१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आफ्ना सन्तानलाई कसरी उद्यमी बनाउने ?

–क्यामरन हेरल्ड
सानै उमेरमा मलाई थाहा भइसकेको थियो, म अध्ययनभन्दा बढी पैसालाई रूचाउँछु । मलाई विद्यालय र त्यहाँ पढाइने पुस्तकसँग कुनै प्रेम छैन भन्ने पहिल्यै थाहा पाइसकेको थिएँ । मलाई त व्यापार र उद्यमशीलतासँग पो प्रेम रै’छ ! यो बुझेर मलाई घरमै उद्यमी बनाउन बनाउने शिक्षा दिन थालियो । समय कटाउनका लागि मात्र म विद्यालय जान थालेँ । निकैपछि मात्र मैले थाहा पाएँ– हाम्रा अभिभावकले आफ्ना सन्तानमा उद्यमी बन्ने लक्षण खोज्ने सुवर्ण अवसर गुमाइरहेका छन् । सानै उमेरमा उद्यमी हुनु खराब कुरा होइन तर हाम्रो समाज यस्तो छ कि उद्यमी हुनु, पैसा कमाउनुलाई साह्रै नराम्रो मानिन्छ ।
बच्चा बेलामा हामीसित सपनाका भण्डार हुन्छन् । हामीमा जीजिविषा र आफ्नै किसिमका योजना हुन्छन् तर हुर्कंदै जाँदा हाम्रो परिवार र समाजले बच्चाका सपनाहरूको हत्या गरिदिन्छन् । पढाइ नै सबैथोक हो, पढाइमा ध्यान केन्द्रित गर्नुपर्छ र ट्युसन लिनुपर्छ भन्ने बच्चैमा दिमागमा घुसाइन्छ । म दुई कक्षामा पढ्दा, मैले आफ्नो सहरस्तरीय वक्तृत्वकला प्रतियोगिता जितेको थिएँ तर कसैले पनि यो केटो त राम्रो बोल्दो रै’छ भनेनन् । कसैले पनि यसको बोल्ने कलालाई निखार्नुपर्ने कुरामा ध्यान दिएनन् । जुन कुरामा राम्रो छ, त्यसैमा उम्दा गर्न सिक्न पठाउनू भनेनन् ।
सुरूमै केटाकेटीहरूले आफ्नो लक्षण देखाइहाल्छन् । त्यही लक्षणलाई पक्डेर तिनको भविष्यका लागि तयार पार्नु पर्छ । कुनै बच्चाले उद्यमी हुने छाँट देखाए भने त्यसैका लागि तयार पार्नुपर्छ तर वकिल, डाक्टर वा इन्जिनियर बनाउन होइन । दुःखको कुरा, हाम्रो विद्यालय व्यवस्था संसारलाई नै तिमी कि त वकिल बन्नु, कि त डाक्टर कि इन्जिनियर भनेर मात्र सिकाउँछ । यहीँनेर हामीले एउटा सुनौलो मौका गुमाइरहेका छौँ । कोही पनि आफ्ना सन्तानलाई, आफ्ना विद्यार्थीलाई उद्यमी बनाउन चाहँदैनन् ।
कस्ता व्यक्ति उद्यमी हुन्छन् त ?
