१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

दोहोरो जीवनको अनुभव

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?

अति रहरले मानिसले सन्तान जन्माउँछ । हेर्दा कसैका लागि सन्तान हुर्किरहेको देखिएपनि त्यहाँ सन्तान होइन, बाबुआमाका सपना हुर्किरहेका हुन्छन् । अझ नेपालको प्रजातान्त्रिक तथा राजनीतिक कोइराला परिवारमा कुनै सन्तान जन्मनुका धेरै अर्थ थिए ।
‘पहिलो सन्तानका रुपमा छोरा जन्मियोस् भन्ने मेरो बुबा चाहनुहुन्थ्यो,’ नेपाली साहित्य तथा राजनीतिका हस्ती विश्वेश्वरप्रसाद कोइरालाकी जेठी बुहारी सुष्माले पुराना दिन सम्झँदै परिवारसँग भदौ अन्तिमसाता भनिन्, ‘छोरी जन्मिएको थाहा पाएपछि, अस्पतालमा मुख हेर्न आउनुभएको मेरा बुबा भगवति प्रसादले नाक खुम्च्याउनु भयो ।’
त्यस दिन उनले आफैँप्रति प्रतिज्ञा गरिन्, म मेरी जेठी छोरीलाई कसैसँग नहार्ने सन्तान बनाउँछु । उसले जे गरोस्, कुनै छोराले भन्दा कम नगरोस् !
नभन्दै पहिलो सन्तान, जो मनीषा कोइरालाका रुपमा हुर्किइन्, बढिन्, आज संसारभरि नै अभिनेत्रीका रुपमा प्रख्यात छिन् । उनका केही फिल्म सर्वकालीक राम्रा फिल्मका रुपमा चिनिइन्छन् ।
मनीषा जन्मने बखत बिपी कोइराला विदेश भ्रमणमा थिए । उनको लामो विदेश यात्राका क्रममा बिपीलाई जेठी बुहारी सुष्माले आफ्नो स्वास्थ्यका बारेमा चिठ्ठीमा केही न केही लेखिपठाउनु पथ्र्यो । आफ्नो राम्रो रेखदेख भए/नभएको जानकारी दिनुपथ्र्यो ।
सुष्माले लेखेकी थिइन्, ‘बाबा, हजूरलाई छोरा मन पर्छ कि छोरी ? छोरी भई भने त हेला गर्नु हुन्छ होला !’
बिपीले जवाफमा लेखेका थिए, ‘सन्तान ठूला कुरा हुन्, छोरा वा छोरी होइन ।’
तर आफ्नै बुबाले भने नाक खुम्च्याएको दृश्य अझै उनको दिमागमा ताजै छ ।
त्यो बेलाको नेपाली कांग्रेस पार्टी थिएन, घर वा परिवारजस्तो थियो । प्रजातन्त्रका लागि संघर्ष गरिरहेका सबै जना परिवार र आफन्तजस्ता थिए । त्यसैले त मनीषा कोखमा हुँदा गणेशमान सिंहले आफ्नो स्वास्थ्यका लागि जति ख्याल राख्थे, त्यस किसिमको ख्याल त उनले मंगलादेवीको पनि राखेनन् होला !
‘मनीषा कोखमा हुँदा मलाई खान मन नलाग्ने, उहाँ चाहिँ मलाई कर गरी गरी केही न केही खान आग्रह गर्ने,’ सुष्मा सम्झन्छिन्, ‘उहाँले त्यसबेला मेरा लागि धेरै गर्नुभयो । त्यो प्रेम र अपनत्व सम्झँदा मलाई गर्व लाग्छ ।’
सानैदेखि तीक्ष्ण मनीषा गीतका लयमा आफूलाई समाहित गराउँथिन् । जसै सुष्माले ‘चन्दामामा...’ गाउँदै मनीषालाई कोक्रोमा हल्लाउँथिन्, डेढ वर्षभन्दा कम उमेरमै उनी आमाका शब्द पछ्याउँदै गीत गाउँथिन् ।पछि हुर्कंदै गर्दा र मौका मिल्दा मनीषाले सुशीला आमा (बिपी पत्नी)सँग नृत्यका केही चाल पनि सिकिन् । त्यसो त मनीषाकी आमा स्वयंमा कत्थक नृत्यमा पारङ्गत थिइन् । यसरी हेर्दा मनीषामा अभिनय मोह हजूरआमा र आमाबाट प्राप्त भएको देखिन्छ ।
अनि राजनीतिको मोह ? मनीषा सम्झन्छिन्, ‘घरमा राजनीतिक माहोल हुन्थ्यो । कहिलेकाहीँ बाबा (बिपी) र अरुहरु जम्मा भएर छलफल गरिरहेका बेला राजनीतिका बारेमा म टिप्पणी गर्थें । बाबा हाँस्नु हुन्थ्यो । अरुले मलाई जाः अहिले तेरो यसबारेमा बोल्ने बेला भएको छैन भनेर खेदाउनु हुन्थ्यो ।’
अहिले सम्झँदा मनीषालाई हाँसो उठ्छ । ‘मैले के जानेँ होला, के टिप्पणी गरेँ होला !’ हाँस्दै उनी भन्छिन्, ‘तर यति चाहिँ थाहा छ, नेपालमा जे नहुनुपथ्र्यो, त्यै त्यै भइरहेको छ ।’

सासु, आमा र बुहारी
बनारस मात्र होइन, जहाँ जहाँ बसाइँ सर्नुपर्यो, संघर्ष गर्नुपर्यो, त्यहाँ त्यहाँ सुष्मा र सासु सुशीलाले सुटुक्क समय चोरेर मनोरञ्जनका लागि सिनेमा हेर्थे । ‘म, सुशीला आमा र मेरी आमा कैयौँ पटक मौका मिल्नेबित्तिकै फिल्म हेर्न जान्थ्यौँ,’ सासुआमाको प्रशंसा गर्दै सुष्मा भन्छिन्, ‘सुशीला आमा काम पनि मज्जैले गर्ने र मनोरञ्जनमा पनि कहिल्यै कमी नगर्ने बानीको हुनुहुन्थ्यो । मनोरञ्जनको एउटै माध्यम सिनेमा हुन्थ्यो र दिउँसो दिउँसो हामी फिल्म हेर्न हल जान्थ्यौँ ।’
