१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

परिवारमा असल सञ्चार

–प्रबलराज पोखरेल
परिवारको सुख, शान्ति र समृद्धि सिर्जनशील पारिवारिक सञ्चारको व्यवस्थामा आधारित छ । आधुनिक समाज बृहत् परिवारबाट एकात्मक संरचनातर्फ जाँदा झन् बढी मात्रमा सञ्चार समन्वयको आवश्यकता पर्दछ ।
परिवारमा बच्चाबच्ची
हरेक परिवारको केन्द्रबिन्दुमा श्रीमान् तथा श्रीमती हुन्छन् । उनीहरूमा आश्रित मातापिता तथा बच्चाबच्ची पनि परिवारका महत्वपूर्ण अंग हुन् । परिवारमा रहेका यी तीन समूहबीच एकापसमा परम्परादेखि नै अधिकार तथा जिम्मेवारीको बाँडफाँड भइआएको पाइन्छ । उदाहरणका लागि, बच्चाबच्चीमाथिको पहिलो अधिकार आमाबाबुमा निहित हुन्छ र बच्चाबच्चीको लालनपालन राम्रोसँग गर्नु उनीहरूको कर्तव्य हुन्छ ।  आमाबाबु तथा हजुरआमाहजुरबाको छत्रछायाँमा बच्चाहरूले शारीरिक आवश्यकता खानपिन, सुरक्षा लगायतको प्रबन्ध पाउ“छन् भने बौद्धिक तथा सामाजिकीकरणको ज्ञानसमेत यिनै पारिवारिक सदस्यबाटै प्राप्त गर्ने गर्दछन् । खानेलाउनेदेखि उठबस, तोतेबोली बोल्न सिक्ने, क–ख–गदेखि ठूला ज्ञान, अनुभव प्राप्त गर्ने तथा अरूलाई के कस्तो विधिव्यवहार गर्नुपर्छ भन्ने सीप, कलासमेत बच्चाले परिवारका सदस्यहरूबाटै सिक्ने गर्छन् ।  यसैकारणले परिवारलाई बच्चाको पहिलो पाठशाला भनिएको हो ।
यसरी पहिलो पाठशालामा बच्चाले के देख्छ, बुझ्छ र गर्छ, त्यो माध्यमले उसको भविष्यको रूपरेखा कोरिन्छ । यदि बच्चा सानैदेखि हप्काउने, दबाउने, वा नियन्त्रण गर्ने परम्परामा हुर्किएको छ भने उसले आफूभन्दा कमजोरलाई त्यसै गरी कजाउने बानी सिक्छ । बच्चालाई अनावश्यक मात्रामा पुलपुल्याउ“दा वा ‘जे भने पनि हुन्छ’ भन्दा त्यसको नतिजा  प्रत्युत्पादक हुन्छ  ।
पहिलो पाठशालामा बच्चाले ऊभन्दा ठूलाले के गर्छन्, सो कुरा सिकिरहेको हुन्छ । उसले बोलीचालीको अभ्यास त्यसै गरी गरिरहेको हुन्छ । आफूभन्दा ठूलाहरूबीच कायम हुने सञ्चारलाई उसले नजिकबाट नियाल्ने र नक्कल गर्ने काम गर्दछ । आमाबाबु तथा परिवारका अन्य सदस्यबीच कस्तो सम्बन्ध रहन्छ वा रहेको छ भन्नेबारे पनि उसले बोलीचाली तथा व्यवहारिक अन्तरक्रियाबाट थाहा पाउ“छ । आफूभन्दा ठूला वा सानाप्रति कस्तो बोलीचाली गर्नुपर्ने रहेछ, सो को जानकारी पनि बच्चाले परिवारबाटै थाहा पाउँछ । त्यसैले बच्चाबच्चीको बानी– व्यवहारलाई सकारात्मक गति दिन परिवारका हरेक सदस्यले जिम्मेवारीपूर्ण व्यवहार, बोलीचाली तथा क्रियाकलाप गर्नु आवश्यक हुन्छ । उमेर ढल्कँदै गरेका छोराछोरीका आकांक्षाप्रति अभिभावक संवेदनशील हुनपर्छ ।
बच्चाहरू स्वभावैले नवीन विषयप्रति उत्सुक तथा सिर्जनशील प्रवृत्तिका हुन्छन् । उनीहरूको उत्सुकतालाई कतिपय आमाबाबुले प्राथमिकताका साथ सम्बोधन गरेको पाइँदैन । बढ्दो आधुनिकतासं“गै व्यस्त अभिभावकले बच्चाबच्चीका लागि आवश्यक समय दिन नसक्ने हुँदा पनि आमा तथा बच्चाबच्चीबीच भावनात्मक सम्बन्ध तथा सञ्चार प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । यसले गर्दा बच्चाबच्चीमा नकारात्मक सोचको विकास हुने सम्भावना हुन्छ ।

