२१ असार २०७७ आइतबार
अन्य

छोरीले वंश धान्छन् कि धान्दैनन् ?

प्रजु पन्त
हजुरबुवाले एकदिन वंशावली लिएर आउनुभयो । सानो बेलाको खुल्दुलीपनले मलाई छपक्क छोप्यो । मैले सोधिहालेँ, ‘के ल्याउनुभा’को हजुरबा ?’
हजुरबुवाले उत्तर दिन नपाउँदै मैले हेरिहालेँ । पन्त खलकको वंशावली रहेछ । वंशावलीमा के हुन्छ भन्ने मलाई थाहा थियो । मलाई अर्को खुल्दुली लाग्यो, हजुरबुवाकी नातिनी म, मेरो नाम त्यसमा छ कि छैन ! हजुरबुवाको नामदेखि हेर्न थालेँ, शीरदेखि पुछारसम्म । हजुरबुबाको नाममुनि लगातार तीन छोराहरुको नाम र छोराहरुको नाममुनि उनीहरुका छोराको नाम अर्थात् हाम्रा दाजुहरुको नाम थियो । मेरा बाको नाममुनि कोठा खाली थिए किनभने हाम्रा बाका छोरा थिएनन् ।
मैले हजुर बुवालाई सोधेँ, ‘यसमा छोरीहरुको नाम किन नभएको ?’
हजुरबुवाले जवाफमा भन्नुभयो, ‘मैले तिमीहरु सबैको नाम लेखेर दिएको थिएँ । प्रकाशकहरुले सबैका छोरीहरुको नाउँ खोज्दा फेला नपारेपछि कसैका पनि छोरीको नाम नलेख्ने भने । त्यै भएर छोराहरुको मात्रै लेखेछन् ।’
छोरीको नाम पनि नसम्झने कस्ता बाबुहरु रहेछन् भन्ने लाग्यो, त्यो बेला ।
केहीअघि पत्रकार शोभा शर्माले पनि वंशावलीमा आफ्नो नामै नराखेकोमा यस्तै गुनासोसहित आलेख लेख्नुभएको थियो । उहाँको लेख पढेपछि बल्ल मलाई लाग्यो, यो त सबै छोरीहरुको व्यथा रहेछ । छोरी जाति आफ्नै बाबुका सन्तान गनिदैनरहेछन् ।
मलाई मेरो नाम अटाएन भनेर दुःख लागेन । दुःख त मेरा बाजस्ता अभागी बुवाहरुको बारेमा लाग्यो, जसको भाग्यमा छोरी–छोरी मात्र जन्मन्छन् र वंशावलीमा तिनको भाग खाली नै रहन्छ । तिनको बिहे नै नभएको हो कि सन्तान नभएको हो कि सानैमा सन्तानको निधन भएको पो हो कि अत्तोपत्तो नहुने रहेछ !  
हामीले भनिराख्नु पर्दैन हाम्रो समाज पितृसत्तात्मक थियो, छ र अझ कति समयसम्म रहने हो थाहा छैन । वंशावलीमा मात्रै हैन, राज्यको हरेक काम गर्दा भर्नुपर्ने फारममा बुबाको नाम लेखे पुग्छ ।  
जसले वंश धान्नकै निम्ति बर्सेनि गर्भधारण गर्छिन्, उनैको नाम वंशावलीमा छुटाइन्छ । हाम्रो समाजको पितृ सत्तात्मक सोच र व्यवहारका कारण नाम राख्न आवश्यक ठान्दैनन् । हुन त, नाम राखेर के नै हुने हो र पनि भन्लान् । नाम राखेर केही हुन्न भने कसैको पनि नराखे भइहाल्यो नि ! कसैको राख्ने, कसैको नराख्ने भेदभाव किन ? छोरी भएकै कारण नराख्नु पर्ने कारण के ? जब मानव जातिमा चेतना बस्छ, जब मान्छे अलिकति शिक्षित हुन्छ, उसले समाजमा आफ्नो परिचय र सुरक्षा खोज्छ । आफू हुनुको महŒव र मूल्य खोज्छ । वंशावलीमा मैले मेरो नाम खोज्नु त्यही मूल्य र महŒव खोजेको हो ।   
समाजले जबसम्म अंश र वंशमा महिलालाई छुटाउँछ, विभेद फिटिक्कै हट्दैन । यो तीतोसत्य हो– जबसम्म छोरीलाई सम्पत्तिमाथि अधिकार हुँदैन, समाजले महŒव दिँदैन, अस्तित्व स्वीकार्दैन । कानुनतः छोरीलाई पैतृक सम्पत्तिमा समान हक भने पनि व्यवहारमा त्यस्तो भएको छैन । एकाध महिलाले समान हक पाएका होलान् तर देखिने गरी परिवर्तन भएकै छैन ।