सिनेमा, साहित्य र सङ्गीत कोइराला परिवारको प्रिय मनोरञ्जनको विषय थियो । मनीषा सम्झन्छिन्, ‘सुशीला आमाको हातमा हरबखत राम्रा राम्रा साहित्यिक पुस्तक देख्थेँ । उहाँलाई सङ्गीत, सिनेमा र साहित्यले आकर्षित गथ्र्यो । त्यही बानी ममा सर्यो । अरुले रोमान्टिक उपन्यास पढ्दै गर्दा म भने हार्पर ली, एनी र्यान्ड र जर्ज अर्वेलका चर्चित उपन्यास पढिरहेकी हुन्थेँ ।’
उता सुष्मा भने आफ्नो रुचिसँग मिल्दो सासु पाउँदा भाग्यमानी महसुस गर्छिन् । ‘यसको अर्थ हामी सासुबुहारीबीच झगडा नपर्ने होइन,’ उनले प्रष्ट्याउँदै भनिन्, ‘उहाँ ठुस्स पर्नुभयो भने मलाई बडो तनाव हुन्थ्यो । के कारणले रिसाउनु भयो भनेर सोच्दासोच्दा हैरान हुन्थेँ । आफूले त गल्ती गरेको थाहा पाउँदिनथेँ अनि म मेरी आमालाई सोध्थेँ, सुशीला आमा रिसाउनु भयो कसरी फकाउने ? आमाले भन्नुहुन्थ्यो, उहाँलाई सबैभन्दा मनपर्ने तरकारी पकाएर ख्वा न । अनि म उहाँलाई मनपर्ने गरी तरकारी पकाउँथेँ र फकाउँथेँ ।’
मनीषा केन्द्रित सुष्मा
आफ्ना सन्तानका बारेमा जस्तोसुकै अप्ठेराका बेलामा आमा बघिनी बन्छे । चाहे सन्तानलाई पढाउने मामिलामा होस् या करियर बनाउने, मनीषाका हरेक पाइलामा सुष्मा छायाँ बनी पछ्याइरहिन् । जब जब मनीषालाई अप्ठेरो पथ्र्यो, उनी बघिनी बनेर ओत र सुरक्षा दिइरहिन् । तर कलिलो उमेरमा मनीषा यी सबै कुराबाट बेखबर थिइन् । कहिलेकाहीँ त ‘हिटलर’सम्म भन्न भ्याउँथिन् । (अहिले त प्रेमपूर्वक आफ्नी आमालाई कहिलेकाहीँ यसो भन्दा रमाइलो मान्छिन् ।)
दिल्लीमा विद्यालयीय शिक्षा पूरा भएपछि मनीषा नेपाल आइपुगेकी थिइन् । यहाँ उनका मामा प्रेम उपाध्यायले विज्ञापन बनाउँदै थिए र भाञ्जीलाई ‘मेघा उल’मा अनुबन्ध गरेका थिए । मनीषाले डराउँदै आमालाई खबर गरिन्, ‘आमा, म एउटा विज्ञापन फिल्ममा काम गर्छु नि !’
मनीषाको मनमा फिल्मप्रति आकर्षण भए पनि अभिनयमै जम्ने सपना यसबेलासम्म हुर्किसकेको थिएन । आमा सुष्मालाई लाग्यो, ‘पढाइपछिको फुर्सदको समय सदुपयोग गर्नु राम्रै कुरा हो !’
पछि विज्ञापन टेलिभिजनमा प्रसारण हुन थालेपछि मनीषाको सर्वत्र चर्चा हुन थाल्यो । तत्कालै उनी फिल्म ‘फेरि भेटौँला’मा अनुबन्धित भइन् ।
‘आमा, म फिल्म खेलौँ कि नखेलौँ ?’ मनीषाले आमासँग स्वीकृति माग्न काठमाडौँबाट दिल्ली फोन गरिन् ।
सुष्मालाई लाग्यो, समयको सदुपयोग गरोस् । घरमा देवरहरु (शेखर, सशांक, हर्ष) डाक्टर थिए । डाक्टरीको माहोल थियो, त्यसबेला । मनीषाले पनि वचन दिएकी थिइन्, म डाक्टर नै बन्छु, दायाँबायाँ बरालिन्नँ ।


‘फेरि भेटौँला’को अनुबन्धका बेलामा एक लाख रुपैयाँ पारिश्रमिक पाउने कुराले तहल्कै पिटेको थियो । एक महिनाको सुटिङ सकिनेबित्तिकै एक लाख पारिश्रमिक पाइने कुराले सुष्मालाई आकर्षित गर्यो ।


हिन्दी फिल्म उद्योगमा संघर्ष गर्ने बाटो बन्ला भन्ने सानो आशा थियो यो फिल्म । त्यो आशा पूरा गर्ने एउटा बाटो थियो, जन्मदिनको उपहार । हरेक वर्ष जन्मदिनको उपहार के माग्छौ भनेर सुष्माले सोध्थिन् । मनीषाको मनमा थियो, मुम्बई देखाउन र कलाकार भेट्टाउन लैजानुस् । उनलाई थाहा थियो, आमाले यो इच्छा पूरा गरिदिनुहुनेछ ।
मौका पनि कस्तो रह्यो भने सुष्मा भारतको दिल्लीमा जुन ठाउँमा काम गर्थिन्, आइटिभी नामक कम्पनीमा एउटा सानोतिनो पार्टी थियो । पार्टीमा निम्तालु थिइन्, टाइम्स अफ इन्डियाकी पत्रकार मीना ऐयर । उनी मुम्बईकी चर्चित फिल्म पत्रकार थिइन् । उनले समय मागेपछि मुम्बईका एक से एक कलाकार र निर्देशकले समय दिन्थे । सुष्माले ठानेकी थिइन्, मुम्बईजस्तो ठूलो ठाउँमा बाहिरियालाई सङ्घर्ष गर्न कठिन हुन्छ भन्ने मीनाले बताइदेलिन् र मनीषाको फिल्ममोह सकिएला ।
पार्टीका बेला सबै आफ्नै मुडमा मस्त थिए । ऐयर र मनीषा भने एउटा कुनामा घण्टौँ गफिइरहेका थिए । यता सुष्मा मख्ख परिन्, ‘मीनाले जस्ता संघर्षका कुरा सुनाइन्, त्यसले मनीषाको मन बिथोलिदियो होला ! तर उनले त मनीषालाई मुम्बईका चर्चित फिल्म निर्देशकलाई भेट्टाइदिने पो वचन दिइछन् !’