उद्यमी ती हुन्, जोसित केही न केही ‘आइडिया’ हुन्छ । त्यो आइडिया पूरा गराउने भित्री रहर र जिजीविषा हुन्छ । अनि, तिनमा आफ्नो सपना पूरा गराउने तागत पनि हुन्छ । जे कुरामा उनीहरूले आफ्नो सम्पूर्ण सोच लगाएका हुन्छन्, आफ्ना सारा कुरा दाउमा लगाएका हुन्छन्, तिनमा सपना पूरा गर्न आफ्ना वरिपरिका मानिसहरूलाई जोड्ने क्षमता पनि हुन्छ । हाम्रा सन्तानलाई सानो उमेरमा नै उद्यमशीलता अँगाल्ने मौका दियौँ भने हामीलाई समस्यापूर्ण लाग्ने संसारका सबै कुरा बदल्न सक्छौँ । संसारमा भएका सबैजसो समस्याको कुनै न कुनै बालकसँग कुनै न कुनै समाधान हुन्छ भन्ने मलाई पूरापूर विश्वास छ । तपाईं सानो बेला सम्झनु हुन्छ ? त्यो बेला तपाईंलाई कुनै पनि कुरा असम्भव लाग्दैनथ्यो किनभने ती सबै कुरा असम्भव छन् भन्ने सोच नै तपाईंसँग हुँदैनथ्यो ।
हिजोआज हामी आफ्ना सन्तानलाई माछा पक्डन नसिकाएर माछा पकाएर दिन्छौँ । हामीले आफ्ना सन्तानलाई माछा पक्डन सिकाउनु जरूरी भइसकेको छ । हामीले कसैलाई माछा दियौँ भने त्यसले उसको एक दिनको पेट भरिन्छ । उसलाई माछा पक्डन सिकायौँ भने जीवनभर पेट भर्न समस्या हुँदैन । उद्यमी बन्ने छाँट देखाएका हाम्रा सन्तानलाई हामीले उद्यमी बन्न सिकायौँ, उनीहरूलाई त्यसमै तालिम दिन सक्यौँ भने अवस्था निकै फरक हुनेछ । हाम्रा सन्तान विज्ञानमा निकै तेज भए भने उसलाई वैज्ञानिक बनाउन पहिल्यै तयारी गर्छौं तर ऊ उद्यमी बन्ने छाँट देखियो भने त्यस्तै तयारी किन गर्दैनौँ ?
हामी आफ्ना सन्तानलाई के नगर्ने भनेर मात्र सिकाइरहेका हुन्छौँ । नकुट्, नटोक्, गाली नगर् भनिरहेका हुन्छौँ । हामी आफ्ना सन्तानलाई ठूला जागिर खाएस् भनी आशीष दिन्छौँ । हाम्रो स्कुले शिक्षाले हाम्रा सन्तानलाई डाक्टर, वकिल, एकाउन्टेन्ट, डेन्टिस्ट या शिक्षक, पाइलट बनाउने शिक्षा दिन्छन् । अनि, मिडियाहरूले चाहिँ, मोडल, गायक, अभिनेता र कुनै राम्रो खेलाडीजस्ता बन्न सिकाउँछन् । कलेज पास गरिसकेका हाम्रा सन्तानलाई उद्यमी बन्न भने सिकाइँदैन । कुनै उद्यमीले खोलेका ठूला अफिसमा तिनका कामदार हुन मात्र सिकाउँछौँ ।
एक्कैछिन सोच्नुस् त, यी ठूला कम्पनी कसले शुरू ग¥यो ? पढ्नमा ठीकै, नयाँ नयाँ आइडिया फुराउनेले त खोलेका होइनन् र ? उद्यमीलाई नायक बनाइएको कुनै फिल्म वा साहित्य तपाईंले पढ्नु भएको छ ? विश्वभरि नै उद्यमीलाई ‘भिलेन’का रूपमा देखाइन्छ ।
