६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

गुड फ्राइडे

मन्दिरा मधुश्री

'मामु आज कुन डे?' स्कुलको गेटबाट निस्केर बाटो लाग्नेबित्तिकै सानो छोराले सोध्यो।

'आज फ्राइडे,' मैले छोराको अर्थपूर्ण प्रश्नको कुनै ध्यान नराखी जवाफ दिएँ।

'आज त...।' वाक्य पूरा नगरी मेरो मुखमा हेर्दै लजाएर हाँस्दै भन्यो बाबुले।

'आज के?' मैले पनि बाँकी वाक्य पूरा गर्न खाली ठाउँ राखिदिएँ।

'आज त गुड फ्राइडे,' सँगै हिँडिरहेकी छोरीले पनि थपी।

'अनि के भो त?' मैले आसय बुझिसके तापनि नबुझेझँै गरेर सोधेँ।

'आज त मजाको दिन। आज त मःमः खाने दिन,' दुवैले एकैचोटि आ–आफ्नो प्रकारले खुसी व्यक्त गरे उफ्रँदै।

भोलिपल्ट लुगा धुन निकाल्दा उनको पाइन्टबाट रातो रङको बिल भेटेँ। खोलेर हेर्दा कुनै क्याफेको खाजाको बिल थियो। हिजोको गुड फ्राइडे मनाएको बिल, ठ्याक्कै आठ हजार पाँच सय रुपैयाँको। बिल पढेपछि शरीर नै तातो भयो।

'ह्या, अस्ति त खाको नि,' मैले टार्न खोजेँ।

'अस्ति हो रे? वान विक भइसक्यो। नेक्स्ट फ्राइडे खाको हैन?' दुवैको विद्रोही स्वर आयो।

'अनि त अस्ति त हो नि!' म झन् टार्न खोज्छु।

'अँ झूट नबोलिस्यो है। यस्टर्डे भन्दा अघिल्लो दिन पो हो त अस्ति भनेको त। सेभेन डेज भइसक्यो। आज त मःमः खानैपर्छ के,' छोरीले आफूले जानेको कुरा अर्थ्याउँदै दृढ देखिई।

'अँ, आज त खानैपर्छ मःमः त,' छोरोले पनि दिदी चाहिँको भनाइ फोटोकपी गरेर स्वर मिलायो।

घर आइपुग्ने बेलासम्म पनि हामी आमा, छोरी र छोराको बीचमा दोहोरी चलिरह्यो। दुवैले हात पक्डेर झुन्डिन थाले। बाटो काटेर घरतिर अघि बढ्न नै दिएनन् मैले 'हुन्छ' नभनुन्जेल।

केटाकेटीको अगाडि लाचार भएँ म। आफू अडानमा बस्न सकिनँ। बिस्तारै खुकुलिँदै गएँ र हारेँ अन्त्यमा। मेरो स्वीकृतिपछि उनीहरूको विजयोत्सव भयो। दुवै नारा लगाउँदै उफ्रन थाले।

'हेे, हे आज मःमः खाने, हुर्रे,' उनीहरूको खुसीमा म पनि सलल बगेँ। खुसी खोज्न टाढा जानैपर्दाेरहेनछ, न त लाखौँ रुपैयाँ चुक्ता गर्नुपर्ने।

 एक हप्तासम्मको खाजालाई उनीहरूले रोलक्रममा राखेका छन्– उनीहरूलाई सबभन्दा मन पर्र्नेदेखि नपर्ने वा करले खानेसम्म। हिजोको खाजा आज दोहोरिनुहुन्न। आइतबार दही चिउरा, सोमबार चटपटे, मंगलबार पुरी–तरकारी, बुधबार पास्ता, बिहीबार फ्राइड राइस,  शुक्रबार मःमः। शुक्रबार बनाएर होस् वा किनेर होस् मःमः हुनुपर्ने उनीहरूको माग थियो। हार स्विकारेर म उनीहरूको पछि–पछि लागेँ। उनीहरूले एक–एक हात समाएर मःमः पसलतिर लगे मलाई।

'कुन मःमः दिउँ?' पसलेले सोध्यो।

'कुन मःमः खाने मामु?' छोरीले सोधी।

'भेज नि अरु कुन र?' मैले भनेँ।

'हैन, हैन। भेज त घरमा नै बनाएर खाइहालिन्छ नि। चिकेन खाने नि। कति मीठो हुन्छ,' उसले स्वाद रोजी।