सुष्माले मुम्बई जाने स्वीकृति दिएर मात्र हुने थिएन किनभने कोइराला परिवारको सबैभन्दा मान्यजन सुशीला आमा थिइन् । मनीषाले मुम्बई जाने स्वीकृति माग्दा सुशीला आमाको भनाइ थियो, ‘तँ गोठालो नै भइस् भने पनि यस्तो गोठालो हुनु, जसको चारैतिर नाम होस् । कुनै पनि काम ठूलो वा सानो हुँदैन । कलाकार भइस् भने पनि सामान्य कलाकारका रुपमा काम नगरेस् ।’
सुशीला आमाको यस भनाइले मनीषालाई सधैँ मार्गदर्शकको काम गरिरह्यो ।
सुष्माले मनीषालाई मुम्बई लैजाने भइन् तर उनको शर्त थियो, ‘एक हप्ता मात्र तिमीले त्यहाँ बस्न पाउनेछौ, त्यसबाहेक एक दिन पनि तिमीले पाउने छैनौ ।’
मनीषाका लागि यही कुरा लाख थियो ।
मनीषाले मुम्बईमा संघर्ष गर्नका लागि नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नाउँले सघाउँथ्यो ? बिपीको भारतमै पनि जुन व्यक्तित्व थियो, त्यहाँको स्वतन्त्रता सेनानी पनि भएकाले उनलाई त्यस व्यक्तित्वको आशा थियो ?
‘बिल्कुलै थिएन किनभने त्यो ठाउँमा उहाँको व्यक्तित्वले काम गर्दैनथ्यो,’ मनीषाले भनिन्, ‘तपाईं कपुर खान्दानको हुनुहुन्थ्यो भने त्यसको बेग्लै महत्व हुन्थ्यो तर राजनीतिक घराना या स्वतन्त्रता सेनानीका सन्तानको कुनै अर्थ थिएन ।’ केहीबेरको मौनतापछि मनीषाले थपिन्, ‘बरु तपाईंको आत्मविश्वास र आशाको मूल्य हुन्छ । मैले त्यस बेला अनुभूत गरेको र पछि जीवनमा क्यान्सरले सक्नै लाग्दा पनि महसुस गरेको कुरा हो यो ।’
उनको आत्मविश्वास कस्तो भने, ऋषि कपुरले त्यस बेला ‘हिना’ फिल्म निर्देशन गर्दै थिए । जेबा बख्तियार मुख्य भूमिकामा अनुबन्धित भइसकेकी थिइन् । त्यस बेला आरके ब्यानरमा अनुबन्धित हुनु नै ठूलो कुरा हुन्थ्यो । अश्विनी भावेले अर्को सानो भूमिका पाएकी थिइन् । मनीषाले चाहेको भए अश्विनीको भूमिका पाउने थिइन् तर उनलाई फिल्मको दोस्री नायिका बन्नु थिएन ।
मुम्बईको एक हप्ते यात्राका बेला मनीषा र सुष्माले ऋषि कपुर, शेखर कपुर लगायतलाई भेटे । शेखर कपुर त्यस बेलाका हट निर्देशक थिए । उनले ‘मासूम’ र ‘मि. इन्डिया’ बनाएर वाहवाही कमाएका थिए । उनले ‘च्याम्पियन’ फिल्म बनाउने घोषणा भइसकेको थियो । त्यो फिल्ममा शेखर मनीषालाई लिन चाहन्थे । त्यसो हुन सके, मनीषाको करियर एकै पटक ‘टेकअफ’ गर्ने देखिँदैथ्यो तर भनेजस्तो भएन । शेखरको प्रोजेक्ट तयार भएन । पछि सनी देओलले ‘च्याम्पियन’ फिल्म त बनाए, मनीषाले त्यो फिल्ममा अभिनय पनि गरिन् तर कथा बेग्लै थियो, निर्देशक पनि अर्कै थिए ।
एक हप्ते समयावधिमा मनीषा र सुष्माले भेटेका अर्का व्यक्ति थिए, बोनी कपुर । उनले ‘प्रेम’ फिल्म बनाउँदै थिए । बोनीका कान्छा भाइ सञ्जय र तब्बु यस फिल्ममा देखिदै थिए । तब्बुको निजी कारणले फिल्म अड्किरहेको थियो । तब्बुले नगर्ने भए मनीषाले यो फिल्म पाउने लगभग निश्चित थियो । बोनीले पछि भने, ‘तब्बुलाई वचन दिइसकेकाले तपाईंलाई लिन सकिएन । उसले छाडी भने यो फिल्म तपाईंकै !’ तर पछि तब्बुले फिल्म स्वीकारिन् र मनीषा फिल्मविहीन भएर दिल्ली फर्किइन् ।
