२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इजलासमा फुटेको सारङ्गी

–भुवनहरि सिग्देल

अवसुकी आमा दुर्घटनामा परी । गर्भ विष्फोट भएर अवसुको आगमन भयो । त्यही कारणले ऊ बहिरो भयो । जन्म बहिरो भएकाले यो पात्र बोल्न सक्दैन ।
चमत्कारपूर्ण आगमन हो अवसुको । कारणवश झड्केलो दाजुको हत्या गरिदिन्छ उसले । त्यसैको बहस अहिले अदालतमा चलिरहेको छ ।
विसु र अवसु बाल दौँतरी । शरीरगत कुराको ज्ञान विसुलाई थिएन । स्मरण रहोस् श्रीमान् ! अवसुमा भने चक्षुश्रवा, स्पर्शश्रवा र हृदीश्रवाका शक्ति प्रबल हुँदै थिए । अहिले हामी कानले मात्रै सुनिरहेका छौँ । त्यो श्रवणलाई दिमागमा सञ्चार गरिरहेका छौँ । तर अवसु तीनवटा इन्द्रियले श्रवण गरिरहेको छ । यही कारण हो विसुमा भन्दा अवसुमा विलक्षण प्रतिभा विकास भएको पनि ।
अब श्रीमान् ! यी दुईको अन्तर्सम्बन्ध नोट होस् ! विसु गाउन मात्र सक्छ, सारङ्गी बजाउन जान्दैन । अवसु सारङ्गीको धुनमा अन्य रीत थपेर बजाउन पनि सक्छ ।
यी दुईको सम्बन्धलाई हेरौँ ! हामी प्रतिपल सास तान्छौँ र छोड्छौँ । यी दुईको सम्बन्धमा भने विसु सास तान्छ, अवसु छोड्छ । यिनका अलग शरीर हामी देख्छौँ तर मुटु एउटै छ । सास फेर्ने फोक्सो एउटै छ । त्यही कारणले अवसु यो दोषमा थुनियो भन्ने जानकारी विसुलाई पहिले दिइएको थिएन श्रीमान् ! सुरुमै उसले यो जानकारी पाएको भए भित्तामा टाउको ठोकेर मरिसक्थ्यो होला ।
विसुले यो घटनाको खबर पाउनेबित्तिकै सत्याग्रह सुरु गरेको थियो श्रीमान् ! केही दिन मात्र ढिला भएको भए विसु प्रहरी कार्यालयअगाडि भोक र प्यासले सुकेर मथ्र्यो । अवसुलाई थुनामा राखेर बिचेत पारिएकै थियो, ऊ पनि बेहोसीमै मथ्र्यो । यिनको बाबु बलु सेतीको भंगालोमा हाम्फालेर बेपत्ता हुन्थ्यो । सुन्तली र बिन्दासको परिवार यही विरहमा सल्केर समाप्त हुन्थे । यो यस्तो अन्तर्सम्बन्धको केस हो । यसभित्रको संवेदनालाई ठम्याएर निर्णय हुनुपर्छ श्रीमान् !
जस्तो हामीले देखेका छौँ, पानीबाट माछालाई अलग गर्दा मर्छ । त्यस्तै हामीले सुनेका छौँ या कसैले देख्नु पनि भएको होला, सहदेवा र सहदेवीलाई अलग गर्दा दुवै मर्छन् । श्रीमान् ! सहदेवा र सहदेवी वनस्पति बुटी हुन् । यी दुवै आपसमा स्पर्श गर्न सकिने दूरीमा उम्रिन्छन् । यी दुवै बोट प्रतिपल एक अर्कोतिर झुक्दै आएर जोडिन्छन् र बिस्तारै छुट्टिन्छन् । यो तिनको निरन्तर प्रक्रिया हो । एउटालाई उखेल्यो भने अर्को पनि मर्छ ।
श्रीमान् ! अब म सरकारी वकिल मित्रले उठाउनुभएका सन्दर्भमाथि समीक्षा गर्छु । मित्रले तर्क राख्नुभएको छ– बलु यो प्रकरणको योजनाकार हो । ऊ षड्यन्त्रकारी छ । ऊ धूर्त र चलाख व्यक्ति छ । निरर्थक र मनगढन्ते प्रलाप हो मित्रको । यदि हो भने त्यसको प्रमाण खोइ ? उसैका छिमेकीले भने बलु उपकारी स्वभावको छ । चरित्रवान् छ । ऊ द्यौता हो । उसको भावना, संकल्प, समर्पण र धीर स्वभावलाई हेर्दा हो भन्ने पुष्टि पनि मिल्छ ।
