मानवशास्त्री ढकाल समाज, संस्कृति, रूपान्तरण तथा भूमिलगायत विषयमा कलम चलाउँछन् । ढकालका ल्यान्ड एन्ड एग्रारियन कोइसन : एस्से अन ल्यान्ड, टेनर, एग्रारियन रिलेसन्स एन्ड पेसान्ट मुभमेन्टस् इन नेपाल (२०१४), बोटे अफ नेपाल (सहलेखन) २०१४, नेपालमा भू–स्वामित्व र भूमिसुधार (२०१२) लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् ।
तपाईंको हातमा अहिले कुन पुस्तक छ ?
म आजकाल आफ्नो पेसागत आवश्यकताले निर्धारण गरेका पुस्तक बढी पढ्ने गरेको छु । यो एक प्रकारको बाध्यता पनि हो । आफूले चाहेजस्तो स्वतन्त्र छनोट गरेर पढ्न पाइँदैन । पेसागत आवश्यकता पनि आफ्नै छनोटअनुरुप भएकाले पढ्न रमाइलो नै हुन्छ ।
अहिले म केही समयदेखि ‘पेजेन्ट्री’सम्बन्धी नयाँ–पुराना पुस्तक पढ्दै छु । उदाहरणका लागि मेराअगाडि यतिबेला महेशचन्द्र रेग्मीको ल्यान्ड टेन्युअर एन्ड ट्याक्सेसन इन नेपाल, सेडन, ब्लेइकी र क्यामरुनद्वारा लिखित पेजेन्ट्स एन्ड वर्कर्स इन नेपाल, माइकेल किर्नीको रि कन्सेप्चुयलाइजिङ द पेजेन्ट्री, रोबर्ट रेड फिल्डको द लिटल कम्युनिटी एन्ड पेजेन्ट सोसाइटी एन्ड कल्चर, जेम्स स्कटको द मोरल इकोनोमीअफ द पेजेन्ट लगायत किताब छन् । एउटा पेपर लेख्ने क्रममा भएका कारण यी किताब हेर्दै छु ।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?
स्वेच्छिक हिसाबले दसैँअघि र आंशिक हिसाबले यात्राका क्रममा यज्ञशद्वारा लिखित भुइयाँ, कुमार नगरकोटीको दोचा र सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपाल भाग १ र २ का केही खण्ड पढिसकेँ । संयोग यी तिनै ननफिक्सन हुन् तर यी तीनै पुस्तक कुनै रसिलो आख्यानको स्वाद दिने तहका छन् ।
मनप¥यो कि परेन ? किन ?
यज्ञशको भुइयाँ सामान्यतः लेखनीको विषय नै नबन्ने वा बन्न नसकेका त्यस्ता महिला पात्रका बारेमा छ, जो गरिबीको कहालीलाग्दो दुष्चक्रमा फसेको आफ्नो जीवनमा उज्यालोको सम्भावना खोज्न संघर्षरत छन् । यो केवल त्यस्ता पात्राको जीवनी मात्र नभई भुईं तहका मान्छेले भोग्नुपर्ने संरचनागत हिंसा र उनीहरूको प्रतिरोधको कथा बुझ्न सहयोगी समकालीन नेपाली समाजको इतिहास पनि हो ।
जसरी कुमार नगरकोटी आफ्ना फरक शैलीका आख्यान लेखनीका लागि चिनिएका छन्, उनको आत्मकथा दोचामा पनि त्यो खुबी देखाएका छन् । बिल्कुलै फरक स्वाद दिने आत्मकथा हो यो नगरकोटीको । एउटा सरल रेखामा घटना विवरण छैनन्, जुन अक्सर आत्मकथाहरूमा हुने गर्छ । नगरकोटीको आत्मकथाको सँगालोजस्तो, आत्मपरक निबन्धजस्ता, तर आत्मालाप होइन ।
सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपाल चार भोल्युममा गरी पाँच भाग छन् । राणाकालका अन्तिम दशकका चाखलाग्दा संस्मरण र वृत्तान्त छन् । आधिकारिक इतिहास नै त मान्न नसकिएला कतिपय सन्दर्भमा तर तत्कालीन समाज, अर्थव्यवस्था, प्रशासन बुझ्नका लागि सरल र उपयोगी पुस्तक हुन् यी ।
अब के पढ्ने योजना छ ?
