कुरामा म ढुक्क थिएँ, मैले उसलाई मेरो वास्तविकता भन्नुपर्छ र सम्बन्धको अन्त्य गर्नुपर्छ । फटाफट निस्केँ घरबाट । 

उसको पसल गएर सोधेँ– सलिम हुनुहुन्छ ? 

जवाफमा उसको बाबाले भन्नुभयो, ‘छैन रातिदेखि नै आएको छैन, कहाँ गएको हो पसल असरल्ल छ । यति बुझ्ने केटा पनि म बूढोलाई छाडेर कहाँ जान्छ कहाँ ।’ 

‘नानी आउ खाजा खाएर जाऊ,’ सलिमको बाबाले बोलाइरहनुभएको थियो । 

‘कुनै दिन खाउँला, अहिले हतार छ’ यति भनेर म निस्केँ । 

‘त्यही दिन घर फर्कनु थियो, घरमा मेरो सानो संसारले मलाई पर्खिरहेको थियो । साना–साना आँखाले सोधिरहेका थिए, शून्य भएको थियो, घरका चौकुना । धेरै दिन भएको थियो, नबजेको चुराको छिन्छिन् । घरमा भाँडाको झगडा नभएको पनि धेरै दिन भइसकेको थियो । बेस्वादिलो भएको थियो, खानाको स्वाद त्यसैले पनि म फर्कनुपर्ने थियो । कपडा प्याक गरेँ, घर सफा गरेँ, बाबालाई खाना बनाएर राखिदिएँ र केही गाँस निलेर निस्केँ आफ्नो राज्यतर्फ । 

मनमा लागिरह्यो उसलाई मैले मेरो कुरा भन्नुपर्छ तर सलिम थिएन । उसलाई खोज्नु जरुरी पनि थिएन । उसले कहिल्यै पूरा नहुने सपना देखेको थियो । त्यो सपना रंगीनबाट बिस्तारै सादा हुँदै गएकामा मलाई मतलब हुने कुरा नै भएन । बाबालाई कल गरेँ र आफू जान लागेको कुरा जानकारी गराएँ । 

‘कहिले आउँछेस् ? म डाक्टरकहाँ जानुपर्नेछ, छिटै आइज है ।’ 

छिटो आउनु थियो, मेरो सबै कुरा सलिमलाई भन्नु पनि थियो ।  

घरबाट निस्केर एकपटक धरहरा हेर्न आएँ । निकै शान्त थियो धरहरा । चढ्ने र ओर्लनेको लाइन थियो । क्याफेमा मःमः चाउमिन खानेको घुइँचो लागेको थियो । 

त्यसपछि म हेटौँडाका लागि गाडी चढेँ । बाटाभरि मनमा अनेकौँ कुरा खेलिरहे । 

घर पुगेँ, सामान थन्काएँ, खाना बनाएर सबैले खायौँ । बाउछोरी भुसुक्कै निदाए तर म निदाउन सकिरहेकी थिइन । घरको छतमा उक्लेँ । सोच्न थालेँ, सलिमको मनमा उब्जेको प्रेमको आँकुरा मेरा लागि केही हैन भन्दाभन्दै पनि धेरै कुरा थियो । कति ठाउँमा उसको कुरा ठीक, कति ठाउँमा मेरो कुरा ठीक । निकैबेर द्वन्द्व चलेको थियो मनमा । लगभग रातको ११ बजे छतबाट ओर्लें र एकपटक बाउछोरीलाई नियालेँ । मस्त निद्रामा पनि छोरी बोलिरहेकी थिई, ‘आमा, आमा ।’  उसका बाबु पनि बोलिरहेझैँ लाग्थ्यो, ‘तिमीले गर्दा त मेरो घर घर जस्तो छ ।’

फेरि एकपटक आँखा मजाले भरिए । आफैँले लगाएको सलको फेरोले आँसु पुछेँ । 

समय आफ्नै रफ्तारमा बित्दै गयो । ०७२ को भूकम्पले थुप्रै जनधनको क्षति ग¥यो । भूकम्पका बेला बाबाको मात्र याद आएछ । बाबालाई फोन गरेँ । भन्दै हुनुहुन्थ्यो, ‘नानी,, भूकम्पमा परेर सलिमको मृत्यु भयो ।’ मेरा आँखा रसाए । 

उसलाई भन्नुपर्ने थियो, ‘सलिम, म एक विवाहित नारी हुँ र मेरो बच्चा छ । मेरो आफ्नै संसार छ । तिमी मलाई यसरी बेहद प्रेम नगर । म तिमीलाई प्रेम गर्न सक्दिनँ ।’ 

तर मनको कुरा अधुरै रह्यो ।

प्रकाशित: १८ कार्तिक २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App