बलु निरक्षर छ । सारङ्गी बजाउन र बनाउन पनि जान्दछ तर गीत गाउने गला उसको छैन । ऊ स्वाभिमानी छ । त्यसैले मागिखानु हुन्न भन्ने चेतना राख्छ । प्रस्टवक्ता र सोझो छ । प्रपञ्ची दिमाग छैन उसको । हामीले देख्यौँ, हाम्रै अगाडि छ । यस्तो निष्ठावान् चरित्रको मानिसलाई कपोलकल्पित र भ्रामक दोष लगाउनु नै अधर्म हो श्रीमान् ! यो केवल लाञ्छना र मुद्दामा सिङ उमार्ने चाल, जागिरको तलब हजम गर्ने प्रवृत्ति मात्रै हो ।
बलुलाई वकिल मित्रको एउटा अर्को आरोप छ, सान्दुको नागरिकता बनाइदिएन र अनागरिक तुल्याएर मारिदियो भन्ने । जब कि मित्रलाई यत्ति पनि ज्ञान छैन, सान्दु आफूलाई तामाङको छोरो हुँ भन्थ्यो । साक्षी प्रमाणबाट त्यही बुझिन्छ पनि । ऊ बलु गन्धर्वको झड्केलो छोरो मात्र हो । सान्दुको वंशजको नाता अर्कै हो । गन्धर्व बाबुले तामाङ छोरो हो भनेर सिफारिस दिन मिल्दैन । कानुनमै व्यवस्था छ, झड्केलो छोरोले अंश पाउँदैन । बलुले उसलाई कसरी नागरिकता दिलाओस् मित्र ?
बलु सान्दुको व्यवहारबाट विरक्त भएर एक दिन सुन्तलीलाई भन्छ, सान्दुले सधैँ यस्तै अत्याचार गरिरहनलाग्यो भने आफू बसेको घर उसलाई छाडेर अन्यत्रै जान्छु । सुन्तली यहीँ छन् श्रीमान्, बुझ्न सकिन्छ । यसबाट के बुझिन्छ भने शान्ति र सन्तोषका निम्ति, सान्दुको हितका निम्ति ऊ आफू बसेको बास छाड्ने कुरा गर्छ । खोइ कहाँ गरेको छ झड्केलो छोरोको व्यवहार बलुले ?
घटनाको दिन शहर जाने भनी बाग्लुङ बसपार्क किन गएको ? भन्ने चर्को आरोप अर्को छ मित्रको । जब मित्रलाई त्यति जानकारी पनि छैन, बाटुलेचौरबाट पोखरा बजार आउँदा बाग्लुङ बसपार्क बाटैमा पर्छ भन्ने कुरा ।
हाँसो उठ्छ श्रीमान् ! मलाई । यो इजलासले वर्तमान कानुन, नियम, साक्षी प्रमाणका आधारमा सत्य तथ्य निरूपण गरी निर्णय गर्ने हो । पूर्व प्रचलित मृत्युदण्डका रोमोत्तेजक कथाको यहाँ के प्रयोजन ? अदालतको इजलास गफाडीले झैँ गफ गर्ने थलो होइन । यो कुनै रोमाञ्चकारी कथा सुनाउने सभा पनि होइन । एउटा जिम्मेवार वकिलले न्यायमाथि खेलाँची गरेर यस्तो वितण्डाबाट मुद्दालाई भ्रमित गर्न मिल्दैन श्रीमान् ! सरकारी तलब पचाउन र कानुनलाई दिग्भ्रमित गर्न मित्रहरूको दरबन्दी हो भने मलाई भन्नु केही छैन ।’
‘श्रीमान् ! समय पाऊँ ! अब म केही साक्षीहरू प्रस्तुत गर्छु ।’ तर्कध्वजले भने ।
‘ठीक छ । प्रस्तुत गर्नोस् !’ न्यायाधीशले आज्ञा दिए ।
बाग्लुङ बसपार्कको त्यो घटनास्थल सामुन्ने एउटा कोल्ड ड्रिंक्स र त्यसैसँग जोडिएको चिया पसल छ । ती पसलका साहुजीहरूलाई तर्कध्वज आफैँले उपस्थित गराएका थिए । दुवै जनालाई एकैसाथ कठघरामा डाके । एउटै प्रश्न दुवै जनालाई राखे, ‘के त्यो घटना तपाईंले देख्नुभयो ?’