यहीबेला राजकुमार, दिलिप कुमारसहितको जम्बो स्टारकास्ट लिएर ‘सौदागर’ बनाउने तयारीमा थिए, सुभाष घई । विवेक मुश्रान र अर्को कुनै नयाँ युवतीको खोजीमा रहेका घईले दिल्लीमा सुष्मालाई फोन गरे । सुष्माले घईले फोन गरेको कुरा विश्वास नै लागेन । ‘उनी ज्यादै नरम थिए, त्यति ठूलो फिल्म निर्देशकले मलाई फोन गरेको कुरा कसरी पत्याउनु ?’ सुष्माले चक्रपथस्थित घरमा २६ वर्ष पुराना कुरा सम्झँदै भनिन्, ‘तर पछि उनले स्क्रिन टेस्टका लागि बोलाए । स्क्रिन टेस्ट भयो । मनीषा छानिएर सुटिङ हुन थाल्यो । पहिलो फिल्म नै यति ठूलो निर्देशकसँग गर्न पाएकोमा मनीषा खुसी थिई । मिहिनेत पनि मज्जैले गरी ।’
‘सौदागर’ रिलिज भएपछि मनीषा अन्तराष्ट्रियस्तरमै ख्यातिप्राप्त कलाकारका रुपमा दरिइन् । त्यसपछि उनको सफलताको कथा कसैबाट लुकेछिपेको छैन । उनले घई मात्र होइन, मणि रत्नम्, सञ्जय लीला भन्साली, रामगोपाल वर्माजस्ता एक से एक फिल्म निर्देशकसँग काम गरिन् । उनका ‘१९४२ः ए लभ स्टोरी (१९९४), अकेले हम अकेले तुम (१९९५), बम्बे (१९९५), अग्निसाक्षी (१९९६), खामोशी द म्युजिकल (१९९६), दिल से (१९९८), मन (१९९८), कम्पनी (२००२) लगायतका फिल्म स्मरणीय मानिन्छन् । पछिल्लो समय भने ‘डियर माया’मा उनको कामको सराहना भएको थियो । उनलाई सञ्जय दत्तको जीवनीमा आधारित फिल्ममा सञ्जयकी आमा नर्गिसको भूमिकामा देखिनेछ ।
उनको फिल्म यात्रा यति धेरै अघि नबढेको भए के गर्थिन् मनीषाले ? ‘म एक दुई वटा फिल्म गर्छु र मज्जाले पैसा कमाएर डाक्टरी पढ्छु भन्ने सोचेकी थिएँ,’ उनले भनिन्, ‘फिल्ममा यति अघि बढिएला भन्ने कहाँ सोचेकी थिएँ र ?’ १८ वर्षको उमेरमा उनी अनिल कपुरको घरमा भेटघाटका लागि जाँदा आफू घरको भव्यता देखेर चकित परेको बताउँछिन् । ‘अनिल त्यत्रा ठूला स्टार ! अनि उनको घर त यति भव्य कि म हेरेर ट्वाँ परेँ । त्यसैले म त अरुभन्दा पनि बोनी कपुरको फिल्म गरुँ भन्ने लाग्यो,’ मनीषाले मनको कुरा बताइन् ।
बोनी कपुर र उनकी पहिलो पत्नी मोना (बोनीले पछि श्रीदेवीलाई बिहे गरे) ले मनीषालाई लिन नसकेकामा क्षमा माग्न उनीहरु बसेको होटल पुगेका थिए ।
उनलाई सबैभन्दा चकित पारेको चाहिँ त्यहाँका ठूलाबडा निर्देशकको नम्र व्यवहार नै हो । ‘किन रैछ भनेको त सबै यति संघर्ष गरेर त्यो उचाइमा पुगेका हुँदारहेछन् कि प्रत्येक व्यक्तिमा आफ्नो विगत देख्ने !’ मनीषाले भनिन्, ‘तर आफ्नो सफलतामा उत्तिकै गर्व पनि किनभने सानोतिनो संघर्षले यो स्थान हात परेको होइन भन्ने चेत !’