'भेज नै राम्रो हो नानी,' धेरै कुरा सोच्दै म भन्छु।

'अँ, चिकेन कति मीठो हुन्छ,' ऊ जिब्रोले ओठ चाट्छे।

'हुँदैन, हुँदन। छ्या चिकेनमा त राम्रो मासु हाल्दैनन्, छाला र आन्द्रा हाल्छन्,' म भरसक उसको मोह मोड्न खोज्छु। किनकि चिकेन एक प्लेट आउने ठाउँमा भेज दुई प्लेट आउँछ। म यसरी जोड्छु हिसाब। उनीहरूले मःमः पनि खान पाउन एक–एक प्लेट नै र थोरै पैसामा पनि।

हिसाब सजिलै थियो मेरो। चिकेन मःमःका थुप्रै मन गढन्ते र नकारात्मक पक्ष देखाएर छोरीको मोह मोड्न खोज्छु र सफल पनि हुन्छु। ऊ राजी देखिन्छे र भन्छे, 'त्यसो हो भने त भेज मःमः नै खाउँ न त।'

 म दंग पर्छु एक प्लेटको पैसा बचाउन सफल भएकामा।

'दुई प्लेट भेज मःमः प्याक गरिदिनुस् न साहुजी,' म काउन्टरमा गएर अर्डर गर्छु।

'दश मिनेट पर्खनुस् है,' पसले अनुरोध गर्छ।

'मामु किन दुई प्लेट मात्र? हजुर खाइसिन्न?' छोरी जिज्ञासा पोख्छे मलाई।

'मनभरि मःमः खाने तिर्सना भए पनि म मार्दै भन्छु, 'नखाने।'

'किन नि?' विश्वास गर्दिन छोरी।

'तिमीहरूकोबाट दुइटा–दुइटा खाउँला पुगिहाल्छ नि,' म उपाय बताउँछु।

दिदीभाइ नै एक मुख लाग्छन्, 'हुँदैन, नाइँ, हामी त हाम्रो भाग नदिने। हजुर आफूलाई अर्कै लिइस्यो के।'

म आफ्ना लागि एक प्लेट मःमःको मूल्य अरु धेरै वस्तुसँग रूपान्तरण गर्छु मनमनै। तीन पोका दूध। एक धार्नी आलु। आधा लिटर तेल। डेढ किलो चिनी। चार डल्ला साबुन यस्तैमध्ये कुनै एक वस्तु आउँछ मेरो भागको एक प्लेट मःमःको मूल्य बराबर। मैले एक प्लेट मःमःमा खर्च गर्नु भनेको अलिक दिन पुग्ने यी कुनै पनि सामग्रीमध्ये एक सजिलै आउँछ।

मनमा द्वन्द्व मच्चिन्छ। एकातिर मःमः खाने तिर्सना अर्काेतिर आवश्यक सामानको प्राप्यता। अन्तमा तिर्सनाले नै जित्यो मलाई। गह्रौँ मन पारेर मःमःको अर्काे एक प्लेट पनि अर्डर गरेँ। छोराछोरी दंग परे। आफ्नो भागको सम्पूर्ण रूपमा सुरक्षित हुने विश्वासले।

 मन दोमन हुँदै तीन प्लेट मःमः लिएर घर आएँ। 'मैले आफूलाई चाहिँ नल्याएर केटाकेटीलाई मात्र ल्याइदिएको भए हुने थियो। नभए घरमै सामान ल्याएर पकाइदिएको भए पनि सबै परिवारले अघाउन्जेल हुन्थ्यो। यत्रो पैसा पनि लाग्दैनथ्यो। यस्तै के के तर्कना तँछाडमछाड गरिरहे।

 प्लेटमा खन्याएको मःमः सँगै छोराछोरीको उन्मत्त खुसी छरियो उनीहरूको 'गुड फ्राइडे' गुड र सन्तुष्ट भएको थियो।

 मन अमिलो भयो। आफ्नो भाग मःमः प्लेटमा हाल्ने बित्तिकै उनको याद झुलुक्क भयो। 'के एक्लै खानु? सबैजना परिवारसँगै बसेर खान पाए पो मजा त। उनले खाजा पनि खाएका हुन् कि हैनन्? म एक्लै कसरी खाउँ? एक्लै मनै मान्दैन। अन्त्यमा आफ्नो भागको आधा छुट्याएर हटकेसमा राखिदिएँ। यदि सेलायो नै भने पनि फ्राई गरिदिने प्रतिबद्धता गर्‍यो मेरो मनले।