मेरै परिवारको कुरा गरूँ न, मेरा हजुरबुवाहरू, दुवै उद्यमी हुनुहुन्थ्यो । मेरा बुवा उद्यमी थिए । मेरा दाइ र दिदी अनि मेरै पनि आफ्नै कम्पनी छन् । हामी उद्यमी हुन्छौँ भन्ने निर्णय सानैमा लियौँ किनभने हामी आफूलाई त्यसैको लायक ठान्थ्यौँ । हामी अरुका काममा अटाउनै नसक्ने किसिमका थियौँ, अर्थात् हठी, सपनाले युक्त । प्रायः जो उद्यमी छ, सानामा उसका केही समस्या हुन्छन् । एउटा अध्ययनअनुसार राम्रा उद्यमीहरुमा अटेन्सन डिफिसिट डिसअर्डर (राम्रोसँग ध्यान केन्द्रित गर्न नसक्ने रोग) हुने गर्छ । त्यस रोगका १९ लक्षणमध्ये म १८ वटा लक्षणले ग्रस्त थिएँ । प्रख्यात उद्यमी टेड टर्नरलाई पनि बाइपोलर डिसअर्डर रोग थियो । यो रोगलाई सिइओ (मुख्य कार्यकारी अधिकृत) रोग पनि भनिन्छ । यही रोग स्टिभ जब्सलाई पनि थियो । यस्तो रोग लाग्ने ख्यातिप्राप्त मानिसहरूको लामो सूची बनाउन सक्छु म । हाम्रा सन्तानलाई हेर्नु त, उनीहरूमा पनि तिनै रोग देख्नु हुन्छ । तर हामी के गर्छौं ?  हामी उनीहरूलाई उठ्ने बित्तिकै कस्तो डोज दिन्छौँ ? उनीहरूलाई भन्छौँ, उद्यमी हुनुहुँदैन । अर्कै सिस्टममा तिमीहरू हुर्किनु पर्छ । राम्रो विद्यार्थी बन ।
माफ गर्नु होला, उद्यमी विद्यार्थी हुन रुचाउँदैनन् । उद्यमी त कस्ता फटाफट हिँड्न चाहन्छन् । मैले स्कुलमा अरूका निबन्धहरू चोरेर आफ्नो बनाएको छु । परीक्षामा चोरी गरेको छु । अरू केटाहरूलाई पैसा दिएर आफ्नो काम गराएको छु । विश्वविद्यालयस्तरमा त लगातार तेह्र पटक यस्तो काम गराएको छु । एउटा उद्यमी हिसाबकिताब गरेर बस्तैन । ऊ त एउटा एकाउन्टेन्टलाई नोकरीमा राखेर आफ्ना सबै हिसाबकिताब गराउँछ । मैले यो कुरा निकै अघि सिकिसकेको थिएँ ।
उद्यमीको परिभाषामा भनिएको छ– संगठित गर्ने, चलाउने र व्यवसाय अघि बढाउन खतरा मोल्ने व्यक्ति उद्यमी हो । तपाईंले एमबिए पढ्नै पर्छ भन्ने छैन । यसको अर्थ तपाईंले भित्रैबाट केही महसुस गर्नुपर्छ । केही कुरा प्राकृतिक रूपमै हुन्छन्, केही सिकाउन सकिन्छ । मेरो कुरा गर्नु हुन्छ भने, म सुरुमा पढ्नमा लद्दु भएकाले मलाई बुवाले उद्यमशीलताका लागि प्रशिक्षित गर्नुभयो । हामी सबै सन्तानलाई बुवाले कसरी व्यापार गर्ने, कसरी कम्पनी उभ्याउने र कसरी रोजगारी सिर्जना गर्ने भनी सिकाउनु भयो ।
