देवी सापकोटा
पुराण वाचन गरेर मिथिलाञ्चलभर प्रख्यात रहे, पण्डित अमृतनाथ मिश्र। धनुषा बनौलीको मध्यमवर्गीय परिवारमा जन्मिएका मिश्र धर्म–संस्कृतिका प्रवर्द्धक हुन्।
१९७७ सालमा जन्मिएका अमृतनाथले जनकपुरधामबाट प्रारम्भिक तहको अध्ययन पूरा गरेका थिए। निम्न माध्यमिक तहको अध्ययनका लागि भने उनी भारत गए।
मिथिलाञ्चलभर प्रख्यात रहे पण्डित अमृतनाथ मिश्र। धनुषा बनौलीको मध्यमवर्गीय परिवारमा जन्मिएका मिश्र धर्म–संस्कृति सेवक हुन्। मिश्रले संस्कृतका नबुझिने श्लोकलाई मैथिलीमा अनुवाद मात्रै गरेनन्, वाचक पनि गरे।
भारतको मुजफ्फरपुरबाट प्रवीणता प्रमाणपत्र र स्नातक तह अध्ययन पूरा गरेका उनी पिताको देहावसानपछि घर फर्किए। पिताको देहावसानपछि पारिवारिक जिम्मेवारी सम्हाल्दै अघि बढेका अमृतनाथले १९९१ मा भारतको दरभंगामा कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय र सुधा पुस्तकालयको स्थापना गरे।
विश्वविद्यालयमा उनले झन्डै १४ वर्ष संस्कृत, हिन्दी र नेपाली विषयका शिक्षकका रुपमा काम गरे।
एकपटक पढ, दुईपटक सोच र तीनपटक लेख– विद्यार्थीलाई उनले सिकाउने गुरुमन्त्र यही थियो। अध्ययनभन्दा अध्ययन गरेका कुरालाई मनन गर्न बढी समय दिनुपर्ने र अध्ययन–मनन गरेका कुरालाई बारम्बार लेख्ने गरे मात्र त्यो ज्ञानले स्थायी रुप लिने उनको मान्यता थियो।
०००
बनौलीमा ब्राह्मण मात्र थिएनन्। मधेसी दलितको उल्लेख्य उपस्थिति थियो। अहिले पनि छँदै छ। हालसम्म बनौलीमा जातीय भेदभाव तथा छुवाछुत कायमै छ। अमृतनाथ भने जातीय विभेदविरुद्ध थिए। अछुत मानिएका, पिछडिएका जातजाति र महिलालाई शिक्षित नगराएसम्म सामाजिक विकास नहुने उनको बुझाइ थियो। उनी सधैँ पिछडिएका जातजाति र नारीलाई शिक्षा प्रदान गर्नुपर्छ भनेर लागिरहे।
भारतको काशीमा रहँदा अमृतनाथले संस्कृत व्याकरणका विद्वान ब्रह्मदत्त जिज्ञासुसँग अध्ययन गरेका थिए। सहपाठीभन्दा जेहेन्दार र अब्बल भएकै कारण उनलाई साथीहरुले 'व्याकरण भूषण' भनेर सम्बोधन गर्दथे। वेदका ६ अंगमध्ये व्याकरण मुख्य मानिन्छ। उनी त्यसमा पारंगत थिए।
'विद्यावतां भागवते परीक्षा' अर्थात् विद्वानको परीक्षा श्रीमद्भागवत महापुराणमा हुन्छ भनिन्छ। संस्कृत भाषामा लेखिएको र महान् विद्वानको समेत परीक्षा लिने श्रीमद्भागवत महापुराणलाई महाकवि विद्यापतिले बनौलीमै बसेर मैथिली भाषामा अनुवाद गरेका थिए। बनौलीकै अमृतनाथले मैथिली भाषामै धेरै वर्षसम्म यसको प्रवचन गरेर विद्यापति, बनौली र मैथिली संस्कृतिलाई माथि उठाउने गुन लगाए।
उनी विभिन्न भाषामा श्रीमद्भागवत महापुराणको प्रवचन दिन सक्ने भागवत् मर्मज्ञ थिए। २०१८ सालदेखि २०४८ सम्म उनले मोरङ, सिरहा, धनुषा, महोत्तरी र भारतका सीतामढी, मधुवनी र दरभंगालगायत क्षेत्रमा ५० पटक भन्दा बढी मैथिली भाषामा श्रीमद्भागवत महापुराणको कथा वाचन गरेका थिए। हिन्दू संस्कृति र मैथिली भाषाको विस्तारमा गरेको योगदानकै कारण आम जनमानसमा उनी भागवत् मर्मज्ञका रुपमा परिचित भए।
अमृतनाथले कथा वाचन गर्दा भक्तजन घन्टौँ सुनिरहन्थे। मिथिला क्षेत्रमा उनले भावगत वाचनमा लोकप्रियता हासिल गरे। विद्यापति स्मृति दिवसका अवसरमा ०५८ मंसिर १३ गते बनौलीमा उनलाई 'ग्राम सपूत' उपाधिद्वारा विभूषित गरियो।
०९० सालको भूकम्पका बेला उनी १३–१४ का थिए। गुरुकुलमा वेद अध्ययन गर्थे। भूकम्प आयो, उनका सबै सहपाठी डराएर भाग्न थाले। तर उनी कति विचलित भएनन्। एकै ठाउँमा बसेर कविता लेखिरहे। संयोग नै मान्नुपर्छ उनलाई केही भएन। उनी असाध्यै धैर्यवान थिए। सात वर्षको अन्तरालमा उनको घरमा दुईपटक आगलागी भयो। तर, उनी अलिकति पनि विचलित भएनन्।
पानका सोखिन अमृतनाथ चेस खेल्न मन पराउँथे। गाउँमा सबैभन्दा पहिला उनैले साइकल चढेका थिए। युवा अवस्थामा राजनीतिमा रुचि राख्थे। २००७ सालको राणाविरोधी आन्दोलनमा महेन्द्रनारायण निधिलगायत साथीहरूसँगै उनी पनि राणाविरोधी आन्दोलनमा लागेका थिए।
२०१७ सालको प्रतिगामी राजनीतिक कदमविरुद्ध उनी आन्दोलनमा उत्रिएका थिए। ०३४ माघमा बनौलीको एक कार्यक्रममा अमृतनाथको धाराप्रवाह ओजस्वी वेदमय वाणी सुनेर पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट उनीबाट अत्यन्त प्रभावित भएका थिए।
उनको जीवनकालमै उनका पुत्र भगवान् मिश्रको प्रयासमा 'श्रीमद्भागवत मर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष'को स्थापना भएको थियो। ०७२ वैशाख १८ मा यो संसार छाडेका अमृतनाथको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा मैथिली पत्रिका 'आँजुर'ले ०७३ वैशाखमा पण्डित अमृतनाथ मिश्र स्मृति विशेषांक निकालेको थियो।
'अप्पन मिथिला' पत्रिकाले ०७३ वैशाखमा उनको स्मृतिमा तीनवटा लेख प्रकाशित गर्यो। उनीबारे गरिने अनुसन्धानको प्रारम्भिक चरणलाई ती दुवै पत्रिकाले पूरा गरे पनि उनको समग्र योगदानबारे आगामी दिनमा अझै विस्तृत खोज एवं अनुसन्धान हुनुपर्ने देखिएको छ।
प्रकाशित: २७ जेष्ठ २०७४ ०४:२१ शनिबार