‘देख्यौँ । हाम्रै आँखा अगाडिको घटना हो त्यो ।’
‘पहिले कसले के ग¥यो ?’
‘त्यो सारङ्गी बजाउने मानिसलाई बसमा बसेका यात्रुले यता आऊ ! भनेर इशारा गरे । यो मानिस ढोकामाथि चढ्दै थियो । त्यो खलासीले कठालो समाएर तल झा¥यो । दुई चड्कन हान्यो । सारङ्गी खोसेर भुइँमा बजारेर फुटाइदियो । एक्कासि यो मानिसले लिबर उठायो र उसको टाउकामा हान्यो ।’
‘के एकैचोटि हान्यो कि ?’
‘हो एकैचोटि हान्यो । लिबर हातमै थियो । दोहो¥याएर हानेन ।’
‘त्यो मानिसले अरू पनि केही भन्यो कि ?’
‘अँ, भन्यो । तेरा बाउछोरालाई उहिल्यै मार्नुपर्ने । आज फेला परिस् भनेको थियो !’
‘हस् । भयो । तपाईंहरू जानोस् ! यो अवसुलाई घटनास्थलबाट पक्रिनने दुई जना पुलिस यहाँ आउनोस् !’ तर्कध्वजले भने ।
दुई जना पुलिस अगाडि आए । तर्कध्वजले भने, ‘म तपाईंहरूसँग पनि एउटै कुरा सोध्छु । भन्नोस् तपाईंहरूले देख्दा यो मानिस कस्तो मुद्रामा थियो ?’
‘थरथर कामिरहेको । तर्सेको जस्तो अनुहार थियो ।’
‘लिबर हातबाट खोस्दा विरोध गरेन ?’
‘अहँ, केही गरेन ।’
‘के भाग्न पनि खोजेन ?’
‘खोजेन । हामीले हतकडी लगाएर तान्यौँ, सरासर भ्यानमा आयो ।’
‘ठीक छ । तपाईंहरू जानोस् !’
‘श्रीमान् ! साक्षीहरूको बयान उल्लेख गर्न लायक छ । अवसु आफ्ना खुशीले बसमा जान खोजेको थिएन । बसका यात्रुले उसलाई बोलाएका थिए । आफ्नै खुशीले पनि गन्धर्वहरू बसमा चढेर गीत सुनाउँछन् । यो तिनको अपराध होइन ।
यहाँ अवसु बसभित्र चढ्न मात्र लागेको छ । सान्दुले उसको कठालो समाएर तल झार्छ । तेरो बाउछोरालाई पहिल्यै मार्नुपर्ने थियो, आज फेला परिस् भनेर सान्दुले पहिले हात छोड्छ । यसबाट के बुझिन्छ भने सान्दुले मनमा अनावश्यक दुराग्रह र इबी पालेर बसेको थियो ।  

सारङ्गी बजाउने मानिसलाई बसमा बसेका यात्रुले यता आऊ ! भनेर इशारा गरे । यो मानिस ढोकामाथि चढ्दै थियो । त्यो खलासीले कठालो समाएर तल झा¥यो । दुई चड्कन हान्यो । सारङ्गी खोसेर भुइँमा बजारेर फुटाइदियो । एक्कासि यो मानिसले लिबर उठायो र उसको टाउकामा हान्यो ।


तर्कध्वज झुके । भुइँमा उनको झोला थियो । झोलामा सान्दुले फुटाएको सारङ्गीको टुक्रा बलुबाट लिएर राखेका थिए । त्यो उठाउँदै भने, ‘श्रीमान्, यो सारङ्गी ! अवसुको बाबुले बनाइदिएको सारङ्गी ! बाल्यकालदेखि उसले बजाउने गरेको सारङ्गी ! हामी सबैले अघि देख्यौँ, अवसुको लागि सारङ्गी के हो ? यो उसको भाषा हो । बोली हो उसको । अघि उसले सारङ्गी बजाएको थिएन श्रीमान् ! आफ्नो हृदयको आवाज सुनाएको थियो ।
सान्दुले यो सारङ्गी फुटाइदियो श्रीमान् ! उसको वाणी फुटाइदियो । प्राण टुक्य्राइदियो । छातीभित्र चल्ने मुटु फुटाइदियो । यो सारङ्गीको तार होइन श्रीमान् ! अवसुको दिमागका नसा हुन् । जब तिनै तार छिने ठीक त्यसै बेला, त्यही बेहोसीको बेला अवसुले लिबर उठाएर सान्दुको टाउकोमा हानेको थियो ।
अवसु बेहोस थियो श्रीमान् । उसले कुनै कुरा देखेको थिएन त्यो बेला । हो, त्यो बेला उसको होसै थिएन । अवसुले सुरुमा यो सान्दु हो भनेर ठम्याएकै पनि थिएन । जब सान्दु जमिनमा ढल्यो अनि मात्र आफू बालक हुँदा पिट्ने मानिस यही हो क्यारे जस्तो लाग्यो उसलाई । आफ्नै आँखाअगाडि सान्दुले फुटाएको सारङ्गीसँगै अवसुको मुटु पनि फुटेको थियो श्रीमान् । त्यही आवेगको प्रहार हो यो । एउटा संयोग । एउटा भवितव्य ।
मुटु फुटेको बेला कसैको पनि होस हुँदैन श्रीमान् !