पहिलो व्यापार सुरु गर्दा म ७ वर्षको थिएँ । मैले मेरो फोन उठाएँ र सहरभरिका ड्राइक्लिनरलाई फोन गरेर सबैभन्दा सस्तो लुगा धुने कम्पनी खोजेँ । मेरो बिजनेस देखेर मेरी आमा छक्क पर्नुभयो । पछि मैले अखबार बेच्ने काम पनि गरेँ । मैले कमिक्स बेचेर पैसा कमाएँ । म हाम्रो वरपरका गरिब बच्चाहरूसँग कमिक्स किन्थेँ, अनि त्यो कमिक्स धनी बच्चाहरूलाई अलि गतिलो रकममा लगेर बेचिदिन्थेँ । सस्तो किन्ने र महँगोमा बेच्ने कुरा मैले धेरै पहिले सिकेँ । जे कुराको माग हुन्छ, त्यसमा बढी पैसा हुन्छ भन्ने पनि मैले त्यै बेला सिकेँ । आफ्नो व्यापारको कुरा गुह्य कुरा कसैलाई नसुनाउनू भन्ने पाठ पनि मैले त्यो बेलामा सिकेँ किनभने मैले कमिक्स बेच्ने धन्दामा कहाँबाट ल्याउँछु र कतिमा बेच्छु भन्ने थाहा पाउनेबित्तिकै एउटा धनी बच्चोले मलाई राम्रैसँग चुट्यो । मेरो बुवाले पछि मलाई जबरजस्ती अखबार बेच्न पठाइदिनु भयो । त्यो काम मलाई मन पर्दैनथ्यो तर पछि मैले नयाँ उपाय लगाएँ । मैले एउटालाई नोकरीमा राखेँ र आफू चाहिँ पैसा उठाउने बेलामा मात्र जान थालेँ ।
म १० वर्षको छँदा मेरो बुवाको गाडी ग्यारेजमा पुराना पित्तल र तामा फ्याँकिएको देख्थेँ । ती पित्तल र तामा जम्मा गर्दै कबाडखाना शुरू गरेँ । तपाईंलाई थाहा छैन होला, फोहोर नै सुनको मोहर बनाउने ठाउँ हो भन्ने त्यैबेला मैले थाहा पाएँ । एउटै कुरा बेचेर पटक पटक त्यसको नाफा लिनु कति मज्जाको कुरा हो भनेर पनि मैले बच्चा बेलामा नै सिकेँ । कहाँ माग छ र कहाँबाट आपूर्ति गर्दा हुन्छ भन्ने जाने मात्र व्यापार चम्किन्थ्यो ।
१४ वर्षको उमेरमा मैले गर्मी याममा लगाइने चश्मा स्कुलमै बेच्न थालेँ । त्यसबाट राम्रै आम्दानी हुँदै थियो तर कसैले कुरा लाइदियो र मैले स्कुलमा बेच्न पाइनँ तर त्यहाँ बेच्न नपाए पनि मैले पेट्रोल पम्पहरूमा बेच्न थालेँ । हप्तामा एक दिन नयाँ–नयाँ मोडलको चश्मा लगेर तिनीहरूलाई बेच्दा उनीहरूले पनि मज्जैले किनिदिए ।
एक पटक मेरो बुवाले साह्रै नमज्जाले पैसाको महŒव सिकाउनु भएको थियो । एक पटक एउटा सिक्कालाई सानो पैसा भनेर लिन मानिनँ र फ्याँकिदिएँ । त्यो दिन बुवाले भन्नुभयो, ‘जुन दिन तैँले पैसालाई ठूलो र सानो भनेर भेदभाव गर्छस्, त्यसै दिन तैँले आफ्नो व्यावसायिकता मार्छस् । व्यवसायीका लागि व्यवसाय ठूलो कुरा हो, त्यसबाट आउने सानो वा ठूलो रकम होइन ।’
त्यो पाठ मैले आजसम्म बिर्सेको छैन ।
जुन अभिभावकले खर्च गर्न छोराछोरीलाई ‘पकेट मनी’ दिन्छन्, तिनले खराब बानी सिकाउँछन् । त्यस्तो पैसाले बच्चालाई नोकरी पेसा अपनाउन सिकाउँछ । उद्यमीले कुनै तलबको अपेक्षा गर्दैन । तपाईं उद्यमी सन्तान बनाउन चाहनुहुन्छ भने मैलेजस्तो गर्नुस् । म मेरा दुई सन्तान, एउटा ७ र अर्को ९ वर्षको, तिनलाई कुनै काम गरेबापत मात्र पैसा दिन्छु । उनीहरू कहिलेकाहीँ बढी भाउ माग्छन्, म आवश्यकता हेरी कहिले बढी र कहिले कम पैसा दिन्छु । यसले उनीहरूको भाउ माग्ने कलाको पनि विकास हुन्छ ।