परिवारलाई बच्चाको पहिलो पाठशाला भनिन्छ । पहिलो पाठशालामा बच्चाले के देख्छ, बुझ्छ र गर्छ, त्यो माध्यमले उसको भविष्यको रूपरेखा कोरिन्छ । यदि बच्चा सानैदेखि हप्काउने, दबाउने, वा नियन्त्रण गर्ने परम्परामा हुर्किएको छ भने उसले आफूभन्दा कमजोरलाई त्यसै गरी कजाउने बानी सिक्छ ।


बच्चाहरूलाई घरायसी कामकाजतिर अभिप्रेरित गर्न÷गराउन आमाबाबुको महत्वपूर्ण जिम्मेवारी हुन्छ । आफू काम नगर्ने, अल्छी, पराश्रित, एकअर्काप्रति जिम्मेवारीबोध नगर्ने, घमण्डी, इष्र्यालु स्वभावका आमाबाबुका छोराछोरी पनि त्यही स्वभावका हुन सक्छन् । किनकि, उनीहरूले पनि मलाई यसै गरी पुग्ने रहेछ, काम नगरे हुने रहेछ भन्ने ठान्न सक्छन् । यसबाट झैझगडा गरे पनि हुने रहेछ भन्ने खालको बुझाइ बढ्दै जाने खतरा हुन जान्छ ।  

