उदाउँदो सूर्यलाई अघ्र्य दिई आज छठपूजा समापन गरिएको छ । छठीमाईलाई मनपर्ने परिकारको रूपमा अघ्र्यमा अनिवार्य समावेश गरिन्छ, ठेकुवा । ठेकुवा छठीमाईको प्रसादका रूपमा खाने र खुवाउने चलन छ । विशेषतः छठ पर्वमा खाइने भए पनि यसलाई जहिलेसुकै पनि बनाउन सकिन्छ । गहुँको पिठोबाट बन्ने यो क्रन्ची मिठाई खाजाका रूपमा खान सकिन्छ।
चोखो गहुँको पिठो घिउमा मुछेर छठको दिन ठेकुवा बनाइन्छ । अर्घमा चढाइने प्रसाद भएकाले पूजाकोठामै पिठो मुछेर ठेकुवा बनाउने चलन छ । घिउमा पिठो मुछेर बनाइएको ठेकुवा घिउमै डिप फ्राई गरी कुरुमकुरुम बनाइन्छ । परम्परागत रुपमा त्यसरी बनाइएको ठेकुवा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई दिइने अघ्र्यमा चढाइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइसकेपछि व्रत समापन गर्ने बेला त्यसलाई खाइन्छ ।
कसरी बनाउने ?
चाहिने सामग्रीः
– दुई सय ग्राम आँटा,
– ए सय ५० ग्राम चिनी,
– सय ग्राम घिउ,
– इच्छाअनुसार नरिवल, किसमिस
– आधा कप पानी वा दूध ।
बनाउने विधिः
– मैदालाई एउटा भाँडामा हालेर २५ ग्रामजति घिउ राखी मोल्ने । त्यसपछि चिनी, किसमिस हालेर अलिअलि पानी वा दूध छर्कंदै मुछ्ने ।
– मुछेको पिठोलाई सानासाना डल्ला छुट्याएर धेरै पातलो नबनाई बेल्ने ।
– बेलिएको पिठो गिलासको घेराले काटेर सानो रोटीजस्तो आकारमा निकाल्ने । काठको साँचो प्रयोग गरी बुट्टा निकाली आकर्षक पनि बनाउन सकिन्छ ।
– एउटा प्यान वा कराईमा बाँकी रहेको घिउ तताएर अघि बनाएर राखेको ठेकुवा फ्राई गर्ने ।
– खैरो हुन्जेल फ्राई गरेपछि ठेकुवा पाक्छ । यसरी तयार भएको ठेकुवा तातै खाँदा निकै स्वादिलो हुन्छ । यसलाई एक हप्तासम्म राखेर पनि खान सकिन्छ।
प्रकाशित: १० कार्तिक २०७४ ०६:३८ शुक्रबार