अवसुले त्यो लिबर एकैचोटि चलायो श्रीमान् ! दोहोरो प्रहारै गरेन । किनभने ज्यान मार्ने नियत उसको थिएन । कतिसम्म भने एकछिनअघि तेरो बाउछोरालाई पहिल्यै मार्नुपर्ने आज फेला परिस् भन्ने वाक्य समेत अवसुलाई थाहा थिएन, किनभने ऊ कानै सुन्दैन ।
पुलिस साथीहरूको बयानले यो कुरा अझै प्रस्ट पार्छ । षड्यन्त्रकारीले योजनाअनुसार कसैको ज्यान मारेको छ भने अभियुक्त घटनास्थलमा बस्दैन, भाग्छ । चोर पनि उसले चोरेको सामान हातैमा लिएर त्यो ठाउँमा बस्दैन, भाग्छ । बलात्कारपछि अभियुक्त भाग्छ । पशुलाई पनि यसको ज्ञान छ । मुसो मारेपछि बिरालो पनि आफ्नो सिकारलाई लिएर भाग्छ । लुकाएर खान्छ । यो अपराधीको सर्वमान्य मनोविज्ञान हो । तर, अवसु त्यहाँबाट भागेको थिएन ।
सान्दु घटना एउटा संयोग बन्न गएको हो, नियोजित होइन । अवसु त्यही हालतमा उसैगरी उभिइरहनु उसको विस्मय हो । किंकर्तव्यविमूढको मानसिक अवस्था हो ।
अपांग भन्ने कुरा तिनको शरीरगत त्रुटि मात्र हो । मानसिक अपांग भएका बाहेक सबैले आफ्ना क्षेत्रका काम हामीसरह गर्न सक्छन् । तिनलाई त्यो वातावरण र सहयोग मात्र हामीले दिनुपर्छ । यहाँ विसुले अवसुका निम्ति अज्ञानतावश सही उचित सहयोग र वातावरण दिएको छ । त्यही कारण हो अवसुले सारङ्गीमा उसको चमत्कार देखाइदियो ।
इजलासमा पूरै सन्नाटा थियो । उपस्थित सबैका आँखा रसाएका देखिए ।
वकिल बोले–
श्रीमान् ! सान्दु प्रकरणमा मैले प्रस्ट पार्नुपर्ने साक्षी प्रमाण पेश गरिसकेँ । एउटा अप्रसंगको उद्घोषण यही सम्मानित अदालतको इजलासमा उभिएर गर्छु म । विसु र अवसुमा नङ मासुको सम्बन्ध छ । यी दुवैलाई शारदाको वरदान प्राप्त छ । आज मुलुकले जोगाउन नसेको सारङ्गी संस्कृतिलाई यी दुई भाइले जुरुक्कै उचालेका छन् । यसको सबल अभिभारा बोक्न सक्ने हुन् । यिनका लागि केही आधार बनाइदिनुपर्छ !