एक जना क्रान्तिकारी दलका नेताका तीन सन्तान छन् । उनले एक दिन छोराहरू सानै छँदा अंशबण्डा गरिदिए । ठूलो भएपछि बेकारमा झगडाको बिउ हुन्छ । त्यसैले सबै सम्पत्ति छोराका नाउँमा गरिदिए । छोरीले अंश पास गर्ने बेलामा नरमाइलो गरिदिई र भनी, ‘सबैलाई हस्ताक्षर गर्न लगाउनुभयो । मलाई किन लगाउनु भएन ?’
छोरीको बुझ्ने उमेर भइसकेको थिएन, त्यसैले उसलाई मिठाई दिएर फकाइयो ।
उहिले पनि छोरीहरुलाई सानैमा बिहे गराएर सम्पत्तिबाट बेदखल गराइन्थ्यो । आज पनि विविध नाउँमा, बहानामा त्यसरी नै बेदखल गराइँदैछ । पहिला र आजमा के नै फरक भयो र ? हाम्रो चिन्तन र सोच कसरी परिवर्तन भयो भन्नु ? हेर्दा वंशावलीमा नाम नहुनु सामान्य लाग्छ तर सबै कुरा त्यसैमा टिकेको छ । वंशावलीमा पुरुष नाउँ हुन्छ, त्यसैले पुरुष सत्ता टिकेको छ ।
हाम्रो सोच कस्तो छ भने, वि.सं. २०७२ मा संविधान जारी गर्नुअघि एक जना महिला सांसदले छोरीलाई अंश हैन शिक्षा दिए पुग्छ भनिन् । उनको तर्क थियो, सम्पत्ति दिँदा दाजुभाइसँग सम्बन्ध टुट्छ, झैँझगडा पर्छ । बित्थामा आउने–जाने बाटो किन बन्द गर्ने ? यस्तो सोच राख्नु उहाँको दोष होइन । पुरुष सत्ता र सोचाइले यतिसम्म ग्रस्त पारेको छ कि उहाँले त्यहाँभन्दा पर के छ भनेर सोच्न पनि सक्नु भएन । अवसर हुँदाहुँदै पनि उहाँले पुरुषतान्त्रिक सोचाइलाई तोड्न सक्नु भएन ।
एउटै मातापिताबाट जन्मेको सन्तानलाई छोरा भए अंश र शिक्षा दुवै दिने अनि छोरी भए शिक्षा मात्रै दिने, कसरी समानता भयो हजूर ? सम्पत्ति आफैँ कमाउने हो । बुवाको सम्पत्तिमा आँखा गाडेको भनेर नसोचियोस् किनभने दिइन्छ भने सबैलाई बराबर दिनुहोस् हैन भने छोरी भएकै कारण नदिने कुरा त सरासर अन्याय नै हो ।
सम्पत्तिमाथि छोरीको अधिकार हुन्थ्यो भने स्थानीय चुनावमा महिलालाई उप पदमा मात्रै उठाइन्नथ्यो होला । तिनले प्रमुखको टिकट पाउँथे होलान् । हामी सबैलाई थाहा छ, प्रमुख पदको टिकट पाउन जुनसुकै राजनीतिक दलमा पनि आर्थिक चलखेल हुन्छ । त्यही आर्थिक चलखेलमा पछि परेकै कारण महिलाले प्रमुख पद हात पार्न नसकेका हुन् भनेर किन नभन्ने ?
शिक्षा मात्रै दिँदा हुन्छ, अंश दिनु पर्दैन भन्नेहरुले समानताको कुरा नफलाकून् किनभने दाजु वा भाइ हुँदा अंश लाग्दा मन नफाट्ने तर दिदी वा बहिनी हुँदा मन फाट्ने, यो कस्तो सम्बन्ध हो ? अनि कस्तो मन हो ?
यसै नै छोरी मान्छे भावनात्मक हुन्छन् । त्यही भावना माथि खेलबाड हजारौँ वर्षदेखि गरिएको हो । नभए दाजुभाइलाई सम्पत्ति भाग लगाउँदा सम्बन्ध नबिग्रिने, दिदीबैनीलाई दिँदा किन बिग्रन्छ ? तसर्थ, अंश र वंशमा जबसम्म छोरीलाई समान अधिकार दिइँदैन, विभेद कायम रहिरहन्छ । आफ्नो सम्पत्ति र अस्तित्वको मूल्याङ्कन नभएसम्म मानव हुनुको के अर्थ ?

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: १८ श्रावण २०७४ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App