१२ असार २०८१ बुधबार
image/svg+xml
अन्य

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

शंखमूलको जलमग्न सडकमा सवारी साधन चलाउनै सर्वसाधारण । तस्बिर : दिपेन्द्र रोक्का

घाम चर्केपछि बौद्ध क्षेत्रमा खपिनसक्नु दुर्गन्ध फैलन्छ । ढल फुटेर फैलिएको दुर्गन्धले माक्स लगाएर हिँड्दा समेत बान्ता आउन खोज्छ ।

घाम लाग्दा दुर्गन्ध फैलने बौद्ध–जोरपाटी क्षेत्रमा पानी परेपछि भने सडक खहरे खोला बन्छ । सडक पार गर्न साँघु हाल्नुपर्ने अवस्था आउँछ । बौद्ध क्षेत्रमा ढलकै कारण सडक लथालिंग छ, बस्तीभर दुर्गन्ध फैलिएको छ । 

‘फुटेको ढल ह्वास्स गन्हाउँछ, एम्बुसजस्ता खल्डाखुल्डी उस्तै छन्,’ बौद्धका पासाङ शेर्पाले भने, ‘घाम लाग्दा धुलो र दुर्गन्धले सताउँछ, पानी पर्दा सडकले अत्याउँछ ।’ 

बौद्ध–जोरपाटी क्षेत्रमा मात्र होइन, राजधानीका अधिकांश सडक पानी पर्नेबित्तिकै खहरे खोलाजस्तै बन्छन् । कतिपय स्थानमा पानी जमेर पोखरीजस्तो हुन्छ ।

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ । 

‘पानीले भरिभराउ सडक कस्तो छ भनेर थाहा हुँदैन,’ रत्नपार्क–बूढानीलकण्ठ रुटका सवारीचालक भीम श्रेष्ठले भने, ‘अन्दाजका भरमा सवारी चलाउँछौँ, गाडीको पट्टा ठोकिएपछि मात्र खाल्डाखुल्डीमा पसेको मेसो पाउँछौँ ।’ 

ढल व्यवस्थित नहुँदा गाडी चलाउन हम्मेहम्मे परेको उनी बताउँछन् । ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ । 

काठमाडौं महानगरपालिका– २६ का वडाध्यक्ष ख्यामराज तिवारी पुराना बस्तीमा जुद्धशमशेरकै पालाका ढलका पाइप रहेकाले व्यवस्थापनमा चुनौती थपिएको बताउँछन् । ‘राजधानीमा बस्ती बाक्लिँदै गयो, पुरानै ढलले काम चलाउन खोज्दा समस्या भएको हो,’ उनले भने, ‘पुरानै संरचनाले अहिले थेग्नै नसक्ने अवस्था आएको छ ।’ उनका अनुसार अहिले जमल, पुतलीसडक, सहिदगेट, रत्नपार्क, ठमेल लगायत क्षेत्रमा पुरानै संरचनाबाट ढल निकास भइरहेको छ । 

पानीको उचित निकास नहुँदा महानगरपालिका– २ आसपासमा टुकुचा खोलाले वर्षामा डुबाउने गरेको छ। ‘टुुकुचाको डुबानले हैरान छौँ,’ स्थानीय उत्तम शाक्य भन्छन्, ‘बर्खा लागेपछि आरामले बस्न समेत पाउँदैनौँ ।’ उनका अनुसार कहिलेकाहीँ तीन–चार फिटसम्म पानी जम्ने गरेको छ । 

पूर्वाधार विज्ञ सूर्यराज आचार्य राजधानीको ढल निकास प्रणाली व्यवस्थित नहुँदा सडकमा पानी जम्ने गरेको बताउँछन् । ‘योजनाबिनै हचुवाको भरमा ढल बनाउँदा अहिले समस्या देखिएको हो,’ उनले भने, ‘अधिकांश सडकमा सानो क्षमताका ढल–पाइप छन्, त्यसमा घर–घरबाट निस्कने फोहोरमैला र अकासेपानी दुवै मिसाउँदा ओभर–फ्लो भएको हो ।’ 

आचार्य अव्यवस्थित सहरीकरणका कारण उपत्यकाको सडक र ढल अस्तव्यस्त भएको बताउँछन् । फोहोरमैला र ढलको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय अव्यवस्थित सहरीकरणले नै ढल व्यवस्थापनमा कठिनाइ भएको बताउँछन् । ‘पहिला वन र छेउछाउका जमिनले पानी सोस्थ्यो, अहिले जताततै क्रंक्रिटका भवन बनेका छन्,’ उनले भने, ‘त्यही कारण सडकभरि पानी छताछुल्ल देखिएको हो ।’ उनका अनुसार अहिले उपत्यकामा रहेको ढल संरचनाले वर्षायामको पानी धान्न सक्दैन । 