जसरी के पढियो भन्ने कुरा पेसागत आवश्यकताले निर्धारण गर्छ, त्यसैगरी अब के पढ्ने भन्ने कुरा पनि पेसागत आवश्यकताले नै निर्धारण गर्नेछ मेरा लागि । मेरो स्वेच्छिक छनोट सीमित गरिदिएको छ यसले ।
तत्काल पढ्नका लागि छुट्याइएका पुस्तक रुटेड इन द ल्यान्ड ः एस्सेज अब कम्युनिटी एन्ड प्लेस (विलियम भिटेक र वेस ज्याक्सनद्वारा सम्पादित), जयन्त परेराद्वारा सम्पादित ल्यान्ड एन्ड कल्चरल सर्भाइभलः द कम्युनल ल्यान्ड राइट्स अफ इन्डिजिनियस पिपुल्स इन एसियालगायत पुस्तक छन् ।
पत्रकार हरिबहादुर थापाको रजगज र राज सरगम लिखित उपन्यास छाउघर पढ्ने योजना छ ।
कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?
पढ्नु आवश्यकता र रहर दुवै हो । कस्तो किताब लेखियोस् भन्ने चाहना पनि समय र अवस्थाअनुसार फरक पर्ने कुरा हो । आख्यानतर्फ केही संकेत देखिएका छन् । जीवनलाई पात्रको विश्वदृष्टिबाट हेर्ने र रुचिकर वृत्तान्त तयार गर्न सक्षम केही आख्यानकार हाम्रासामु छन् ।
गैरआख्यान र अनुसन्धानमूलक पुस्तकका हकमा भने हामी कमजोर छौँ । इतिहास अध्ययन र लेखन हाम्रो खट्किएको पक्ष हो जस्तो लाग्छ मलाई । किनकि यो कठिन काम पनि हो ।
पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक ? किन ?
पढ्ने रुचि परिष्कृत हुँदै जाने हो । कुनै समय र सन्दर्भमा गज्जब लागेका किताब पछि त्यस्तो नलाग्न सक्छ । फेरि एउटै पुस्तक सधैँभरि मनपर्नुपर्छ भन्ने पनि छैन । तैपनि मैले सामान्यतः क्रिस हम्र्यानको पिपुल्स हिस्ट्री अफ द वल्र्ड पढ्नैपर्ने किताब हो भन्दै आएको छु । लामो अवधि र व्यापक क्षेत्र ओगटेको तर इतिहासबारे लेखिएको सरल पुस्तक पढ्नुपर्छ । मेरा लागि इतिहास पठन यसकारण पनि महŒवपूर्ण लाग्छ कि हामी जति परसम्मको विगतबारे थाहा पाउन सक्छौँ, त्यसरी नै परसम्मको भविष्यबारे सोच्न सक्छौँ । वर्तमानको जटिलता बुझ्न पनि विगत पढ्नु आवश्यक हुन्छ ।
नपढी नहुने पुस्तक ? किन ?
मैलेमाथि भनेजस्तै पुस्तक पढ्न आवश्यक छ । तर, संसारमा त्यस्तो कुनै पुस्तक छैन होला, जो नपढी हुन्न । ज्ञान खास र सीमित पुस्तकमा मात्र समेटिएका हुन्नन् । पढ्दै जाँदा छनोट पनि परिष्कृत हुँदै जान्छ र तत्तत् क्षेत्रका पढ्नैपर्ने पुस्तकबारे पाठकले ज्ञान हासिल गर्ने हो । कक्षाकोठाको विद्यार्थीलाई जस्तो पढ्नैपर्ने पुस्तक भनेर सिफारिस गर्ने कुरा गलत हो जस्तो लाग्छ मलाई । विषय र रुचिअनुसार अहिले त पढ्नैपर्ने १० पुस्तक भन्यो भने गुगलले नै बताइदिन्छ नि ।
पुस्तकसँग तपाईंको साइनो कस्तो छ ?
