१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जनप्रतिनिधिले ल्याएको परिवर्तन

गोकर्णेश्वर नगरपालिकाको मुख्य केन्द्र जोरपाटीको नाम केही समयदेखि परिवर्तन भएको थियो- 'फोहोरपाटी'का रूपमा । काठमाडौंको उत्तर-पूर्वी भेगको केन्द्रविन्दु भए पनि मुख्य चोकमै वर्षौदेखि फोहोरको थुप्रो लागेपछि धेरैले यसलाई 'फोहोरपाटी' भन्दै गिज्याउन थालेका थिए। नगिज्याउन पनि किन? सडकभर फोहोर थुप्रिँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था थियो। यसले स्थानीयसँगै यात्रु हैरान खेप्न बाध्य थिए। साँखु, थली, मूलपानी, कागेश्वरी र सिन्धुपाल्चोक जाने सवारीसाधन रोक्ने स्थानमा समेत दुर्गन्ध फैलिएको थियो। तर, दुई सातादेखि जोरपाटीको रूप फेरिएको छ। सडक र चोकमा थुपारिएको फोहोर हराएको छ। दुर्गन्धित बाटो सफा भएको छ। 

जोरपाटीको सडकमा त्यत्तिकै फोहोर थुप्रिन छाडेको भने होइन। स्थानीय तहको चुनावबाट जनप्रतिनिधि चुनिएर आएपछि त्यसको पहिलो प्रभाव फोहोर व्यवस्थापनमा परेको हो।

‘१५ दिन पहिलेसम्म हिँडिसक्नु थिएन, सडकपेटी र सडकमा समेत फोहोरको थुप्रो थियो,’ स्थानीय राजेन्द्र महर्जन भन्छन्, ‘अहिले त फोहोर थुप्रिन छोडेको छ।’

जोरपाटीको सडक र चोकमा थुप्रिएको फोहोर त्यत्तिकै हटेको भने होइन, स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधि फोहोर व्यवस्थापनमा चासो देखाएपछि यो सम्भव भएको हो। जनप्रतिनिधिले नगरपालिकाको पहिलो बैठकमै फोहोर व्यवस्थापनको अजेन्डा राखे। त्यसका लागि उपयुक्त विकल्पमा छलफल गरेर र निर्णय लिए।

गोकर्णेश्वका नगर प्रमुख सन्तोष चालिसेले जेठ ८ गते पदभार ग्रहण गरेकै दिन फोहरको व्यवस्थापनको निर्णय गरेका हुन्। धेरैले प्रमुखले लोकप्रिय हुन निर्णय गरे पनि कार्यान्वयन होला भन्ने सोचेका थिएनन्। तर, दुई साताभित्र नगरको स्वरूप फेरिएपछि स्थानीयवासी उत्साहित छन्।

‘जनताको गुनासो नै नगर फोहर भयो भन्ने थियो,’ नगर प्रमुख चालिसेले भने, ‘त्यसैले पहिलो निर्णय नै सरसफाइको गरेको हुँ।’ उनका अनुसार जोरपाटी चोकमा मात्रै नभएर नगरभर फोहरको व्यवस्थापन मुख्य समस्या थियो। अहिले सबैतिर फोहर व्यवस्थापन भइरहेको चालिसेले बताए। 

नगरपालिको फोहर निजी कम्पनी 'बौद्ध सरसफाइ केन्द्र'लाई उठाउन जिम्मा दिइएको थियो। केन्द्रले नियमित गाडी नपठाउने र नगरपालिकाको निर्देशनलाई अटेर गर्दै फोहोर नियमित उठाउँदैन थियो।

‘मैले नगरपालिका आफैले फोहर उठाउने निर्णय गरें,' चालिसेले भने, 'त्यसै अनुरूप गाडी र कर्मचारीको व्यवस्थापन पनि गरेपछि अहिले टोलटोलमा गाडी पुगिरहेको छ।' फोहोर उठाउने गाडी नियमित नहुँदा पहिले धेरैले सडकमा ल्याएर फोहोर फाल्ने गर्थे। अहिले टोलटोलमा दैनिक फोहोर उठाउने गाडी पुग्न थालेपछि सडकमा फोहोर फाल्ने छैनन्।

उनले केन्द्रलाई फोहर उठाउने जिम्मा दिने नदिने निर्णय भने भइनसकेको बताए। जोरपाटी दुई वर्षअघि गाउँ विकास समितिबाट गोकर्णेश्वर नगरपालिकामा परिणत भएको थियो। नगरपालिका बनेपछि फोहोरको समस्या समाधान होला भन्ने स्थानीयले आशा गरेका थिए।

नगरपालिका बनेपछि पनि फोहोरको समस्या समाधान हुन सकेको थिएन। ‘नगरपालिका बनेपछि फोहर उठाउन नियमित गाडी पठाउँछ अनि सडक सफा र चिल्लो बन्छ भन्ने सबैले सपना देखेेका थिए,’ महर्जन भन्छन्, ‘नगरपालिका बनेपछि नाम र साइनबोर्ड फेरियो। तर, गाउँ चाही फोहर र अव्यवस्थित बन्दै गयो।’ अहिले बल्ल नगरपालिकाको अनुभूति भएको उनी बताउँछन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App