पहिलो फिल्म ‘सौदागर’मा आफूले असाध्य राम्रो तालिम पाएकोमा कृतज्ञ छिन् मनीषा । सम्झन्छिन्, ‘मेरो काम देखेर एक दिन आमालाई दिलिप कुमारले भन्नुभएछ, यो केटी धेरै माथि जान्छे । यसलाई गाजल लगाइदे । कसैको आँखा नलागोस् !’ उनी थप्छिन्, ‘त्यो माया, स्नेह मैले त्यहाँ पाएँ ।’
‘सौदागर’लाई उनी नौलो ठाउँमा परिवार फेला पारेजस्तो ठान्छिन् । ‘त्यो बेला दोस्ती भएका सबैसँग अहिलेसम्म मेरो सम्बन्ध छ,’ उनले भनिन्, ‘ज्याकी श्राफ, दिप्ती नवल, अशोक मेहता (छायाकार) सबैसँग जीवनको अन्त्यसम्म सम्बन्ध हुन्छ मेरो । मलाई फिरोज खानले असाध्य माया गर्नुहुन्थ्यो ।’

मिहिनेती पहलाज
दोस्रो फिल्म ‘फस्ट लभलेटर’का निर्देशक पहलाज निहलानीलाई पनि उनी सम्झन चाहन्छिन् । ‘उहाँले विवेक (मुश्रान) र मलाई खुब काममा लगाउनु हुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘१८–१८ घण्टासम्म हामीले त्यस बेला काम गर्यौँ । विचरा उहाँ पनि स्वयं फिल्मको निर्देशक भएर रिफ्लेक्टर ओछ्याएर सुत्नु हुन्थ्यो । ती सबै देखेर हामीले कम्प्लेन गर्नै पाएनौँ ।’
सङ्घर्षका दिनमा आफूले घाम पनि भन्न पाइनन्, पानी परेको छ भन्न पाइनन् । त्यस बेलाको मिहिनेत उनका लागि वरदान भएको उनी सम्झन्छिन् । ‘आलस्य, अल्छी भन्ने कुरा रहेन, इगोका लागि ठाउँ नै रहेन,’ उनले भनिन्, ‘धेरैपछि आएर मात्र आइतबार मात्र काम नगर्ने, छुट्टी लिन्छु र घुम्छु भन्ने लाग्न थाल्यो ।’
फिल्म उद्योगमा १० वर्ष काम गरेपछि मात्र उनले बिहान सुटिङ ग¥यो, राति नगर्ने, राति गरे भने बिहान नगर्ने नियम बनाइएको थियो ।
एक लडकी को देखा तो...
विधुविनोद चोपडाको ‘१९४२ः ए लभ स्टोरी’मा मनीषालाई देखेर जावेद अख्तरले ‘एक लडकी को देखा तो ऐसा लगा...’ लेखे रे नि ? ‘हे, होइन हौ !’ मनीषा टक्टकिन खोजिन्, ‘कुरा यति मात्र हो कि क्यामेरा लभ्स मी । राम्रो क्यामेराम्यान, राम्रो मेकअप म्यानपछि मात्र म राम्री देखिन्छु । त्यत्तिकै त म त्यति राम्री मान्छे होइन ।’
यसपछि उनी खिलखिलाएर हाँसिन् ।
उनले फिल्म छान्दा कसरी छान्थिन् ? ‘यो त ईश्वरको कृपा हो,’ मनीषा भन्छिन्, ‘मेरो संगत राम्रो भयो । यसले निर्णय क्षमता राम्रो बनायो । १९४२ को कथा सुन्नेबित्तिकै मेरी आमाले भन्नुभयो, यो प्रोजेक्ट त गर्नैपर्छ ।’
त्यसअघि उनले कैयौँ व्यवसायिक, अभिनयमा लाउड फिल्म मनीषाले गरेकी थिइन् । त्यतिञ्जेल उनको करियर डामाडोल भइसकेको थियो । केही राम्रो एक्टिङ गर्नैपर्छ भन्ने लागेका बेला विधुविनोद चोपडाले यो नयाँ फिल्मको घोषणा गरेका थिए ।
सुष्मा र विधुकी पहिलो पत्नी रेणु सलुजा (रेणु पछि क्यान्सरले बितिन्) को चिनजान थियो तर चिनजानकै भरले कसैले करोडौँको प्रोजेक्टमा लिँदैन । कथा ज्यादै चित्त बुझेकाले सुष्माले मनीषालाई भनेकी थिइन्, ‘यो फिल्म त गर्नैपर्छ ।’
मनीषाको समस्या त्यो बेला के थियो भने अभिनयको शैली परिवर्तन भइसकेको थियो । उनमा फ्रेसनेस थिएन । आमाको सुझावअनुसार उनी विधुविनोद चोपडाको अफिसमा गएर स्क्रिन टेस्ट दिइन् । विधुले मुख बिगारे, ‘तिमीले मैले चाहेजस्तो काम गरेकी छैनौ । मनीषा, यु आर अ सीट् एक्ट्रेस !’
यो सुनेपछि मनीषालाई दुःख लाग्यो । उनले भनिन्, ‘मलाई एक दिनको समय दिनुस् । भोलि पनि मैले तपाईंले सोचेजस्तो स्क्रिन टेस्ट दिन सकिनँ भने यो रोलमा म दाबी गर्दिनँ ।’
विधुले भोलिसम्मको समय दिए । ‘त्यस रात मैले खानै नखाई रिहर्सल गरेँ,’ मनीषाले भनिन्, ‘न खाने न सुत्ने होश थियो, मेरो ताल देखेर आमा नै तर्सिनु भयो ।’
सुष्मा सम्झन्छिन्, ‘छोरी मिहिनेती थिई । रातभरि सुतेकी छैन, अभ्यास गरेकी ग¥यै छ । खाना पनि खाएकी छैन । उसको यो पागलपन देखेर मलाई पो डर लाग्यो । उसलाई सम्झाउन थालेँ, ‘हेर नानी, यो पाइएन भने पनि क्यै छैन । राम्रा फिल्म अरु पनि आउँछन् ।’
मनीषाले भनिन्, ‘हैन आमा, मलाई यो बाई हुक अर क्रुक चाहियो ।’
‘तँ खाँदिनस् भने म पनि खाना खाँदिनँ’, सुष्माले घुक्र्याइन् ।
त्यसपछि थोरै खाना खाएपछि सुष्मा ढुक्क भएर सुतिन्, मनीषा रिहर्सलमै लागिरहिन् ।
भोलिपल्ट पुनः मनीषाले स्क्रिन टेस्ट दिइन् । र, उनले जस्तो टेस्ट दिइन्, त्यो देखेर विधुले भने, ‘तिमीले हिजो जे गर्याथ्यौ, जिरो थियो । आज जे गर्यौ, १००% गर्यौ । पूरै फिल्मको सुटिङभरि तिमीले यही रिजल्ट दियौ भने मात्र म तिमीलाई लिन्छु । तिमी प्रमिस गर्छौ ?’
