१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्य

गोसाईकुण्डको उचाई कति ?

सुमी शर्मा 

प्रकृतिमा रमाउन कसलाई मन नपर्ला र ? त्यही उत्सुक मन बोकेर आज फेरी एउटा यात्रा अघि बढाउँदैछु, गोसाईकुण्डतिर । हतार–हतार म र तरंग बिहानै साँढे पाँच बजे कलंकी पुग्यौं । हाम्रै पखाईमा रहेछन दशहरा मेला भर्न हिँडेका ९ यात्रु । हामी पुग्ने बित्तिकै गाडि बढाउने इशारा गर्दै सहयोगी भाइले व्यंग्य पोखे, ‘हाम्रो बानी नै यस्तै हो ५ बजे भनेको साँढे ५ बज्यो, अनि देशको बिकास कसरी हुन्छ ?’ 

तिर्थालु आमाले पुलुक्क हेरिन् । पहिलो गाँसमै ढुंगा झैँ कलंकीमा नै हामीलाई कुर्दा वाक्क भएका रहेछन उनीहरु । आकाश डम्म थियो, यात्रा प्रभावित हुने त होइन भन्ने मनमा बादल मडारिन थाल्यो ।    

गंगा दसहरा र जनै पूर्णिमा मेलाले मात्रै गोसाईकुण्डको उचाइलाई सम्बोधन गर्दैन । मनै लोभ्याउने हिमाल, निलो पानीका ताल, जंगली जनावर र शान्त वातावरणका कारण गोसाईकुण्डमा दुई–तीन रात विताउन सकन्छ । 

‘मै रहू या ना रहूँ बस इतना है तुम्से कहेना’ अरमान मलिकको गीतसंगै यात्रा शुरु गरे गुरुजीले । यात्री आफ्नै धुनमा रमाउँदा मलाई पनि त्यो गीतले अतिततिर धकेल्यो । टाटा सुमोले नौबिसेको ओरालोमा एक्कासी जोडले ब्रेक लगाउँदा पो वर्तमानमा पछारिन पुगें । तरंग आफ्नै इयरफोनमा व्यस्त छे । 

‘हैट गुरुजी तिर्थमात्र जाने हो अहिल्यै स्वर्ग जाने बेला भएको छैन है’, तरंगको व्यंग्यमा तीर्थयात्री मन अमिलो पार्दै भए पनि हाँसे । हाम्रो रफ्तारलाई रोक्न खोज्दै झन्डै जोतिन आइपुगेको मिनी ट्रकले केहिबेर त तर्सायो । बाटो निर्माण कार्यका साथै घुन्तीहरुमा गुरुजीलाई पनि सतर्क हुनुपर्ने गरायो । मन पदयात्राको आनन्द सम्झिँदै चरा झैँ उड्न लाग्यो हरिया पाखातिर।

महिलाहरु गफमा स्वतन्त्रताको पूर्ण उपभोग गर्दै मस्त गगनमा उड्दै थिए । भर्खरै सकिएको पहिलो चरणको चुनाबको चर्चा र उम्मेदवारसंग साइनो जोड्न तँछाडमछाड पनि थियो । मौकामा मैले प्रश्न तेर्साएँ–हजुरहरु पनि अध्यक्ष÷सदस्यमा लड्नु भएन त ।’ ‘खै कल्ले भोट देला र हाम्लाई’, सबिता दिदी अघि सरिन्,‘मतदाताले त काम गर्ने मान्छेलाई होनि भोट दिने ।’ 

‘अनि यहाँहरुले कामै नगरी यतिका बर्ष बिते होला र ?’ मैले थपे, ‘हुन् त कामले काम सिकाउने होनि, घरबाट निस्कन मुस्किल हुन्छ कसरी होला र राजनीति ?’  रिता दिदीसँगै सबै खुलेर हाँसे । वल्लोपल्लो घरका कुराका पोकाहरु पनि फुकाई रहे । 