 एक्लै आफूले मात्र खाएकाले मन रमाउन सकेको थिएन, उनको भाग छुट्याएर राखे पनि। आधा प्लेट वा पाँचवटा मःमः मात्र पाँच गाँस त हो। गाँसैपिच्छे उनको याद वा माया र एक्लै आफूले मात्र खानुपरेकामा पश्चाताप चपाइरहेँ।

 झमक्क साँझ परेपछि उनको बाइकको आवाज आयो। हात खुट्टा धोएर भित्र पस्दा मैले पानी र मःमः फ्राई गरेर टेबलमा राखिदिएकी थिएँ।

'भोक लागेको होला। दिनभर कति कुद्नु छ, खाजा खाने समय पनि पाको हो कि हैन?' मैले दायित्वभन्दा बढी आत्मीयता पस्किएँ, 'आज केटा केटाकेटीले गुड फ्राइडे भनेर मःमः खाने भनेर हत्ते गरे। त्यही भएर अर्काे एक प्लेट पनि ल्याएँ र आधा मैले खाएँ आधा तपाईंलाई राखिदिएको।'

किन हो, उनी त्यति खुसी भएनन्, देखिएनन् उनी। मेरो उत्साह सेलायो।

'सन्चो पो नभएको हो कि,' आशंका गर्‍यो मनले।

'किन के भो र?' सोधेँ।

'हैन आज भर्खरै खाजा खाको थेँ। साथीहरूले गुड फ्राइडे भनेर यसो हल्का खाजा खाइयो,' अल्छी पाराले सुनाए उनले।

'ए!' अरु मनमा धेरै जिज्ञासा भए पनि यसभन्दा बढी निस्केन मेरो मुखबाट। छोराछोरी आफूले पाएको खुसी सुनाउनअघि नै झुम्मिसकेका थिए टेबलमा।

'बाबा हामीले त खाइसक्यौँ मःमः, क्या मीठो छ, हजुरलाई पनि राखिदिनुभएको छ मामुले, खाइस्यो न।'

'फेमिलीसँगै बसेर खान पाएको भए कति मजा हुन्थ्यो। खाइस्यो न कति टेस्टी छ,' छोरीले के के भनी के के।

 मन नलागी–नलागी उनले एउटा मःमः हातले टिपेर खान थाले।

 'खाको भए त भइहाल्थ्यो नि। केको चेब्राइँ पारिराख्नुपर्‍यो नि ?'

सल्याकसुलुक भयो मन। मेरो समर्पण र मायालाई चेब्राइँमा मूल्यांकन गरे उनले। आफूले नि कहिलेकाहीँ यस्तै चेब्राइँ देखाएको भए कस्तो हुँदो हो,' मन कल्पियो।

भोलिपल्ट लुगा धुन निकाल्दा उनको पाइन्टबाट रातो रङको बिल भेटेँ। खोलेर हेर्दा कुनै क्याफेको खाजाको बिल थियो। हिजोको गुड फ्राइडे मनाएको बिल, ठ्याक्कै आठ हजार पाँच सय रुपैयाँको। बिल पढेपछि शरीर नै तातो भयो। कस्तो–कस्तो छटपटी भयो। मनले के के सोच्यो। मस्तिष्कमा धेरै कुरा दृश्यात्मक भएर तँछाडमछाड गर्न थाले।

हिजो आफूले एक प्लेट मःमः किन्दा मःमःसँगै रूपान्तरण भएर आएका अन्य विविध वस्तुको पुनर्ताजगी भयो झिलिक्क। खुइऒ्ढय गर्दै बसेँ र उनको र आफ्नो मन तुलना गरेँ, जिरिंग भयो भित्रैदेखि।

बिल हेर्दै एकोहोरो भएर सोचिरहेँ, 'हिजो एक प्लेट मःमः याने कि, मःमःलाई तिरेको सय रुपैयाँ दैनिक उपभोगका विभिन्न वस्तुमा रूपान्तरण भएजस्तै उनले गुड फ्राइडे मनाएको बिल तिर्ने बेलामा बिल बराबर एक महिनाको घरभाडा वा छोराछोरी दुवैको एक महिनाको फिस वा ६ महिना खान पुग्ने चामल वा पूरै परिवारलाई किन्न पुग्ने लुगा इत्यादि उनको मनमा पनि रूपान्तरण भएर आए कि आएनन् होला?

प्रकाशित: २० जेष्ठ २०७४ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App