म यी दुवै जनालाई काठमाडौँमा लिएर जान्छु । अवसुलाई बहिराले पढ्ने स्कुलमा भर्ना गराइदिन्छु । मलाई विश्वास छ यो मानिसले छिट्टै पढ्छ । दुवै भाइलाई मेरै साथमा राख्छु । विसुलाई अर्को स्कुलमा भर्ना गराइदिन्छु । अझ अवसुलाई त संगीत विद्यालयका गुरुसँग पढ्ने प्रबन्धसमेत मिलाइदिन्छु ।
जब यिनले पढ्न लेख्न पनि जान्दछन्, म सारङ्गी संस्कृति र कलामञ्चको विधिवत् एउटा संस्था बनाएर पोखराको बाटुलेचौरमै सञ्चालन गर्ने दायित्वसमेत यिनका काँधमा सुम्पिदिन्छु ।’ उपस्थित जनमानस रोमाञ्चित भएर ताली पिट्न थाल्यो ।
श्रीमान्, हामी अपांग भनेर यिनलाई संकुचित आँखाले हेर्छौं । यो हाम्रो दोष हो । म केही उदाहरण दिन्छु । आइन्स्टाइनपछिका ठूला वैज्ञानिक हकिन्स मानिन्छन् । तिनका हातगोडा चल्दैनन् । शरीर कुर्सीमा लडिरहन्छ । बोल्न सक्दैनन् । उनले ब्ल्याक होलदेखि लिएर खगोलका अनेक रहस्य पत्ता लगाएका छन् ।
हेलेन केलर सुन्न सक्दिनथिन् । आँखाले देख्न सक्दिनथिन् । तर, उनी विश्वख्यिात साहित्यकार बनिन् ।
लुई ब्रेल काठको छेस्काले आँखामा घोचेर चार वर्षकै उमेरदेखि आँखा नदेख्ने भए । उनले ब्रेल लिपि आविष्कार गरे । आफूजस्तै आँखा नदेख्ने संसारभरिका अन्य व्यक्तिले पढ्नलेख्न सक्ने भए ।
विल्मा रुडोल्फ जन्मँदै कम तौल भएकी बच्ची थिइन् । सधैँकी रोगी, पोलियोले ग्रस्त र काला जातिकी केटी हुनाले बढी हेलाको सिकार बनिन् । कुनै हालतमा पनि यो केटी बाँच्दिन भनेर उपेक्षा गरिएकी ती लुली केटीको संकल्प शक्ति र दीर्घ अभ्यासबाट ओलम्पिकको विश्व दौड प्रतियोगितामा भाग लिएर तीनतीनवटा स्वर्ण पदक जितिन् । विश्वलाई नै चकित पार्ने यस्ता उदाहरण धेरै छन् । यो अवसु पनि त्यस्तै प्रतिभा सम्पन्न र उदाहरणीय पात्र बन्न सक्छ, श्रीमान् !

यो सारङ्गी अवसुको बाबुले बनाइदिएको सारङ्गी ! बाल्यकालदेखि उसले बजाउने गरेको सारङ्गी ! हामी सबैले अघि देख्यौँ, अवसुको लागि सारङ्गी के हो ? यो उसको भाषा हो । बोली हो उसको । अघि उसले सारङ्गी बजाएको थिएन, श्रीमान् ! आफ्नो हृदयको आवाज सुनाएको थियो ।


तर्कध्वजले भने, ‘श्रीमान् ! यो ज्यानसम्बन्धी मुद्दाको ठूला दफा पल्टाउनुपर्ने घटना नै होइन । मुलुकी ऐनको ज्यानसम्बन्धी महल पाँचको चौथो दफा यहाँ आकृष्ट छ । ज्यान मार्ने नियतले अवसुले सान्दुलाई लिबर प्रयोग गरेको होइन, केवल भवितव्य मात्र हो ।
सोही ऐनको महल ६ मा, क) नजानी दुर्घटना भएको, ख) होस नपु¥याएको, ग) हेलचेक्य्राइँ गरेको घटना भवितव्य हो भनिएको छ । यसको दण्ड सजायमा कसुर र अवस्था हेरी एक वर्ष थुनामा राख्ने या रु. २००।– जरिवाना गर्ने व्यवस्था छ ।
श्रीमान्को जो निर्णय !’ तर्कध्वज चुप लागे ।
अब न्यायाधीशको निर्णय सुन्न बाँकी छ ।
(बोल्न नसक्ने बालकको मनोविज्ञानमा आधारित उपन्यास ‘सारङ्गी’को अंश)

प्रकाशित: २८ जेष्ठ २०७४ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App