महिलालाई पनि दैनिक ब्यबहारिक जीवनलाई केही दिन बिश्राम दिई बाहिर प्रकृतिमा रमाउन किन मन नहोला र ! चरा झैँ उड्न र पुरुष सरह स्वतन्त्र गफ गर्न किन मन नहोला ! गोसाईकुण्ड यात्रा भरिका होटलमा दिदीबहिनीको सेवा र श्रमलाई उनीहरुकै आँखाबाट हेर्ने कोशिस किन नगर्ने ? पाहुना सत्कारमा महिला नै जुट्नु पर्ने हाम्रो यथार्थमा उनीहरुका  दुःख, पीडा, हर्षको योगदानलाई कसैले किन लेख्ने, बोल्ने आँट गर्दैनन होला ? त्रिशुलीको अशान्त भेल झैँ मनमा प्रश्नहरु उर्लिरहे । 

गुरुजीले आफ्नै धुनमा नौबीसे, धार्के हुँदै गल्छी पुर्‍याई गाडि रोके । ‘लौ खाजासाजा, पिसाब सबै यहीँ है’ भन्दै उनी लागे लामा होटलतिर । ‘खै के खाजा खानु तिर्थ यात्रामा जहाँ पायो तही’, देबकी बज्यै आँखा तन्काउँदै बोलिन् । तरंग निन्द्रादेविको शरणमा पुगेकाले म पनि चुपचाप बसें । 

दिन अलि उज्यालो हुँदै गयो, अब यात्रा पनि सहज र सार्थक हुनेमा सबै ढुक्क देखिए । यात्राको निरन्तरता गुरुजीको रोजाईको गाना, त्रिशुली नदीको किनार, रातमाटे, बान्द्रे, भैंसे, देबिघाट, बट्टार, बिदुर, उत्तगया हुँदै नुवाकोटलाई बिदा गर्दै रसुवा लगियो ।  

काठमाडौंदेखि लगभग सात घन्टाको टाटा सुमो यात्राले धुन्चे पुर्‍याइदियो । गोसाईकुण्ड पदयात्रा रसुवाको धुन्चे (१९००मिटर)बाट सुरु हुन्छ । हरियाली पातलो जंगल, उकालो ढुंगे बाटो, बैश निख्रिए झैँ फूल बिनाका गुराँसका रुख, उत्सुक चराचुरुंगी, एक्लाएक्लै ठिंग उभिएका सल्लाका रुख, खैरा हरिया सुनपात र हरियाली बिहिन नागा डाँडासगैं यात्रा पुरा हुन्छ । यात्राका विश्रामस्थलहरु शुरुको मिनी गोसाई कुण्ड होटल, स्याफ्र्रु देउराली, दिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्द मन्दिर अनि गन्तब्य कुण्डमा यात्राको बिट मर्छ ।

अग्ला अग्ला पारीका डाँडालाई तल छाड्दै यात्रा अघि बढ्दा ४७ सय मिटर उचाइमा पुगेर यात्राले बिश्राम लिन्छ । चुलोंग पाटीबाट नागो आँखाले नै हेर्न भ्याउने लाङटाङ हिमालका सेताम्य दृश्य र बुद्ध मन्दिरबाट देखिने अन्नपूर्ण, मनास्लु, गणेश, लामटांग आदिको मनै हराइदिने उपस्थितिले थकाई बिर्साइदिँदो रहेछ । 

हाम्रो उत्तरी भेग त हिमश्रृंखलाले नै ढाकिएको छ र प्रकृतिको यो देनलाई हामीले कति उपयोग गर्न सकेका छौ त ? तरंग पदयात्राको पारखी, प्रकृतिलाई नजिकबाट नियाल्दा जति आनन्द कहिँ केहीबाट पाइँदैन । नजिक आइपुग्छ पारीको हरिया डाँडाको हरियाली । कठिनाईलाई ढाडस दिन खोज्छे ऊ, पारी डाँडामा पुगेका सहयात्रीलाई देखाउदै भन्छे,–पदयात्री र तिर्थयात्रीमा फरक यही छ । उहाँहरु कहरको र हाम्रो रहरको यात्रा । 