‘अफ कोर्स ! म गरिहाल्छु नि !’ मनीषाको खुसीको पारो रहेन । उनले त्यस बेला थाहा पाइन्, ‘संवाद बोल्नु ठूलो कुरा होइन । अभिनेत्रीले संवाद बोल्ने होइन, पात्रले बोल्नुपर्ने रहेछ । संवाद पनि भित्रबाट आउनुपर्ने रहेछ !’
‘त्यो फर्मुला नै अहिलेसम्म मैले प्रयोग गरिरहेकी छु,’ मनीषा भन्छिन्, ‘त्यो फर्मुलाले अहिलेसम्म काम गरिरहेको छ ।’ अभिनय गरेको वर्षौंपछि मात्र मनीषाले थाहा पाइन्, ‘कमर्सियल फिल्मले कलाकारलाई भित्रभित्रै कसरी सडाउँदो रहेछ !’
भन्सालीसँग चित्त दुखाई
‘खामोशीः द म्युजिकल’को सुटिङ थियो । सञ्जय लीला भन्सालीले गोवामा सुटिङ गर्दै थिए । बाउ (नाना पाटेकर)सँग छोरी (मनीषा)को झगडा परेपछि मनीषाले भित्तामा लात्ता ठोकेर केही संवाद बोल्दै रुनुपर्ने दृश्य थियो । उनले पहिलो सटमा निकै राम्रो काम गरिन् तर भन्सालीले त्यो दृश्य ४२ चोटि लिए । उफ्सम्म नगरी छोरीले प्रत्येक पटक उही दृश्य दोहोर्याइकन दिइरहेको देख्दा आमाको मन पग्लियो । सुष्मा त्यो क्षण सम्झँदै भन्छिन्, ‘मलाई त्यसो गरेको चित्त बुझेन । मैले गुनासो गरेँ, ‘हेर भन्साली, तिमीले मेरी छोरीलाई चिनेका छैनौ । मेरी छोरी ‘वन सट वन्डर’ हो, तिमीले पहिलो सट नै फिल्ममा राख्नेछौ ।’
नभन्दै पछि भन्सालीले पहिलो पटक लिइएको सटलाई नै फिल्ममा छाने । सुष्मा भन्छिन्, ‘ऊ काम गर्दा उफ्सम्म नभन्ने मान्छे हो, कतिपयले उसलाई दुरुपयोग पनि गरे ।’
रिलेसन मेन्टेन गर्न वाहियात फिल्म
सफलताको उचाइमा पुग्दासम्म उनी परिपक्व थिइनन् । चाँडै भावुक हुन्थिन् । मनीषा भन्छिन्, ‘अचेल चाहिँ अलिअलि दिमाग पनि लगाउँछु । पहिला बढी नै केटाकेटी थिएँ । मैले कहिले पनि यो गर्छु, करियरका लागि राम्रो वा खराब भनेर सोचिनँ ।’ त्यसै कारण करियरमा ज्यादै खराब फिल्ममा पनि उनी देखिइन् ।
सुष्माले भने छोरीप्रति गर्व गर्दै भनिन्, ‘उसले अरुलाई उँभो लगाउन धेरै मिहिनेत गरिन् । जुन बेला अमिताभ बच्चन फ्लप थिए, ऊ हिट थिई, त्यस बेला अमिताभसँग फिल्म खेलेर हिट बनाइदिई । गोविन्दासँग कोही काम गर्न नरुचाइरहेका बेला उसले फिल्म खेली ।’
भावुक मन भएका कारण उनको ख्याति अरुले दुरुपयोग गरेको सुष्माको भनाइ थियो ।
राजकुमार हिरानी असल मान्छे
मनीषालाई पछिल्लो समय फिल्म निर्देशकका रुपमा राजकुमार हिरानी निकै मन पर्छ । हिरानी असल मान्छे पनि भएको उनले पाइन् । हिरानीको अफिसको वातावरण नै सम्मान गर्ने किसिमको उनले पाइन् । ‘मलाई भेट्दा र गाडीसम्म पुर्याउन आफैं जानु हुन्थ्यो,’ मनीषाले सम्झिइन्, ‘उहाँको व्यवहारका कारण मैले सञ्जय दत्तको आमा नर्गिसको भूमिका गरेँ ।’

९० को दसक र अहिलेको फिल्म मेकिङ
इन्डियामा अन्तर्राष्ट्रिय विषयवस्तु र लगानीका फिल्म बनाउने प्रक्रिया सुरु भइसकेको छ । ठूलो कर्पोरेट लगानी हुन थालेको छ । विषयवस्तु अनुसारको लगानी ल्याउन थालिएको छ । अनुराग वसु, अनुराग कस्यपजस्ता नयाँ पुस्ताका फिल्ममेकरले बलिउडको अनुहारै परिवर्तन गरिदिएका छन् । पछिल्लो समय बौद्धिक रुपमा खारिएका नयाँ पुस्ता आएको देख्दा मनीषालाई रमाइलो लागिरहेको छ । ‘उनीहरु वेल रेड (राम्रोसँग पढेलेखेका), परिपक्व दिमागका, गुड ह्युमन बेइङ (असल व्यवहारका) पनि छन्,’ बलिउडको नयाँ पुस्ता देखेर मनीषा प्रभावित छिन्, भन्छिन्, ‘उनीहरु व्यावसायिक पनि छन् । यस्तो ठूलो जमात तयार भइरहेको छ ।
नेपालमा भने इन्डियाको जे–जे नराम्रो छ, त्यही कपी गरिरहेकामा दुःखी छिन् । ‘राम्रो कुरालाई ध्यान दिएका छैनौँ,’ उनी भन्छिन्, ‘सिनेमामा पनि त्यहाँको खराब फिल्म कपी भएको छ । त्यहाँका फिल्ममेकरहरु इन्डिपेन्डेन्ट वा प्यारालल सिनेमा निर्देशन गर्न पाए हुन्थ्यो सपना पाल्छन् । उनीहरु आर्टिस्टिक फिल्मलाई सम्मान गर्छन् । यहाँ भने आर्टिस्टिक फिल्ममेकरलाई कुनै इज्जत गरेको पाइनँ ।’ उनको विचारमा बौद्धिकताको सम्मान नहुने ठाउँले कहिल्यै इज्जत कमाउँदैन ।
उनको प्रेस्क्रिप्सन के छ त ? ‘हामीले नेपाली विषय, ठीक्कको बजेटमा बनाउन सक्यौँ भने धेरै राम्रो हुन्छ,’ मनीषाको भनाइ छ । सोहीअनुसार आफूले केही समयअघि तयारी गरे पनि सोचेजस्तो समय नमिलेकाले फिल्मको काम अघि बढाउन नसकिएको मनीषा दुखेसो पोख्छिन् ।
‘सब्जेक्टमाथि विश्वास गर्ने निर्माता खोज्नुपर्छ,’ फिल्म निर्माणको मनीषासूत्र यस्तो छ, ‘निर्माता खोजेर विषय छान्नुभयो भने निर्माता हावी भइहाल्छ नि !’