परिवारका विभिन्न सदस्यबीच असल सञ्चार छैन, वा राम्रो बोलीचाली छैन भने त्यसको असर पनि बालबच्चामा पर्ने देखिन्छ । अझ बच्चालाई बच्चाको स्वार्थअनुकूलभन्दा आफ्नो अनुकूल काम लगाउने, भनेको मानेन भने अपमानबोध हुने खालको व्यवहार गर्ने, प्रतिशोधपूर्ण व्यवहार गर्ने, धम्की दिनेलगायत कार्यले बढ्दो उमेरका बच्चाको मनमस्तिष्कमा अत्यन्त नकारात्मक असर पर्छ । यसो गर्दा  छोराछोरीमा छलछाम गर्ने, व्यक्तिपिच्छेको व्यवहार गर्ने, झुटो बोल्ने स्वभाव विकसित हुन्छ । परिवारको कुन सदस्यसँग कस्तो कुरा गरेर आफ्नो स्वार्थपूर्ति गर्न सकिन्छ भनेर बच्चाले राम्रै जानकारी लिन्छन् र त्यसैगरी आफू अघि बढ्छन्, जसले गर्दा उनीहरूमा कुनै पनि कामकुरामा लगनशील हुनुभन्दा छलछाम तथा टालटुल गर्दै अघि बढ्ने बानीको विकास हुन्छ ।
बालबच्चाको भविष्य उज्ज्वल होस् अथवा राम्रो आचारविचार गरोस् भनेर चाहनेले आफ्नो बोलीचाली सुधार्नु अति आवश्यक हुन्छ । आमाबाबु तथा अन्य सदस्यले जे बोल्यो, जस्तो हाउभाउ देखायो, जस्ता किसिमका संकेत देखायो वा सुनायो, बच्चाले त्यसै खालको व्यवहार देखाउन थाल्छ । त्यसकारण पनि पारिवारिक तहमा हुने कुराकानी, संकेतको आदानप्रदानमा ध्यान दिनुपर्छ, जसले गर्दा बालबच्चाले परिवारका सबै सदस्यप्रति समझदारीपूर्ण धारणा बनाउन सकोस् । यसै गरी, रेडियो तथा टेलिभिजनबाट प्रचारप्रसार हुने सामग्रीमध्ये कतिपय सामग्री सत्यतथ्यमा आधारित हुन्छन् भने कतिपय विषय भने काल्पनिकता भरेर बनाइएका हुन्छन् । काल्पनिक सामग्रीको सत्यता तथा उपयोगको बारेमा बच्चाको मनमा खुल्दुली चल्न सक्छ । कहिलेकाहीँ कुनै पात्र वा कथा उनीहरूलाई यति धेरै मन पर्छ कि उनीहरू त्यस्तै प्रकारका सामग्री प्राप्त गर्न, हुबहु पात्र बन्न वा सोही प्रकारका जिम्मेवारी वहन गर्न मनमनै तम्सिन्छन् । यसले गर्दा उनीहरूको मनमस्तिष्कमै नकारात्मक असर पर्न सक्छ ।  यसकारण अर्काको नक्कल गर्ने बानी प्रत्युत्पादक हुन्छ ।
परिवारमा सञ्चार माध्यमको प्रयोग गर्र्दा एकापसको चाहना, रुचिसमेतको कदर गरी सौहार्दपूर्ण वातावरणमा मात्र रेडियो, टीभी वा टेलिफोनको प्रयोग गरिन्छ । परिवारका सदस्य अश्लील साहित्य वा सञ्चारबाट सदासर्वदा टाढा रहन आवश्यक छ । जथाभावी तवरबाट भिडियो खेल तथा फेसबुकको बढ्ता प्रयोगबाट बच्चालाई सजग गराई टाढा राखी उन्नतिको मार्गमा ध्यान दिनुपर्छ ।
पारिवारिक सौहार्द  
परिवारमा भौतिक, आध्यात्मिक विधाको विकास गर्दै उत्पन्न  बिध्नवाधाप्रति समेत रेखदेख गर्न गतिशील सञ्चारको दर्कार छ । गल्ती गर्दा सम्झाउने, बुझाउने बानीव्यहोराको विकासले बच्चालाई सुध्रिने अवसर मिल्दछ । परिवारका सदस्य अपारदर्शी भए हाउभाउ तथा कटाक्षमा कुनियत मात्र उत्पन्न हुन्छ । परिवारमाझ कसैलाई आँखा तर्ने, हप्काउने, मुख बिगार्ने बानीबाट सबैले टाढिनुपर्छ ।
बच्चाबच्चीलाई कलिलो उमेरदेखि नै बन्दव्यवसायमा तल्लीन गराउने, कलासंस्कृतिमा अभिरुचि भरिँदिँदै सिर्जनशील कार्य तथा सकारात्मक  सोचमा लगाउने गर्नुपर्छ ।
परिवारमा छोराबुहारी तथा नातिनातिनीले ज्येष्ठ सदस्यलाई जेजति आदरसत्कार गरिन्छ, उत्तिकै एकापसबीच घनिष्ठ सम्बन्ध हुन्छ ।  परिवार तथा अन्यसं“ग समेत साइनो लगाउ“दा आत्मीयता तथा स्नेह उत्पन्न हुने परिपाटीको व्यवस्था हुन्छ । कसैलाई जातजाति, धर्म, क्षेत्र तथा आर्थिक हैसियतको आधारमा विभेद गर्नु हु“दैन ।
अन्तरक्रियात्मक सञ्चार नै असल परिवारको मेरुदण्ड हो । यसरी आधुनिक समाजमा नया“ सञ्चारको प्रयोगबाट नै परिवार गतिशील र उन्नत बन्छ ।
(पोखरेल पत्रकारिता तथा आमसञ्चारका सहप्राध्यापक हुन् ।)

प्रकाशित: १४ असार २०७४ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App