मनमनै महिलाले घर छोड्दा देखिका बाध्यता फर्कँदा घरमा असरल्ल समान आदि चिन्तासंग गर्ने यात्राले प्रकृतिसंग रमाउन कत्ति समय दिएको हुदैन उनीहरुलाई । तरंग यो समाजले बिना बन्धन हुर्काएको यायाबर हो, के बुझुन् यी कुरा ! मलाई पनि समाजको यो विभेदमा एकचोटी हरिया र नांगा डाँडालाई नै सुनाउन भएपनि अट्टहास हाँस्न मन लाग्यो ।     
      
गोसाईकुण्डको नाम झट्ट सुन्दा धार्मिकस्थल जस्तो लाग्छ । जुन लामटांग राष्ट्रिय निकुन्ज भित्र छ जहाँ जंगली जन्तु, रंगविरंगका फूल्ने वनस्पति, जडिबुटि प्रशस्त छन् । तामाङ जातिको बाहुल्यता रहेको रसुवामा पर्ने गोसाईकुण्डलाई उनीहरुकै भाषामा ‘क्यु’ भनिन्छ । गोसाईकुण्ड १३.८० हेक्टर, लम्बाई ६२५.५५ मी. र चौडाई ३०२ मीमा फैलिएको र उचाई चार हजारदेखि ४७ सय मिटरसम्म छ ।
   
गोसाईकुण्डको प्राकृतिक उचाइलाई अझ अग्लो रमणीयस्थल बनाउन सबैको प्रतिबद्धता चाहिन्छ । बिभिन्न किसिमका टुरिज्म(इको, कल्चरल, हेल्थ, सोसल, धार्मिक, स्पोर्टस, एडभेन्चर) आदिका माध्यमबाट नेपालले यसलाई अनुपम गन्तव्य बनाउन सक्छ । त्यहाँसम्म पुग्न बाटोमा थोरै मर्मत खाँचो छ(लौरीबिना देखि कुण्डसम्म) । सार्बजनिक चर्पी, खानेपानी, चियापसल आदि व्यवस्था गर्नसके सुनमा सुगन्ध हुनेछ । 

पर्यटन गन्तव्यमा बसोबास सफा र आनन्ददायक हुनुपर्छ । अग्र्यानिक खाना दिन सके झन राम्रो । खाना, बास र यातायात आधारभूत कुरा हुन् जसमा मौलिक चरित्र झल्काउन सके सफल हुन सक्छौं । गोसाईकुण्डमा साँस्कृतिक कार्यक्रम, चट्टान आरोहण, पार्क, बोटिङ, कोसेली घर आदि सुविधा भएमा पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । 

भूकम्प पछि भत्किएका होटलको पुनः निर्माण वा नयाँ निर्माणका लागि सरकारले ध्यान देओस । केबलकार निर्माणले धेरै अवसर ल्याउन सक्छ । पर्यटक बढ्दा रोजगारी पनि स्वतः बढ्छ । स्थानीयले बढी अवसर पाउँदा गाउँ छाड्नेक्रम पनि घट्न सक्छ । अहिले सम्म धार्मिकस्थलका रुपमा बढी प्रचलित छ । गंगा दसहरा र जनै पूर्णिमाको मेलाले मात्रै गोसाईकुण्डको उचाइलाई सम्बोधन गर्दैन । एउटा बसाईमा नै केही हिमालले लोभ्याउने, सुगन्धित चिया, निलो पानीका ताल, छुन सकिने हिमाली डाँडासँग दुई–तीन रात विताउन सकिने गन्तव्य हो गोसाईकुण्ड । अब यसको उचाईको कदर हुनु पर्छ ।
 
पर्यटकीय गन्तव्य बनाउन प्राकृतिक श्रोत मात्र काफी हुँदैन, उत्तिकै मानवीय सोच र कार्यानवयन आबश्यक पर्छ । प्राकृतिक सौन्दर्यलाई जबसम्म स्थानीयको जीविकासंग जोडिदैन, तबसम्म पर्यटन सम्मानित बन्न सक्दैन । राज्यले नै व्यवस्थापन गरि सुरक्षित गन्तव्यका रुपमा विकास गर्नु पर्छ । गोसाईकुण्डलाई अझै उचाइमा पुर्‍याउन सबैले हातेमालो गरौं । सूनपात झैँ फूलिरहोस गोसाईकुण्डको सौन्दर्य । 

प्रकाशित: १७ असार २०७४ ०६:४७ शनिबार