जीवनमा मनीषाले धेरैथोक गर्छु भनेर योजना बुनिन् तर ती कार्यान्वयनका तहमा पुग्न ढिला भइरहेका छन् । किन त ? ‘हो, मैले सोचेजसरी ठ्याक्कै समयमा काम गर्न पाएको छैन,’ उनलाई आफैँसित गुनासो छ, ‘ढिलाढिला भइरहेको छ । जे काम म ६ महिनामा सक्छु भन्ने सोचेको थिएँ, त्यसका लागि १ वर्ष लागिरा’छ । त्यसैले तोकेर म केही कुरा भन्न सकिरहेको छैन । सबै कुरा ठीक भए, अर्को वर्ष चाहिँ फिल्म लेख्न थाल्छु । जे विषयमा लेख्नेबारे सोचेको थिएँ, त्यसबारे भाष्कर ढुंगाना (क्युएफएक्सका सञ्चालक तथा ‘सुन्तली’ फिल्मका निर्देशक) ले भन्नुभयो, एउटै विषय किन समातेर बसि’रा ? तर मेरो दिमाग यस्तो छ कि त्यहीँ अड्किराछ ।

मोटिभेसनल अवतार
हिजोआज मान्छेहरुलाई प्रेरित गर्नका लागि मनीषाले मोटिभेसनल स्पिच दिने गरेकी छन् । उनको ‘टेड टक’को भाषण यति लोकप्रिय भयो कि भाइरल नै बन्यो ।
‘एउटा समयपछि मेरो करियर ओरालो लाग्यो,’ मनीषाले आफ्नो प्रतिगमन सुनाइन्, ‘जीवनशैली पनि सोचेजस्तो हुन सकेन । म अरु नै कुरामा रुमल्लिएँ । मैले गल्ती गर्न थालेँ । एकपछि अर्को मिस स्टेप लिएँ । त्यसको जडमा एउटा कम्प्लेसेन्ट एटिट्युड र इग्नोरन्ट थियो । पेट भरिएको सुँगुरको जस्तो मेरो एटिट्युड थियो, त्यसप्रति म अञ्जान थिएँ । बिपी बुबाले भन्नुहुन्थ्यो, पेट भरिएको सुँगुर कहिल्यै अघि बढ्न सक्तैन । त्यसका लागि त भोकोपन हुनुपर्छ, जीजिविषा हुनुपर्छ । त्यो कुरा मैले बुझ्न सकेकी थिइनँ ।’ त्यसबेला उनी अघाएकी सुँगुरजस्ती थिइन् रे ! सिकौँ, आफूलाई इम्प्रुभ गरौँ भन्ने भाव थिएन । यति भए भइहाल्छ नि भन्ने मनमा लाग्थ्यो । ‘जबसम्म त्यो सन्तुष्टि रहन्छ, त्यो मानिसले कहिल्यै प्रगति गर्न सक्तैन,’ मनीषले भनिन्, ‘मानिस कहिल्यै शरीरले बूढो हुँदैन, मनले बूढो मान्यो भने बूढो भइहाल्छ । त्यसैले मानिसले आफूभित्रको चाहना मर्न दिनु हुँदैन । सधैँसधैँ नयाँ नयाँ कुरामा आफूलाई तल्लिन बनाइरहनु पर्छ ।’
‘एक चोटि गलत भएपछि त्यसलाई सच्याइएन भने गलतमाथि गलत थपिदै जान्छ,’ उनले आफैँलाई हेरेर गरेको मूल्यांकन हो, ‘जीवनले तपाईंलाई एक पटक जोडको धक्का दिन्छ । क्यान्सर त्यही धक्का थियो मेरालागि । यसपछि मात्र मैले जीवन, स्वास्थ्य, आमाबुवाको मायाको महङ्खव बुझेँ ।’
उनले यसपछि त सन्तानलाई दुःख पर्यो भने सबैभन्दा ठूलो पीडा बाबाआमालाई पर्छ भन्ने देखिन् ।
बिहेको पछुताउ
सन् २०१० मा मनीषाको बिहे गर्ने निर्णय धेरैका लागि आश्चर्यको कुरा थियो । उनले नेपाली व्यवसायी सम्राट दाहाललाई दुलाहाका रुपमा छानेकी थिइन् । चाँडै भेटघाट, चाँडै कुरा छिनिनु र बिहे हुनुका पछाडि मनीषाकै निर्णय थियो ।
यतिबेला सम्झेर उनी भन्छिन्, ‘हेर्नुस्, त्यतिबेला जे भयो भने, जे टुट्यो, टुट्यो । म कसैलाई पनि गलत भन्न चाहन्नँ । त्यो बाटोलाई म फर्केर पनि हेर्न चाहन्नँ । महङ्खवपूर्ण कुरा चाहिँ म अरुलाई दोष दिन चाहन्नँ । जे कुरा पनि चाँच्चाँडो गर्ने निर्णय मेरै थियो । त्यसैले यी सबै गल्तीका पछाडि मेरै दोष मान्छु । त्यो गलत निर्णयपछि म आफैँले त्यसको सजाय पनि भोगेँ ।