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले राजधानीमा ढल निकासको उचित प्रणाली नहुँदा वर्षायाममा सडक जलमग्न हुने बताए । ‘उपत्यकामा अझैसम्म ढलको व्यवस्थित प्रणाली बन्न सकेको छैन,’ उनले भने, ‘जसले सडक नै खहरे खोलाजस्तो भएका छन् ।’ उनी उपत्यकामा अहिले पनि करिब ४० वर्ष पहिलाका ढल संरचना रहेको बताए । जनसंख्याको चाप र बस्ती विस्तारसँगै पुराना ढलले थेग्नै नसक्ने अवस्था आएको उनी बताउँछन् । 

‘अध्ययन र डिजाइन नगरी साना ढल बनाइएको छ, त्यसले अहिलेको निकासलाई थेग्दैन,’ उनले भने, ‘सडक विभागको मातहतमा पर्ने क्षेत्रको अकासेपानी मात्र हामीले व्यवस्थित गर्ने हो, सबै बस्तीका ढलको जिम्मेवारी हामी लिन सक्दैनौँ ।’ उनी पुतलीसडक, जमल, सहिदगेट क्षेत्रमा पानीको निकास गर्ने ठाउँको अभावमा व्यवस्थापन गर्न नसकेको बताए । 

‘उपत्यकामा ढलको व्यवस्थापनका लागि एकीकृत योजना बनाएर अघि बढ्नुपर्नेछ,’ सिग्देलले भने, ‘एकीकृत गुरुयोजना बनाएर नै अघि बढ्नुपर्ने आवश्यक भइसक्यो ।’ 

वडाध्यक्ष तिवारीले पहिलो चरणमा ठमेल क्षेत्रको ढलको स्तरोन्नतिका लागि साढे एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

‘वर्षाकै कारण एक स्कुले बालिका बगाएको विषयले निकै गम्भीर भएका छौँ,’ उनले भने, ‘तत्कालका लागि खुला नाली भएको क्षेत्रमा दुई लाख रुपैयाँ लागतमा रेलिङको व्यवस्थापन गर्न लागेका छौँ ।’ 

पानी सोस्ने जमिन छैन

उपत्यकामा बाक्लो कंक्रिटको बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेको छ । त्यसले पानी निकासमा समस्या थप जटिल बनेको हो । ‘पहिले प्राकृतिक रूपमा पानी सोस्ने प्रक्रिया भइराख्थ्यो,’ पूर्वाधारविज्ञ आचार्यले भने, ‘अहिले जताततै कंक्रिटका भवन बने, खोला–नदी अतिक्रमणमा परे, सडकमा पानी जम्छ ।’ 

निकाय धेरै, जिम्मेवारी लिने कोही भएन 

राजधानीको ढल व्यवस्थापनका लागि करिब आधा दर्जन सरकारी निकाय कार्यरत छन् । 

खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सडक विभाग, स्थानीय तह, ढल महाशाखालगायत निकायले यहाँको ढल व्यवस्थापनको जिम्मा पाएका छन् । तर, कुनै पनि निकाय ढल व्यवस्थापनको जिम्मेवारी स्विकार्न तयार छैनन् । 

उनीहरू एकले अर्काेलाई दोष दिँदै पन्छिने गरेका छन् । खानेपानी तथा ढल निकास विभागका अधिकारीहरू आफ्नो कार्यक्षेत्र सहरीभन्दा ग्रामीण भएको दाबी गर्छन् । 

विभागका सूचना अधिकृत शेखरचन्द्र केसीले विभागले ग्रामीण क्षेत्रमा मात्रै ढलको काम गर्दै आएको बताए । ‘हाम्रो कार्यक्षेत्र उपत्यकाको मुख्य सडकमा पर्दैन,’ उनले भने, ‘ग्रामीण क्षेत्रका सडक मात्रै पर्छन् ।’ 

सडक विभाग महानिर्देशक गोपालप्रसाद सिग्देल भने अकासेपानी व्यवस्थापनको जिम्मेवारी आफ्नो विभागअन्तर्गत निकायको भएको बताउँछन् । खानेपानी तथा सरसफाई मन्त्रालय सचिव उपाध्याय कालोपत्रे गर्दा व्यवस्थित ‘साइड ड्रेनेज’ नबनाउँदा समस्या आएको स्विकार्छन् । ‘अधिकांश ढलको संरचना पुराना भइसके, अब ढलको पुनर्निर्माण नयाँ शिराबाट थाल्नुपर्छ ।’

प्रकाशित: ६ श्रावण २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App