म सामान्य साक्षर किसान परिवारमा जन्मेको हुँ । सम्झँदा घरमा त्यस्तै चार, छ वटा पुस्तक थिए होलान् । त्यो पनि पिताजीले कपडामा पोको पारेर पूजाकोठाको देउताहरू राख्ने टेबलमा राख्नुभएको । पछि खोलेर हेर्दा त पं. बद्रीनाथ भट्टराईको पौराणिक कहानीसंग्रह, त्यस्तै सायद ललितजंग सिजापतीको होला ऐतिहासिक कहानीसंग्रह, भीमनिधि तिवारीको सामाजिक कहानीसंग्रहको कुनै एक भाग, चाणक्य नीति र भागवत् गीता थिए । पछिल्लोबाहेक तीन पुस्तक मेरा प्रिय रहे, खासमा कथाका किताब त दोहोर्याएर पढियो धेरेपटक ।
गाउँमा (बौद्ध महांकाल) पुस्तकालय थियो, त्यस्तै बौद्ध, पशुपति देउपाटन, चावहिलको कुटुवहाल र खासगरी चावहिलको मित्र वाचनालय विविध खाले किताबको संगत पु¥याउन सहयोगी रहे । एसएलसी दिएपछि भने न्युरोडस्थित भारतीय पुस्तकालय, अमेरिकन लाइब्रेरी र कान्तिपथमा रहेको ब्रिटिस काउन्सिल जान थालियो । ब्रिटिस काउन्सिलको त लामो समय सदस्य पनि रहेँ । हैसियतअनुसार अलिअलि पढियो भनौँ । म हुर्केको समय र क्षेत्रमा वामपन्थी राजनीतिको प्रभाव अलि गाढा थियो । तसर्थ नेपाली र हिन्दीमा अनुदित रसियाली र चिनियाँ अनि भारतीय साहित्य पढ्न पाइन्थ्यो, साथीभाइको संगतमा ।
पछि अध्ययन र पेसागत कारण आवश्यकता र रुचिले किताब किन्न थालियो, संग्रह हुन थाले ।
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका होलान् ?
मेरो विचारमा हाम्रा आख्यान वा गैरआख्यान क्षेत्रमा विश्वका अन्य भागका मान्छेलाई रुचि हुने र त्यस स्तरका किताब नै लेखिएका छैनन् । अंग्रेजीमा लेखिएका सीमित किताब छन् । अनुवाद महँगो पर्ने भएका कारण व्यावसायिक प्रकाशकले रुचि देखाउने कुरो भएन । केही सुरु भएका छन्, जस्तै नारायण वाग्ले, बुद्धि सागरका उपन्यासहरू अन्य भाषामा पनि अनुवाद हुँदै छन् । अनुुसन्धानमा आधारित किताबहरूको पाठक थोरै हुन्छन् तर सम्बन्धित मान्छेले पढिरहेकै हुन्छन् । अन्य मुलुकका लेखकसँग क्राफ्ट र व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धा गरेर नै नेपाली लेखकले मुलुक बाहिरका पाठकसमक्ष पहुँच बढाउने हो । मुलुकभित्रै लेखेर बाँच्न सकिने वातावरण भर्खरै त बन्दै छ, त्यो पनि केही सीमित लेखकका लागि ।
पढ्न मन लागेर पनि नपाएको पुस्तक ?
अहिले त थुप्रै किताबको डिजिटल कपी पनि उपलब्ध हुन्छन्, तसर्थ पढ्नै मन लागेर पनि नपाउने भन्ने एकदम सीमित हुन्छन् । तैपनि पहुँचका हिसाबले भन्दा पनि समयका हिसाबले पढ्न मन लागेर, चाहेर नसकेको वा नपाएको किताबको त लामै लिस्ट छ मसँग ।
हालसम्म कति पुस्तक पढ्नुभएको छ ?
अहिलेसम्म कति किताब पढियो होला भन्ने अनुमान लगाउन गाह्रो छ । त्यो धेरै भएर होइन तर लामो समयका कारण । पढाइका क्रममा पिएचडी गर्दाको ६ वर्षे अवधिमा सायद धेरै किताब पढियो कि प्रतिवर्ष पढेको किताबको संख्या गणनाका हिसाबले । अहिले त कतिपय सन्दर्भमा किताबभन्दा जर्नल आर्टिकल महŒवपूर्ण भएका छन् र पढ्न पनि कठिन ।
प्रस्तुति : वसन्त खड्का
प्रकाशित: २८ आश्विन २०७४ ०४:१२ शनिबार