मान्छेको जीवनका महत्वपूर्ण कुराको निर्णय लिनुपर्दा केही खास कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने उनले यतिबेलै चाल पाइन् । उनी भन्छिन्, ‘आफ्नो स्वास्थ्य आफ्नै जिम्मेवारी हो । स्वास्थ्य राम्रो नभई कुनै कुरा राम्रोसँग गर्न सक्तैनौँ । हस्पिटल नपुगी थाहा हुँदैन । अरुको मृत्यु हुन्छ, मेरो हुँदैन भन्ने ठान्छौँ । गाडीको सर्भिसिङ गराउँछौँ, शरीरको गराउँदैनौँ ।’


मनीषाले पछिल्लो समय क्यान्सर उपचारको क्रममा अमेरिका पुगेपछि छक्क परिन्, त्यहाँ शरीरप्रति राम्रो सजगता रहेछ । उनका कयौँ आफन्तले पहिलो चरणमा नै क्यान्सर पत्ता लगाएपछि निको भएको पाइन् । आफू भने क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्र डाक्टरकहाँ पुगेपछि खङ्ग्रङ्ग हुन पुगिन् ।
उनले भनिन्, ‘पहिला जिउ दुख्थ्यो, पेट पुट्ट निस्केको थियो । मैले सोचेँ, बोसो लागेछ ।’ त्यसपछि उनले पहिलेको भन्दा दोब्बर एक्सरसाइज बढाइन् । जिउ फतक्कै गल्थ्यो, उनले ठानिन्, जिममा धेरै समय बिताएकाले यस्तो भएको होला । तर उनलाई पाठेघरको क्यान्सरले सिकिस्तै बनाइसकेको रहेछ । स्वास्थ्यमाथिको खेलवाडका कारण क्यान्सरको अन्तिम चरणमा मात्र उनले क्यान्सरबारे पत्तो पाइन् ।
उनी भन्छिन्, ‘म जस्तो साधनस्रोतले सम्पन्न, पढेलेखेको, जानकार, जे कुरा पनि एक फोनमा गर्न सकिने व्यक्तिलाई त क्यान्सरको अन्तिम चरण पुगेपछि मात्र थाहा हुन्छ भने हाम्रो देशका अन्य दाजुभाइ दिदीबहिनीले झन् कसरी थाहा पाऊन् !’
त्यसैले अमेरिकामा गएर क्यान्सर उपचार गराइन् । यसबेला उनले बल्ल बाबुआमा आफूसँग हुनुको अर्थ चाल पाइन् । ‘जीवनमा दोस्रो पटक म बच्चा भएँ, बाबाले टुकुटुकु हिँडाउनु हुन्थ्यो । पाँच मिनेट पनि म हिँड्न सक्तिन थिएँ’ मनीषाले गम्भीर हुँदै भनिन्, ‘मलाई टुकुटुकु हिँड्न सघाउनु पथ्र्यो, खान खुवाउन कर गर्नुपथ्र्यो ।’ उनलाई खायो कि उल्टी हुन्थ्यो । केमोका कारण कपाल झरेर टाउको चिण्डो हुन पुगेको थियो ।
सुष्मालाई त त्यो दिन सम्झन पनि मन छैन । सम्झ्यो कि, आँसु मात्र आउँछ । ‘मलाई त्यसबारे नसोध्नुस्,’ गहभरि आँसु पार्दै सुष्माले भनिन्, ‘ऊ मेरो पहिलो चाइल्ड हो, उसका लागि मैले कति संघर्ष गरेँ, ऊ मृत्युको मुखमा पुगेको थाहा पाउँदा के भयो होला !’
सुष्मा बिहान चारै बजे उठ्थिन्, खाना बनाउँथिन्, पौष्टिक खान्की खुवाउँथिन् । यसका बाबजुद पनि मनीषा कहिलेकाहीँ भनेजस्तो नगर्दा रिसाउँथिन्, दिक्क मान्थिन् । कैयौँ रात सुष्मा सुतिनन्, मनमा अनेकन कुरा खेलाइरहिन् । मनीषालाई पनि क्यान्सरको पीडा सहेर अनेक औषधि गर्नुभन्दा मरेकै बेस भन्ने मनमा नउठ्ने होइन तर जसै आफ्ना बाबुआमा सम्झन्थिन्, उनीहरुको सङ्घर्ष देख्थिन्, मनमा जिउने जीजिविषा पुनः पलाएर आउँथ्यो ।
‘क्यान्सर मेरो जीवनमा वरदान बनेर आयो,’ यतिबेला स्वस्थ मनीषाको निष्कर्ष छ, ‘मैले जीवनलाई इज्जत गर्न पहिलो पटक सिकेँ । अहिले म विभिन्न मोटिभेसनल स्पिचमा यही कुरा सिकाउँछु कि स्वास्थ्य गुमाउनु के हो !’

फोटो : अर्जुन शाह

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २४ आश्विन २०७४ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App