उनीहरूले काम गरेर जम्मा गरेको पैसामध्ये दुई भाग लगाउँछु । जस्तो कि, एक भाग उनीहरूको खेलौनाजस्ता कुरा किन्न र अर्को भाग घरायसी खर्चमा । उनीहरूको घरायसी खर्च भनेर लिइएको रकम उनीहरूको निजी खातामा जम्मा गरिदिन्छु । खातामा जम्मा गर्दा म उनीहरूलाई लिएर बैंक जान्छु । बैंकमा कति र कसरी पैसा जम्मा गर्ने भनी सिकाउँछु । हरेक वर्ष उनीहरूको पैसा बढेको देखेर उनीहरूलाई रमाइलो लाग्छ । हिजोआज भने उनीहरूका लागि एउटा स्टक ब्रोकर (धितोपत्र दलाल) पनि नियुक्त गरिदिएको छु । उनीहरूलाई कसरी सेयर किन्ने भन्ने सिकाइरहेको छु । उनीहरूले आफूले चाहेको कम्पनीको सेयर अहिलेदेखि नै किनिरहेका छन् ।
सुत्ने बेलामा हरेक रात उनीहरूलाई कथा नसुनाउनुस् । हप्तामा चार दिन उनीहरूलाई सुत्ने बेलामा कथा सुनाउनुहोस् र बाँकी तीन रात चाहिँ उनीहरूबाट कथा सुन्नुहोस् । उनीरूले तपाईंलाई कहिलेकाहीँ छक्क पार्ने कथा सुनाउने छन् । यसो गर्दा उनीहरूले पनि मज्जा मान्नेछन् र तपाईंलाई पनि मज्जा लाग्नेछ ।
आफ्ना सन्तानलाई बोल्ने कला सिकाउनु होस् । भिडभाडमा बोल्न नडराऊन् भनेर तिनलाई प्रशिक्षित गर्नुहोस् । कुनै रेष्टुराँमा खान जाँदा राम्रो कर्मचारीलाई राम्रो भनेर प्रशंसा गर्नुस् र खराब कर्मचारीलाई खराब भन्नुस् ।
तपाईंको घरभरि खेलौना जम्मा भए, अब तिनलाई बेच्न पठाइदिनुस् र तिनीहरूले राम्रै पैसा ल्याउनेछन् । यस्ता किसिमको उद्यमशीलताले तपाईंका सन्तानमा दक्षता, लगनशीलता, नेतृत्व, आत्मचिन्तन, सहकार्य र नैतिकमूल्य जस्ता कुराहरू सिक्नेछन् । मानौँ, तपाईंका सन्तान ध्यान केन्द्रित गर्न नसक्ने रोग (अटेन्सन डिफिसिट डिसअर्डर) पीडित छन् तर अवस्था खराब भइसकेको छैन भने औषधि गर्न नदगुराउनुस् । यही कुरा तनाव, उदासीजस्ता कुरामा पनि लागू हुन्छ ।
यस्ता योग्यताहरू कक्षाकोठामा पढाउनु पर्ने थियो तर पढाइँदैनन् । अन्य सबैथोक हामी आफ्ना सन्तानलाई पढाउँछौँ । हामीलाई कर्मचारी, वकिल, डाक्टर चाहिँदैन भन्न खोजेको हैन तर उद्यमशीलतालाई पनि उत्ति नै महत्वका साथ हेरौँ भन्न मात्र खोजेको । सबै पेसा राम्रो अनि उद्यमशीलता भने नराम्रो भन्ने भ्रम त्यागौँ ।
   

प्रकाशित: ७ श्रावण २०७४ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App