२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्य

सत्य–स्वरूप एकअर्काविना अधुरा–अपुरा

–सृजना खड्का

सत्य–स्वरूप ।
एउटै जस्तो सुनिइने यी दुई नाम चर्चित गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यका हुन् । यशस्वी गायक भक्तराज आचार्यका यी सुपुत्रद्वय नेपाली समाजका उदाहरणीय दाजुभाइ पनि हुन् । उनीहरूको सम्बन्ध यति गहिरो, यति न्यानो र यति प्रेमपूर्ण छ कि उनीहरू आफूलाई एकअर्काविना अधुरो र अपुरो ठान्छन् ।
 
काठमाडौँ, अनामनगरको एउटा रेकर्डिङ स्टुडियोमा भेटिएका दाजुभाइले सुरुमै एकअर्काको जीवनमा एकअर्काको अनिवार्यताबारे यसरी सटिक बयान दिएः
‘उसको पछाडि स्वरूप भएन भने सत्य अधुरो छ’– सत्यको बयान ।
‘उसको अगाडि सत्य भएन भने स्वरूप अपुरो छ’– स्वरूपको बयान ।

०००
बाल्यकालदेखि नै हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढे, सत्य र स्वरुप । अहिले पनि उनीहरू त्यसरी नै अगाडि बढिरहेका छन् । बुढेसकालमा पनि उनीहरू यस्तै रहन चाहन्छन् । ‘बुढेसकालमा पनि स्वरूपको हात समाएर यात्रा गर्न पाऊँ,’ सत्यको कामना छ ।
उनीहरू स्कुल जाँदा सँगै अँगालो मार्दै हिँड्थे । उनीहरू यस्तो मिलेका र एकताबद्ध थिए कि एक जनालाई कसैले केही भन्यो भने दुवैजना त्यो मान्छेसँग झगडा गर्न जान्थे । आठ÷दश वर्षको उमेरसम्म उनीहरूको लुगा पनि एउटै हुन्थ्यो ।
सत्य सम्झन्छन्, ‘सानो बेलामा म उसलाई धेरै पिट्थेँ । उसलाई चलाएको चलै गर्थें । उसको नाम त कति राखेँ, कति । तर बेलुका रिसाए पनि बिहान उठ्दा सबै बिर्सिसकेका हुन्थ्यौँ । म उसलाई ‘बाबु’ भनेर बोलाउँथेँ । कपाल कोरिदिन्थेँ, नुहाइदिन्थेँ ।’
अभिरुचि र काम पनि एउटै भएकाले आफूहरू कहिल्यै छुट्टिनुनपरेको उनीहरूको भनाइ छ । उनीहरूले अहिलेसम्म आफ्नो भान्छा कहिल्यै अलग गरेनन् । दाजु सत्य र भाइ स्वरूपका साथी सर्कलदेखि खानपान तथा पहिरन अभिरुचि सबै समान छन् ।
स्वरूप भन्छन्, ‘हाम्रो सम्बन्धमा मायाको साथसाथै एकअर्काप्रति सम्मान पनि छ । एकअर्काको भलो हुन्छ भने दुई स्टेप अगाडि पनि जान्छौँ र कुभलो हुन्छ भने पाँच स्टेप पछाडि पनि हट्छौँ ।’ संगीतले दाजुभाइको सम्बन्ध थप बलियो बनाएको उनीहरूलाई लाग्छ ।

स्वरूप सम्बन्ध र भाँडा उस्तै हुन् भन्छन् । ‘भाँडा जति माझ्यो, उति नै टल्किन्छ,’ उनी भन्छन्, ‘त्यस्तै सम्बन्धलाई टल्काउन मन माझ्नुपर्छ । माझेन भने लेउ लाग्न सक्छ । त्यो लेउ हटाउन चित्त नबुझेका कुरा प्रस्ट राख्नुपर्छ । विचारमा स्पष्टता र मनमा शुद्धता भयो भने सम्बन्ध आफैँ बलियो हुन्छ ।’
सत्य आफूहरूको सम्बन्धलाई गणितीय भाषामा यसरी व्याख्या गर्छन्, ‘हामी दाजुभाइ एक–एक दुई हैनौँ,’ सत्य भन्छन्, ‘ हामी त एक–एक एघार हौँ । स्वरूप भएन भने म दश घट्छु ।’

०००
स्वरूप गम्भीर छन् । कसैसँग जिस्किँदैनन्, हत्तपत्त बोलिहाल्दैनन् । कोसँग कति बोल्ने वा कति संगत गर्ने ? सोचविचार गरेर मात्र तय गर्छन् । सत्य भने बोलैया र मजाकिया छन् । सत्य फ्य्रांक भएका कारण जनसम्पर्कको सबै जिम्मा उनको भागमा पर्छ ।
उनीहरूलाई धेरैले ‘बिहेपछि यिनीहरूको जोडी हेरौँला÷देखौँला’ पनि भनेका थिए । तर, सत्यको जीवनमा अनीता र स्वरूपको जीवनमा मीना आएपछि ‘हेरौँला’ भन्नेहरू हेरेका हे¥यै भए । यी दुई महिलाले दाजुभाइको सम्बन्ध झन् बलियो बनाइदिए । ‘त्यसमाथि हामी दुई भाइका छोरा संगीत र सरगमको आगमनले हामी पूर्ण भएका छाँै,’ सत्य भन्छन्, ‘हाम्रा दुई छोरा अर्का सत्य–स्वरूप हुन् ।’


सत्य–स्वरूप सम्बन्धलाई सुमधुर बनाउन एकमा अर्काे देख्नुपर्ने र त्याग हुनुपर्ने बताउँछन् । ‘एउटाको सफलतामा अर्काेको सफलता देख्ने भएकाले नै हाम्रो सम्बन्ध बलियो भएको हो,’ सत्य भन्छन् ।  
उसो त उनीहरूबीच कहिल्यै खटपट नहुने भन्ने होइन । ‘गल्ती हुँदा हामी माफी माग्न छुटाउँदैनौँ,’ स्वरूप भन्छन्, ‘गल्ती स्विकार्छाैं, माफी माग्छौँ र माफी दिन्छौँ ।’
यी दाजुभाइ सधैँ एउटा कुरामा हेक्का राख्छन्– आफ्नो कारणले अर्काेको चित्त नदुखोस् ।


सत्यबारे स्वरूप
–सबैसँग चाँडै घुलमिल हुन्छ ।
 –छिट्टै साथी बनाइहाल्छ
–रमाइलो र हँसीमजाक गरिरहन्छ ।
–ऊ जहाँ हुन्छ, त्यहाँ रमाइलो हुन्छ ।
– बच्चादेखि बुढासम्मलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने उसलाई थाहा छ ।

स्वरूपबारे सत्य
–ऊ एकदमै सुरिलो गायक र राम्रो संगीतकार हो ।
– ऊ दूरदर्शी मान्छे हो ।
–उसले जे भन्छ, त्यो गरेरै छाड्छ ।
– सही समयमा सही निर्णय लिन सक्छ ।
–एकदमै अनुशासित छ ।
–समयको एकदम ख्याल गर्छ ।
–आफ्नो काम आफैँ गर्छ, अरूको भर पर्दैन ।

(नागरिक परिवारबाट)
 

प्रकाशित: २१ वैशाख २०७४ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App